समाज

गल्‍ली तथा सडकमा फोहोरका रास

सिसडोलमा पानी पर्दा काठमाडौँ फोहोरमाडौँ बन्छ

अतिन आचार्य |
साउन १, २०७८ शुक्रबार १८:२ बजे

काठमाडौँ - संघीय संसद भवन परिसर बानेश्‍वरको पश्चिमतर्फ आकासे पुलमुनि एक सातादेखि फोहोर थुप्रिएको छ । हरेक दिन वरिपरिका बासिन्दाले त्‍यहीँ थुप्रोमाथि फोहोर थप्‍छन् । एक साता भयो यहाँको फोहोर नउठेको। हुनत बानेश्‍वर चोक मात्रै होइन एक सातादेखि काठमाडौँ उपत्यकाको फोहोर उठ्न सकेको छैन ।

फोहोर थुप्रिएको ठाउँमा हरेक दिन महानगरबासीले फोहोरका झोला थपिदिन्‍छन् । काठमाडौँका विभिन्‍न गल्‍ली तथा सडकमा फोहोरका रास देख्‍न सकिन्‍छ । यसमा न महानगरको आँखा परेको छ न स्थानीयले नै फोहोर थुपार्न छोडेका छन् । लाग्छ यो राजधानी काठमाडौँ होइन फोहोरमाण्डु हो ।


सिसडोलमा पानी पर्‍यो कि काठमाडौँको चोक-चोकमा फोहोरको रास थुप्रिन थाल्छ । यतिखेर निरन्‍तर वर्षा भइरहेको छ । घाम नलागेसम्‍म फोहोर उठाउन नसकिने महानगरका कर्मचारी बताउँछन् । काठमाडौँ महानगरपालिकाका वातावरण व्यवस्था विभागका कर्मचारीले घाम लागेपछि मात्रै फोहोर उठाउन सकिने बताए ।

सिसडोलको ल्याण्डफिल्ड साइडमा फोहोरको थुप्रो लागेकाले उपत्यकाको फोहोर उठाउन नसकिएको वातावरण प्रशासन महाशाखा प्रमुख सरिता राईले बताइन् । वर्षाका कारण सिसडोलमा फोहोरको थुप्रो लागेपछि गाडी चढाएर फाल्न सक्ने अवस्था नभएकाले काठमाडौँको फोहोर उठाउन नसकिएको उनको भनाइ छ ।

'वर्षा भएइरहेकोले फोहोर उठाउन सकिएको छैन,' उनले भनिन्, 'सिसडोल क्षेत्रमा करिब एक सय ५० वटा फोहोरका गाडी छन् । घाम लागेपछि फोहोर तुरुन्तै उठाउन थाल्‍छौँ । '

बन्चरे डाँडास्‍थित फोहोर प्रशोधन केन्द्र सरकारले हस्तान्तरण नगर्दा पनि उपत्यकाको फोहोर व्यवस्थापन गर्न समस्या भएको राईको दाबी छ । महानगरका कारण नभइ ल्‍याण्‍डफिल्‍डको समस्याका कारण फोहोर नठाउन नसकिएको उनले बताइन् । 

'वर्षाको कारण हस्तान्तरण हुन सकेन' 

बन्चरे डाँडामा नवनिर्मित फोहोर प्रशोधन केन्द्र निर्माणको अन्तिम चरणमा रहेको भवन विभागका उपमहानिर्देशक कुमारप्रसाद घिमिरेले बताए । उनकाअनुसार काठमाडौँ महानगरलाई जेठको पहिलो साता हस्तान्तरण गर्ने कार्यक्रम भए पनि वर्षाका कारण हुन सकेको छैन ।

'निरन्तर पानी पर्दा फोहोर फोल्‍ने ठाउँ नभएकाले अहिले सफाइको काम भइरहेको छ,' घिमिरेले भने,' दुई वटा सेलमा परेको पानी निकाली सकेपछि चाँडै फोहोर फाल्न सकिन्छ ।'

उनका अनुसार फोहोर फाल्न दुई वटा सेल बनाइएको छ । पहिलो सेल फोहोर ट्रिटमेन्ट्र गर्ने र फोहोर राख्‍ने ड्याम बनाइएको छ । दुवै फोहोर सेल करिब एक अर्ब रुपैयाँको लागतमा बनाइएको हो ।

पहिलो सेल निर्माणका लागि ४४ र दोस्रोमा ४६ करोड रुपैयाँ लागत लागेको घिमिरेले जानकारी दिए । दुवै सेल गरी २० हजार घन मिटर फोहोर अट्ने क्षमता रहेको उनले बताए ।

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन साइट निर्माण गर्न मन्त्रिपरिषदले सहरी विकास मन्त्रालयलाई २०७५ मंसिर १७ गते जिम्मा दिएको थियो । बैशाख १२ गते बन्चरे डाँडामा शिलन्यास गरी त्यसको औपचारिक सुरुवात गरिएको थियो ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x