विचार

पाश्चात्य साइकोलोजी: मनोविज्ञान कि चित्तविज्ञान ?

चित्तशब्द स्वीकार गरेर चित्तोलोजी र नेपालीहरूले चित्तविज्ञान शब्दको प्रयोग गर्न सकिन्छ

गोविन्दशरण उपाध्याय |
कात्तिक २१, २०७९ सोमबार १९:५४ बजे

आजभोली मनोविज्ञानको निकै चर्चा हुन्छ। सन् १९०२ मा भारतीयले अंग्रेजीको साइकोलोजी भन्ने शब्दलाई मनोविज्ञान भनेर अनुवाद गरे। ठ्याक्कै यही शब्द नेपाल शिक्षा जगतले पनि अँठ्याए। अंग्रेजीको साइकी शब्दको अर्थ प्राणसरह हुनुपर्छ भन्नेतिर कसैले ध्यान दिएनन्। यो समस्या मनोविज्ञानमा मात्र होइन विश्वविद्यालयमा अध्यापन गराइने धेरैजसो विषयहरूमा भेट्न सकिन्छ।

अरूलाई अभिनिर्माण गरेका शब्दहरूलाई जस्ताको तस्तै राख्दा आफूले प्राकृतिक रूपमा प्राप्त गरेका तदनुकुल शब्दहरू गुमाउनु पर्छ। आधुनिक साइकोलोजी र प्राचीन साइकोलोजीको बुझाइ र परिभाषामा निकै फरक आइसकेको छ र अनुसन्धान खारिएपछि यस्तो हुनु स्वाभाविक हो तर नेपाली तथा भारतीयहरूसँग आफ्नै मौलिक शब्द हुँदाहुँदै पनि कताकता नमिलेका शब्दहरू टपक्क टिपेर राख्ने चलन छ।


प्राध्यापक प्रन्जले र धर्माले यो कुरा उठाएका छन् तर धेरैजसो भारतीय र नेपाली प्राध्यापकहरूको प्राचीन संस्कृतलगायतका रैथाने भाषाहरूमा पकड नहुँदा अनुकुल शब्दहरूको चयन गर्न समस्या परेको देखिन्छ। -पाश्चात्य साइकोलोजीले अनुसन्धानका मामिलामा फड्को मारेको छ जसले गर्दा उसको स्वीकार्यता विश्वव्यापी भएको छ।

साच्चिकै भन्ने हो भने दर्शनशास्त्र, राजनीतिशास्त्र, मनोविज्ञान लगायतका मानविकीका विषयहरूमा नेपाली विश्वविद्यालयहरू केवल नक्कल गर्ने र विदेशीले रेडिमेड गरेका विषयहरू घोकाउने, सिकाउने र बुझाउने मान्यताप्राप्त एजेन्टझैं बनेका छन् भन्नु पर्दा आफ्नै पनि चित्त दुख्छ।

साच्चिकै भन्ने हो भने दर्शनशास्त्र, राजनीतिशास्त्र, मनोविज्ञान लगायतका मानविकीका विषयहरूमा नेपाली विश्वविद्यालयहरू केवल नक्कल गर्ने र विदेशीले रेडिमेड गरेका विषयहरू घोकाउने, सिकाउने र बुझाउने मान्यताप्राप्त एजेन्टझैं बनेका छन् भन्नु पर्दा आफ्नै पनि चित्त दुख्छ। -प्राचीन साइकोलोजीले आफ्नो काम साइकी अर्थात् प्राण वा आत्मामा आसन्न समस्याहरूको समाधानका लागि काम गर्ने परिभाषा दिएको थियो भने आधुनिक साइकोलोजीले संज्ञान, भावना, क्रिया तथा बुझी, सिकाइ आदिको निर्माण प्रक्रियासहित सुधारक्रियाको समेत अध्ययन/अध्यापन गर्छ।

