समाज

साउनमा हरियो चुरा, लुगा र मेहन्दी : संस्कृतिको नाममा फेसन

लक्ष्मी भण्डारी |
साउन ९, २०७८ शनिबार १२:१५ बजे

शिव मन्दिरमा पुजापछि हरियो चुरा पोते, कपडा र मेहन्दीमा सेल्फी खिच्दै सुर्खेतका महिला

सुर्खेत - वीरेन्द्रनगरकी पुजा नेपाली असार महिनादेखि नै हातभरी हरियो चुरा र मेहन्दीमा सजिएकी हुन्छिन् । उनी साउनमा व्रत बस्ने र कपडादेखि सबै श्रृंगार हरियो बनाउने गर्छिन् । ‘साउनमा सबैले हरियो लगाएको देखेर मलाई पनि लगाउन मन लाग्यो’ उनी भन्छिन्, ‘हरियो चुरा लगाएपछि राम्रो हुन्छ रे भन्ने सुनेर यो लगाउने गरेकी छु ।’

सबैले हरियो चुरा लगाएको देखासिकीमा वीरेन्द्रनगरकी पवित्रा थापा पनि साउन लागेदेखि नै हरियो पहिरनमा सजिएकी छन् । उनी साउनको सामेबार ब्र्रत बस्ने र शिव मन्दिर जाने पनि गर्छिन् । ‘सबैले हरियो लगाएको देखेपछि मलाई पनि लगाउन मन लाग्यो’ शिव मन्दिरमा पूजाको लागि लाइनमा बसेकी उनले भनिन्, ‘साउनमा हरियो चुरा र कपडा लगाएपछि महादेव खुसी हुन्छन् भन्छन् ।’


यस महिनाको सोमबार वीरेन्द्रनगरस्थित शिवको मन्दिरमा पूजा गर्न जाने महिलाको घुइँचो देखिएको थियो । मन्दिरमा  विशेषगरी विवाहित महिला धेरै देखिन्थे । महिलाहरूले श्रीमानको सुख, शान्ति र दीर्घायुको कामना गर्दै ब्र्रत बस्ने गरेको बताउँछन् । 

 हिन्दु नारीहरूका लागि बिशेष महिना साउन सुुरु भएलगतैै कस्मेटिक पसल तथा चुरा पसलहरूमा मेहेन्दी, हरियो पहेलो चुरा लगाउनेको भिड बढेको छ । कतिपयले साउन महिनामा व्रत बस्ने र लगाउनुपर्ने महिना भएकाले लगाउने गरेको बताउँछन् भने धेरैजसो अरुकै देखासिकीमा लगाउने गरेका छन् । अरु समयमा हरियो चुरा र कपडाको महत्व नभए पनि साउन महिनामा भने नारीहरू प्राय त्यही चिजमा रमाउँछन् । त्यसैलाई मध्यनजर गर्दै साउन महिना सुरु हुनेवित्तिकै विगत जस्तै यसपाली पनि सुर्खेतका चुरा पसलहरू हरिया चुरा र पोतेले भरी भराउ देखिएका छन् । चुरा पसलहरूमा मात्र नभई फुटपाथ, मन्दिर प्रांगणमा समेत चुरा मेहन्दी बेच्न राखिएका छन् । 

साउनको सोमबार व्रत बसेमा श्रीमानको आयु बढ्ने र अविवाहितलाई राम्रो श्रीमान पाउने धार्मिक विश्वास रहेको छ । यसैले यो महिनामा अधिकांश महिलाहरू हात भरि हरिया चुरा, हत्केलामा मेहेन्दी र गलामा हरियो पोते लगाएर हिड्ने गर्छन । आफ्नो पतिको दीर्घायुको कामनासहित साउनको सोमबार कतिपय महिला शिवजीलाई प्रशन्न बनाउन भन्दै पानी समेत नखाई व्रत बस्ने गर्दछन् । 

