विचार

अन्तर्राष्ट्रिय महिला दिवस २०२३ विशेष

कमजोर लोकतन्त्र, महिला र भ्रष्टाचार

रामकुमार आचार्य |
फागुन २४, २०७९ बुधबार २०:१२ बजे

लोकतन्त्रको स्तर र भ्रष्टाचारको स्तरको अनुमान गर्न महत्वपूर्ण हुन्छ । विभिन्न अध्ययनहरूले सबल लोकतन्त्र हुँदा भ्रष्टाचार घटेको देखाएका छन् । भ्रष्टाचार विषयका लेखक इन्स्टे डोमिनिकका अनुसार लोकतन्त्र जति लामो समयसम्म स्थिर हुन्छ त्यत्ति नै भ्रष्टाचार कम हुन्छ । कम्तीमा पनि १०२ बढीमा ४५ वर्षसम्म बिनाअवरोध स्थिर रहेको लोकतन्त्रमा भ्रष्टाचार घटेको पाइएको छ ।

त्यसैगरी लोकतन्त्रका प्रारम्भिक वर्षहरूमा भ्रष्टाचार बढ्ने र ४ देखि १५ वर्षमा क्रमशः घट्दै जाने हुन्छ । उनी भन्छन्- सार्वजनिक अधिकारीसँग सम्पर्क बढाएर भ्रष्टाचार गर्न तम्सिने निजी क्षेत्रलाई नियन्त्रण गर्ने उपायहरू नवोदित लोकतन्त्रमा अभाव हुन्छ । जब लोकतन्त्र स्थिर बन्छ तब स्वतन्त्र बजारको प्रवेश पनि सहज हुँदै जान्छ र प्रतिस्पर्धा बढ्न गई भ्रष्टाचार गर्ने अवसर कम हुँदै जान्छ । समयक्रममा अनुगमन गर्ने संस्थाहरू पनि सबल हुँदै जान्छन् । भाडा खोजाइ प्रवृत्तिका जोखिम पनि बढ्छन् । सारमा भन्नुपर्दा लोकतान्त्रिक संस्थाहरू पूर्णत: कामयाब भए भने लोकतन्त्रले भ्रष्टाचार घटाउँछ भने कमजोर लोकतन्त्रले बढाउँछ । सन १९८० देखि २००७ सम्मका १२६ देशका तथ्याङ्कहरू विश्लेषण गरी गरिएको एउटा अध्ययनले लोकतान्त्रिकरण र आमसञ्चारको स्वतन्त्रताले भ्रष्टाचारलाई नकारात्मक प्रभाव पार्ने देखाएको छ ।


महिला र भ्रष्टाचार

महिला र भ्रष्टाचारका बीचमा कस्तो सम्बन्ध हुन्छ भन्ने बारेमा विभिन्न अध्ययन भएका छन् । ती अध्ययनका निचोड भने फरक फरक छन् । महिलाहरू पुरुषभन्दा विश्वासलायक, उच्च नैतिक व्यवहार भएका, सार्वजनिक दायित्वप्रति उत्साही (public-spirited) तथा आम हितका लागि बढी चासो राख्ने हुन्छन् भन्ने विभिन्न अध्ययनका निचोडलाई आधार मानेर डेभिड डोल्लर समेतले इमान्दार सरकारलाई प्रवर्द्धन गर्न महिलाहरू प्रभावकारी हुन्छन् कि हुँदैनन् भनेर परीक्षण गरेका छन् । उनीहरूले सकारात्मक निष्कर्ष निकाल्दै संस‌द्‍मा र सरकारमा महिला प्रतिनिधित्व बढ्दा भ्रष्टाचार घट्छ भन्ने पाएका थिए ।

फ्रेडेरिक बोहेमले युफोर संस्थाका लागि लेखेको लेखमा महिला र भ्रष्टाचारका सम्बन्धमा गरिएका विभिन्न अध्ययनको उल्लेख गरेका छन् । उनका अनुसार उक्त अध्ययनहरूको संक्षेपमा भ्रष्टाचारलाई हेर्न दृष्टिकोण घुस खाने र दिने सम्बन्धमा निम्नानुसारका लैङ्गिक फरक पाइएको छ ।

भ्रष्ट आचारणप्रति महिलाहरूको सहनशीलता कम हुन्छ तर यो तथ्य लोकतान्त्रिक प्रणालीमा मात्र सत्य हुन्छ एकतन्त्रीय शासन प्रणाली र भ्रष्टाचार आम स्तरमा स्वीकार गरिने समाजमा सत्य हुन सक्दैन ।

घूस खानेबारे केही प्रासड़िक विषयमा प्रतिक्रिया अपवादबाहेक पुरुष र महिलाका बीचमा कुनै महत्वपूर्ण भिन्नता हुँदैन । महिलाहरू अलि बढी अवसरवादी हुन्छन् । उनीहरू घूस लिन सक्छन् तर बदलामा भ्रष्ट अनुग्रह (corrupt favour) नदिन अर्थात् घूस खुवाउनेले अपेक्षा गरेको काम नगरिदिन सक्छन् । अनुभूत गरिएको दण्डभारको जोखिम भयो भने महिलाहरूले पुरुषको तुलनामा घूस लिने सम्भावना कम हुन्छ ।

पुरुषहरूले घूस दिने सम्भावना बढी हुन्छ ।
पुरुषहरूले दिने घूसको रकम बढी हुन्छ ।
महिला र पुरुष दुवैले महिलालाई भन्दा पुरुषलाई बढी घूस दिन्छन् ।

केही अध्ययनले उपरोक्त प्रकारका निष्कर्ष निकालेका भए पनि धेरैजसो अध्ययनले महिलाहरू अन्तस्करणबाटै पुरुषभन्दा कम भ्रष्ट हुन्छन् भन्ने कुनै प्रमाण नभएको बताएका छन् ।

चन्दनकुमार झासमेतका अनुसार रोजगार क्षेत्र क्लेरिकल र उपल्लो तथा निर्णायक पदमा महिलाहरूको प्रतिनिधित्व बढ्दैमा भ्रष्टाचार घट्नामा उल्लेख्य प्रभाव पर्दैन । बरू महिलाहरूले पुरुष सरहको समान हैसियत पाउन सके भने भ्रष्टाचार न्यूनीकरणमा योगदान पुग्न सक्छ । राज्य प्रणालीमा महिला प्रतिनिधित्वलाई उदार लोकतन्त्रका संस्थाहरूले भरथेग नगरे भ्रष्टाचार नियन्त्रण हुन सक्दैन । श्रोत: आइएनएस-स्वतन्त्र समाचार

(लेखक रामकुमार आचार्य नेपाल सरकारका पूर्वसचिव हुन् ।) 


Author

रामकुमार आचार्य

आचार्य नेपाल सरकारका पूर्व सचिव हुन् ।


थप समाचार
x