समाज

गाउँपालिकाको नाम सच्याउन कार्यदल गठन

इकागज |
असार ३०, २०७८ बुधबार ९:४५ बजे

फाइल फोटो

ताप्लेजुङ : ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले गाउँपालिकाको नाम सच्याउन एक कार्यदल गठन गरेको छ । पालिकाको नाममा व्याकरणमा सुधार गर्नुपर्ने सारोकारवालाले आवाज उठाएपछि कार्यदल गठन गरिएको हो । यही असार ३ गते गाउँपालिकाको नियमित गाउँसभाको पहिलो बैठकले पालिकाको नाम परिवर्तनका लागि प्रदेश सरकारमार्फत सङ्घीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेसँगै गाउँपालिकाको नाम सच्याउन लागिएको हो ।

लिम्बू भाषा र लिपिका सर्जक त्ये अङ्सी सिरीजङ्घा सिं थेबेको सम्मान गर्दै गाउँपालिकाको नाम राख्ने क्रममा व्याकरणीय दृष्टिले शुद्ध नभएकाले सच्याउनुपर्ने सारोकारवालाहरुको माग भएकाले नाम परिवर्तन गर्नका लागि कार्यदल गठन गर्नुपरेको गाउँपालिकाले जनाएको छ । तीन महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने गाउँपालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।


कार्यदलले अध्ययन तथा अनुसन्धान गरेर उपयुक्त नाम पालिकालाई उपलब्ध गराउने जिम्मेवारी दिएको छ । सरोकारवालासँग गहन छलफल तथा परामर्शपश्चात तोकिएको समयावधिमा नै नाम उपलब्ध हुने गाउँपालिकाले जनाएको छ ।

गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । गाउँपालिका–५ का वडाध्यक्ष पूर्णसिंह माबो लिम्बूको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदल सदस्यमा कार्यपालिका सदस्य विमला साम्यू र तेल्लोक माध्यमिक विद्यालयका प्रअ रुकमान थेबे रहेको गाउँपालिका प्रवक्ता तथा वडा नं २ का वडाध्यक्ष लालकृष्ण चौहानद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । 

कार्यदलको सल्लाहकारमा भाषा तथा संस्कृतविद् येहाङ धनप्रसाद लावती र अर्जुन मावोहाङ तथा सहप्रध्यापक अमर तुम्याङ हुन् । लावती फिदिम नगरपालिका–९ पाँचथर निवासी हुन् । मावोहाङ लालीगुराँस नगरपालिका–३ तेह्रथुमका र तुम्याङ सिरीजङ्घा गाउँपालिका–७ खेवाङका हुन् । रासस 
 


Author

थप समाचार
x