समाज

२०२९ सालदेखिका अध्यक्ष : जो स्वतन्त्रबाट उठ्छन्, कहिल्यै हार्दैनन्

सुरेन्द्र बजगाईं |
बैशाख १२, २०७९ सोमबार ९:४४ बजे

काठमाडौँ- नेपाली समाजमा एउटा लोकप्रिय भनाइ छ– कुनै राजनीतिक दलमा नलाग्दासम्म केही हुँदैन यहाँ । यो भनाई धेरै हदसम्म सान्दर्भिक पनि छ । यहाँ सानोभन्दा सानो र ठूलोभन्दा ठूलो काम गर्न–गराउन कुनै न कुनै दल वा नेतासँग नजिक हुनुपर्छ । 

तर, यही समाजमा यस्ता पात्र छन्, जो निरन्तर ५० वर्षदेखि स्वतन्त्र रूपमा वडा अध्यक्षमा निर्वाचित छन् । उनी हुन्, ललितपुर महानगरपालिका–१० का वडाध्यक्ष नर्सिङ व्यञ्जनकार । नेपालमा अधिकांश निर्वाचित जनप्रतिनिधिप्रति गुनासो हुँदै गर्दा व्यञ्जनकार २०२९ सालदेखि अनवरत रूपमा वडा वडाध्यक्षको रूपमा निर्वाचित भए । उनले आज एघारौँपल्ट वडा अध्यक्षको उम्मेदवारी दिएका छन् ।  


उमेरले ८२ वर्ष पुगेका नरसिंह यञ्जनकारले ५० वर्ष वडाको नेतृत्व सम्हालिसके । उनी अझै पनि आफ्नो काम बाँकी रहेका कारण वडामा स्वतन्त्र उम्मेदवारी दिएको बताउँछन् । ‘कामै नगर्ने मानिसले हो विश्राम लिने’ व्यञ्जनकार भन्छन्, ‘काम गर्ने मान्छेलाई त काम गर्दा गर्दै सकिएको हुँदैन । मेरो पनि केही काम बाँकी छन् । त्यही काम गर्न फेरि उम्मेदवारी दिएको हुँ ।’

हाल युएन पार्कदेखि टेकुसम्म नै वडा नम्बर १० पर्छ । उक्त वडा ललितपुर र काठमाडौँ जिल्लाको सिमानामा छ । सीमा छुट्याउने बागमतीमा पानीसँग फोहोर  र ढल मिसिएकाले यो कार्यकालमा उनी त्यो फोहोर सफा गर्न चाहन्छन् ।

यो पटक काठमाडौँबाट ललितपुर जाँदा नाक थुनेर जानुपर्ने अवस्था छ । अब वडा अध्यक्ष भए पनि उनी फोहोर व्यवस्थापनका लागि काम गर्ने व्यञ्जनकारको भनाइ छ । ‘यो चुनाव सकिएपछि फोहोर व्यवस्थापनका लागि सम्बन्धित निकायले काम ग¥यो भने ग¥यो नत्र आन्दोलन नै गर्ने हो । यो पटक भने म फोहोर व्यवस्थापनको काम पूरा गिरेरै छोड्छु’ उनी भन्छन्, ‘बागमती सफाइ भनेर पञ्जा मात्रै लाखौँको किने होलान् । तर काम जस्ताको तस्तै ।’

उनलाई आफ्नो वडामा सरकारले बनाएको युएन पार्कमा चित्त बुझेको छ तर त्यो पार्कमा मन्त्री र सचिवका आसेपासेले जागिर खाने ठाउँ बनाएको भने चित्त बुझेको छैन । सरकार फेरिँदा त्यहाँको कर्मचारी समेत फेरिने भएकाले पार्कमा समेत राजनीति भएको उनको बुझाइ छ । 

उनी आफ्नो वडामा पर्यटकको चाप बढ्दै गएको बताउँछन् । यो कार्यकालमा उनी आफ्नो वडा हुँदै बग्ने बागमती सफा गर्ने र युएन पार्क क्षेत्रलाई सफा गर्न सके आफ्नो क्षेत्र पर्यटक मैत्री हुने व्यञ्जनकार बताउँछन् । 

‘अहिले नाउँ मात्रैको पार्क छ । पार्क भन्न नै सुहाउने छैन । यदि उनीहरूले सरसफाइ गर्ने काम गरे भने ठिकै छ नत्र स्थानीय सरकारले त्यो पार्क लिएर काम गर्छौ’ उनी भन्छन्, ‘सफा भए पछि त पर्यटकको घुइँचो नै लाग्छ ।’ 

उनी बहुदल आए पनि पार्टीहरूले विकास निर्माणको काममा भाँजो हाल्ने गरेको बताउँछन् । काम गर्नको लागि दक्ष जनशक्ति दिनको लागि पालिकाले गर्नु पर्ने काम बाँकी छ । यही काम वाकी भएकाले आफूलाई टोलाका मानिसले फेरि उठ्न आग्रह गरेको व्याञ्जनकार बताउँछन् ।

 

