विचार

वैयक्तिक स्वतन्त्रताको मताधिकारमाथि आक्रोशको धम्की

फर्सुराम पाण्डे |
बैशाख १७, २०८० आइतबार ११:२३ बजे

उमेरले ७० को सेरोफेरोमा पुगेका नेताका कुरा छोडौँ युवापिँढीले आशा गरेका गगन थापाले अहिलेको चितवनको उपनिर्वाचनमा भाषण गर्ने क्रममा, भगवानको नाम जोडेर भनेः बाहिर रुख-रुख भन्दै कुद्‍ने तर भित्र घण्टीलाई मत हाल्ने हो भने माथि हरीले देख्छन्,हरीले हिसाबकिताब गर्छन्।

उनी मात्र हैन हरेक मुलधारका पार्टीका नेताहरुले यसरी नै वैयक्तिक स्वतन्त्रताको मताधिकार माथि आफ्ना कार्यकर्तालाई प्रशिक्षणको नाममा धम्कीपूर्ण भाषा बोल्छन् मानौँ कार्यकर्ता वा जनता उनीहरुका दास हुन्।


मुलधारका पार्टीहरुले युवाहरुलाई अझै दास सम्झिन्छन्।यी कार्यकर्ता भनेका क्यारम बोर्डका गोटी सरह हुन् भन्ठानेर अनुशासनको डण्डा चलाउँछन्। तर अबको पुस्ता धेरै विवेकी भैसकेको पत्तो पाउँदैनन्। जेल जीवन विताएको, फलानो आन्दोलनमा अग्र-पङ्तिमा उभिएको, यति वर्ष पार्टीलाई सहयोग गरेको, फलानो शिर्ष नेतासंग चिनजान भएको कारणले भित्राउने टिकटले मात्रै अब चुनाव जितिदैँन।

४० को दशक पछि जन्मेको पिँढी नेपाल बस्नै खोज्दैन। नेपाल बसेकोहरु भिसा नलागेर मात्र बाध्यताले बस्ने कयौँ छन्। भिसा नलागेकोमा लज्जित महसुस गर्छन्।सत्ताका लागि गठबन्धनको नाममा सिद्धान्त,नीति,विचार,चुनावी प्रतिबद्धता सबै बिर्सेर चुनाव जितेको भोलिपल्ट नयाँ समिकरण बनाउनेबाट जनता आजित भैसके। आफ्ना मतदाताको मतको पूर्ण नजरअन्दाज गरी जो सुकैसँग पनि फगत सत्ता स्वार्थको निमित्त  मिली हाल्ने  प्रवृत्ति नै नेपाली राजनीतिको मूल समस्या हो । 

अरु कुरा छोडौँ यो देशमा कर तिर्न समेत सजिलै पाईदैँन। राज्यलाई बुझाउने राजस्व तिर्दा समेत सर्वसाधारणले दुःख पाउँछन्। पन्चायतकालदेखि कै उस्तै मनोविज्ञान बोकेको कर्मचारी संयन्त्र छ। राज्यले दिने  डेलिभरी सिस्टम  शून्य छ। अड्डा अदालतदेखि  जिल्ला प्रशासन, मालपोत कार्यालय, कम्पनी रजिष्टार अफिस  लगायतका सेवाग्राहीको भिड हुने कार्यालयमा बिचौलियाको बिगबिगी मात्रै छ। विचौलियालाई नखुवाए काम नै नहुने दुर्दशा छ।

लोकतन्त्रको आगमन पश्चात अनेकौँ आश गरेका जनता माझ १५औँ वर्ष बितिसक्दा पनि ताल उही छ। अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ। निर्यातभन्दा आयातले सीमा नाघेको छ। कृषिजन्य खाद्यान्‍नमा समेत पर निर्भर हुनु परेको छ।  यो राज्यले स्वदेशी तरकारीले बजार नपाउँदा आयातित विषादीयुक्त तरकारीलाई नापजाँच गर्न दिदैँन। यात्री बाइक जस्तालाई दर्ता गर्ने कानुनी संयन्त्र समेत बनाउन नसकी विदेशीन वाध्य पार्छ।

संघीयताको प्रदेश संरचनाको दैनिक प्रशासनिक खर्च धान्न समेत राज्यले ऋण लिनुपरेको छ। जनताको जीवन स्तरमा परिवर्तन नदेखिँदा मेरो देश अहिले नेताहरुको समूह, बिचौलिया, सरकारी कर्मचारी, र भिसा नलागेर रन्थनिएको युवा र वृद्ध आमाबुबाहरुको मात्र स्थायी बासस्थान हुँदै गएको छ। सामान्य जीवन यापन गरेर खान्छु भन्नेले सूर्यमुखी तेलमा पकाएको भान्सा तयार गर्न गाह्रो भैसकेको छ। बैँकमा पैसा छैन। होटल व्यवसायी दिनभर ग्राहक कुरेर बसेका भेटिन्छन्। श्रमजीवी जनताको जीवन स्तर झनै खस्किँदो छ । यसरी जनता लखतरान पर्दा  युरोप अमेरिका बुझेको युवा पुस्तालाई छटपटी छ।

