विचार

मत दिनुअघि सोच्‍नैपर्ने केही सवाल

कृष्णप्रसाद सिग्द्याल |
मंसिर २, २०७९ शुक्रबार ८:८ बजे

इतिहासले नै नेपालीहरूलाई समयानुकूल चल्न सिकाएको छ, ‘चलाक’ बनाएको छ । जुनसुकै उमेरको भए पनि यस पटकको निर्वाचनमा बहुमतमा हामीले त्यस्तै चलाकी पुनः देखाउनैपर्ने बेला आएको छ, मंसिर चार गते ।

सञ्चार माध्यममा सीके लाल, कृष्ण खनाल, विनोद सिजापति, केशव दाहाल, राजेन्द्र महर्जन र थुप्रै अन्य पुरुष/महिला जुर्मुराएका छन् निर्वाचन परिस्थितिको आ–आफ्नै आँकलनसहित । हो, दशकौं राजनीतिक विकासको क्रममा बिताए तापनि नेपालीहरूको गाँस, बास र कपासको न्यूनतम आवश्यकता पनि पूरा भएको छैन । त्यसको आशा देखाइन्छ बारम्बार, ज्यान हत्केलामा राखी राखी लाखौं सडकमा उत्रिन्छन्, तथापि मुलुकले विकासको गोरेटोसम्म पनि कोरी सक्न भ्याएन । 


आज पनि थुप्रै रकम खर्ची ठूलाठूला अखबारमा यति बूँदे र उति बूँदे वाचा/संकल्प दोहोर्‍याइँदै छ । निर्वाचन सकिएको दोस्रो दिनपछि त्यसलाई पुनः पल्टाएर हेर्लान् भन्ने आशा भने विरलैले गर्छन् । आजसम्म त्यही दोहोरिँदै आएको छ । त्यति मात्र होइन, बन्दुक नै उचाली हजारौं हजारले बलिदानी गरेको आन्दोलनपश्चात् पनि त्यो पुरानै ढर्रा फेरिन सकेन र राणाकालीन सोच नै निरन्तर रह्यो । हेर्नुहोस् त, उच्चस्तरीय पदाधिकारीहरूको भडक ! यस्तो खर्चको वृद्धि सर्वाधिक छ । टाठाबाठाहरू राजनीतिमा लागेर आफू र आफ्ना परिवार/आसेपासेको भलो गरे; तर तलतिर पिँधमा रहेको त्यो वर्ग छ जसमा मुलुकभरका दलित वर्ग धेरै पर्दछन्, तिनको जीवनमा दशकौंमा पनि नगण्यबाहेक केही परिवर्तन आएन । 

हामी अहिले फेरि मुलुकको पाँच वर्षको भाग्य निरुपणको क्षणमा आइपुगेका  छौं । कति दिन बाँकी छ ? हलो, हथौडा, रूख, सूर्य, तारा, चन्द्र सबैलाई बिर्सनुहोस्– एउटा ‘असल/इमानदार’’ नसके ‘‘कम खराब’’ उम्मेदवार छान्नुहोस् । एक क्षेत्रमा एकजना मात्र र उसैलाई भोट दिनुहोस्, सबैले, सबैले नै । जसको चिन्ह जे सुकै होस्– तर ऊ असल, इमानदार होस् कमसेकम केही पढे लेखेको पनि होस्– पाइन्छ भने विद्वान्, राम्रो पढेलेखेको नै होस्; उमेर सकेसम्म साठीभित्रकै होस् । त्यसको निर्क्यौल गर्नुहोस् र उसैलाई भोट दिनुहोस् र विजयी बनाउनुहोस् । 

त्यसो गरेमा मात्र हाम्रो वर्तमान विधानका कमी/कमजोरी, खर्चालुपना, समाजको अनावश्यक संरचनात्मक विभेदलाई सम्झाइरहने जातजातिबीचका विभेद रोप्ने संगठनहरू र यस्तै फजुलखर्ची, ओहोदामा पुग्नेबित्तिकै बेग्लै श्रेणी खडा गर्ने आजीवन सुविधाको ढर्रा, गरिब गरिब नै रहिरहने शिक्षा व्यवस्था, खानेपानी र न्यूनतम स्वास्थ्य सुविधा पाउनका लागि पनि पुस्तौंपुस्ता कुर्नुपर्ने स्वास्थ्य सेवाको अन्त हुनेछ ।

अहिले राजनीतिक दलहरूको आश्वासन एक जना विदेशी विकासे गुरुले भने जस्तै नितान्त कल्पनाका निबन्ध मात्र हुन्, तिनलाई पूरा गर्ने न त अन्तर्राष्ट्रिय वातावरण, न साधन स्रोत, न इच्छाशक्ति– केही पनि छैन । अघिल्लो निर्वाचनमा दिइएको दुई तिहाइको आश्वासनको जे दशा भयो, अहिले पनि त्यही दशा हुने हो । र, गरिबका लागि मुलुकको अवस्था भने झन्झन् बिग्रँदै जाने हो कि भन्ने त्रास पनि बढ्दो छ । 

