विचार-वार्ता

जुझारु युवाहरूलाई पार्टीमा कुनै स्थान नदिइँदाको परिणाम

सुशीला कार्की |
जेठ १६, २०७९ १६:६ बजे

पञ्चायत कालमा झापाबाट पुहातु चौधरी राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुन्थे । उनी निर्वाचन प्रचार–प्रसारका क्रममा स्वयं मतदाताको घर–दैलोमा पुग्थे । उनी आफ्नो पोस्टर स्वयं भित्ता भित्तामा टाँस्ने अनि पर्चाहरू आफैँ त्यसबखत बाँडेर हिँड्थे । सामान्य हैसियतका पुहातुको त्यसबखत निर्वाचनमा उल्लेखनीय नभई नाम मात्रको खर्च भएको थियो । साधारण धोती र सुती कपडाको गन्जीको पहिरनमा रहने पुहातुको जीवन टायरको चप्पलमा नै बितेको थियो ।

साधारण मानिसले निर्वाचनमा खडा भई नपत्याउने गरी जित्न सफल अर्को उदाहरण हो, पञ्चायतकालीन व्यवस्थामा २०३८ मा राष्ट्रिय पञ्चायतका रुपमा नानीमैया दाहाल उदाइन् । उनी त्यो निर्वाचन अत्यधिक मतका साथ विजयी भएकी थिइन् । उनको जितका सवालमा तर्क राख्नेहरूले भनेका पनि थिए, ‘उनी निर्वाचित हुने कारण थियो, पञ्चायतकालमा जनतामा पञ्चायती शासनप्रति वितृष्णा पैदा हुनु ।’ तसर्थ, विद्रोही विचारयुक्त मतहरू नानीमैयाको बाकसमा प्रचुर मात्रामा खसेका थिए, त्यसबेला ।


यसपालिको स्थानीय निर्वाचनको परिणामले पनि केही सन्देश प्रवाह गर्न खोजेको देखिन्छ । बहुदलीय व्यवस्थाप्रति जनताको आस्था कायम रहे पनि, यो व्यवस्थाको सञ्चालनमा आएका दलीय नेताहरूको नकारात्मक क्रियाकलापप्रति जनताको विरोध रहे भएको प्रकट हुन्छ । एमाले दलको अपेक्षित मत निर्वाचनमा नआउनुको कारण उक्त दलका नेताहरू स्वयं जिम्मेदार हुन् । सत्ता लिप्सा, सत्ताको मोह र सत्ता प्राप्तिको निम्ति मल्ल युद्ध, बारम्बारको संसद् विघटन अनि दलभित्रको फुट र पार्टीकै बुज्रुक नेताहरूको अपमान, तिरस्कार, असल नेतृत्व दिन सक्ने सक्षम युवाहरूको दलबाटै बहिष्करणको नीति अपनाई पार्टीलाई मुढ, स्वाँठ, तमासे र लठ्ठैतहरूको अखडा बनाउन खोज्नु आदि कारणहरू हुन् । भाषणहरूमा पटकैपिच्छे हाँसेर ताली पिट्ने तमासेहरूबाट न त मुलुक चल्छ, न त ताली र गालीबाट जनताको दैनिकी आवश्यकता पूर्ति हुन्छ । नेताहरू चिल्लो मोटो–घाटो र खाइलाग्दो बन्दैमा जनता र मुलुकको विकास हुने पनि होइन ।

अबका दिनहरूमा सात सालको क्रान्तिमा मेरा बाजे पुर्खा फलाना फलाना क्रान्तिकारी नेताले नेतृत्व लिएका वा भाग लिएका थिए र म फलानाको छोरा, पत्नी, नाती, बुहारी थिए भनेको भरमा आमजनताले मत दिँदैनन् । 

