विचार

एक्लै चुनाव लड्न सकिँदैन भने पार्टी चैँ किन बेग्लै ?

धनञ्जय ढकाल |
असोज १४, २०७९ ७:२२ बजे

२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनासँगै नेपाली कांग्रेसले आफ्नो झण्डै असी वर्षको राजनीतिक इतिहासमा विभिन्न आरोह–अवरोहको सामना गर्दै आएको सर्वविदितै छ  । अहिले यो पार्टी देशकै सबैभन्दा पुरानो र जनताले विश्वास गरेको राजनीतिक पार्टीका रूपमा रहेको छ तर विडम्बना अहिले आएर यस पार्टीभित्र सैद्धान्तिक विचलन मात्र होइन, नेताप्रति कार्यकर्ताको विश्वासनीयता र पार्टीप्रति जनताको आस्था पनि गुम्दै गएको छ । यो हामी सबैका लागि साह्रै दुर्भाग्यपूर्ण स्थिति हो ।

बीपी कोइरालाले निर्माण गरेको प्रजातान्त्रिक समाजवादको सिद्धान्त बोकेको पार्टी सुवर्ण शमशेरदेखि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाहरूले संरक्षण र संवर्धन गरेर मजबुत बनाएको संगठन तेस्रो पुस्तामा आई नपुग्दै यसरी कुमार्गमा जान्छ भन्ने आम कार्यकर्ताले कहिल्यै सोचेका थिएनन् । पार्टीको सिद्धान्त र संगठन निर्माणका लागि कैयाँै वीर योद्धाहरूले आफ्नो जीवनको आहुति दिएका छन् भने आन्दोलनको दौरान कैयौँ कार्यकर्ताहरू अंगभंग र घरबारविहीन भई विदेशिन बाध्य पनि भएका छन् । नेपाली कांग्रेस एउटा ऐतिहासिक संस्कार बोकेको देशको सबैभन्दा ठूलो र पुरानो पार्टी पनि हो तर अहिले यो सिद्धान्तविहीन भएको छ । 


नेताप्रति कार्यकर्ताको विश्वास गुमेको छ भने वैचारिक द्वन्द्वता गहिरिँदै गएको छ । पार्टीका कर्मठ, सच्चा र निष्ठावान् साथीहरूलाई परम शत्रुताको व्यवहार गरिएको छ र हिजो आफूलाई कट्टर दुश्मन ठान्ने कम्युनिस्टहरूसँग परम मित्रता गाँसेर उनीहरूलाई जिताउन पार्टी आज कम्मर कसेर लागेको छ । आफ्नै पार्टीको आदर्श चिह्न रुखलाई नै मास्ने गरी हँसिया हथौडा बोकेर सिंगो पार्टी स्वयंम् आफैँ हिँड्छ भने त्यो भन्दा बढी लाजमर्दो र दुःखको कुरो एउटा सच्चा कांग्रेसीलाई अरु के हुन सक्छ ? पार्टी पंक्ति अहिले भित्रभित्रै सिद्धान्तवादी र सत्तावादीका रूपमा दुई धार भएर विभाजित भएको छ । 

नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा केही वाम घटकहरूसँग गठबन्धन गरेर सरकार चलाएको छ र अहिले सत्ताको प्रलोभनमा परी आउँदो आमचुनावमा पनि यसैलाई कायम राखी पार्टीको अस्तित्वलाई समेत गौण सम्झेर हिजोका आफ्ना वैचारिक दुश्मनहरूलाई बचाउन मरिमेटेको छ । यो गठबन्धन कांग्रेस पार्टीको संस्कार, आदर्श र सिद्धान्त विपरीत छ । अहिलेको नेतृत्व वर्गले आफ्नो पदका लागि कार्यकर्ताको भावनालाई कुल्चेर पार्टीमा जबर्जस्त हैकमवाद लागू गरेको छ र कार्यकर्ता निरीह भएर यसलाई स्वीकार्न बाध्य भएका छन् ।

कांग्रेसको नेतामुखी तथा चाकडी संस्कारले गर्दा कार्यकर्ता निराश भएका छन् । यो सारै दुःखलाग्दो कुरा हो अनि आम कार्यकर्तामाथि गरिएको कुठराघात पनि हो । पार्टीमा यस्ता समस्या आउनु भनेको कुशल नेतृत्वको अभाव त हो नै पार्टीका आम कार्यकर्ताको मौनता पनि हो । पार्टीभित्र पुराना, सच्चा र निष्ठावान् कार्यकर्ताहरू मौन छन् भने नयाँ युवा पिँढी पनि पद लोलुपताले गर्दा चाकडी र गुटबन्दीको शिकार भएका छन् । नेताहरूलाई सत्ता मोहले गाँजेको छ र पार्टी विसंगति र विकृतिले जकडिएको छ ।

