समाज

कर्णाली राजमार्ग : किट्टु बस दुर्घटनाका चालकको कथा

‘३८ जनाको ज्यान जाँदा म किन बाँचे हुँला भनेर पीडा हुन्छ’

जितेन्द्र थापा |
मंसिर २३, २०७८ बिहीबार १५:५२ बजे

सुर्खेत :             ड्राइभर दाई.. डाइभर दाई 
                      घुम्ती घुम्तीमा मोड मोडमा बचाउ है 
                      जिन्दगीको यात्रा धेरै लामो छ 
                     पलपलमा सजाऊ हैँ । 

यही गीतमा गाडी आफ्नै गतिमा थियो । यात्रु पनि गीतमै मग्न थिए । ड्राइभरले पनि त्यही गीतलाई मनन यात्रुले बचाउ भनेको महसूस गर्दै गाडी हाँकिरहेका थिए । जिन्दगीमा यस्तो मोड आउँला भनी कसैले पनि कल्पना समेत गरेका थिएनन् । 


यो हो, घटना २०६६ चैत्र ५ गतेको हो । कालिकोटको हुल्मदेखि सुर्खेत आउँदै गरेको गाडीमा ४७ जना यात्रुहरु थिए । जब गाडी पहिलेको पीपलकोट आठबीस नगरपालिकाको किटुबाट अघि बढ्न नपाउँदै गाडीले सडकको लिक छोड्यो । दुर्घटनामा प¥यो । जो कर्णाली लोकमार्ग सञ्चालनपछिको सबैभन्दा ठूलो र भयानक दुर्घटना थियो, किटु बस दुर्घटना । 

एकातिर लाशहरु यत्रतत्र छरिएका थिए भने लाशहरु देख्ने जोकोहीका आँखाबाट बलिन्धारा आँशुका धारा झरेका थिए । आफ्ना मान्छे गुमाएका आफन्तहरुको कोलाहलमय वातावरण बनेको थियो । उक्त दुर्घटनामा ३८ जनाको ज्यान गएको थियो । 

त्यही कहाली लाग्दो दुर्घटनाबाट मृत्युको मुखमा पुगेर जोगिएका चालक हुन्, कालिकोटको तिलागुफा नगरपालिका–७ छाप्रेका नविन भण्डारा (नबिन) । उमेरले ४० वर्ष पुगेका भण्डारा दुर्घटना भएको ना३ख ५८६८ नम्बरको काक्रेबिहार यातायात समितिका बस चालक थिए । बस दुर्घटना हुँदा उनी २८ वर्षका थिए ।

गाडी साहु, गाडी चालकसहित ५० जना बसमा सवार रहेका थिए । उनी त्यो दिन र त्यो घटना सम्झिँदा आफू जिउँदो भएको विश्वास लाग्दैन । मेरुदण्ड भाच्चिएर अप्रेसन गर्न नमिल्ने भएको छ । सामान्य हिँड्डुल गर्न समेत सक्दैनन् । उनको दैनिकी तिलागुफा नगरपालिका–७ स्थित छाप्रे बालिघाट सडक छेउमा बसेर गुजारा चलाइरहेका छन् । 

दुर्घटनामा नपर्नु पहिले सामान्य तरिकाले जीवन चलाउदै आएका चालक भण्डारा दुर्घटनापछि दैनिकि कष्टकर रुपमा बित्दै आएको छ । घर परिवार चलाउन हम्मेहम्मे भएको छ ।

त्यो दिनको घटना यस्तो थियो ?

उनकै शब्दमा, ‘कालिकोटको हुल्मबाट यात्रुहरु हालेर । हामी सुर्खेतका लागि अघि बढ्यौँ । कर्णाली लोक मार्गको अवस्था नाजुक थियो । साघुँरो सडक । जम्मै खाल्डाखुल्डी थिए । गाडीमा बजेको गितको धुनमै यात्रुहरु मस्त थिए । कोही निन्द्रमा त कोही बाहीरको सुन्दर दृश्य अवलोकन गर्दै थिए । हुल्मदेखि निरन्तर अघि बढ्दै बस बिहान ८ बजे किटु नजिक पुग्यो । मोडमा बाटो साघुँरो र चिप्लो थियो । बिस्तारै बस अघि बढाउँदै थिए ।

बसले लिक छोडेर दायाँ भागको टायर बाहिर गइसेको थियो । ‘ब्रेक’ हान्न प्रयास गरेँ । जति प्रयास गर्दा पनि भएन । बस सडकभन्दा बाहिर गइसकेको थियो । प्रयास असफल भयो बस सडकबाट तल कर्णाली नदिमा खसेपछि मुटुले ठाउँ छोड्यो । त्यस पछि केही थाह भएन । बस खरिसकेपछि कसरी बाँचे भन्ने केही थाहा छैन । दुर्घटनास्थलबाट उद्धार गरेर कोहलपुर लैजादा एकैछिन होस आयो । बस दुर्घटना भयो भन्दा फेरी बेहोस भएर ढले ।’

कोहलपुरबाट त्यसपछि लगत्तै काठमाडौँ रेफर गरिएपछि तीन दिनपछि मात्र होसमा आएको र शरिरको तल्लो भाग छामछुम पार्दा छ छैन भन्ने केही थाह नभएको उनको भनाई छ । उनी सामान्य हिँड्डुल गर्न पनि सक्दैनन् । उनी भन्छन्, ‘मेरुदण्ड भाँचिएर हिँड्डुलदेखि दिसा–पिसाब गर्न निकै कठिनाइ छ । अप्रेसन गर्न घरको आर्थिक अवस्थाले नधान्ने भएपछि यसै दिनचर्या बितेका छन् ।’