बहुदल प्राप्तिपछिको विगत बत्तीस वर्षसम्ममा नेपालमा आमजनताले अपेक्षा गरेको विकास हुन सकेको छैन । यो अवधिभित्र प्रायःजसो सबै दलले एकल वा संयुक्त रूपमा शासन गर्ने अवसर नपाएको भने होइन । अर्थात् सबैको अनुहार जनताले परख गरेका वा भोगेका छन् । बरु यो अवधिमा दुर्भाग्य नै मान्नुपर्छ कि दलीय शासनको नाममा कुसंस्कार र भ्रष्टाचारले दायरा फैलाएको छ । तसर्थ, यस पटकको स्थानीय निर्वाचनमा जनता आजित भएरै हुनुपर्छ । मुलुकको मुख्य–मुख्य सहर र राजधानीमा नै नगर प्रमुखको पदहरूमा दलदेखि बाहिरका स्वतन्त्र उम्मेदवारहरूले विजय हासिल गर्न सफल भएका छन् । यो दलीय नेताहरूलाई आमजनताले दिएको एउटा बलियो चेतावनी हो । यसअघिका पदाधिकारीहरूबाट जनताको अपेक्षाको पूर्ति नभएको, राजस्व उठाउने नाममा मनपर्दी रकम उठाएको, जनताको सेवा गर्नुभन्दा बढी मोटर गाडी खरिद गरी सुविधा लिने प्रयास मात्र गरेका छन् । व्याप्त भ्रष्टाचार र लुटको प्रवृत्ति देखिएको हँुदा २०७४ को निर्वाचनमा भन्दा यसपालिको निर्वाचनको मतदान र जनप्रतिनिधिको चयनले फरक सन्देश दिएको छ । साथै यसपटक निर्वाचन आयोगले आफ्नो काममा कानुनसम्मत बाटो अपनाउने प्रयास गरेको पनि देखियो । हजारौँ मतदान क्षेत्र भएकामा केही ठाउँमा स्थानमा विवाद हुनु स्वाभाविक हो । जनता पनि मतदानको क्रममा शान्तिपूर्वक मतदान गरेका थिए ।

आजसम्मको निर्वाचनमा के हुँदै आएको छ भने दलका धनीमानी नेताहरूलाई धन खर्च गरेर निर्वाचन जित्न सकून् भनी दलहरूले टिकट दिने गरेको देखिँदै आएको छ । अझ बढी के पनि सुन्न आयो भने दलका मुख्य–मुख्य नेताहरूले उमेदवारसँग पैसा पहिले नै एकमुष्ठ रकम लिने र टिकट बिक्री गर्ने जस्ता कार्य गरेका छन् । प्रभावकारी नेताहरूका नाता–गोतालाई निर्वाचनमा उठाउने र बल गरेरै भए पनि जिताउने । यो परिपाटीबाट दलका कर्मठ, इमानदार र जुझारु नेता, कार्यकर्ताहरू प्रायःजसो सबै दलहरूबाट पाखा लागेछन् । दलहरूले आफन्तवादलाई प्रश्रय दिने गरेको कारण आज–भोलि जित्न सक्ने इमानदार छविका नेताहरूलाई निर्वाचनको टिकट दिन छाडिएको छ । निर्वाचनमा दलहरूको भागबण्डाको प्रवृत्ति र धन खर्च गरेर लडिने निर्वाचन तथा नेता भएपछि कार्यकर्ता पाल्नुपर्ने संस्कृतिको कारण कयौ नेताको अर्थ व्यवस्था टाट पल्टिन गएको पनि देखिएको छ । परिणाम त यसपटक कतिपय दलका सदस्यहरूले दल छाडेर स्वतन्त्र भएरै वा दल बाहिरका स्वतन्त्र व्यक्तिहरूले ठाउँ–ठाउँमा निर्वाचन लड्ने हिम्मत गरेको देखियो । साथै तिनले महत्वपूर्ण पालिकाहरूमा जित हासिल गर्न सफल भएको पनि देखिएको छ । त्यस्ता व्यक्तिले जनताबाट मत पाउनुको अर्थ हो, दलीय उमेदवारहरूको व्यवहार र इमानप्रति आशंका रहनु र जनताले मतदानद्वारा आफ्ना निम्ति जुझारु र इमानदार नेताको खोजी गर्नु ।

यसपटक मुलुकभरि नभए पनि नेपालको कमसेकम मुख्य–मुख्य सहरहरूका आम नागरिकहरू चेतनशील रहेछन् भन्ने देखियो । संसारमा मानव जातिले अब मंगल ग्रहतिर विस्तार गर्दै छ । विज्ञानले यति धेरै चमत्कार गरेको छ कि अमेरिकामा बस्नेहरूले कम्प्युटर र अनलाइनको जरियाबाट संसारभरि छरिएर रहेको आफ्नो कम्पनीको शाखाहरू सहजैसँग चलाउन सकेका छन् । युवासँग हाम्रो पिँढीको तुलना हुन सक्दैन । यो युग यति प्रगतिशील छ कि हर विषयको अनुसन्धान र अन्वेषण गरी प्रयोगमा ल्याइएको छ । त्यसबाट मात्र विकास सम्भव पनि छ । 