पार्टीले जनताको चाहनालाई आत्मसात् गर्न सकेको छैन । कांग्रेस पार्टीकै गलत नेतृत्वको कारणले गर्दा पार्टी मात्र कमजोर भएको छैन, लोकतन्त्र नै गम्भीर संकटमा परेको छ । प्रजातन्त्रमा पार्टीका नेताले राज्य सञ्चालनमा आफ्नो पार्टीको आदर्श र सिद्धान्तलाई नै बिर्से भने त्यो पार्टीको आस्तित्व त धरापमा पर्छ नै देशसमेत संकटमा पर्छ । साँच्चै भन्ने हो भने नेपाली कांग्रेस आफ्नो मौलिकतामा अडिग रहने हो भने नेपालमा कुनै वाद वा राजनीतिक पार्टीको आवश्यकता नै पर्दैन तर विडम्बना नेपाली कांग्रेस आफ्नै मौलिकता, आदर्श र सिद्धान्त विपरीत अरुको पुच्छर समातेर बैतर्नी तर्न लागिपरिरहेछ ।

यो एउटा सच्चा र निष्ठावान् कांग्रेसीलाई कदापि सह्य कुरो होइन । तर बिचराहरू अल्पमतको कारण किंकर्तव्यविमुढ भएर पार्टी कमजोर हुँदै गएको टुलुटुलु हेर्न बाध्य भएका छन् । गठबन्धनको उम्मेदवारलाई भोट माग्न जाँदा पार्टीको संगठन के हुन्छ ? चुनाव हारिन्छ कि भन्ने डरले कहिलेसम्म गठबन्धन गरिरहने ? यो नीतिले पार्टीको संगठन कमजोर त हुन्छ नै कालान्तरमा गएर कांग्रेससँग सहकार्य गर्न उनीहरू नै हिचकिचाने छन्  । त्यति बेलासम्म आइपुग्दा न पार्टी रहन्छ न सत्ता नै ।

किनकि जो व्यक्ति पार्टीको आदर्श र सिद्धान्तका लागि लडेको छ अब ऊ केका लागि पार्टीमा बसिरहन्छ ? भन्ने विचार उसको मनमा सदा उब्जिरहन्छ । यो एउटा सच्चा कांग्रेसीहरूका लागि गम्भीर प्रश्न भएको छ । पार्टीभित्र सत्ता र पदका लागि राजनीति गर्नेहरू जसरी पनि गठबन्धन गरेरै जानुपर्छ भनिरहेछन् भने पार्टीको आदर्श र सिद्धान्तका लागि मरिमेट्नेहरू भलै निर्वाचनमा हार नै किन नहोस् पार्टीले एक्लै चुनाव लड्नपर्छ भनिरहेका छन्  । यो उनीहरूको आत्मस्वाभिमानको कुरा पनि हो । तसर्थ यो गठबन्धन अप्राकृतिक र असान्दर्भिक छ र यस्तो गठबन्धन गर्नु भनेको नेताहरूको सत्ता मोह नै हो । चुनाव जित्नु मात्रै राजनीति होइन । कोही पनि मान्छे पार्टीमा सहभागी हुनु भनेको पार्टीको आदर्श, विचार, सिद्धान्त, संगठन र कार्यशैली मन पराएर नै हो । यिनै आधारभूत कुरामा सहमत भएर नै कुनै पनि कार्यकर्ता पार्टीप्रति समर्पित हुन्छ भन्ने कुरा सबैले मनन गर्नुपर्छ ।

आजभोलि आम नेपालीहरूमा राजनैतिक पार्टीहरूप्रति चरम वितृष्णा बढ्न थालेको छ । लोकतन्त्रमा यस्तो हुनु भनेको पक्कै राम्रो संकेत होइन । नेता उसको विचारले मानिन्छ तर अहिले नेता उसको पदको डर र धम्कीले मान्नु परिरहेछ ।

हो, नेपाली कांग्रेस पुरानो र ठूलो पार्टी भएको नाताले प्रजातन्त्र र देशको अस्तित्व र विकासका लागि कम्युनिस्टहरूसँग सहकार्य गरेर सरकार बनाउन त सक्छ तर चुनावका लागि गठबन्धन होइन । संसारमै विपरीत सिद्धान्तका पार्टीहरू गठबन्धन गरेर चुनाव लडेको उदाहरण छैन तर सरकार बनाउन गठबन्धन भने अवश्य गरेका छन् । यसरी सत्ता प्राप्तिकै लागि गठबन्धन गरेर चुनाब लड्नु भनेको यो एक ठगी पनि हो । जनताको स्वाभिमानमाथिको बेइमानी पनि हो ।

विपरीत सिद्धान्त वा विचारधाराका मानिसहरू विनास्वार्थ कसरी एकै ठाउँमा रहन सक्छन् र ? कांग्रेसलाई भेट्यो भने काटिहाल्नुपर्छ भनेर स्कुलिङबाट आएका कम्युनिस्टहरूले रुखमा भोट हाल्छन् भनेर कसरी पत्याउन सकिन्छ र ? एकछिनलाई मानौँ अब उनीहरूको सोचमा परिवर्तन आएको छ भने पनि उनीहरू किन त्यसो भए गठबन्धनको सट्टा एउटै पार्टी बनाएर जान सक्दैनन् त ? यो एक गम्भीर प्रश्न हो । यदि चुनावमा एक्लै लड्न सकिँदैन र मिलेर जानुपर्छ भन्ने हो भने पार्टीलाई राखिराख्नुको औचित्य नै के भयो र ? अहिले यो नेपाली राजनीति वृत्तमा गम्भीर प्रश्न खडा भएको छ ।

