खेलकुद

राष्ट्रिय खुल्ला फ्रेन्डशिप तेक्वान्दो प्रतियोगिता वैशाख २ मा

इकागज |
चैत २७, २०८० मंगलबार १७:४० बजे

काठमाडौँ- चौथो राष्ट्रिय खुल्ला फ्रेन्डशिप तेक्वान्दो प्रतियोगिताको वैशाख २ गते हुने भएको छ । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना, नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डशिप तेक्वान्दो च्याम्पियनसीप (आइओएफटिसी) को सहयोगमा सो प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताका संयोजक तथा तेक्वान्दोका प्रमुख प्रशिक्षक नविनकुमार श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुने प्रतियोगितामा देशभरका ६ सयभन्दा बढी खेलाडीले सहभागिता जनाउने जानकारी दिए ।


गेरोगीतर्फ सिनियर पुरुष/महिलामा समान ६/६ गरी कुल १२ स्पर्धा र जुनियरतर्फ पुरुष/महिलामा समान १०/१० गरी २० स्पर्धामा भिडन्त हुनेछन् ।

यसैगरी पुम्सेको व्यक्तिगत, समूहगत र जोडी सहित १२ स्पर्धा समावेश गरिएको छ । गेरोगी र पुम्सेमा गरी कुल ४४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यो प्रतियोगिता इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसीप (आइओएफटिसी) को छनोट पनि हो ।  यस प्रतियोगिताबाट तीन महिला र तीन पुरुष गरी ६ खेलाडी इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसीपका लागि चयन हुनेछन् ।

सिनियर तौल समूहका स्वर्ण विजेतालाई ओलम्पिक तौल समूहमा विभाजन गरी पुनः प्रतिस्पर्धा गराइनेछ । जसमा विजयी हुनेले दक्षिण कोरियामा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् । दक्षिण कोरियाका लागि छनोट हुने सबैले जनही ५० हजार रुपैयाँ पुरस्कार पनि प्राप्त गर्नेछन् । सो प्रतियोगिता आगामी अगस्ट २३ र २४ मा दक्षिण कोरियाको सोलमा हुँदैछ ।

यसैगरी प्रतियोगिताका शीर्ष तीन टोलीले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ पाउनेछन् । त्यसैगरी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट निर्णायकलाई जनही दस हजार रुपैयाँ प्रदान गरिनेछ । 


Author

थप समाचार
x