यतिबिध्न हुँदाहुँदै पनि मनको (साईकी)को मूल स्वरूप कस्तो छ भन्ने कुरामा अझै अल्मलिएको देखिन्छ। केहीले भावनाहरू (इमोसन्स) संघात नै मन हो भन्ने गरेका छन् भने केहीले मानवको समग्र मानसिक तथा बौद्धिक क्रिया नै मन हो भन्ने गरेका छन्।

पश्चिमाले बुझेको साइकी र मनका बीचमा पश्चिमा दृष्टिकोणको परिभाषासँग तादात्म्य स्थापित गर्ने “बालहठ”का कारण दर्शनशास्त्र, राजनीति, अर्थशास्त्रका शब्दहरूको पदार्थमा विपरीत्यार्थ भएको पाइन्छ।

उदाहरणका लागि दर्शनशास्त्र र फिलोसफीलाई हेरौं। ज्ञानप्रति प्रेम हुनु र परमतत्वको साक्षत्कार गर्ने प्रक्रिया निकै फरक तत्थ्य हुन्। ज्ञानप्रतिको प्रेममा तत्वज्ञानको खोजी अनिवार्य हुँदैन भने दार्शनिक प्रक्रिया तत्व दर्शनसँग जोडिनै पर्छ। दर्शनशास्त्र केवल बुद्धि विनोद नभएर तत्वदर्शन (सत्यको साक्षात्कार) को लागि गहन अनुसन्धान क्रिया हो। दर्शनशास्त्र र फिलोसफीका बीचको समानता भनेकै दुवैको आधारभूमि “मानिस” हुनु र बौद्धिक क्रियामा सङ्लग्न हुनुनै हो।

योग दर्शनले आधुनिक मनोविज्ञानले भनेझैं साइकी (मन होइन) का समानतहमा “चित्तभूमि” शब्दको प्रयोग गरेको छ भन्ने मेरो बुझाइ छ। नेपाली समाजमा चित्त दुख्नु भनेको मन दुख्नु भन्दा बढी भावनात्मक, बौद्धिक तथा क्रियागत रूपमा समस्याग्रस्त अवस्थातिर लम्कनु हो भने चित्त खुशी हुनुमा पनि मन रमाउनु भन्दा बढी अर्थ वहन गर्ने क्षमता देखिन्छ।

योग दर्शनले आधुनिक मनोविज्ञानले भनेझैं साइकी (मन होइन) का समानतहमा “चित्तभूमि” शब्दको प्रयोग गरेको छ भन्ने मेरो बुझाइ छ। नेपाली समाजमा चित्त दुख्नु भनेको मन दुख्नु भन्दा बढी भावनात्मक, बौद्धिक तथा क्रियागत रूपमा समस्याग्रस्त अवस्थातिर लम्कनु हो भने चित्त खुशी हुनुमा पनि मन रमाउनु भन्दा बढी अर्थ वहन गर्ने क्षमता देखिन्छ।

योगदर्शनले चित्त भनेर क्षिप्त, मूढ, विक्षिप्त, एकाग्र र निरुद्ध यी पाँचवटा भावनात्मक अवस्थाको समग्र अवस्था हो। यी अवस्थाको बारेमा मैले यहाँ व्याख्या गरिन।आफूले अस्तित्व स्वीकार नगर्ने साइकीको गतार्थ भएको साइकी शब्द प्रयोग गरिरहेका छन्। सायद उनीहरूको शब्दकोशमा आधुनिक खोजहरूका आधारमा निर्माण भएका गुणहरूलाई सम्बोधन गर्न सक्ने कुनै शब्द छैन।

