समाज

उपकुलपतिको मृत्यु भएको झुठो विज्ञप्ति निकाल्नेविरुद्ध मुद्दा हाल्ने तयारी

इकागज |
साउन २४, २०७८ आइतबार १४:३६ बजे

सुर्खेत -  मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्द बहादुर सिंहको मृत्युको विषयमा गलत विज्ञप्ति निकाल्ने विरूद्ध मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । उपकुलपति सिंहको मानहानी गर्नेगरी विश्विद्यालयको छाप र अधिकृतको हस्ताक्षरको दुरुपयोग गरी विज्ञप्ति सार्वजनिक भएको थियो ।

शनिबार विश्वविद्यालयको लेटरप्याडमा उपकुलपतिको मृत्यु भएको भनेर विज्ञप्ति सार्वजनिक भएको थियो । उक्त नक्कली  विज्ञप्तिमा विश्विद्यालयका उपकुलपति सिंहको उपचारका लागि प्रदेश अस्पताल लैजाने क्रममा मृत्यु भएको र विश्वविद्यालय प्रशासन चिन्तित भएको उल्लेख छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको विज्ञप्ति कुनै अन्य प्रयोजनका लागि बनाइएको पत्र मेटाएर 'इडिट' गरिएको देखिएको छ । उक्त पत्रमा विश्वविद्यालयका प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर समेत छ ।


आफ्नो अपमान हुनेगरी सामाजिक सञ्जालमा राखिएको उक्त नक्कली पत्र बनाउनेविरुद्ध उजुरी दर्ता गर्न लागिएको उपकुलपति प्रा. डा. सिंहले जानकारी दिए । लोकतन्त्रको अवमूल्यन गर्दै यस्तो कार्य गर्नेविरुद्ध उजुरी दिन थालेको सिंहले बताए । जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन र साईबर ब्युरोमा उजुरी जाने सिंहले जानकारी दिए । आफ्नो मात्र नभएर सिंगो विश्वविद्यालयको चरित्र-हत्या गर्न लागिएको उपकुलपति सिंहको भनाइ छ । 

 


Author

थप समाचार
x