खेलकुद

ए डिभिजन लिग : मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाईज शीर्ष स्थानमा

इकागज |
बैशाख २७, २०८० बुधबार १९:३ बजे

काठमाडाैं । साविक विजेता मच्छिन्द्र फुटबललाई २–१ गोलले पराजित गर्दै चर्च ब्वाईज शहीद स्मारक ए डिभिजन लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा प्रदीप भण्डारीले ७१ औं मिनेटमा गरेको गोलको सहयोगमा यसै सिजन बढुवा भएको चर्च ब्वाईजले साविक बिजेता मच्छिन्द्रमाथि रोमाञ्चक जित निकालेको हो । यस जितसँगै चर्च ब्वाईज जारी लिगको शीर्ष स्थानमा फर्किएको छ । चर्च ब्वाईजले लगातार चौथो जित दर्ता गर्दै अंक तालिकाको शीर्षस्थानमा ३ अंकको स्पष्ट अग्रता बनाएको हो ।


चर्च ब्वाईजले १६ खेलमा ३० अंक बनाउँदै दोस्रो स्थानको जावलाखेललाई ३ अंकले पछि पारेको हो । जावलाखेलको २७ र तेस्रो स्थानको थ्री स्टारको २५ अंक छ । मच्छिन्द्र १६ खेलमा २४ अंकसहित चौथो स्थानमा छ ।

निकै प्रतिष्पर्धात्मक खेलमा चर्च ब्वाइजलाई स्पष्ट जित दिलाउन अन्जन विष्टले एक गोल गर्दा अर्को गोल आत्मघाती गोल भएको हो । मच्छिन्द्रका लागि ओमोलाजा करीमले पेनाल्टीमार्फत बराबरी फर्काएपनि मच्छिन्द्र बाँकी समयमा सम्हालिएको प्रदर्शन गर्न असफल भएको थियो । चोटका कारण आफ्नो पहिलो रोजाइका चार खेलाडीबिना उत्रिएको मच्छिन्द्रविरुद्ध चर्च ब्वाइज हावी देखिएको थियो । खेलको ४० औं मिनेटमा अञ्जनले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । कमल श्रेष्ठले प्रहार गरेको फ्रिकिकलाई अन्जनले फस्ट बारमा हेडरमार्फत जाली चुमाउन सफल भएका थिए ।

दोस्रो हाफको ५१ औं मिनेटमा आशिष चौधरीको क्रसमा अञ्जनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिएपछि चर्च ब्वाईजले अग्रता दोब्बर बनाउने अवसर गुमाउन पुगेको थियो । खेलको ६४ औं मिनेटमा आन्द्रेस नियालाई पेनाल्टी क्षेत्रभित्र फ्रान्क्लिन क्वेटे टाल्लाले लडाएपछि मच्छिन्द्रले पेनाल्टीको अवसर पायो । ओमोलाजा नुरेन करीमले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

७१ औं मिनेटमा चर्च ब्वाइज आत्मघाती गोलमा पुनः अग्रता लिन सफल रह्यो । कमल श्रेष्ठको कर्नर प्रहारमा मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारी नियन्त्रण लिने प्रयास गर्दा बल आफ्नै पोस्टभित्र खसालेपछि चर्च ब्वाइज अग्रता लिन सफल भएको थियो । नियमित गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठ बिरामी भएपछि प्रदिपले शुरुवातदेखि पोस्ट सम्हालेका थिए । त्यसपछि  बाँकी समय पनि चर्च ब्वाईजले केही अवसर पाएपनि सदुपयोग गर्न असफल नै रह्यो ।
 


Author

थप समाचार
x