विचार-वार्ता

कोशी क्षेत्रको सर्वतोमुखी विकासका लागि कोशी उच्चबाँध

गोविन्द शर्मा पोखरेल |
असोज २७, २०८० शनिबार १२:१९ बजे

कोशी उच्चबाँधसँग सम्बन्धित विकासलाई  जलवायु परिवर्तनका सन्दर्भमा जलपरिवहन, खाद्य तथा जीवन सुरक्षा, विद्युत्‌ विकास आदिद्वारा द्वन्द व्यवस्थापन गर्ने र मित्रराष्ट्र भारतसँगका पुराना सम्बन्धहरूलाई नयाँ र दिगो सम्बन्ध विकासको मिलनविन्दूका रुपमा हेर्न सकिन्छ । यसै परिवेशमा यो आयोजनाको परिकल्पना गरिनु पर्दछ ।

मूल उदेश्य
“बिहारको पीडा” को उपनामले परिचित कोशी नदीमा बाँध्न प्रस्तावित उच्चबाँधबारे जस जसले जेसुकै भनेको भए पनि यसको प्रमुख उदेश्य बाढी नियन्त्रण गरी भारतको बिहार राज्यका जनताको जीवनरक्षा नै हो । र यस्तो मानिसको जीवन रक्षा हुने कार्यमा आवश्यक सहयोग गर्नु एक असल छिमेकीका नाताले नेपालको परम कर्तव्य हो । तर, भारतबाट अथवा भारतको बिहार राज्यबाट आजको मितिसम्म यस्तो प्रस्ताव आएको छैन । नेपालजस्तो सानो मुलुकले बिहारी भाइहरूको जीवनरक्षाका लागि यति ठूलो रकम लगानी गरी उच्चबाँध निर्माण गर्न सक्ने आर्थिक अवस्था छैन र बाढी नियन्त्रणका कोणबाट यस आयोजनाको पहिचान नभएकाले यसबारे केही अध्ययन-अनुसन्धान पनि हालसम्म भएको छैन ।


भारतद्वारा प्रस्तावित कोशी उच्चबाँध विद्युत्‌ उत्पादनका लागि भएको तथा यस आयोजनाबाट भारतलाई केही नगण्य मात्रामा मात्र खाद्य उत्पादनको लाभ र उप-उत्पादनका रुपमा केही बाढी नियन्त्रणको फाइदा हुने भएकाले तथा नेपाल तथा भारतमा जलविद्युत्‌ उत्पादनका हिसाबले अन्य धेरै आकर्षक योजनाहरू भएकाले यसबारे नेपालले केही चासो नदेखाएको हो । तर, यदि यस आयोजनालाई बहुउद्देश्शीय आयोजनाका रुपमा दुबै राष्ट्रलाई न्यायोचित फाइदा हुने गरी निर्माण गर्ने हो भने यो आयोजना निर्माणमा नेपालको सहमति र सहभागिता पक्कै हुनेछ ।

वास्तवमा कोशी उच्चबाँधको मुख्य उदेश्य बर्षाको पानीलाई उच्चबाँधको सहायताले नेपालको पहाडी क्षेत्रमा संचित गरी बाढी नियन्त्रण गर्ने, पानीको उच्च माग हुने हिउँदका महिनामा खाद्य उत्पादन तथा अन्य औध्योगिक आवश्यकताअनुसारको जलप्रवाह गरी अधिकतम प्रतिफल लिने र सो जलप्रवाहका आधारमा जलविद्युत्‌ उत्पादनको जडित क्षमता निर्धारण गर्ने हो । त्यसैले, यस बहुउद्देश्शीय आयोजनाको जलयातायातमा उचित प्रयोग गर्ने गरी आयोजनाको डिजाइन तथा व्यवस्थापन गर्न सकिन्छ । तर यसको प्रमुख उदेश्य बाढी नियन्त्रण, खाद्य सुरक्षा र नियमन गरिएको पानीको अन्य औध्योगिक प्रयोग हुन भने जलविद्युत्‌ उत्पादन आंशिक उप-उत्पादन हो र जलयातायात, अतिथि सत्कार, खानेपानी आदि उप-उत्पादन हुन ।

त्यसैले, भारतद्वारा प्रस्तावित कोशी उच्चबाँध र नेपालले सोचेको उच्चबाँधमा पारदर्शी सामञ्जस्यता नभएकाले नै यो आयोजना कार्यान्वयनमा समस्या देखिएको हो । यसको दोश्रो कारण भारत सरकारद्वारा कोशी आयोजनामा अपनाइएको जग्गा अधिग्रहण नीति हो भने तेश्रोमा भारतद्वारा नेपालका सिमानामा निर्माण गरिएका दुश्मनीपूर्ण संरचनाहरू र नेपालप्रति भारतको गलत छिमेक नीति हो ।