थोरैमा भन्ने हो भने, राष्ट्रिय उत्पादनको जतिसुकै नारा दिइए पनि मुलुक अन्न उत्पादन, कृषिमा आधारित अन्य उपभोग्य र प्रशोधित वस्तु, आयात प्रतिस्थापन गर्ने उद्योग, सम्भाव्यताका वस्तु निकासीलाई नीतिगत रूपमा नै हतोत्साहित गरी आयातमा नै निर्भर रहने परिस्थितिमा मुलुक जकडिएको छ, र यो जन्जिर चुँडाल्न सक्ने सामथ्र्य वर्तमान राजनीतिक दलका नेताहरूमा नरहेको मात्र होइन, उनीहरू त्यो पद्धतिकै स्थायित्वकै बलिया खम्बाहरू हुन् । हाम्रो राजनीति र अर्थतन्त्र त्यही संरचनाभित्र छ । नेपाल एयरलाइन्सको जहाज खरिद प्रकरण सबै पार्टी नेता मिली गरेको लुट होइन ? मुलुक कोभिड संकटमा पर्दा पहिलो खेपको औषधी खरिदमै ओम्नी काण्ड बन्नु दुःखद हैन ? यिनै नेता कुर्लीकुर्ली भोट माग्दै छन् । 

आफूले सञ्चालन गर्ने परीक्षामा कुनै प्रकारको चिटिङ गरेको भेटेमा लोक सेवा आयोगले यति यति वर्षका लागि कुनै पनि परीक्षा दिन नपाउने निर्णय गर्छ । गणतन्त्र नेपालको पहिलो संसद् र सात दशकको सपना र संघर्षपछि बनेको संविधान मिच्नेलाई फेरि संसद्मा पुर्याउनुअघि सोच्ने कि ? जसले संसद्को इज्जत गरेन, ऊ तुरुन्तै सांसदको लायक छ त ? 
 
मुलुकमा जस्तोसुकै संकट आई परे पनि अथवा जस्तोसुकै अवसर प्राप्त भए पनि त्यसमा परिवर्तन हुन दिन्नन् । संक्षेपमा भन्नुपर्दा, विगत दुई तीन वर्षको आर्थिक कार्यकलाप नै त्यसको ज्वलन्त उदाहरण हो । यसलाई नभत्काई मुलुक उँभो लाग्ला भन्ने नसोचे हुन्छ । हाम्रा नीति नियम, कानुन, कार्यविधि, दृष्टिकोण र काम कारवाही सबै त्यसै संरचना अन्तर्गतको राजस्व उठ्तीमा निर्भर छ र राखिने छ । मुलुक त्यसरी उँभो लाग्दैन ।

अघिल्लो निर्वाचन र आगामी निर्वाचनमा कुनै तात्विक भिन्नता छैन । बरु यो निर्वाचनमा सबै कुरा छ्याङ्ग/उदाङ्गो भएको छ । हिजो एमाले र माओवादी एकजुट भए, आज कांग्रेस र माओवादी एकातिर, एमाले र पूर्व पञ्च, प्रतिक्रियावादी र दलबदलुहरू अर्कोतिर छन् । विचार र कार्यक्रमको आधार स्तम्भ/सिद्धान्तलाई चटक्कै त्यागेर कांग्रेस माओवादी हुने र माओवादी कांग्रेस हुने हाम्रो कस्तो पद्धति हो ? दुइटाका बीच के फरक ? सबै, दललाई गुमराहमा राख्ने, भए नभएका कोषका भाष्य दोहोर्‍याउने र जनता अल्मल्याउनेमा छन् । 

एउटा कुरा नबिर्साैं । काठमाडौंमा ‘पुरातनवादी’ जनताले पनि आँखा चिम्लिएर मधेसको एउटा युवालाई काठमाडौंको प्रमुख/मेयर बनायो । मुलुकभर नै नभए पनि धेरै ठाउँमा धेरै नेता/कार्यकर्ता आश्चर्यमा पर्ने गरी यस पटक पनि नेपाली जनताले अप्रत्याशित नतिजा त दिने छ ठाउँ ठाउँमा, धेरै ठाउँमा । त्यसको शंका नगरौं ।

तर स्वतन्त्रको बाढीमा बगेर कतै सर्प पनि नमर्ने, लठ्ठी पनि भाँचिने काम नहोस् । थुप्रै स्वतन्त्रका बीच संगठित दलहरूका किच्चड फुत्फुत् नछानियून् । सज्जन, इमानदार, अपठित युवा नै होऊन्, तिनले ती नेता/कार्यकर्ता भन्दा मुलुकलाई राम्रै गर्ने हुन् । बुझ्नुपर्ने कुरा के छ भने दलको विकल्प दल नै हो । तर, तत्कालका लागि हरेक दलमा आद्योपान्त शुद्धीकरण आवश्यक छ । दलभित्रैका सक्षम र योग्य युवा जिताउनु शुद्धीकरणको सुरुवात हुनेछ ।

जेसुकै होस्, मास (दाल) मा एक दुई वटा घुन (किरा) नै मिसिएको होस् ‘एक क्षेत्र एक उम्मेदवार, तर सही’ हुनुपर्छ अन्तिम घडीको यो नारा ।

[email protected]

सिग्द्यालका लेखहरू


Author

थप समाचार
x