समाज

बम राखेर बुद्धचित्त काटेको आरोपमा चार जना पक्राउ

इकागज |
बैशाख ४, २०८१ मंगलबार ७:४५ बजे

काठमाडौँ- बहुमूल्य बोधिचित्त (बुद्धचित्त)को रुख काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले इकागजलाई जानकारी दिए । 


काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-५ नागबेलीस्थित गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित शेरबहादुर तामाङको बगैँचामा रहेको बहुमूल्य बुद्धचित्तको एउटा रुख काटेको थियो । फूल फुल्दै गरेको बुद्धचित्तको रुख काटिएको थियो । बुद्धचित्त दाना यस वर्ष तीन करोडमा बिक्री गर्न बैना गरिएको थियो । उनका अनुसार ५० लाख अगाडि लिएको छ ।

मैनाली र दुर्गालाललाई काभ्रेपलाञ्चोकको बनेपाबाट आइतबार पक्राउ गरेको हो र प्रभातलाई शनिबार काठमाडौँको वनस्थलीबाट र मानबहादुरलाई रुख काटेकै दिन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान थालिएको छ । अन्य दुई जनाको म्याद थप गरी थप अनुसन्धान थालिने छ । रुख धनी तामाङको रुख काटेपछि घरका ढोका र आँगनमा चार सकेट बम राखिएको थियो ।

उक्त बमलाई धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले निष्क्रिय पारेको थियो । घटनामा संलग्न भएका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बुद्धचित्त मालाको तामाङ समुदाय र विशेष गरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक महत्त्व छ ।


Author

थप समाचार
x