समाज

एमाले १० औँ महाअधिवेशन

कमरेडहरूका किताब : ‘सम्भोगबाट समाधितिर’देखि सेयर मार्केटसम्म

मार्क्सवादी किताबमा देखिएन रुचि !

अनिष भट्टराई |
मंसिर १२, २०७८ आइतबार १३:२७ बजे

सौराहा - सौराहाको बाटामा थुप्रै मानिस हातमा किताबका चाङ लिएर उभिएका भेटिन्छन् । ‘ज्ञान गंगाा’, ‘गीता तिम्रो ज्ञान अमृत’ र ‘जिउने मार्ग’ नामका किताबका चाङ हातमा बोकेर ती मानिस डुलिरहन्छन् । कोहीले चाहिँ किताबलाई भुइँमा बिछ्याएर बेच्न राखेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको दशौं महाधिवेशनमा यो दृश्य रोचक देखिन्छ । रोचक यस मानेमा कि ती मानिसहरूले किताब त्यस्ता विचारकलाई बेचेका छन्, जसले न अध्यात्ममा विश्वास गर्छ, न धर्ममा नै । अझ उनीहरू वैज्ञानिक चेतनाको कुरा गर्छन्, माक्र्सवादी दर्शनको कुरा गर्छन्, द्वन्द्वात्मक भौतिकवादको कुरा गर्छन्, धर्मलाई अफिम भन्छन् । भन्थे । 

सौराहाको गैंडाचोकमा किताब बेचिरहेका बेला भेटिइन्, भरतपुरकी हिमा दासी । अरु बेला यी किताबहरू अनलाइनबाट बिक्री हुन्छन् । अहिले एमाले महाधिवेशनमा लाखौं मानिस सौराहामा भेला भएको मौका छोपी दासी लगायतले किताब बिक्री गरिरहेका हुन् । ‘यथार्थ कविर पन्थ’ नामक आश्रमबाट ती किताबहरू बिक्रीका लागि पठाइएका हुन् । किताब बिक्री गर्ने यस आश्रमका बाबा हुन्, सन्तराम रामपाल श्री महाराज । 


तर किताब बिक्री गर्न हिँडेका दासी लगायतको समूहले भने आफूहरू सेवा गरिरहेको बताउँछन् । किताब बेचेको नभई सेवाका लागि बाँडिएको उनीहरू तर्क गर्छन् । ‘किताब बेचेका होइन, गरिब–दुःखीलाई सेवा गरेका हौं । भगवान्को शरणमा पुर्याउनका लागि,’ दासीले भनिन् । हुन पनि यी किताब बिक्रीका लागि भन्दा पनि प्रवद्र्धनका लागि बाँडेको देखिन्छ । ३ वटा मोटा किताबको मूल्य ४५ रुपैयाँ मात्रै राखिएको छ । प्रतिगोटा १५ का दरले । 

कम्युनिस्टहरू आध्यात्ममा विश्वास गर्दैनन् । भगवान् मान्दैनन्, भूतप्रेत मान्दैनन् । तर नेपालका ‘कम्युनिस्ट’लाई यसको कुनै सुर्ता छैन । ती धार्मिक किताबहरू किन्नेको संख्या उल्लेख्य छ । एमाले महाधिवेशनको पहिलो दिन १० मंसिरमा मात्रै २५ सय बढी किताब बिकेको आश्रमकी दासीले जानकारी दिइन् । दोस्रो दिन त्यो भन्दा बढी व्यापार भएको अनुमान दासीको छ । 

आखिर ‘कम्युनिस्ट’को महाधिवेशनमा यी किताब ‘सेवाकै लागि सही’ किन बिक्री भइरहेका छन् ? दासीको उत्तर छ, ‘जति कम्युनिस्ट भने पनि जे भने पनि मानिसहरूलाई डर त छ नि भगवान्को । भूतप्रेतबाट बचाउन, सताउन नदिने बनाउन यी किताब किनेका छन् ।’ हुन पनि ‘भगवान्सँग डर त छ’ जवाफले ‘भगवान्’सँग डराएरै वरिष्ठ प्रगतिवादी कवि शीतविन्दु उर्फ प्रदीप ज्ञवालीले कार्यक्रम सञ्चालन बखतमा ‘रामराम’ जपिरहेको सम्झना हुन्छ ।  

