समाज

पशुपतिमा जलहरी राख्‍न क्षमा पूजा

शुक्र अन्ध समयमा पशुपतिमा विशेष पूजा

विज्ञ भन्‍छन्- शास्त्रविरुद्ध पूजा गरियो

सुनीता साखकर्मी |
फागुन ११, २०७७ मंगलबार ७:३ बजे

तस्बिर : सरोज बैजु

काठमाडौँ : पशुपतिमा अचेल क्षमापूजा चलिरहेछ । मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्‍नुअघि चाँदीको जलहरी मर्मतका लागि शनिबारदेखि दक्षिण भारतबाट आएका २५ ब्राह्मणसँग नेपाली ९६ ब्राह्मण मिलेर विशेष क्षमापूजा गरिरहेका छन् ।

तर शास्त्र विपरित पशुपतिमा विशेष क्षमापूजा गरिरहेको भन्दै विज्ञहरू रुष्ट बनेका छन् । अहिले गुरु शुक्र अस्त भएको समयमा पशुपतिमा विशेष पुजा आराधना गर्न नहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं संस्कृतिविद् प्राडा रामचन्द्र गौतम बताउँछन् ।


‘२०७७ माघ ४ गते बृहस्पति अस्तायो । त्यसपछि शुक्र अस्ताएको अवस्था छ । यस्तो समयलाई गुरु शुक्रअस्तादिको समय भनिन्‍छ । यस्तो समयमा शास्त्रले नै काम्य कर्म गर्न रोक लगाएको छ,’ उनी भन्‍छन्, ‘पशुपतिमा अहिले शास्त्रविरुद्ध गएर क्षमा पूजा गरिँदै छ ।’

प्राडा गौतमका अनुसार कर्म तीन प्रकारका हुन्‍छन् । नित्य कर्म, नैमित्तिक कर्म र काम्य कर्म । प्रत्येक दिन गर्नुपर्ने कर्म नित्य कर्ममा पर्छ भने अकस्मात गर्नुपर्ने जातकर्म, मृत्यु कर्म जस्ता कर्म नैमित्तिक कर्ममा पर्छ । र अरु समयमा पनि गर्न मिल्ने कर्महरू काम्य कर्ममा पर्छ । उनका अनुसार पशुपतिमा अहिले भइरहेको क्षमापूजा काम्य कर्म अन्तर्गत पर्छ । र गुरु शुक्र अस्त भएका बेला काम्य कर्म गर्न शास्त्रले बर्जित गरेको छ ।

‘यो समयमा ग्रह निर्बल हुन्‍छ । शुभ समयमा गर्नुपर्ने कर्म यो समयमा गर्नुहुन्‍न । ग्रह निर्बल भएका बेला गर्दा कुनै फल प्राप्त हुन्‍न,’ उनी भन्‍छ, ‘त्यसैले यो समयमा निस्काम होस्, सकाम होस्, कुनै पनि काम त्यो गर्न मिल्दैन ।’ पशुपतिमा सुनको जलहरी राख्‍नुहुन्‍छ वा राख्‍नुहुन्‍न भन्‍ने विषय फरक कुरा हो । यसका लागि अध्ययन नै गर्नुपर्छ,’ उनी भन्‍छन् तर यो समयमा जलहरी राख्‍न क्षमापूजा भने गर्न नहुने प्रष्ट रहेको उनले सुनाए । सनातन विद्वत् परिषद् नेपाल मित्रपार्क, काठमाडौंले पनि माघ १ गते प्रेस विज्ञप्ती जारी गर्दै गुरुशुक्रहरूको अस्त भएका बेला धार्मिक कार्य गर्न नहुने उल्लेख गरेको थियो ।

त्यस्तै परिषद्ले आयोजना गरेको विद्वत गोष्ठीमा प्रस्तुत कार्यपत्रमा पनि गुरुशुक्रको अस्तादिको चर्चा गरिएको थियो । कार्यपत्रका अनुसार गुरु र शुक्र भनेका विद्या बुद्धि विवेक आदि चेतनाका प्रतिनिधिदेवताको रूपमा रहेका छन् । साथै यीनलाई वेदाधिपतिका रूपमा धर्मशास्त्र र ज्योतिषशास्त्रमा चित्रण गरीएको छ ।

प्रत्येक धार्मिक कार्यमा र हाम्रो शरीरमा पनि शुक्रको महत्व रहेको हुन्‍छ । सूर्य, चन्द्र, बृहस्पति र शुक्र ग्रह बलशाली हुँदा उत्पन्‍न हुने जातकको फलादेशमा विशेष प्रभाव राख्‍ने हुन्‍छ भनी ज्योतिषशास्त्रमा लेखिएको पाइन्‍छ । त्यस्तै गुरुशुक्रको अस्तादिलाई मलमास बराबर मानिएको छ । तसर्थ गुरु शुक्रको अस्तादिमा मलमास, क्षयमासमा गर्न नहुने कर्महरू गुरुशुक्रको अस्तमा र त्यसको अघि पछि लाग्‍ने सूतकमा गर्न हुन्‍न ।

