समाज

लागू पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ५ जना चालक नियन्त्रणमा

इकागज |
बैशाख ७, २०८१ शुक्रबार १९:२१ बजे

काठमाडौँ- काठमाडौँको नागढुङ्गाबाट लागू पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ५ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

कर्णाली प्रदेश ०२-००१ ख ०४ ४४ नम्बरका बस चालक सुर्खेतको भेरीगंगा नगरपालिका ९ का ३० वर्षीय अविरल प्रेम वि.क, बागमती प्रदेश ०१-००६ ख ६३ ४९ नम्बरका माइक्रो चालक तनहुँको आँबुखैरेनी नगरपालिका ६ का २२ वर्षीय इन्द्रबहादुर गुरुङ, बा ३ ख ८१ ६३ नम्बरका माइक्रो चालक चितवनको भरतपुर महानगरपालिका ८ का ३३ वर्षीय ध्रुव बस्याल, बा २ ख ३९१ नम्बरका माइक्रो चालक धादिङको गंगा जमुना गाउँपालिका ६ का २४ वर्षीय रमेश वि.क. र बागमती प्रदेश ०१-०२९ च २८ १३ नम्बरका माइक्रो चालक तनहुँको म्याग्दे गाउँपालिका १ का २२ वर्षीय सलन सुनारलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 


नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलीले चेक गर्दा लागू पदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ । 

यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागू पदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा नियमविपरीत तथा दण्डनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्‍ठले बताए ।

यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने  भएकाले आफू सवार सवारी साधनका चालकले लागू पदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गरिदिन अनुरोध गरिएको छ । 


Author

थप समाचार
x