खास आयोजाना र यसबाट हुनसक्ने फाइदाहरू त्यसैले, यो आयोजना नेपालले सोचेको सेरोफेरोमा निर्माण गर्न तथा यसको माध्यमबाट कोशी क्षेत्रको गरिबी निवारण तथा द्वन्द व्यवस्थापनका तमाम समस्याहरूको समाधान गर्न आवश्यक देखिन्छ । 

१.     उच्चबाँधको उचाईः यस उच्चबाँधद्वारा अधिकतम पानी नियमन गरी उच्च प्रतिफल लिनका लागि यसको उचाई तुम्लिङटार हवाई मैदानभन्दा करिब ५ मिटर कम्ती हुने गरी अथवा उच्चतम जल सतह ३८२.८० मिटर हुने गरी डिजाइन गर्ने ।
यस आधरमा बाँधको कूल उचाई २७७.८० मिटर हुनेछ, यसमा २७०.८० मिटर पानीको उच्चतम जलस्तर तथा करिब ७ मिटर फ्रीबोर्ड रहने छ । फ्रीबिर्डको उच्चतम उचाई ३८९.८० मिटर हुनेछ ।

२.    यसो गर्दा तुम्लिङटार नजिक अरुण नदीमा जलाशयको गहिराई करिब ११० मिटर हुनेछ ।

३.    यो बाँध हाल प्रस्तावित स्थान वा यसको नजिकको कुनै स्थानमा निर्माण हुनेछ ।

४.    यस बाँधबाट निर्मित पोखरीको कुल लम्वाई करिब २६० किलोमिटर हुनेछ र यस जलाशयले करिब २२० वर्गकिलोमिटर जमिन ओगटने छ । 

५.    यस जलाशयको कुल क्षमता करिब २ अर्ब घनमिटर डेड स्टोरेज सहितको करिब ३१ अर्ब घनमिटर हुनेछ । 

६.    वार्षिक सालाखाला ६ करोड २७ लाख घनमिटर सेडिमेन्ट (थिग्रो) मध्ये करिब ५० प्रतिशत पानीमा तैरिने थिग्रो बाँधको नजिक जम्मा हुने आधारमा यस डेड स्टोरेजको आयु करिब ६४ बर्षको हुनेछ । यस आयोजाना अन्तर्गत वा सोभन्दा अगाडि तमोर जलाशय र सुनकोशी जलाशय बनी सक्ने आधारमा यस जलाशयमा बार्षिक सालाखाला २ करोड ४९ लाख घनमिटर मात्र थिग्रो आउने भएकाले यस डेड स्टोरेजको भरिने समय करिब ८० बर्ष हुने तथा बाँध नजिक जम्मा हुने थिग्रो कुल थिग्रोको आधा हुने हिसाबले यसको आयु करिब १६० बर्षको हुने अनुमान गरिन्छ । 

७.    यसरी परिकल्पना गरिएको उच्चबाँध निर्माण हुँदा यस नदीमा बार्षिक सालाखाला बग्ने ५१.६६ अर्ब घनमिटर पानीमध्ये २९ अर्ब घनमिटर पानी उच्चबाँधले नियमन गर्ने, हिउँदका महिनामा बग्ने सालाखाला करिब १० अर्ब घनमिटर पानी छुट्टै नियमन गरी राख्नु नपर्ने भएकाले बाँकी रहेको करिब १२.६६ अर्ब घनमिटर पानी मात्र बर्षातका १०० दिनमा बाँधबाट नियमन गरी छोड्दा नदीको वहाव करिब १,४६५.२८ घनमिटर प्रतिसेकेण्ड मात्र हुनेछ । तर कोशी नदीको माथि उल्लेखित वहाव धेरै वर्षको सालाखाला भएको तथा सो वहाव हरेक वर्ष केही कम वा केही ज्यादा हुने कुरालाई ध्यानमा राखी माथि उल्लेखित पानीको मात्रा १२.६६ अर्ब घनमिटरको दोब्बर हुँदा अथवा वर्षातका १०० दिनमा छोड्नुपर्ने पानीको परिमाण २५.३२ अर्ब घनमिटर हुँदा पनि यस बाँधबाट वर्षातका १०० दिनमा छोड्ने पानीको औसत वहाव करिब ३,००० घनमिटर प्रतिसेकेण्ड मात्र हुने र सो बहावमध्ये केही पानी धान खेतीका लागि आवश्यक भएका स्थानमा लैजादा वा यस्तो आवश्यकता नपरे कोशी नदीमा नै छोडदा पनि यस नदीमा वर्षातका समयमा आउने बाढी पूर्णतया नियन्त्रित हुनेछ ।

