समाज

तिङ्कर प्रहरी छायालेक पुग्यो

इकागज |
बैशाख २६, २०७९ सोमबार २०:५५ बजे

फाइल फोटो

दार्चुला - गत मङ्सिरमा हिमपातपछि सदरमुकाम झरेको नेपाल प्रहरी सोमबार तिङ्करको छायालेक पुगेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल प्रहरी छायालेक पुगेको हो । 

६ महिना मात्रै राज्यको उपस्थिति रहने तिङ्करको छायालेकमा सई हर्क महताको नेतृत्वमा सात जनाको टोली तिङ्कर चौकीमा पठाइएको जिल्ला प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । 


नेपाल प्रहरीले ६ महिना चाहिने रासन, हातहतियार बन्दोबस्तीको समान लिएर गएको हो । ब्याँस गाउँपालिका–१ को तिङ्करमा ६ फुट बढी हिमपात हुने गरेका कारण प्रहरी र स्थानीय ६ महिना मात्रै यहाँ बसोबास गर्छन् । 

छायालेक प्रहरी चौकीबाट नेपाल चीन सीमास्तम्भ पुग्न ४ घण्टा समय लाग्छ । छाङगरुमा भने दुई वर्षदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बाह्रै महिना बस्न थालेको छ । 

छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गरिएको छ । तिङ्करको छायालेकमा सशस्त्र प्रहरीको बिओपी राख्ने तयारीस्वरुप गत वर्ष भवन निर्माण गरिएको तर अहिलेसम्म सशस्त्र प्रहरी राख्नेबारे जानकारी आइनसकेको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक धीरेन्द्र शाहले बताउए । 

उनका अनुसार निर्वाचनको बेला सशस्त्र प्रहरी पनि तिङ्करमा खटिन्छ । यो पटक निर्वाचनका लागि छाङ्गरु र तिङ्करमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिँदैछन् । म्यादी प्रहरी टाढा भएका कारण पठाइएको छैन । रासस


Author

थप समाचार
x