विवाहित हुन या अविवाहित, हरिया पहिरनमा सबै युवतीहरूको आकर्षण देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन भने अविवाहित युवती पनि आर्कषण र रमाइलोको लागि हरियो चुरा, हरिया पहिरन र मेंहन्दी लगाउँने गरेको बताउँछन् । 

हरियो चुरा पोते लगाएपछि भगवान खुसी हुने  र सोचेको पुरा हुने कुरा विश्वास मात्र हो । यसले फाइदा वेफाइदा के भएको छ त्यो छलफलकै विषय रहला तर, यसले कस्मेटिक व्यापारीहरुलाई भने फाइदा बनाएको छ । यति बेला कस्मेटिक पसलेहरूलाई भ्याई नभ्याई बनाएको छ । अन्य बेलाको तुलनामा साउनमा दोब्बर व्यापार हुने गरेको कस्मेटिक व्यापारी कमला शाहीले बताइन् । ‘यसपालि कोभिडका कारण व्यापारमा कमी होला भन्ने सोचेको त कुनै पनि कमी भएन’ उनी भन्छिन्, ‘चुरा पोते बेच्दा खाना खाने फुर्सद नै हुँदैन ।’ सामान्य रूपमा बजारमा काँचका ३० रुपैयाँ प्रतिदर्जन र मेटलका चुरा १ सयदेखि ५ सय सम्मका चुराहरुको माग बढेको उनी बताउँछिन् । 

‘यो महिना त चुरा व्यापारीलाई राम्रो फाइदा हुन्छ, महिलाहरुको भिड नै लाग्छ’ उनी भन्छिन्,  ‘आज सामान ल्यायो भोली सकिन्छ ।’ त्यसैगरी चुरा पसलमा मात्र होइन व्युटी पार्लरमा समेत मेहन्दी लगाउनेको भिड लाग्छ । 

उहिले तिउरीको पातको रस निकालेर लगाउने चलन थियो । तर अहिले व्युटिपार्लर जाने र मेहन्दी लगाउने प्रचलन बढेको छ । वीरेन्द्रनगरकी ५१ वर्षीया लालमति शर्मा पहिले तिउरीमै लगाउने मेहन्दीको प्रचलन नरहेको बताउनछिन् । ‘साउन एक गते तिउरी फुलको पात टिपेर त्यसलाई पिस्थ्यौँ र हातमा लगाउथ्यौ अनि जंगलबाट दियालो ल्याएर लुतो फाल्ने र नाचगान गर्ने चलन थियो’ उनी भन्छिन्, ‘त्यतिबेला यस्तो हरियो चुरा पोते र मेहन्दीको हामीलाई थाहै थिएन ।’

  मानवअधिकारकर्मी एंव आवाज सस्थाका मनोविमर्शकर्ता निशा पौडेलले पछिल्लो समय देखासिकीका नाममा विकृति बढेको बताउँछिन् । ‘अहिले संस्कृतिका नाममा विकृति आएको छ’ पौडेल भन्छिन्, ‘लोग्ने र छोराको आयु बढाउने नाममा फेसनहरू आएको देखिन्छ ।’ पहिले तिउरीका फुल कुटेर हातमा रंगाउने गरेकोमा अहिले थरी थरीका मेहन्दीका डिजाइन आएको उनी बताउँछिन् । 

२०६२/०६३ को जनआन्दोलन पछि हरियो चुरा पोते र मेहन्दीको प्रचलन सुरु भएको पाइन्छ । पछिल्लो समय यसले व्यापक रूपमा फेसनको रूपमा फैलिएको छ । अहिले कुनै पनि महिला हरियो चुरा र महेन्दीबिनाको देखिदैनन् जताततै हरियो देखिन्छ । 

साउनमा लगाउने श्रृगारका सामाग्रीहरू भारतबाट आयात हुने गर्छन् । यसले व्यापारीलाई केही मात्रामा फाइदा त भएकै छ तर सबैभन्दा बढी भारतलाई नै फाइदा बनाएको अधिकारकर्मी गीता कोइराला बताउँछिन् ।


Author

थप समाचार
x