साथै यो समय पहिलोपटक गरिने तीर्थयात्रा, विशेष दानादिकर्म, काम्यकर्म, महादान, अग्निहोत्री हुन गरिने अग्निपरिग्रह, अध्वर अर्थात् यज्ञ यागादि, मातृका पूजा, मधुपर्क ग्रहणसहित नान्दीमुखी श्राद्ध गरेर प्रारम्भ गरिने यावत् धार्मिक कृत्यहरू प्रायश्चित्तपरक ब्रत स्नानादि कृत्यहरू प्रथम उपाकर्म एवं उत्सर्ग कर्म, विशेष उत्सव, देशको सीमानामा स्थापना गरिने सीमास्तम्भहरूको स्थापना, देवादिप्रतिष्ठा, न्यायालयीय दिव्य शपथविधि आदि अनेक पुण्यकर्महरू निषेध गरिएका छन् । 

यो समयमा शुभ साइतपरक कर्महरू गर्न नहुने ‘पुरुषार्थचिन्तामणि’, ‘निर्णयसिन्धु’ र ‘कौशिक संहिता’ मा समेत उल्लेख गरिएको छ । विधि छोडेर गरिएको कार्यलाई धर्मशास्त्रले अनुमति दिँदैन । यसै कुरालाई गीतामा भगवान्ले यसरी खबरदारी गरेको पाइन्‍छ ।

यः शास्त्रविधिनुत्सृज्य वर्तते कामकारतः । 
न स सिद्धिमवाप्नोति न सुखं न परां गतिम् ।। 
तस्माच्छास्त्रं प्रमाणं ते कार्याकार्यव्यवस्थितौ । 
ज्ञात्वा शास्त्रविधानोक्तं कर्म कर्तुमिहार्हसि ।।
यसको अर्थ हुन्‍छ - 
शास्त्रको विधि छोडेर चल्छ जो मनमोजले । 
सिद्धि सौख्य परंधाम कुनै पाउन्‍न तेसले ।।
शास्त्र प्रमाण छन् सारा कार्याकार्य बुझाउन ।
तस्मात्शास्त्र प्रमाणैका कार्यमा चल अर्जुन ।।

त्यस्तै गुरुशुक्र अस्तमा अन्धाधुन्ध चलेका यज्ञहरू, पुराणहरू, पितृकै नाम लिएर गरिने कर्महरू पनि यतिबेला शुक्रास्त भएको समयमा गर्नु शास्त्रसम्मत देखिँदैनन् । किनभने नान्दीमुखी नगरी कुनै शास्त्रीय कार्यहरू अनुष्ठानहरू प्रारम्भ भएको मानिँदैन ।

नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्र विषयका प्राडा देवमणि भट्टराईका अनुसार गुरुशुक्र अस्त भएको बेलामा शुभ कर्म गर्नका लागि वर्जित गरिएको छ । यसबेला दिनहुँ गरिने नित्य कर्म(अन्य गतिकर्म) बाहेक अन्य विशेष कर्म (अनन्य गति कर्म) गरिँदैन ।

उनका अनुसार जलहरी राख्‍न गरिने क्षमा पूजा विशेष शुभ साइत जुराएर गर्नुपर्ने हो । यो अन्य बेलामा पनि गर्न सकिने काम हो । तत्काल गर्नुपर्ने काम होइन । त्यसैले यो बेलामा गर्नु ठिक होइन । २०७८ को बैशाख ८ गतेपछि मात्रै पशुपतिमा विशेष पुजाआजा गर्नुपर्ने उनले बताए । उनी भन्‍छन्, ‘मलमास, क्षयमास, गुरु शुक्र अस्त भएको बेलामा काम्य कर्म गर्न वर्जित हुन्‍छ । यस्तो बेलामा गरिएका कामबाट जति फल प्राप्त हुनुपर्ने हो, त्यो पाइँदैन ।’

पशुपतिमा भएको चाँदीको जलहरी जीर्ण भएर जल, पञ्चामृतलगायत पशुपतिनाथलाई चढाइएका सामग्री चुहिएर भित्रसम्म पुग्‍ने भएकाले सुनको जलहरी राख्‍न माघ १२ प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति क्षेत्र विकास कोषलाई ३० करोड रुपैयाँ बजेट दिने घोषणा गरेको थियो ।

अहिले पशुपति क्षेत्रमै कालीगढ राखेर नेपाली सेनाको सुरक्षासहित सुनको काम भइरहेको छ । मूल मन्दिरको जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले ३० करोड रुपैयाँको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको छ । सुनको जलहरी बनाउन १०८ किलो सुन लाग्‍नेछ ।


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x