पशुपतिमा सुनको जलहरी काण्ड
‘समाजवादी महादेवलाई सामन्तीको प्रतिक बनाउन खोजियो’
सरकारको कुनै धर्म (धार्मिक आस्था) हुँदैन । सरकारले त देशमा भएका सबै जात-जाति, धर्मलाई बराबर व्यवहार गर्नुपर्छ । त्यसै पनि नेपाल त धर्म निरपेक्ष देश हो । यसकारण सरकारले कुनै एक धर्मको लागि मात्रै करोडौँ खर्च गर्नु हुन्न । तर माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओली पशुपति दर्शनका लागि जाँदा पशुपतिको शिवलिंगलाई १४१ किलो सुनको जलहरीले मोड्न निर्देशन दिए । त्यसका लागि ३० करोड दिने पनि घोषणा गरिदिए । सरकारको ३० करोडमा पशुपति क्षेत्र विकास कोषले पैसा थपेर झन्डै एक अर्ब लागतमा सुनको जलहरी राख्ने तयारी थालेको छ ।
के त्यो प्रधानमन्त्रीको खल्तीको पैसा हो ? उहाँले ब्रम्हलुट गर्न मिल्छ ? यसरी धर्मको नाममा पैसा बाँड्दै दिने भए सिखलाई कति दिने, बौद्धलाई कति दिने ? यो रकम त देशको राजस्वबाट संकलित रकम हो । प्रधानमन्त्रीले आफुखुसी बाँड्दै हिँड्न मिल्दैन । सरकारले त्यो पैसा ‘प्रोडक्टिभ’ (उत्पादक) काममा खर्च गर्नु पर्ने हो । यो सरकारको ढुकुटीको पैसा ‘नन-प्रोडक्टिभ’(अनुत्पादक) कार्यमा खर्च गर्नु हुन्न । सुनको जलहरीमा अरबौँ खर्च गर्नु भनेको अनुत्पादक क्षेत्रमा खर्च गर्नु जस्तै हो ।
अहिले अर्थतन्त्र धरासयी भएको छ । देशमा कोभिड जाँच्न नपाएर मानिस भौतारिरहेका छन् । अहिले सरकारको प्राथमिकतामा भनेको कोभिड-१९ को उपचार हुनुपर्ने हो । आइसियु छैन । कोभिडको औषधी किन्न सरकारले नागरिकलाई गुहारेको कुरा पनि सर्वविदित नै छ । भारत, चीन लगायत देशहरुसँग सहयोग मागिरहन परेको छ । यस्तो बेलामा अरबौँ खर्च गरेर सुनको जलहरी राख्नु उपयुक्त होइन । यतिबेला सरकारको प्रायोरिटी के हुनुपर्ने ? त्यो सरकारले बुझेन ।
त्यस्तै पशुपतिमा सुनको जलहरी राख्ने निर्णय नेपालमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा १२ को खण्ड ‘ग’को विरुद्ध छ । ऐनमा भनिएको छ- कुनै पनि पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरूप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानी नोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर गरी पाँच हजार रूपैँयादेखि एक लाख रूपैँयासम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुन सक्छ ।
देशको कानुन भन्दा माथि कोही हुन्न भनिन्छ । ऐन-कानुनमा व्यवस्था नै नभएको काम गर्न पाइन्नँ । गरेमा कसुर हुने व्यवस्था छ । नेपालको यो कानुन सबैमा लागु हुन्छ । पशुपति क्षेत्र विकास कोष या अरु कुनै संस्थाले यसको बर्खिलाप काम गर्न पाइँदैन । सरकारले नै ३० करोड रूपैँया दिएर यो ऐनको विरुद्ध काम गर्न अर्हाउन मिल्छ ? यो पशुपति विश्व सम्पदा सूचीमा परेको छ । विश्व सम्पदा सूचीको क्लज ६ मा स्पष्ट रुपमा मापदण्ड उल्लेख गरेको छ । तर यो कार्यले त्यो पनि उल्लंघन गरेको छ ।
पहिले पनि २००३ मा काठमाडौँ उपत्यका विश्व सम्पदाको खतराको सूचीमा परिसकेको छ । २००७ जुन २५ मा विश्व सम्पदा समितिले यसलाई खतराको सूचीबाट हटाएको थियो । त्यतिबेला समितिले नेपालको सराहना गर्दै भनेको थियो - सहरीकरणका बावजुद यस साइटले आफ्नो मूल्य मानयता बचाउन गरेको काम उल्लेखनीय छ ।
तर पछिल्लो समय फेरि विश्व सम्पदाको मापदण्ड उल्लंघन भइरहेको छ । नेपालले विश्व सम्पदाको मापदण्ड टेरिरहेको छैन । प्रधानमन्त्रीले त विधिसम्मत काम गर्न प्रोत्साहन गर्नुपर्ने हो । तर उहाँको निर्णयहरू नै विधि मिच्ने काम गरिरहेको छ ।
