समाज

हल्का वर्षाको सम्भावना

इकागज |
चैत २९, २०८० बिहीबार १५:४१ बजे

काठमाडौँ- आज काठमाडौँ उपत्यकालगायत कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ । 

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा हल्का वर्षा भएको र उपत्यकामा पनि साँझसम्म हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 


महाशाखाका मौसमविद् सरोज पुडासैनीले कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए । 'यो समय प्रि-मनसुनको समय रहेकाले लामो समयसम्म वर्षा रहिरहन्‍न भन्ने हुँदैन । मलुकका केही स्थानमा वर्षा हुन्छ,' उनले भने, 'ठूलो वर्षाको सम्भावना नभएकाले हाल देखिएको वायु प्रदूषण न्यूनीकरणमा भने टेवा पुग्ने देखिँदैन ।'
 
उनका अनुसार लुम्बिनी प्रदेशलगायत कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको उनको भनाइ छ । 

कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि  मौसम मुख्यतया सफा रहने छ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

आज राति भने कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ । 


Author

थप समाचार
x