नेपालको वर्तमान शासन व्यवस्थामा युवाहरू जो जुझारु छन्, परिष्कृत सक्षम छन्, जानिफकार छन्, अध्ययनशील छन् तिनको स्थान छैन । राजनीतिक दलहरूमा पनि त्यस्ता युवाहरूको उपस्थिति न्यून छ । भए पनि तिनलाई कुनै दायित्व दिएको देखिएको छैन । संघ, संस्थाहरू, सरकारी विभागहरू, कार्यालयहरूमा त्यस्ता युवाहरूको काम छैन, त्यहाँ पनि युवाहरू बहिष्कृत छन् । फुटबल खेलाडीले मुलुकबाहिर विजय हासिल गरेमा अरु मुलुकमा सम्मान पाउँछन् । तर नेपालमा तिनकोप्रति ईष्र्याको भावना राखी आलोचना गर्ने नेता कस्ता हुन् ? हाम्रो मुलुकको वर्तमान नेताहरूमा युवा शक्तिलाई मुलुकको भविष्य ठानेर तिनलाई राज्यको हर क्षेत्रमा सरिक गराइने, विकासमा अग्रसर गराउने र भावी पिँढीलाई राज्य सञ्चालनमा सामेल गराउनुपर्छ भन्ने चेतना छैन । भएसम्म आफैँ सबै पदहरू ओगट्ने वा आफ्ना र आफन्तलाई योज्ञता नपुगे पनि बल जफत सरिक गराउनेमा सक्रियता देखिएको छ ।

त्यसैले गर्दा पनि विदेशमा उच्च शिक्षा प्राप्त गरी मुलुकको सेवा गर्ने गरी भावना लिएर फर्किएका अधिकांश युवा वा मुलुकमै उच्च शिक्षा प्राप्त गरी केही गर्ने चाहना भएका युवाहरू मुलुकभित्रै राम्रो काम गरी देखाउने स्थान नपाएको हुँदा निराश छन् वा विदेशमा नै फर्किएर साना–तिना पेसा गर्न बाध्य छन् । यसपटकको निर्वाचनमा करोड–करोड खर्च नगरी अनलाइन र युट्युबबाटै प्रचार–प्रसारका भरमा काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन शाह र टेम्पो चढेरै चुनाव प्रचार गरेको भरमा धरानका नगर प्रमुखमा हर्कराज राई साम्पाङ राईले जित हासिल गर्न सकेका छन् । यिनले जित्ने कारण पैसा बाँडेर होइन, यिनको अघिदेखिको कार्य, जुझारुपन तथा जनतामा काम गर्न सक्ने विश्वास दिलाउन सक्नु हो । 

अबका दिनहरूमा सात सालको क्रान्तिमा मेरा बाजे पुर्खा फलाना फलाना क्रान्तिकारी नेताले नेतृत्व लिएका वा भाग लिएका थिए र म फलानाको छोरा, पत्नी, नाती, बुहारी थिए भनेको भरमा आमजनताले मत दिँदैनन् । अब सत्र हजार नागरिक, माओवादीकै शब्दमा ‘शोषक सामान्तीहरूको प्राण हरेर रगतको खोलो बगाउने मै हुँ’ भनेका भरमा पनि जनताले मत दिँदैनन् । जनतालाई रोजीरोटी र मुलुकको विकास चाहिएको छ, न कि देखाउने र भजाउने नाममा चलाइने राष्ट्रवाद र परिणामविनाका फोस्रा भाषण नै । हाँस्यास्पद कुरा के छ भने यो विकसित युगमा आएर राजनीतिक नेता र नेत्रीहरू जनताले भोट दिएमा मलेसिया पठाउने, भोटको बदलामा रोजगारी व्यक्तिगत तौरमा दिने कुरा गरेर जनतालाई भुल्याउने र फुल्याउने कुरा गर्छन् । असल शासनमा सरकारले गराउने मतदान भनेको विनाप्रलोभनको शुद्ध मतदान हो । असल र कर्मठ छवि भएका इमानदार नेता र नेतृत्वको चयन गर्नु हो ।  


Author

सुशीला कार्की

कार्की पूर्वप्रधान न्यायाधीश तथा ‘न्याय’ एवं ‘कारा’ पुस्तककी लेखक हुन् ।


थप समाचार
ad
x