८.    वर्षातका १०० दिन बाहेकका २६५ दिनहरूमा यस आयोजनाद्वारा संचित पानीलाई एकैनासले छोड्दा यस नदीमा हिउँदका महिनामा औसत पानीको वहाव करिब १७०० घनमिटर प्रतिसेकेण्ड हुनेछ । तर, उक्त पानीको पुनर्प्रयोगमा खाद्य उत्पादनको बहुल्यता हुने भएकाले तथा खेतीबाहेकका अन्य प्रयोगमा पनि पानीको आवश्यकता हुने भएकाले पानीको अधिकतम कुल आवश्यकतालाई ध्यानमा राखी करिब ५,००० घनमिटर प्रतिसेकेण्डको बहाव क्षमता भएको नदी संरचनाको निर्माण हुन जरुरी देखिन्छ । यस्ता नदी संरचनामा नहरहरूको कुल क्षमता र तल्लो तटीय क्षेत्रमा नदीको बहाव क्षमता पर्दछन् । मेरो यो अंकगणितमा पानीको खास आवश्यकता अनुसारका अंकहरू समावेश गरी नदी संरचनाहरूको खास क्षमताको हिसाब हुन आवश्यक हुन्छ । तथा सो गणनामा केही फ्याक्टर अफ सेफ्टी समेतको व्यवस्था हुनु पर्दछ । 

९.    यसरी ५,००० घनमिटर प्रतिसेकेण्डको पानीको बहावलाई २७७ मिटर अग्लो बाँधको उचाईबाट खसाल्दा बाँधको तल्लो फेदीमा निर्माण गर्न सकिने जलविद्युत्‌ गृहको जडित क्षमता करिब ११,७७० मेघावाट हुन सक्तछ र यसबाट वार्षिक सालाखाला करिब ४०,००० गिगावाट आवर -४० अर्ब युनिट अर्थात नेपाल विद्युत प्राधिकरणले देशभर बेचेको बिजुलीभन्दा ३ गुनाभन्दा बढी_ जलविद्युत्‌ उत्पादन गर्न सकिन्छ । यसबाट बार्षिक सालाखाला २ अर्ब डलर बराबरको विद्युत्‌ व्यापार गर्न सकिन्छ ।

१०.    यस्तो पानीको नियमनबाट बाँधस्थलसम्म पानीजहाजको संचालन गरी ढुवानी खर्चमा ब्यापक कटौती गर्न सकिन्छ । यस उच्चबाँधद्वारा निर्मित २६०

किलोमिटर लामो जलाशयमा जलयाताययातको समुचित विकास गरी यस क्षेत्रका सडक संजालको मरमत संहारमा व्यापक कटौती गर्न सकिन्छ ।

११.    कोशी उच्चबाँधको निर्माणबाट नेपालमा करिब १,००० बर्ग किलोमिटर र भारतमा करिब ५,००० बर्ग किलोमिटर कोशीको क्षेत्र प्रत्यक्ष रुपमा बाढीबाट मुक्त गर्न सकिन्छ । यसबाहेक जलाशयको उचित व्यबस्थापनबाट भारतमा थप २०,००० वर्ग किलोमिटर क्षेत्रमा बाढी नियन्त्रण गर्न सकिन्छ ।

१२.    कोशी उच्चबाँधद्वारा नियमन गरिने ३९ अर्ब घनमिटर पानीको पुनर्प्रयोगबाट करिब ५५,७०० बर्ग किलोमिटर क्षेत्रमा सि‌चाई गरी वार्षिक सालाखाला करिब ५ करोड ५७ लाख मेट्रिक टन थप खाद्य उत्पादन गरी कोशी क्षेत्रको गरिबी निवारण गर्न सकिन्छ । यस्तो परिमाणको खाद्य पदर्थको मूल्य सालाखाला करिब १,११५ अर्व भारतीय रुपैंया वा १३.६ अर्ब अमेरिकी डलर हुन सक्तछ ।

१३.    यस नियमन गरिएको पानी नेपालको धरानलगायत भारतका काकाकुल सहर तथा बस्तीहरूमा वितरण गरी त्यहाँको पानीको समस्या अनन्तकालसम्मका लागि समाधान गर्न सकिन्छ ।