मान्छेलाई जब आफ्नो राज्यप्रति,यसका चालकप्रति आश गराउनु पर्नेमा राज्यका चालकले झन् उल्टो आफ्नो शास्त्रीय एकोहोरोपन रटाए पछि यसको विष्फोट हुनु स्वाभाविक हो। देश भनेको ढुङ्गा माटो मात्र हैन, यहाँ त तरुण मान्छे पनि हुनुपर्छ। तर विस्तारै देश युरोप-अमेरिका पुग्न नसकेका युवा, सरकारी कर्मचारी र केवल वृद्धहरुको डम्पिङ साइट मात्र बन्दै छ। 

युवा तन्नेरीहरु नै यो देश बस्न लाज मान्ने स्थिति भए पछि यहाँ शासन कसको लागि गर्ने ? लोकतान्त्रिक लोक कल्याणकारी राज्य यस्तो हुन्छ ? अहिलेको समस्या भनेकै सेवा प्रवाह, शिक्षा, स्वास्थ्य र लोकतन्त्रिक पद्धति स्थापना आदिमा छन्। यो बाहेक शास्त्रीय रटानले जनताको मन छुन्न। अहिलेको पुस्ता विगत हेर्दैन। विगतका राजनीतिक घटनाहरुमा फलानोले गरेको त्याग भनेर दिने मतलाई प्रयोग गर्दैन। हेर्छ त केवल भविष्य, उसको चारित्रिक र शैक्षिक विवरण ।उम्मेदवारहरु बीचमा शैक्षिक योग्यतामा तौलिन्छ।  

यसो भनिरहँदा मुख्य पार्टीका दोस्रो तहका नेताहरु पनि छन्। बेला मौकामा क्रान्तिकारी कुराहरु पनि खोक्छन्।तर यी पार्टीका पहिलो पुस्ताले नै आफूलाई अनुकूल हुने पार्टी निर्माण गरेका छन्। र दोस्रो पुस्ताका नेताहरुमा आफूलाई लाभ लिन पहिलो पुस्ताका नेताको नांगो सेवा गर्नुपर्ने अवस्था छ। त्यसले गर्दा तिनले जे  बोल्छन्,ती वाक्यलाई प्रशंसा गर्नु आफ्नो दायित्व सम्झिन्छन्। सोही कारण असहिष्णु भएर प्रस्तुत हुन्छन्। कुरा बिग्रेकै यही व्यक्ति पूजाबाट हो। नेपालमा यसरी राजनीतिबाट नीति नै गायब भएको छ । नागरिकले महसुस गर्ने गरी सुशासन कायम राख्नु त कता हो कता सत्ताको ‘म्युजिकल चेयर’ मा मात्र रमाइरहेका परम्परागत दलहरूको करामत आजको उपनिर्वाचनको परिणाम हो यो।

त्यसैले फलानो ढिस्कानो वाद, फलानो दर्शन छौडौँ, सेवा प्रवाह चुरुस्त दुरुस्त बनाउन लागे मात्र पनि जनताको आक्रोस कम हुन्थ्यो।निर्वाचनले हरेक पार्टीमा नयाँ पुस्ताको नेतृत्व अपरिहार्य छ भन्ने महत्वपूर्ण शिक्षा दिएको हो तर यो शिक्षा लिन मुलधारका नेताहरु तयार छैनन्। अब पुस्ता मात्र नयाँ भएर हुँदैन, एजेन्डा, कार्यशैली, जनविश्वासको आधारसमेत नयाँ जगमा हासिल गर्ने दक्षता दल भित्रको नयाँ पुस्ताले आर्जन गर्न सक्नुपर्छ । नत्र शीर्ष नेताहरुको अवसानसँगै शीर्ष पार्टीहरु सँगसँगै बिलाउन सक्छन्।

यो निर्वाचनमा नयाँ दल अगाडि आउनुको अर्थ जस-जसले जे-जे लाए पनि मुलधारका राजनीतिक दलका नेताहरूसँगको वितृष्णा प्रमुख कारण हो। त्यसैले कार्यकर्तालाई रैती सम्झिएर आफूले जे गरे नि कार्यकर्तालाई पेल्ने, आक्रोसको भाषा बोल्ने दिन गए भनेर शीर्ष नेताले जति ढिलो बुझ्छन्, त्यति पछुताउछन्।

(लेखक पाण्डे नेपाल ल क्याम्पसका स्व.वि.यु. सदस्य हुन्।)

र, यो पनि


Author

फर्सुराम पाण्डे

लेखक पाण्डे नेपाल ल क्याम्पसमा बीए एलएलबी अध्ययनरत छन् ।


थप समाचार
x