विचार

हेल्लो नेताजी, नैतिकताका आधारमा राजीनामा गर्नुपर्दैन ?

विमल आचार्य |
मंसिर ८, २०७९ १८:० बजे

आफूले दुवै ठाउँबाट निर्वाचन हारेपछि र पार्टी तेस्रो स्थानमा खुम्चिएपछि नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले पार्टी नेतृत्वबाट राजीनामा गरेका थिए । ‘नैतिक दृष्टान्त’ पेस गरे भनेर माधव नेपालको बढाइँ गरिएका लेख/टिप्पणी सबैले पढ्न मिल्ने गरी इन्टरनेट आर्काइभमा सुरक्षित नै छन् । 

अहिले आफ्नो पार्टी नेकपा (एस) राष्ट्रिय पार्टी नहुने पक्कापक्की भएको अवस्थामा माधव नेपालले पार्टी अध्यक्षबाट राजीनामा गर्लान् ? प्रत्यक्षमा उठाइएका एक दर्जन, तिनमा पनि आधा जति उम्मेदवार हारेको र जित पनि कांग्रेस–माओवादीलगायतको बुई चढेर सम्भव भएको अवस्थामा माधव नेपालले राजीनामा गर्ने सम्भावना धेरै नै छ । किनकि माधव नेपाललाई यो नतिजाले धेरै नै अपमान दिएको छ । यो पार्टीका अर्का वरिष्ठ ‘सम्मानित नेता’ झलनाथ खनाल स्वयं हारको सम्मुखमा छन् । प्रधानमन्त्री भइसकेका नेपाल र खनालले यो हार र अपमानलाई नैतिकताका आधारमा राजीनामा दिएर मात्र जित्न सक्छन् । माधव नेपालबाट  आफैँले प्रतिपादन गरेको ‘नैतिक–नजीर’ सदर गर्दै राजीनामाको फैसला आउनुपर्छ । 


नेपाल र उनको पार्टी त उदाहरण मात्रै हुन् । कांग्रेस, एमाले, माओवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेतृत्वले पनि नैतिकताका आधारमा अर्थात् माधव नेपालको नजीरका आधारमा राजीनामा गर्लान् ? गर्नुपर्छ । यी पार्टीका सच्चा कार्यकर्ताले यो आवाज उठाउनैपर्छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव स्वयं नराम्ररी पराजीत भएका छन् । पराजीत उम्मेदवार अध्यक्ष रहेको पार्टी कसरी पुनर्जीवित हुन्छ ? लोसपाका अध्यक्ष महन्थ ठाकुर पराजयको नजिक छन्, राजेन्द्र महतोको पराजय निश्चित जस्तै छ । यस्ता नेतृत्वले कुन आधारमा आफ्नो पार्टीमा जीवन भर्छन् ? यो पार्टी पंक्तिले सोच्ने मात्र होइन, सोध्ने नै प्रश्न हो ।

१५ वर्षअघिको फराकिलो पहिलो माओवादी पार्टी अहिले ‘निर्णायक तेस्रो शक्ति’ हुन संघर्षरत छ । पार्टीको यो पराजय अध्यक्ष दाहालको एकमना सोच र व्यवहार तथा उनका आदेशपालक झुण्डले गर्दा नै हो । यो सब माओवादीका इमानदार कार्यकर्ताले बुझेको हुनुपर्छ । अब उनीहरू अध्यक्षविरुद्ध विद्रोह गर्छन् वा पाखा लाग्छन्, हेर्न बाँकी छ । 

केपी ओली र पुष्पकमल दाहालले आफ्नो उत्तराधिकारीका रूपमा महासचिव पद बक्सिस दिएका पात्रहरूले पराजय भोगेका छन् । यो लेख लेखुन्जेलसम्म शंकर पोख्रेल र देव गुरुङको हारको फैसला भइसकेको छ । यतिन्जेलसम्म यी दुई लगायत वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको राजीनामा आइसक्नुपर्ने थियो । बहालवाला मन्त्री पम्फा भुसाल र जीवनराम श्रेष्ठले मन्त्री र पदाधिकारीबाट राजीनामा गरिसकेको हुनुपथ्र्याे । एमालेका ‘चुनावी डिजाइनर’ विष्णु रिमालले पार्टी पराजित भएपछि उपमहासचिवबाट राजीनामा गरिसकेको हुनुपर्थ्यो । जुन क्षेत्र पनि पाउने अवस्थामा, आफ्नो हारको आँकलन गर्दै आफैँ निर्वाचनमा नउठ्ने रिमाल चुनाव रणनीतिकार हुनु पनि कमेडी नै हो ।

हर पार्टी नेतृत्वले आफू र आफ्नो पार्टीको हारमा बाह्य शत्रुको कल्पनिक रचना गर्छन् । आफ्नै पार्टीका तल्लो तहका नेता/कार्यकर्तालाई दोष दिन्छन् । तर यथार्थ के हो भने सबैभन्दा ठूलो जवाफदेहिता र उत्तरदायित्व मठाधीसहरूकै हुन्छ । सबैभन्दा ठूलो दोष अध्यक्ष/सभापतिहरूकै हो । अनि महासचिवहरूको हो । सबै नेतृत्वको हो ।

कांग्रेसीले सभापतिको राजीनामा र अरु पार्टीले राजीनामासँगै महाधिवेशन माग्नुभएन भने तपाईंहरू आ–आफ्नो पार्टीको मलामी नै हो, कार्यकर्ता होइन ।

