विचार

‘गठबन्धन होइन, यो ठगबन्धन हो’

मधेशी दलमा विद्रोही उम्मेदवारको ताँती, पर्सामा आधा भन्दा बढी उम्मेदवार स्वतन्त्र

अनिल तिवारी |
असोज २४, २०७९ सोमबार १९:३९ बजे

अघिल्लो दिनसम्म चलेको पार्टी प्रवेशको लहर उम्मेदवारी दर्ता गर्ने दिन विद्रोहमा परिणत भएको छ। कतिपय स्थानीय नेताहरू ‘आयाराम,  गयाराम’ बनेका छन्। टिकट पाउने सर्तमा लोसपा परित्याग गरेर एमालेमा प्रवेश गरेका प्रदेश सांसद प्रह्लाद गिरीको पनि एमाले र जसपाको गठबन्धन पछि बिचल्ली भएको छ। पर्सा क्षेत्र नम्बर ३ को ‘ख’ जसपाको भागमा परेपछि प्रह्लाद गिरी विगत २४ घन्टामा तीन वटा दल परिवर्तन गरेको हल्ला चलेको थियो।  पुन: लोसपामा फिर्ता भए तर त्यसमा पनि टिकट गठबन्धनको भागबन्डा नपरेपछि उनी मित्रवत रूपमा नेकपा एसबाट उम्मेदवार बनेका छन्।

ठूला राष्ट्रिय दलभन्दा पनि मधेसी दलमा विद्रोहको ठूलो चक्रवात देखिएको छ। एमालेसँग भएको गठबन्धनलाई दोश्रो तहका स्थानीय नेताले ‘ठगबन्धन’को संज्ञा दिएका छन्। उम्मेदवारी दिने सबै बागी उम्मेदवारहरू बालेन अभिनयमा उम्मेदवारी स्थलमा पुगेका थिए। पर्सा जिल्ला समन्वय समितिको कार्यालय परिसरमा राखिएको पर्सा क्षेत्र नम्बर १ र २ को निर्वाचन कार्यालयमा पुगेका सबै विद्रोही उम्मेदवारहरू राष्ट्रिय झन्डा ओडेरै पुगेका थिए।


दुई दशकदेखि उपेन्द्र यादवको पार्टीको झन्डा लिएर हरेक चुनावमा होमिएका युवा नेता मुकेश द्विवेदीले नातावाद कृपावादमा नेतृत्व लागेकाले आफू स्वतन्त्र उम्मेदवार बनेको आरोप लगाउँदै उनले भने– ‘यो गठबन्धन होइन, ठगबन्धन हो। नेताहरूले पहिला छोरी, ज्वाइँ अनि त्यसपछि पैसामा टिकट बिक्री गरेकाले आफूजस्ता कर्मठ कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिनु परेको हो।’

सिद्धान्त र मुद्दाविहीन दलहरूबीच भएको चुनावी गठबन्धन र तालमेलका कारण टिकटबाट बञ्चित भएका मधेसी दलका दर्जनौ कार्यकर्ताले पार्टी निर्णयप्रति विद्रोह गर्दै  स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्वतन्त्र उम्मेदवारी दिनेहरूको संख्या पर्सामा सबै भन्दा बढी जसपामा देखिएको छ। त्यसमा पनि दलबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिनेहरूमा प्रतिनिधिसभा सदस्य भन्दा पनि प्रदेशसभा सदस्य पदका उम्मेदवार बढी छन्।

पर्साको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएकाहरू मध्ये आधाभन्दा बढी संख्या स्वतन्त्र उम्मेदवारको रहेको छ। क्षेत्र १ र २ मा प्रदेशसभा सदस्यका लागि दलबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका ७ मध्ये ६ जना मधेसी दलकै छन्।

पार्टीबाट टिकट नपाएपछि जसपाबाट केन्द्रीय सदस्यद्वय करिमा बेगम र जन्नत अन्सारी, युवा नेता मुकेश द्विवेदी, महानगरपालिकाका मेयर राजेशमान सिंहका भतिजा रुपेशमान सिंह , लोसपाका केन्द्रीय सदस्य शशीकपुर मियाँ, लोसपाकै वीरगन्ज महानगर अध्यक्ष ओम प्रकाश सर्राफले प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्। यस्तै नेपाली काँग्रेसबाट टिकट नपाएका युवा नेता सुधीर पटेलले पनि प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका छन्।

यसैगरी पर्सा क्षेत्र नम्बर ४ को क बाट नेकपा माओवादीका वीरेन्द्र यादव र ख बाट एमालेका पन्ननलाल गुप्ताले उम्मेदवारी दिएका छन्। वीरेन्द्र यादव केही हप्ता अगाडि मात्र प्रदेश सभासदस्यमा टिकट पाउने सर्तमा नेकपा माओवादीमा प्रवेश गरेका थिए।