यदि ध्यान दिएर विचार गर्ने हो भने आधुनिक मनोविज्ञानले “चित्त” शब्दलाई साइकी शब्दलाई विस्थापित गर्न प्रयोग गर्न सक्छ वा नेपाली तथा भारतीय विद्वान्‌हरूले मनोविज्ञानका ठाउँमा (साइकोलोजी) भन्नुको सट्टा “चित्त विज्ञान” भन्ने नामकरण गर्न सक्छन्। साइकी होस् वा मन यी दुवैको अभिनिर्मितिमा “क्षिप्त, मूढ, विक्षिप्त, एकाग्र र निग्रह” यी पाँच विधाहरूको अभाव छ। साथै योग दर्शनले मनलाई “चित्त”बाट बाहिर राखेर गम्भीर त्रुटी गरेको छ। चित्त अन्तर्गत “मन” छैटौं वृत्ति हुनुपर्छ। कृष्णले मनलाई असाध्य भनेको अर्थ नै चित्तभित्रको यो एउटा यस्तो प्रक्रिया जुन सर्वाधिक बहिर्मुखी छ र भौतिक अस्तित्वलाई प्रभावित पार्छ। योगदर्शनकारले चित्तलाई ज्ञान, कर्म र भावनाको समग्र आधारका रूपमा स्वीकार गरेका हुन्। तर जसरी प्रकृति भनेको सत्व, रज र तमो गुणको साम्यअवस्था हो त्यसैगरी चित्त भनेको क्षिप्त, मूढ, विक्षिप्त, एकाग्र र निग्रह” गुणहरूको समग्र अवस्थालाई जनाउने पदार्थ हो।

मैले यस अन्तर्गत ‘मन’लाई स्वीकार नगरेर योगकारले गम्भीर त्रुटी गरेका हुन् भनिसकेको छु र त्यसको कारण पनि उल्लेख गरेको छु। मैले राखेका यी विचारहरूमा पूर्वाग्रह छैन तर प्रचलित शब्दहरूले पदार्थको बोध नगराउने हुँदा प्रयोग हुँदैआएका शब्दहरूलाई अझैं समसामयिक बनाएर स्थापित गर्नुपर्छ भन्ने सुझाव हो।

उपरोक्त विमर्शले हामी नेपालीहरूलाई साइकोलोजीलाई “चित्त-विज्ञान” भन्न र स्वयं पश्चिमाहरूले प्रयोग गर्दै आएको साइकी शब्दका ठाउँमा “चित्त” प्रयोग गर्न मिल्ने हुन्छ। चित्तको दायरा साइकी भन्दा बढी आधुनिक देखिन्छ। भौतिक अस्तित्व नै नभएको मानिएको साइकीको गतार्थ बोकेर हिँड्नु भन्दा योगदर्शनले प्रयोग गर्दै आएको चित्तशब्द स्वीकार गरेर चित्तोलोजी र नेपालीहरूले चित्तविज्ञान शब्दको प्रयोग गर्न सकिन्छ। तर्क गरौँ तर कुतर्क नगरौं।

साइकोलोजीलाई चित्तोलोजी र चित्त विज्ञान भन्दा हामी नेपालीकै गौरव बढ्छ भन्ने तत्थ्यलाई आत्मसात गरौँ। यो बौद्धिक संवाद हो, निष्कर्ष होइन। मनोविज्ञानलाई चित्तविज्ञान नै भन्नुपर्छ भन्ने हठ पनि होइन, यो संवाद हो र पूर्वाग्रहरहित भएर चिन्तन गर्ने, मनन गर्ने स्वतन्त्र अभ्यास हो। स्वतन्त्र चिन्तन गर्ने अभ्याससँग असहमतहरूको ‘चित्त’ दुखे दुखोस्। -आइएनएस-स्वतन्त्र समाचार


Author

गोविन्दशरण उपाध्याय

लेखक उपाध्याय त्रिभुवन विश्वविद्यालय अन्तर्गतको त्रिचन्द्र बहुमुखी क्याम्पसका दर्शन तथा मनोविज्ञान विषयका प्राध्यापक हुनुहुन्छ।


थप समाचार
x