समाज

जो बुट्टामा जीवन्त बनाउँछिन् बिहेका सम्झना

सृजना खड्का |
असार १९, २०७८ शनिबार १०:५३ बजे

काठमाडौँ : लकडाउन कसरी बिताउने ? टिकटक बनाउने, फेसबुक चलाउने, फिल्म हेर्ने, किताब पढ्ने वा क्लब हाउसमा घण्टौं रत्तिने ? काठमाडौं माकलबारीकी सबु रानामगरलाई भने यी कुनै कुराले छोएनन् । बरु उनलाई लोभ्यायो, आफ्नो पुरानै सीपले । त्यो सीप थियो, सम्झनाका बुट्टा भर्ने जसलाई चल्तीको भाषामा ‘इम्ब्रोइडर्ड क्यालेन्डर’ भनिन्छ । 


त्यसो त सबुले बुट्टामा धेरै कुरा कुँद्न सक्छिन् तर कुँदाउनेले भने उनलाई बिहेका सम्झना कुँदेको मन पराउँछन् । बिहेको यादलाई मानिसहरू वर्षौसम्म सम्हालेर राख्न चाहन्छन् । ती यादलाई सम्हाल्न उनीहरू अनेक उपाय अपनाउँछन् । कोही बिहेमा लगाएको दुबोको माला फ्रेम गरेर राख्छन् । कसैले बिहेको कार्ड धमिराले नखाओस् भनेर जतनसाथ राख्छन् त कसैले बिहेको फोटा ठूलो बनाएर भित्तामा सजाउँछन् । तर, पछिल्लो समय बजारमा बिहेका सम्झना संगाल्ने नयाँ उपाय आएको छ, ‘इम्ब्रोइडर्ड क्यालेन्डर’ । 

त्यही इम्ब्रोइडर्ड क्यालेन्डर बनाउने २३ वर्षीया सबु रानामगरलाई आजभोलि धेरैले चिन्छन् । बिहेको सम्झना जीवन्त बनाइदिन आग्रह गर्छन् । काठमाडौँस्थित माकलबारीकी सबु पेशाले डेन्टल हाइजेनिस्ट हुन् । इम्ब्रोइडर्ड क्यालेन्डर भने लकडाउनको फुर्सदले फुरेको जुक्ति हो । 

वैशाखमा निषेधाज्ञा भएपछि सबु फुर्सदिली भइन् । फुर्सदिलो समय उनलाई सामाजिक सञ्जालमा बिताउन मन लागेन । त्यहीबेला उनकी एकजना साथीले दाजु–भाउजूलाई गिफ्ट गर्नुपर्‍यो भन्दै इम्ब्रोइडर्ड क्यालेन्डर बनाइदिन आग्रह गरिन् । साथी सबुको यो सीपबाट सानैदेखि परिचित थिइन् । सबुले साथीको दाजु भाउजूको बिहेको मिति र तस्बिरलाई सियो धागोको सहायताले साधा कपडामा उतारिन् । दुई दिन लगाएर बनाएको इम्ब्रोइडर्ड क्यालेन्डर पाउँदा उनकी साथीको खुशी हेर्न लायक थियो । ‘उसले मैले बनाएको इम्ब्रोइडर्ड क्यालेन्डर आफ्नो टिकटकमा भिडियो बनाएर हालिछ,’ सबुले भनिन्, ‘हालेको केही घण्टामै भिडियो भाइरल भयो । यसपछि त मलाई पनि बनाइदिनुप¥र्यो भन्दै धमाधम अर्डर आउन थाल्यो ।’ 

सोखले सुरु गरेको सीपलाई कसरी व्यवसायिक बनाउने उनलाई आइडिया थिएन । आफ्नो सीपको मोल कति पर्छ त्यो पनि उनले सोच्न भ्याएकी थिइनन् । तर, अर्डरको ओइरो लागेपछि भने उनले आफ्नो कलालाई औपचारिक नाम दिइन्, इन्स्टामा ‘बुट्टा नेपाल’ नामको पेज खोलेर । त्यहाँ सबुले आफूले बनाएका इम्ब्रोइडर्ड क्यालेन्डरका फोटो, भिडियो राख्न थालिन् । 

वैशाखदेखि अहिलेसम्म उनले ३० ओटाभन्दा बढी इम्ब्रोइडर्ड क्यालेन्डर बनाएर बेचिसकिन् । उपत्यका मात्रै नभएर उपत्यकाबाहिरबाट पनि उनलाई उत्तिकै अर्डर आइरहेको छ । फ्रेममा राखेर तयार गरिएको इम्ब्रोइडर्ड क्यालेन्डर उनी २५ सयदेखि ३ हजारसम्म लिन्छिन् । ‘सियो धागोबाट बुट्टा जोडेर फोटो बनाउनुपर्छ,’ उनले भनिन्, ‘मेहनत एकदमै लाग्छ । तर, मेहनतअनुसारकै माया पनि पाइरहेको छु ।’ 

सबु स्कुल पढ्दादेखि नै पकेट मनिका लागि लुगामा बुट्टा भर्ने काम गर्थिन् । यो सीप उनले आफ्नै दिदीबाट सिकेकी थिइन् ।  ‘पकेट मनिको लागि म र मेरा दुईजना दिदीहरू लुगामा बुट्टा भर्ने काम गथ्र्यौँ,’ उनले सम्झिइन्, ‘त्यसैको आडले अहिले पनि मलाई इम्ब्रोइडर्ड क्यालेन्डर बनाउने जाँगर पलायो । फुर्सदको समयमा केही कमाइ भयो र घरमा यत्तिकै बस्न पनि परेन ।’ 

कोभिडले पूर्णरुपमा जनजीवन सामान्य नभएसम्म उनले यही कामलाई निरन्तरता दिने विचार गरेकी छिन् । अहिले उनलाई अर्डर पुर्या‍उन भ्याइनभ्याइ छ । आएका अर्डर पूरा गरेपछि भने केही महिनापछि डेन्टल हाइजेनिस्टकै काममा फर्किने उनको विचार छ । तर, यसलाई पछिसम्म निरन्तरता दिनेबारे पनि सबु सोचिरहेकी छिन् । ‘मैले सिकेको कुरा सिक्न चाहनेलाई सिकाएर व्यावसायिकरण गर्नुपर्ला भन्ने विचारमा छु,’ उनले भनिन्, ‘यसो गर्दा आफूलाई मन लागेको कामले निरन्तरता पनि पाउने भयो । अरुले पनि रोजगारी पाउने भए ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x