समाज

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

इकागज |
फागुन १६, २०७७ आइतबार ७:४९ बजे

दमौली  : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-२ बुल्दी पुल नजिक गएराति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते छन् । मृत्यु हुनेमा व्यास-२ मालेबगरका २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँकी २० वर्षीया रजनी गुरुङ घाइते छन् । 

दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा घाइते भएका विवेकको टाउकामा चोट लागेको थियो । विवेकको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझदेखि पानी परेकाले सडक चिप्लो हुँदा मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक अनुमान छ । (रासस)
 



Author

थप समाचार
x