अहिलेका मानिस वेद, गीता पढ्न छाडेका र भगवान्बाट टाढाटाढा गइरहेका बेला भगवान् नजिक पुर्याएर आफूहरूले सेवा गरेको किताब बिक्रेता बताउँछन् । कोहीलाई त किन किताब कसले बेच्न पठाइरहेको छ, त्यो पनि जानकारी छैन । 

सडकमा किताब बिक्री गर्न बसिरहेका छत्र नामका पुरुषले आफू पनि ‘च्यानल’बाट किताब बेच्न आएको बताए । अरु बेला किताब अनलाइनबाट बिक्री हुने गरेको र यसको मुख्यालय भारतमा रहेको दासीले जानकारी दिइन् । महिनामा १ लाख बढी किताब दिएर ‘सेवा गरिरहेको’ दासीको दाबी छ । 

कति बिके माक्र्सवादी किताब ?

काठमाडौंको बानेश्वरमा किताब बिक्री गर्ने टिकाराम न्यौपानेले यस पालि चितवन महाधिवेशनमा माक्र्सवादी किताब बेच्ने योजना बनाएर चितवन आए । आउँदा उनले केवल माक्र्सवादी किताब मात्र ल्याएनन् । केही धार्मिक किताब, केही युवापुस्ताले मन पराउने यौन तथा प्रेमका कथा बोकेका आख्यान पनि ल्याए । उनले केही राजावादी किताब पनि ल्याएका छन् । मोहन वैद्य किरणको माक्र्सवादी दर्शन, बाबुराम भट्टराईको अर्थराजनीतिक विमर्श, रवीन्द्र मिश्रको राजनीतिसँगै राजकाज, पुष्पकमल दाहालका किताब पनि ल्याएका छन् । 

तर यीमध्ये बाबुराम भट्टराईको किताब २ प्रतिमात्र बिकेको न्यौपानेले बताए । वैद्यका किताब केही बढी बिकेका छन् । उनले सबैभन्दा बढी बेचेको किताब मदन भण्डारीबारे लेखिएको श्वेतशार्दूल, ओशोको सम्भोगबाट समाधितिर, थिंक लाइक अ मंक, दि इन्टेलिजेन्ट इन्भेसटर्स हुन् । 

न्यौपानेले पहिलो दिन १ हजार बढी किताब बिक्री गरे । तीमध्ये करिब ४० प्रतिशत जति किताब माक्र्सवादी भएको बताउँछन् । ‘काठमाडौंमा त माक्र्सवादी किताब कसैले हेर्दैनन्, यहाँ केही बढी व्यापार भएको छ ती किताबको,’ उनले भने, ‘बढी मोटिभेटिङ र शेयर मार्केटका किताब बिकेका छन् ।’

न्यौपानेले राखेको स्टलभन्दा ठीक अगाडि अर्को किताब स्टल छ । यो स्टल बागबजारका दीपक श्रेष्ठले राखेका हुन् । उनले बेचेका किताबमा ६० प्रतिशत किताब माक्र्सवादी किताब रहेको बताउँछन् । बढी बिकेका अरु किताबमा ‘महाभारतमा के छ ?’, ‘विचार विज्ञान’, ‘रिच ड्याड पुअर ड्याड’ छन् । यसरी दुई किताब व्यापारीका तथ्यांकलाई मिसाउने हो भने माक्र्सवादी व्यक्तिहरू अहिले माक्र्सवादी किताबसँगै पुँजीवादी किताब, आध्यात्मिक किताब आख्यानहरू बढी पढ्ने गरेको पाइन्छ ।


 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x