गाडी साहु दैलेखका कृष्णराज बुढा ढोका खुला भएकाले सडकमै हाम फालेर ज्यान जोगाए । उनी भिरतिर भएकाले हाम फाल्ने त के सोच्ने पनि समय पाएनन् । ‘बसको प्रमुख पट्टा भाँचियो । स्टेरिङले कामै गरेन । गाडीलाई भित्तामा लिन खोजे तर सकिनँ, उनले भने ।

उनले गाडी साहुलाई त हाम फालेको देखेका थिए । यत्रो यात्रुहरुको त ज्यान गयो म किन बाँचे हुँला भनी पीडा पोख्छन् । ‘आफन्तहरुले सम्झाई बुझाई गरे । तर मनमा पीडा अहिले पनि छ’, उनले भने । समितिलाई जोगाउन बिमा वापतको पैसासमेत फिर्ता गरेका चालकले हाल आएर कसैले पनि सोधपुछ नगर्दा पीडा हुने गरेको उनी बताउँछन् । 

‘समितिका कुनै पनि व्यक्ति सम्पर्कमा छैनन । समितिका गाडी आउँछन, तर कोही बोल्दैनन्’, उनले भने, ‘मान्छे आएको देख्छु वैशाखी समाउँदै जाँदा जाँदै बस गुडेर गइहाल्छ । आफू हुँदासम्म मात्र सम्बन्ध रहने रहेछ ।’ आफूले तलबवापतको ४५ हजार रुपैयाँ अझै पनि गाडी साहुबाट नपाएको भण्डाराले गुनासो गरे । ‘नम्बर पनि छैन । दैलेखका पूर्वसांसद राजबहादुर बुढाका भाइ कृष्णराज बुढा मेरा साहु हुन्,’ उनले भने, ‘न नम्बर छ न उहाँहरु कोही मेरो खोजी गर्नुभएको छ ।’

स्थानीय सरकारले दिएको क वर्गको सामाजिक सुरक्षा भत्ता, श्रीमतीको होटलको सानो कमाईले दुई छोरी एक छोरा गरी पाँच जनाको परिवार चलेको छ ।
सानैमा भारत गएर गाडी चलाउन सिकेका भण्डारासँग चालकको राम्रो अनुभव रहेको बताउँछन् । ‘त्यो पल’ स्मरण गर्दै उनी भन्छन् ‘दुःखी भएर पनि के गर्नु, भाग्यमा यही लेखेको रहेछ । आजसम्म परिवारको साहरा पाएको छुँ, यसैमा जेनतेन खुशी छु ।’

कर्णाली राजमार्गमा यात्रुले बर्सेनि सास्ती खेप्दै

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट मुगु जोड्ने सडक हो । कर्णाली राजमार्ग सुर्खेतबाट दैलेख, कालिकोट हुँदै कर्णाली नदीको किनारैकिनार भएर यो राजमार्ग मुगु पुग्छ । साँघुरो र खाल्डा–खुल्डीका कारण राजमार्गमा यात्रा गर्ने यात्रुले बर्सेनि सास्ती खेप्दै आएका छन् भने जोखिम पनि उत्तिकै छ । उसो त, कर्णाली राजमार्गलाई मृत्यु मार्गका रुपमा पनि चिनिन्छ । 

राजमार्गमा हुने दुर्घटनामा परी बर्सेनि सयौँ यात्रुले ज्यान गुमाउँदै आएका छन । कर्णालीको विकासमा मेरुदण्ड मानिएको कर्णाली राजमार्गमा गरिने कालोपत्रे वर्ष दिनसम्म पनि टिक्दैन । राजमार्ग मर्मतमा बर्सेनि करोडौं रकम खर्च भइरहेको छ । तर, सडकको अवस्था भने नाजुक छ । दैलेख खण्डको सियाँला, जाक्सी, राकम कर्णाली, घट्टेखोला क्षेत्रमा सडकको अवस्था नाजुक छ । अधिकांश ठाउँमा कालोपत्रे उप्किएका छन् । खाल्डाखुल्डीका कारण यात्रुहरू कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । 

२०६३ चैतमा ट्रयाक खोलिएको राजमार्गमा विश्व बैंकको सहयोगमा २०७२ सालमा ओटासिल गरिएको थियो । सुर्खेतको बांगेसिमलदेखि दैलेख हुँदै कालिकोटको दहीखोलासम्म १ सय ३२ किलोमिटर सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको छ । यो खण्ड मर्मतका लागि बर्सेनि करोडौं रकम खर्च भइरहेको छ ।

तर, सडकको सुधार भने हुन सकेको छैन । यो सडक मर्मतमा गत आर्थिक वर्षमा मात्रै २० करोड रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । सो रकम केही स्थानमा कच्ची सडक कालोपत्रे गर्न र मर्मतमा खर्च गरिएको थियो । चालू आर्थिक वर्षमा पनि मर्मतको काम थालिएको बताइएको छ । 

यो खण्डअन्तर्गत पर्ने जाक्सी खोला पुल वर्षौदेखि अलपत्र छ । एक लेन, पहिरो झरिरहने र सवारी साधनको बढी चापका कारण राजमार्ग सुधार हुन सकेको छैन । दही खोलादेखि जुम्ला खलंगासम्म एक सय चार किलोमिटर सडक डिभिजन कार्यालय जुम्ला खलंगाले हेर्दै आएको छ ।

यो खण्डमा गत आर्थिक वर्षमा मर्मतमै २ करोड ३० लाख रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । नियमित मर्मतअन्तर्गत राजमार्गमा खटिने कामदारका लागि १ करोड ६० लाख, पटके मर्मतमा २० लाख र आवधिक मर्मतमा ५० लाख रुपैयाँ खर्च भएको छ ।

 


Author

थप समाचार
x