जो आफू र आफूले छानेका पात्रहरूलाई जिताउन सक्दैन, पार्टीभित्र महाधिवेशन नगरी टिके प्रथालाई आत्मसात् गर्छ, त्यो नेतृत्वको आलोचना पार्टीकै इमानदार नेता तथा कार्यकर्ताले गर्नुपर्छ । हर पार्टीका नेता तथा कार्यकर्ताले बुझ्‍नुपर्ने के हो भने आफ्नो पार्टीको हारको मूल कारक आफ्नै नेतृत्व हो । तपाईंहरूको पार्टीको प्रधान शत्रु तपाईंको पार्टीको प्रधान नेता नै हो ।

शक्तिमा हुँदा तपाईंहरूको नेतृत्वले गरेको भ्रष्ट शासन नै पार्टी हारको मूल कारण हो । अयोग्य, भ्रष्ट, चाकडीबाज पात्रहरूलाई अगाडि बढाउने, च्याप्ने कृत्य नै हारको कारक हो । समानुपातिकको बन्दसूचीमा प्राथमिकताका साथ राखिएका पारिवारिक र पैसावालहरूको नाम नै पार्टी हारको कारक हो । जमानत जफत भएकाहरूलाई तपाईंका नेताहरूले काखी च्याप्ने, उनीहरूलाई नै अवसर दिनाले नै असन्तुष्टि बढेको हो ।

पार्टीहरूले आफ्नो शुद्धीकरण र पार्टीको पुनर्जीवनका लागि नेतृत्वको राजीनामा माग्नैपर्छ । अन्यथा तपाईंहरू आफ्नो पार्टीको कार्यकर्ता हैन, मलामी भएको ठहरिन्छ । 

कार्यकर्ताहरूले समवेत स्वरमा भन्नुपर्छ— हामी पदाधिकारी छान्न पाऊँ, हामी टिके प्रथा इन्कार गर्छाैं ।

कांग्रेसभित्र दुई युवा महामन्त्रीमा निर्वाचित भएको र यिनीहरु फराकिलो मतान्तरसहित सांसद पनि निर्वाचित भएको देखेर पनि एमाले र माओवादीका इमानदार कार्यकर्ताले स्पष्ट भन्नुपर्ने हो– स्वघोषित अध्यक्ष मान्दैनौँ, टिके महासचिवलाई टेर्दैनौँ, महाधिवेशन नगरे पार्टी छोड्छौँ ।

कांग्रेसीले सोध्नुपर्छ— अघिल्लो आमचुनाव र महाधिवेशन हारेका प्रकाशशरण महतलाई किन एक नम्बरमा आरक्षित गरियो ? सबै खालको संरचनागत लाभांश प्राप्त गरेका महत र आरजू राणालाई किन माथिल्लो रोलनम्बरमा आरक्षित गरियो ? यी नामकै कारण कांग्रेसले समानुपातिकमा धेरै मत गुमाएको स्पष्ट छ । 

एमालेवालाले सोध्नुपर्छ— कति पैसा खाएर एकनाथ ढकाललाई बन्द सूचीको दोस्रो रोल नम्बर दिइयो, पार्टीमा उनको योगदान के हो ? मकवानपुरवासी एमालेका कार्यकर्ताले अध्यक्षलाई सोध्नुभयो— सूर्य चिह्न बिक्री गर्नाले आज हाम्रो पार्टी मकवानपुरमा पराजित भयो, तपाईं एमालेको शत्रु किन होइन ? तपाईंका किचन क्याबिनेटका धेरैजना हार्नुभयो, तपाईंले आफ्ना चम्चे र भान्से कहिले बदल्नुहुन्छ ? दुईचोटि संसद् मार्ने हामीले निर्वाचन लड्ने भन्दा पनि बहिष्कार गर्ने लाइन लिनुपर्थेन र ? हुँदाखाँदाको संसद् चाहिँदैन भनेपछि जनताले पनि यिनीहरूलाई चाहिने रहेनछ भनेर हराइदिए कि ? नभए पार्टीका बौद्धिक नेता महेश बस्नेत र सर्वेन्द्र खनालले त हार व्यहोर्नु नपर्ने !

माओवादीवालाले त आफ्ना अध्यक्षलाई सोध्नुपर्ने प्रश्न कति छन् कति । तपाईँ आफैँलाई चुनाव जित्ने आँट छैन र अनेक बाचाहरू गरेर सुरक्षित हुन गोरखा पुग्नुभयो, अध्यक्ष नै हरूवा मनोदशामा रहेको पार्टी कसरी अगाडि बढ्छ ? आफ्नो शेषपछि पार्टी अध्यक्ष को बन्ने, पार्टी आर्यघाट पुगेपछि मात्र भनिदिबक्सिन्छ हजुरले ? हिजो एमालेसँग, आज कांग्रेससँग मिलियो, भोलि कोसँग मिलेर चुनाव लड्ने हो, आजै स्पष्ट भनिदिए तिनको आलोचना गर्न आजै छोड्ने थियौँ । 

जनता समाजवादी वा लोकतान्त्रिक समाजवादी पार्टीका इमानदार कार्यकर्ताले निर्धक्क सोध्नुपर्छ– ओली, दाहाल, देउवालाई खलनायक भनेर नाराजुलुस गर्न लगाउने र उत्तिखैरै नायक भन भन्ने ? के चाला हो ? 

पार्टीहरूको हारको मूल कारक पार्टीकै शीर्ष नेतृत्व हुन् । पार्टीभित्र आन्तरिक लोकतन्त्र शून्य राखेर लोकतन्त्रमा कुनै पनि पार्टी अस्तित्ववान् हुन सक्दैन ।
 


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
ad
x