उनलाई वडामा राष्ट्रिय राजनीतिमा जान चाहिँ मन लागेन भनेर प्रश्न गर्दा गर्न काम गर्न नसक्ने ठाउँमा जान नहुने बताउँछन् । ‘आउने चुनाव जिते भने त यति लामो समयसम्म वडाको नेतृत्व गर्ने म नै होला’ उनी भन्छन्, ‘अब त मेरो नाम गिनिज बुकमा नै लेख्‍न मिल्छ भन्ने सुनेको छु ।’ उनी २०२९ सालदेखि लगातार वडा अध्यक्षको पदमा छन् । यो ५० वर्षमा आफूहरूले वडाको हितमा नै काम गरेर जिताएको बताउँछन् । 

के गरे ५० वर्षमा 
स्वर्गीय राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा प्रस्ताव गरेका थिए । त्यही समयमा उनी ललितपुर भ्रमण गर्दा आफ्नो वडामा शान्ति विहार बनाउनका लागि पहल गरेका थिए । उनले आफ्नो वडाका युवाहरूले खेल खेल्न रुचि देखाए पनि ‘फ्रेन्च क्लब’ सुरु गरे । व्यञ्जनकारले त्यो क्लबबाट खेलदेखि सिलाई बुनाईसम्म सिकाए । तर २०६२ साल देखि भने राजनीतिका कारण त्यो क्लब सक्रिय नभएको उनी बताउँछन् । 

यसका अलावा बाटो घाटोदेखि ढल बनाउन उनी सधैँ सक्रिय हुन्छन् । उनले २०५० सालमा २ दिन लामो मिटिङ बसेर जग्गा एकीकरणको काम समेत गरे । व्यञ्जनकार ज्वागलमा बाटो बनाउँदा पाएको दुःख अहिले पनि स्मरण गर्छन् ।

बागमती कोरिडोरमा रहेको जमिन जोगाउन पनि उनको ठूलो भूमिका छ । काठमाडौँ र ललितपुरमा बराबरी जग्गा छुट्टाए पनि काठमाडौँतिर भने सबै जसो खाली जमिन अतिक्रमणमा परेको छ । तर, ललितपुरमा भने अहिलेसम्म अतिक्रमणबाट जोगिएको छ ।

‘बागमती खोलाको कटान रोक्नका लागि मैले राजा वीरेन्द्र पाटन आउँदा बिन्ती गरेँ । सरकारले मलाई पानी पोखरीको कार्यालयमा गएर कुरा गर्न हुकुम दिनुभयो’ उनी सुनाउँछन्, ‘त्यति बेला म सँग काठमाडौँको पानी ट्याङ्कीमा रहेको कार्यालय जान पैसासमेत थिएन । हिँडेर पानी ट्याङ्की पुगेर कागजमा हस्ताक्षर गराएँ ।’ 

राम्रो काम गरेवापत सालिक बनाइँदै
व्यञ्जनकारले आधा शताब्दी वडाको नेतृत्व गरिसके । १० पल्ट वडाध्यक्ष बनिसकेका व्यञ्जनकारले राम्रो काम गरे । जसको सम्मानमा वडावासीले पार्कसहित पूर्ण कदको सालिक नै बनाउँदै छन् ।
राजनीतिक नेतृत्वको सम्मानमा नागरिकले आफ्नै खर्चमा पार्कसहितको सालिक बनाउन लागेको सम्भवतः यो पहिलो घटना हो ।

वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले वडाध्यक्षको सालिक निर्माण अभियानको नेतृत्व गरिरहेका छन् । ‘५० वर्षदेखि लगातार वडाध्यक्षमा निर्वाचित भएर नागरिकको सेवा गर्नु भएकाले उहाँको सम्मानमा सालिक बनाउन लागेका हौँ’ त्रिपाठी भन्छन्, ‘राम्रो काम गरे सालिक बनाइदिँदा रहेछन् भन्ने सन्देश पनि यस्तो गरेका हौ ।’

स्थानीयले वडाध्यक्षको सालिक निर्माणका लागि आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको छ । ‘व्यञ्जनकारले जोगाएको युएन पार्कमा बगैँचासहित पार्क बनाउने सोच छ’ उनी भन्छन्,  ‘यही प्रस्ताव बोकेर हामी मन्त्रालयसम्म पुगेका छौ । अहिले उपयुक्त स्थानको खोजीमा छौँ ।’ 

सालिक बनाउनका लागि १२ लाख र बगैँचा निर्माणको लागि ६५ लाख रुपैयाँ खर्चको अनुमान गरेका छन् । ‘आवश्यक बजेट वडावासीहरूबाट जुटाउने र अपुग भएमा सरकारी निकायसँग माग गर्छौ । त्रिपाठीले भने ‘चन्दा संकलनका लागि वडावासीलाई पत्राचार गर्ने तयारीमा छौ ।’
 


Author

सुरेन्द्र बजगाईं

अर्थतन्त्र र सामाजिक विषयमा कलम चलाउने बजगाईं संवाददाता हुन् ।


थप समाचार
x