खासै भन्ने हो भने नेपाल जस्तो गरिब मुलुकका लागी दुई वा तीनभन्दा बढी पार्टीको आवश्यकता नै पर्दैन किनकि पार्टीहरूकै विचारलाई समेटेर संविधान सभाबाट सबैको मूल एउटै साझा सिद्धान्त बोकेको नेपालको संविधान–२०७२ लागू भइसकेको छ र यसै अनुरूप नै देशको शासन व्यवस्था चलाउन सबैले प्रतिबद्धता जनाइसकेपछि यो नै सबै पार्टीको साझा सिद्धान्त भएन र ? यदि यसैलाई मनन गरेर यो गठबन्धन गरेका हुन् भने निश्चय नै यो राम्रो कुरा हो । देशमा जति थोरै पार्टी भयो देश उति नै विकसित हुन्छ भन्ने उदाहरण संसारका विकसित प्रजातान्त्रिक मुलुकहरूले देखाइसकेका छन् । 

आजभोलि आम नेपालीहरूमा राजनैतिक पार्टीहरूप्रति चरम वितृष्णा बढ्न थालेको छ । लोकतन्त्रमा यस्तो हुनु भनेको पक्कै राम्रो संकेत होइन । नेता उसको विचारले मानिन्छ तर अहिले नेता उसको पदको डर र धम्कीले मान्नु परिरहेछ । नेपाली कांग्रेसमै पनि नेतृत्व परिवर्तनका लागि प्रयास नभएको चाँहि अवश्य होइन । चौधौं महाअधिवेशनले पार्टीको नेतृत्व परिवर्तनका लागि तेस्रो पुस्ताका केही युवा पिँढीप्रति भरोसा गरेर उनीहरूलाई पार्टीको नेतृत्व तहमा नपुर्याएको पनि होइन तर यसले केही अपेक्षित परिणाम दिन सकेको छैन ।

आजका मितिसम्म पनि उनीहरूबाट कुनै आशालाग्दो परिवर्तनको संकेत समेत देखिएको छैन बरु पुरानै शैलीलाई प्रोत्साहन दिने काम भइरहेछ । नेपाली कांग्रेसको युवा नेतृत्वप्रति आम कार्यकर्ता लगायत सम्पूर्ण नेपाली जनताकै ठूलो आशा र भरोसा थियो तर अहिले यो कुठाराघात भएको छ । जोसिला, चोटिला र उत्तेजित भाषण गरेर जनतालाई भ्रम छरेर ताली खाएर मात्र नेता हुने भए कलाकार, पत्रकार, खेलाडी सबै नेता हुन्थे  । असल नेताले त जनताले प्रत्यक्ष महसुस हुने खालको परिवर्तन ल्याउन सक्नुपर्छ । जनतालाई आफू सँगसँगै हिँडाउन सक्नुपर्छ  । नेताको विचारले नै पार्टी सुमार्गमा हिँड्ने हो र देश पनि विकसित हुने हो । 

अहिले आम नेपाली जनता निराश भएर एक असल नेताको खोजीमा भौंतारिरहेछ्न् । यिनै राजनैतिक पार्टीका नेताहरूकै अक्षमताका कारण जनतामा विकल्प स्वरूप गत स्थानीय चुनावमा युवा र स्वतन्त्र उम्मेदवारहरूप्रति आकर्षण बढेको देखियो । तर लोकतान्त्रिक व्यवस्थामा राजनीतिक पार्टीहरूकै भूमिका अहम् हुन्छ र प्रजातन्त्र मजबुत बन्छ पनि । लोकतन्त्रमा राजनैतिक पार्टीहरूबाट मात्र यो कुरा सम्भव हुन्छ । अहिले युवाहरूमा स्वतन्त्रबाट उमेरदार भएर नेता बन्ने लहर नै चलेको छ ।

युवा राजनीतिमा आउनु निश्चय नै राम्रो कुरा हो तर नेता बन्नु कुनै ठट्टा होइन । चुनावमा स्वतन्त्र उम्मेदवार भएर वा ठूल्ठूला उत्तेजित भाषण गरेर जनतामा चिनिएर मात्र पनि पुग्दैन, यसका लागि त राजनीतिक पार्टीको छहारी चाहिन्छ र यिनै पार्टीहरूलाई मजबुत बनाएर तिनै पार्टीहरूको नेतृत्व गर्दै देशलाई आमूल परिवर्तन गरेर जनताको चाहना र आवश्यकता पूरा गर्न सक्नु पर्दछ  । यो नै आजको माग पनि हो र असल नेता बन्ने अवसर र चुनौती पनि हो ।

[email protected])


Author

धनञ्जय ढकाल

अमेरिकाको टेक्ससमा बस्ने ढकाल जनसम्पर्क विश्व सञ्जालका सल्लाहकार हुन् ।


थप समाचार
ad
x