जसपाले पर्सा क्षेत्र नम्बर ३ को ख बाट निलम्बित सांसद एवम पार्टीका केन्द्रीय सदस्य हरिनारायण रौनियारकी छोरी डा. मधु गुप्तालाई उम्मेदवार बनाएको छ। उनी पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभाको टिकट छोरीलाई दिलाउन लागिपरेका थिए। प्रतिनिधि सभाको सिट एमालेको भागबन्डामा परेपछि गुप्तालाई प्रदेश सभामा टिकट दिएकाले जसपामा पनि विद्रोह सुरु भएको छ।

सुरुदेखि प्रदेशका उम्मेदवार रहेका गौरीशंकर साहले पार्टी निर्णयको विरोध गर्दै  नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन्। उनले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नै पैसामा टिकट बिक्री गरेको आरोप लगाउँदै भने– ‘अन्तिम समयसम्म मलाई टिकट दिइने निर्णय भएको बताइयो, उम्मेदवारीको लागी गाउँको घरमा समर्थकहरूको भिड नै जम्मा भयो तर अन्तिम समयमा लाखौंमा टिकट बिक्री भएपछि, के गरौं अरु दलबाट उम्मेदवार बनेको छु।’
नेकाका पूर्व जिल्ला सभापति अजय द्विवेदीले त रुँदै उम्मेदवारी दर्ता गराए। त्यसक्रममा उनले भने– ‘मेरो उम्मेदवारी विभेदको खिलाफ विद्रोह र अन्यायको प्रतिकार हो।’

तीन दशक नेपाली कांग्रेसमा बिताएका अजय द्विवेदीले पार्टी निर्णय विरुद्ध विद्रोह स्वरूप स्वतन्त्र उम्मेदवारी दिएका छन्। पञ्चायती व्यववस्थाको विरोध गर्दै विद्यार्थीकालदेखि नेपाली कांग्रेसमा लागेका द्विवेदी उम्मेदवारी दर्ता गराउन आउँदा इख राखेझैं देखिन्थ्यो।

त्यसक्रममा उनका आँखाबाट आँसु बगिरहेका थिए। संविधानसभा सदस्य समेत रहेका द्विवेदीले पर्साको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। तीस वर्षको लगानी र आजको स्वतन्त्र उम्मेदवारीबारे प्रश्न गर्दा उनले आँसु पुछ्दै भने पार्टीले मसँग विभेद गरेका कारण मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ।’

उनीसँगै आएका अरविन्द गुप्ताले उहाँको आँखामा पटक पटक आएको आँसुले हामीमा पनि पार्टीप्रति ठूलो आक्रोस उत्पन्न गरेको बताए।
द्विवेदी अन्तिम समयसम्म पार्टीबाटै टिकट पाउनु पर्ने अडानमा थिए तर शनिबार राति सत्तागठबन्धनमा रहेको कांग्रेस र लोसपा बीच चुनावी तालमेल गर्ने सहमति भएपछि पर्सा क्षेत्र नम्बर १ लोसपाको भागमा परेको थियो।

द्विवेदीले पार्टीबाट टिकट नपाए आफू स्वतन्त्र रूपमै पनि चुनाव  लड्ने घोषणा गर्दै आएका थिए। द्विवेदीले भने– ‘ मेरो उम्मेदवारी विभेदको खिलाफमा विद्रोह हो, मलाई अन्याय भएको छ, पर्सा क्षेत्र नम्बर १को सम्पूर्ण कांग्रेसी कार्यकर्ताको चाहनाको विरोधमा पार्टीले अरुदललाई उम्मेदवार मानेको हो।
यसैगरी एक महिना अगाडि जसपाबाट नेकपा माओवादीमा प्रवेश गरेका टेकबहादुर शाक्यले पनि पर्साको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको उम्मेदवारी दिएका छन्।
गठबन्धनको जालोमा परेर पार्टीले आफूलाइ टिकट नदिएपनि आम काँग्रेसी नेता कार्यकर्ता र क्षेत्रका मतदाताको चाहना अनुसार उम्मेदवारी दिएको शाक्यले बताए।
द्विवेदीले भने, ‘ मैले स्वतन्त्र उम्मेदवारी दिए पनि मेरा क्षेत्रका आम  मतदाताले मलाई विजयी गराउँछन् भन्नेमा म विश्वस्त छु।
सत्तागठबन्धन र लोसपाबीच भएको चुनावी तालमेलको सहमतिमा पर्सा १ लोसपाले पाएको छ। लोसपाबाट यो क्षेत्रमा नेता लक्ष्मणलाल कर्णले उम्मेदवारी दिएका छन्। उनी पर्सा क्षेत्र नम्बर ४ छाडेर १  बाट उम्मेदवारी बनेकोमा पनि ठूलो आक्रोस देखिएको छ। -आइएनएस-स्वतन्त्र समाचार


Author

थप समाचार
x