विचार

एसईई सधैँका लागि बन्द गरौँ

डा. प्रेम फ्याक |
बैशाख २७, २०७८ सोमबार १३:१० बजे

गत वर्ष जस्तै यस वर्ष पनि कोभिडको कारणले एसईई अर्को सूचना नहुन्जेलसम्मका स्थगित भएछ । निश्चय नै यसले आम विद्यार्थी र अभिभावकहरुमा अन्योलता  छाएको छ । यस सन्दर्भमा केही सैद्धान्तिक र नीतिगत कुराहरु बुँदागत रुपमा राख्न चाहन्छु ।

१. यो एसईईको राष्ट्रिय स्वरुप र सान्दर्भिकतामै प्रश्न गर्नु पर्ने होइन र ? १२ कक्षालाइ विद्यालय शिक्षाको अन्तिम बिन्दु मानिसके पछि १० कक्षामा किन राष्ट्रिय परीक्षा लिनु पर्ने बुझ्न सकिएन । अहिलेको संरचना अनुसार १० कक्षाको परीक्षा भनेको ११ कक्षामा जानलाई मात्र हो । यसको लागि अरु कक्षाहरुको जाँच लिए जस्तै विद्यालयहरुलाई जिम्मा दिन किन सकिन्न ? 


२. गत वर्ष विद्यालयहरुलाई नै परीक्षाको जिम्मा दिँदा केही समस्याहरु देखिए । तर ती समस्याको पहिचान र सम्बोधन गर्ने काम गत एक बर्षमा के के भए ?  सुधारका योजना र कार्यान्वयन गर्ने आधार कति बने लेखाजोखा कहिँ कतै छ ? 

३. विद्यालय र शिक्षकहरुलाई परीक्षाको जिम्मा दिने तर प्रश्न बनाउने, रिजल्ट प्रकाशन गर्नेदेखि मार्कसिटसम्म बनाउने काम परीक्षा बोर्डले गर्ने नीति र प्रक्रिया नै विरोधाभाषपूर्ण छ। विद्यालयहरुलाई अरु कक्षाहरु जस्तै कक्षा १० को परीक्षा गर्न दिनको लागि के ले रोक्छ ? 
 
 ४. शिक्षक र विद्यालयहरु एसईई परीक्षा सञ्चालन गर्न इमान्दार भएनन् वा हुनुपर्छ भन्ने कुरामा त्यति तुक छैन । यो तर्कले डेफिसिट चिन्तन बोकेको छ । यसले दोषारोपण गर्ने संस्कृतिलाई मलजल गर्छ । इमान्दार सबैले हुनुपर्छ तर खास इमान्दारिता भनेको नीति निर्माण तहमा बस्नेहरुले देखाउनु पर्छ । पुरानो एसएलसी लाई जस्तै नयाँ संरचनामा पनि कक्षा १० को परीक्षालाई राष्ट्रिय परीक्षा जस्तै हाउगुजी बनाउने नीति निर्माण गर्नेहरु झन् बढी इमान्दार हुनु पर्छ । साह्रोगाह्रो पर्दा मात्र शिक्षक गुहार्ने अनि इमान्दार भएनन् भन्ने प्रवृत्ति त्याग्नु पर्छ । 

५. कक्षा १० पास गरेको विद्यार्थीलाई अरु कक्षाहरुमा जस्तै जुनसुकै विद्यालयहरुमा ११ कक्षामा भर्ना लिऊँ । ग्रेडको आधारमा विभेद नगरौँ । गत वर्ष नै बृह्त रुपमा छलफल भएर संसदीय समितिले यो परीक्षा सधैलाई बन्द गरौ भन्ने निस्कर्ष निकालेको जस्तो लाग्छ । केटा-केटीको खेल नगरौ । एसईई सधैँलाई बन्द गरौँ । एसईई परीक्षाको अर्को सूचना देख्न नपरोस । 

(अध्येता समेत रहेका फ्याक त्रिभुवन विश्वविद्यालय अंग्रेजी शिक्षा केन्द्रीय विभागका पूर्वप्रमुख हुन् । सामाजिक सञ्जालबाट)
 


Author

थप समाचार
x