१४.    यस परियोजनाको निर्माणबाट नेपालको करिब २२० वर्ग किलोमिटर क्षेत्र जलमग्न हुन्छ अर्थात् त्यहाँ २२० वर्ग किलोमिटरको जलाशयको निर्माण हुन्छ जहाँ व्यवस्थित मत्स्य पालन गरी साबिक खेतीभन्दा उच्च प्रतिफल दिने माछा खेती गरी व्यवसाय संचालन गर्न सकिन्छ ।

१५.    माथि उल्लेखित लाभहरूको बाबजुद यस परियोजनाको निर्माणबाट अरुण उपत्यका लगायत कोशी क्षेत्रका सांस्कृतिक  निधिहरूमा व्यापक र अपुरणीय क्षति पुग्नेछ ।

१६.    यस परियोजना निर्माणबाट विस्थापित हुने करिब १ लाख जनसंख्याको व्यवस्थापनमा असीमित असहजताका बाबजुद यस परियोजनावाट हुने लाभको केही अंशलाई आयोजना प्रभावित क्षेत्रमा प्रवाहित गरी आयोजनाको आकर्षणमा व्यापक वृद्धि गर्न सकिन्छ ।

कोशी उच्चबाँध निर्माण गर्नुपर्ने वाञ्छनियताः
१.    कोशी नदी बेसिन आफैमा सम्पन्न हुनसक्ने क्षमतावान हुँदाहुदै पनि द्वन्दग्रस्त र आर्थिक रुपमा पिछडिएको छ । यो क्षेत्र भारत र नेपालका अतिकम विकसित क्षेत्रमा पर्दछ र यहाँका जनता अति विपन्न छन् ।

२.    विपन्नताका धेरै कारणहरूमध्ये कोशी नदी तथा यसका सहायक नदीहरूमा सालवसाली रुपमा वर्षातको समयमा आउने बाढीले गर्ने विनाश तथा सुख्खायाममा हुने पानीको अभाव नै हुन भन्न सकिन्छ । त्यसैले, कोशी नदीमा आयोजना विकासका माध्यमबाट विध्यमान गरिवीका कारण उत्पन्न द्वन्द व्यवस्थापन गरी यस क्षेत्रका जनताको सर्वतोमुखी विकास गर्न सकिन्छ भन्ने मान्यता राखिएको छ ।

३.    यस आयोजनाको विकास निर्माणबाट तल्लो तटीय क्षेत्रमा विकासका सम्भावनाहरूको व्यापक वृद्धि गरी पुनरुत्थान गर्ने रहेको छ भने यसबाट माथिल्लो क्षेत्रमा व्यापक विनाश हुने देखिन्छ । त्यसैले, तल्लो तटीय क्षेत्रबाट माथिल्लो तटीय क्षेत्रलाई न्यायपूर्ण क्षतिपूर्ति र फाइदामा न्यायपूर्ण साझेदारी गराउन सके सम्बन्धित सबैलाई फाइदा हुने देखिएकाले यो परियोजना निर्माण गर्न वाञ्छनीय देखिन्छ ।

४.    भारतको बिहार राज्यमा वर्षातको बाढीसँगै हिउँदका करिब २६५ दिनमा हुने पानीको चरम अभावका कारण बढ्दो द्वन्दको व्यवस्थापन तथा निराकरणसँग कोशी उच्चबाँधको गहिरो सम्बन्ध देखिन्छ । वास्तवमा भन्नुपर्दा यस क्षेत्रमा बाढीको निराकरण तथा हिउँदका महिनामा पानीको सुनिश्चितता नै यस क्षेत्रको द्वन्द व्यवस्थापनको प्रमुख कडी हो । त्यसैले, भारतका लागि यो आयोजनाको सफलता अपरिहार्य छ । 

५.    त्यसैले, यस क्षेत्रका आयोजना प्रभावित जनता लगायत नेपाललाई उचित र अधिकतम फाइदा हुने गरी माथि उल्लेखित परिकल्पनाको सेरोफेरोमा कोशी उच्चबाँध परियोजनाको निर्माण गरिनु पर्दछ । यसका लागि नेपाल सरकारले पारदर्शी रुपमा निर्णय गर्न “हाम्रा होइन राम्रा” विज्ञहरूको बहुविशिष्ठता भएको टोली निर्माण गरी सोही टोलीको सिफारिसका आधारमा जनभावना समेतको उचित ख्याल गर्दै भारतको सहभागितामा यो आयोजनाको निर्माणको थालनी अविलम्ब गर्न आवश्यक देखिन्छ ।

(लेखक नेपाल पानी सदुपयोग फाउन्डेशन, काठमाडौंमा आवद्ध छन् ।)


Author

थप समाचार
x