निर्वाचनको मिति घोषणा गरिसकेपछि त प्रधानमन्त्री खोलीको सरकार ‘काम चलाउ सरकार’ भयो । यसले दैनिक प्रशासन चलाउने बाहेक देशको राजस्व प्रभावित हुने गरी कुनै काम गर्न मिल्दैन । त्यसमाथि चुनावअघि ९० प्रतिशत हिन्दुहरुलाई आकर्षण गर्न पशुपतिमा जलहरी राख्न ३० करोड बजेट दिन लाग्यो । शिवरात्री अघिसम्म काम सिध्याउन आदेश पनि दियो । यो निर्वाचन आचारसंहिता विरुद्ध छ । निर्वाचन र हिन्दुलाई प्रभावित गर्न हुन्न ।
त्यस्तै हरेक भगवानको विशेषता हुन्छ । महादेवको पनि आफ्नै विशेषता छ । उनी निरञ्जन-निराकार हुन् । आफु नाङ्गै बसेर, मसानको खरानी घसेर बस्छन्, भक्तलाई भने प्रसन्न भई सम्भ्रान्त बनाउन बरदान दिन्छन् । यस्तो महादेवलाई सुनको जलहरीले मोड्ने कुरा किमार्थ स्वीकार्य हुन्न । भगवानको चरित्र विरुद्ध काम गर्न हुन्न ।
अहिलेको राजीतिक भाषामा भन्ने हो भने महादेव त ‘शुद्ध समाजवादी भगवान’ हुन् । आफु साधारण रहेर, लोकलाई सम्भ्रान्त बनाउने । यस्तो ‘समाजवादी भगवान’लाई सुनले मोडेर सामन्तीको प्रतिक बनाउन मिल्दैन ।
त्यसो त सुनलाई समृद्धिको प्रतीक मानिन्छ । पञ्चरत्नमध्ये एक हो, सुन । थोरै मात्र सुनदान पनि अनन्त पुण्यफल दिने पुराणमा बताइएको छ । तर यही सुनलाई अधर्मको प्रतीक पनि मानिन्छ । त्यस्तै सुन अपराध वा पापको कारक पनि बन्ने पनि श्रीमद्भागवत महापुराणमा उल्लेख छ । श्रीमद्भागवत महापुराण प्रथम स्कन्ध १७ अध्यायमा महाराज परीक्षित र कलिको प्रसंग छ ।
पाण्डव उत्तराखण्ड जानुअघि युधिष्ठिरका उत्तराधिकारीका रुपमा हस्तिनापुरको राजगद्दीमा बसेका थिए । परीक्षित अर्जुनका नाति तथा अभिमन्युका छोरा हुन् । उनकै पालामा द्वापरयुग सकिई कलि प्रारम्भ भएको मानिन्छ । त्यतिबेला कलि अधर्मको रुपमा थिए । त्यतिबेला परिक्षितले कलिलाई मार्न तीक्ष्ण तरबार उठाए । तब कलि परिक्षितको चरणमा परे । तब परिक्षितले कलिलाई भने- तँ हात जोडेर शरणमा आइस्, अब अर्जुनको वंशमा जन्मिएका कुनै पनि वीरलाई तँबाट कुनै भय छैन । तर तँ अधर्मका सहायक होस्, त्यसैले तँ मेरो राज्यमा बस्न पाउँदिनस् ।
नरोत्तम बैद्य
तब परिक्षितले कलिलाई बस्नको लागि जुवा, मद्यपान, आशक्ति र हिंसा दिए । र कलिले परीक्षितलाई एक थप स्थान मागे । तब परीक्षितले कलिलाई ‘सुवर्ण’ दिए । त्यसरी यि पाँच स्थानमा अधर्मको बास हुने मानिन्छ । हिन्दुधर्मको कालगणनाअनुसार अहिले कलियुग चलिरहेको मानिन्छ । यस्तो अधर्मको प्रतीकले महादेवलाई घेर्नु कदापि सही हुन सक्दैन ।
प्रधानमन्त्री ओली कम्युनिष्ट विचारधाराका पक्षधर हुन् । कम्युनिष्ट भगवान मान्दैनन् । उनीहरुको लागि कार्ल माक्र्स र एङ्गेल्सकै विचारधारा मुख्य हो । राजनीतिक नैतिकताका अनुसार कम्युनिष्टहरु भगवानका मन्दिर पनि डुल्दैनन् । सपथ लिने बेला पनि प्रधानमन्त्रीले भगवान शव्द उच्चारण गरेनन् । तर चुनाव घोषणा भएपछि पशुपति दर्शन गर्न आए ।
पशुपतिमा राख्ने भनिएको १४२ किलोको सुनको जलहरी पुजा गर्ने भट्टहरुले बाहेक अन्यले छुन मिल्दैन । चार भट्टले सुनको जलहरी राख्न सक्छ वा सक्दैन ? त्यो राख्ने क्रममा ठोकठाक गर्दा शिवलिंग खण्डित भएमा के गर्ने ? यसको जिम्मेवार को हुने ? यस्ता अनेकन विवादको बीचमा जलहरी राख्नु उपयुक्त हुन्न । यस्तो हुँदा पनि पुरातत्व विभाग मुकदर्शक बनेर बसेको छ ।
र, यो पनि
- लथालिंग पशुपति, जता हेर्यो उतै विवाद
- पशुपतिमा सुनको जलहरी काण्ड : भण्डारी भन्छन्- ‘हामीलाई खबर नगरी राख्न लागिएको सुनको जिम्मा लिन सक्दैनौँ’
- विश्व सम्पदा : राजनीति 'इन', सूचीबाट 'आउट'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया