विचार

देश सपार्छु भन्‍नु लामिछानेको अपराध हो ?

कृष्णराज खनाल |
मंसिर २२, २०७९ ७:२३ बजे

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं नवनिर्वाचित सांसद रवि लामिछानेका विषयमा धेरै कुराहरू आइरहेका छन् । कुनै सकारात्मक छन् त कुनै नकारात्मक । निर्वाचित हुुनु अघिसम्म ‘यो ठिटोले कति नै मत पो ल्याउला र’ भनेर उनको अवमूल्यन र खिसिट्युरी गर्ने तत्वहरू जब उनले भारी मतले विजय हासिल गरे तब यिनीहरूको तालु बल्न थाल्यो र उनीमाथि निरन्तर प्रहार भयो, भइरहेको छ ।

 लामिछानेसँग मेरो कुनै व्यक्तिगत चिनजान छैन र उनको असलियत के हो भन्ने कुरा बुझ्नु पनि छैन, तर उनले देशमा व्याप्त भ्रष्टाचार, भ्रष्टाचारी, तिनका गिरोह र यत्रतत्र सर्वत्र हुँदै आएको अनियमितता र बेथितिबारे संसद्बाटै भण्डाफोर गर्ने आम जनसमुदायले आँकलन गरिरहेको परिप्रेक्ष्यमा उनीमाथि निरन्तर प्रहार हुनु र उनको नागरिकताको विवाद झिक्नु ग्रान्ड डिजाइन हो भन्नलाई आइतवार कुर्नुपर्दैन ।


लामिछाने पूर्वपत्रकार हुन् । संसद्मा छिर्ने थुपैै्र सांसदहरूसँग भन्दा उनीसँग धेरै प्रतिभा छ, उनीसँग क्षमता छ । उनी बोलक्कड छन् र जोसुकैलाई पनि कुरोको चुरो समाएर कुएँल्न सक्छन् । त्यो उनको ल्याकत हो । यस्ता ल्याकत र क्षमता भएका व्यक्ति पाउनु संसद्को गरिमा पनि हो । नेपाली जनताले परम्परागत पार्टीलाई लत्याएर उनी र उनको पार्टीलाई एउटा सशक्त पार्टीका रुपमा संसद्मा देखाएको कारण पनि यही हो, राज्य दोहनको रोकथाम । जनताहरू चाहन्छन् भ्रष्टाचार नियन्त्रण होस् । पुराना नेता र तिनले थापेको थोत्रा पसलबाट सामान नकिन्ने निर्णयमा पुगेका जनताको यो मत र मन बदलिएको ठूलो प्रमाण हो, उनीहरूले वर्षांैदेखि गर्दै आएको अकर्मण्यताको विष्फोट हो । संसद्मा बाघ पसेसरि यिनीहरू अत्तालिएका छन् ।

रवि लामिछाने वंशजका नाताले नेपाली हुन् । यो कुरा घामजस्तै छर्लंग छ । उनी अमेरिका आए र झण्डै डेढ दशक यतै बसे । तथापि निकै वर्षसम्म उनले अमेरिकाको नागरिकता लिएनन् । बरु अमेरिकामा नै रहेको बखत गिनिज बुक अफ वर्ड रेकर्डमा नेपालको नाम अंकित गरे । र, लिएको केही समयपछि उनी सदाका लागि नेपाल गए र दूतावासमा अमेरिकाको पासपोर्ट बुझाए । अब रह्यो उनले अमेरिकी नागरिकता लिँदा नेपाली पासपोर्ट खारेज नगरेको विषय । मेरो विचारमा यो त्यति गम्भीर विषय होइन । उनीबाट ठूलो विराम भएको पनि होइन । तर उनले जानेर वा नजानेर प्राविधिक त्रुटि वा गल्ती गरेको देखिन्छ । तर यो राज्यद्रोह होइन, राष्ट्रघात पनि होइन, न त भ्रष्टाचार नै हो । 

यहाँ राष्ट्रघाती, भ्रष्टाचारी र बलात्कारीहरू बालुवाटारदेखि सिंहदरबारसम्म छ्याप्छ्याप्ती छरिएर बसेका छन् । बूढीगण्डकीको नौ खर्ब खाने कमिसनखोरहरू खोज्न धेरै टाढा जानुपर्दैन । देउवा, प्रचण्ड र ओलीबालाई ठिंगुराएर सोध्न सके दूधको दूध र पानीको पानी निस्केला । तर अहँ, कसले सोध्ने र कसले बिरालोको घाँटीमा घण्टी बाँध्ने सिके राउतले देश टुक्र्याउँछु भने । खै, उनीमाथि कारबाही भएको ? भनिन्छ, उनीसँग पनि अमेरिकी पासपोर्ट छ । 

अमेरिकाको ग्रिनकार्ड बोक्ने सांसदहरू कति होलान्  यसको अनुसन्धान कस्ले गर्छ ? के त्यसको अनुसन्धान हुन्छ ? ७० करोड खाइदेको हो, हान्देकै हो भन्नेहरूलाई समाउन सके ? यो त प्रामाणिक थियो । तर कसैले एक शब्द बोल्न सकेनन् । समाउनु त परको कुरा । गत वर्ष वीरगञ्जमा अनेपालीलाई हाताहाती नेपाली नागरिकता बाँडिएको दृश्य सबैसामु छ । कसैलाई कारबाही भयो ? १७ हजार नेपाली मार्ने र पाँच हजार मारेको जिम्मा लिने नेपाली पोलपोट कार्यकारी प्रमुख बन्नका खातिर कहिले बालकोट त कहिले बूढानीलकण्ठ धाइरहेका छन् । के तिनीबारे अनुसन्धान हुँदै छ ? 

वाइडबडी, धमिजा, लाउडा, एनसेल, ओम्नी, शक्तिखोर, चाइना साउथ, ललिता निवासको किनबेच आदिमा भएका अपराधका ठूलाठूला घोटाला र जालो तोड्ने हिम्मत गरेका छन् ? कुनै एफबीआई वा अख्तियारले कसैलाई समाउन सकेका छन् ? के विधि र कानुनी राज्यको अवधारणामा राष्ट्र चलेको छ ? साना माछा समात्ने र रविलाई संसद् भवनसम्मको पहिलो यात्रामा नै ब्रेक लगाउने गरी भएको यो गम्भीर षड्यन्त्र हो ।

इँटाभट्टामा हालेर मान्छेलाई जिउँदै जलाउनेमाथि कारबाही भयो ? अहँ, भएन । हाम्रो संविधानको भाग २ को धारा १० मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन’ भनेर स्पष्टसँग व्यवस्था गरिएको छ । एउटा देशप्रेमी युवा नागरिकलाई अनागरिक बनाउने प्रपञ्च त होइन भनेर सबैको मनमा शंका उब्जेको छ । 

कुनै पनि देशको नागरिक एक मिनेट पनि अनागरिक हुँदैन भन्ने विश्वव्यापी अभ्यास र मान्यता छ । त्यसैले उनी पनि नेपाली हुन् र उनले संसद्सम्मको यात्रा गर्न पाउनुपर्छ । हाम्रो संविधानमा कसले छिरायो हाम्रो सनातन धर्मविरुद्ध धर्म निरपेक्षता ? कसैले खोजी गरेको छ ? के तिनलाई कारबाही भएको छ ? तर, लामिछाने किन कसैको आँखाको कसिंगर बनिरहेका छन् ?

यसको सपाट उत्तर छ उनी संसद्मा गएपछि यी सब भ्रष्टाचारीको निदहराम हुन्छ । २०४८ सालपछि यिनीहरूले गर्दै आएको राज्यको ढुकुटीमाथिको राइँदाइँ, अनियमितता र यिनीहरू सबको बहिखाता र कर्तुत एकएक गर्दै बाहिरिने र उस्तै परे देश छाडेर राजपाक्षेको नियति भोग्नुपर्ने भयले गठबन्धनका ठगहरू अत्तालिएका छन् र अनेक प्रपञ्च रचेर उनलाई फसाउन सकिन्छ कि भनेर हात धोएर लागेका छन् । 

यो उनीमाथिको प्रतिशोध हो । यसको ज्वलन्त उदाहरण त प्रधानन्यायाधीशद्धय सुशीला कार्की र चोलेन्द्र शमशेर राणालाई हेरे पुग्छ । त्योभन्दा अलिक अगाडि जाने हो भने लोकमानसिंह कार्कीलाई हेरे पनि हुन्छ । ठालूहरूको कर्तुत खुल्ने डरले यी तीनैजनालाई बलिको बोको बनाइएको कुरा त हाम्रा अगाडि ज्यूँदो छ ।

नेपालमा बस्ने मात्र राष्ट्रवादी होइनन् । नेपालबाहिर बसेर पनि राष्ट्रियताको गीत गाउने नेपालीहरू एकाध अपवादवाहेक शतप्रतिशत छन् । नेपाललाई चिनाउने नेपालबाहिर धेरै छन् । समग्रमा नेपाल संसारभर छरिएर रहेको छ । भारतले नाकाबन्दी लगाउँदा अमेरिकाको युएन अफिसमा गएर नाराबाजी गर्ने को थियो ? ती सच्चा नेपालीहरू थिए । तिनको रगतमा नेपाल बहेको छ । लामिछानेको रगतमा पनि नेपाल बहेको छ । लामिछाने आफूले प्राप्त गरेको ज्ञान, सीप र क्षमताको वृद्धि गरेर यही भूमिमा पसिना बगाउँछु र नेपाललाई केही योगदान दिन्छु भन्ने संकल्पसहित नेपाल फर्के । 

अमेरिका छोडेर फर्कने के उनी अपवाद होइनन् ? मलाई कहिलेकाहीँ लाग्छ, नेपालका नागरिकलाई भुटानी शरणार्थीलाई जस्तो ‘अमेरिका जान पाइन्छ ल फारम भर्नुस् गोप्य रहन्छ’ भन्ने हो भने पूर्वराजा ज्ञानेन्द्रबाहेक अरु सबैले फारम भर्छन् । मलाई थाहा छ, यो कुरा अतिशयोक्ति हो तर आंशिक सत्य पनि हो । 

डिभी भर्न र खाडीमा कामको खोजीमा जान लागेका मानिसहरूको लाइन दृष्टिगोचर गरियो भने मात्र यो कुरा प्रमाणित हुन्छ । यो अतिशयोक्तिपूर्ण भनाइले के देखाउँछ भने यहाँ कोही पनि खुसी छैनन्, छन् त केवल सत्ता र शक्ति हातमा लिने र तिनका झोले र झण्डेहरू मात्र । डिभी भर्दाभर्दा थाकेकाहरूले गर्ने र भन्ने हुन् राष्ट्रियताका कुरा । देखिएकै कुरा हो, देशका ९० प्रतिशत जनताले कुनै न कुनै समय डिभी भरेका छन् । यसैले लामिछानेले गरेको प्राविधिक त्रुटि वा गल्तीलाई सच्च्याएर अघि बढ्नु जनमतको सन्देश हो । जनताको चाहना पनि हो ।

(हाल नर्थ क्यारोलिना, अमेरिका बस्‍ने खनालका यी विचार निजी हुन्)


Author

थप समाचार
ad
x