विचार

आम उपभोक्ता सबैले बुझ्नुपर्ने यो ‘विद्युतीय साक्षरता कक्षा’

विनोद शर्मा |
जेठ २, २०७८ आइतबार १४:३९ बजे

‘विद्युत्’ आधुनिक जीवनशैलीमा अत्यावश्यक छ । विद्युत्को अनुपस्थितिमा एक सामान्य मानिसकै दिनचर्या प्रभावित बन्छ । बजारमा विद्युतीय उपकरणहरू बढिरहेका छन्, हाम्रो जीवनमा तिनका प्रयोग बढिरहको छ र विद्युत्मा हाम्रो निर्भरता झनै बढिरहेको छ ।

अन्य शक्तिका प्रकारजस्तै गति, प्रकाश, ध्वनि, ताप आदिमा सजिलै रूपान्तरण गर्न सकिने, कम क्षति तथा चुहावटमा सञ्चित तथा लामो दूरीमा प्रसारण गर्न सकिने, प्रभावकारी तथा सुरक्षित नियन्त्रण गर्न सम्भव भएकाले विद्युत् शक्ति संसारमै निर्विकल्प र लोकप्रिय बन्दै गएको छ ।


संसारमा विश्व बैंकको २०१९ को तथ्याङ्कअनुसार प्रतिवर्ष २३ लाख ३९ हजार ८०० गिगावाट–आवर विद्युत् खपत भएको थियो जसमा प्रथम, द्वितीय र तृतीय स्थानमा क्रमशः रहेका चीन, अमेरिका र भारतले मात्रै कुल खपतको ५४.५ प्रतिशत विद्युत् खपत गरेका थिए । सो सूचीको १२८ औँ स्थानमा रहेर नेपालले जम्मा ६ हजार ५६२ गिगावाट–आवर विद्युत् खपत गरेको थियो ।

झन्डै १६१ देशले औसत विद्युत् खपतभन्दा कम खपत गर्ने हँुदा विश्वमा देशअनुसार विद्युत् खपत ज्यादै असन्तुलित रहेको छ । अत्यन्तै निम्न विद्युत् खपत गर्ने देशहरूमा बढी जनसंख्या भएका एसिया र अफ्रिकाका अविकसित तथा विकासोन्मुख देशहरू रहेका छन् । यसबाट विश्वमै विद्युत्को खपत झनै तीव्र गतिमा बढ्ने निश्चित देखिन्छ ।

प्रविधिको यो युगमा विद्युत्लाई यति महत्व दिइएको छ कि हामीले प्रतिवर्ष खपत गर्ने विद्युतीय ऊर्जाका आधारमा हामीले बिताएको जीवनको स्तर मापन गरिन्छ । विश्व बैंकको २०१९ को तथ्याङ्कअनुसार हामी नेपालीले प्रतिव्यक्ति प्रति वर्ष २२९ युनिट विद्युत् गरेर २१९ देश संलग्न सूचीको १८५ औँ स्थानमा छौँ । सबैभन्दा बढी प्रतिव्यक्ति प्रतिवर्ष खपत गर्ने आइसल्यान्डले ५१ हजार ६९९ युनिट र त्यसपछि नर्वेले २३ हजार २१० युनिट खपत गरेको छ ।

जलविद्युत् उत्पादन र भौगोलिक समानताको हिसाबमा अक्सर नेपालसँग तुलना गरिने देश भुटानले प्रतिव्यक्ति प्रतिवर्ष ३ हजार १२६ युनिट र जम्मा खपतको तेस्रो स्थानमा रहेको छिमेकी देश भारतले प्रतिव्यक्ति प्रतिवर्ष ९३५ युनिट खपत गर्छन् । हाम्रो प्रतिव्यक्ति खपत विश्वको औसत प्रतिव्यक्ति प्रतिवर्ष खपत ३ हजार ८१ युनिटभन्दा धेरै तल रहेको छ ।

यसकारण पनि हाम्रो जीवनशैलीको गुणस्तर बढाउन पनि विद्युत्को खपत बढाउन जरुरी छ । नेपालमा बसोबास गर्ने नेपाली नागरिक भएको आधारमा पनि हाम्रो भावी जीवनमा विद्युतीय उपकरणहरूको प्रयोग र विद्युत्को खपत बढ्ने स्पष्ट दुई कारण देखिन्छन् ।

जलविद्युत् उत्पादनको राम्रो सम्भावना र विदेशमा ठूलो संख्यामा नेपाली रहेको हुनाले अन्तर्राष्ट्रिय बजारमा आएका विद्युतीय प्रविधि तथा सामग्री समयसँगै स्वतःस्फूर्त रूपमा भित्रिने प्रथम कारण हो । यस्तै धैरै निजी तथा सार्वजनिक जलविद्युत् आयोजना निर्माणाधीन रहेकाले सरकारको विद्युत् खपत बढाउने नीति दोस्रो कारण हो ।

लोडसेडिङको अन्त्यपछि नेपालमा विद्युतीकरण प्रत्येक वर्ष करिब ५ प्रतिशतले बढ्दा पनि विद्युत्को उच्चतम माग खासै बढेको छैन । हालको उच्चतम माग करिब १३ सय मेगावाट मात्रै छ । उता जलविद्युत् उत्पादनमा नेपाल विद्युत् प्राधिकरणको वार्षिक प्रतिवेदनअनुसार करिब ६ हजार मेगावाटको सम्झौता ‘टेक अर पे’मा भइसकेको छ, जुन ३ देखि ५ वर्षसम्ममा उत्पादन भई हाम्रो प्रणालीमा थपिने कुरा उल्लेख छ ।

त्यसैले हामी बेलाबेलामा नेपाल सरकार तथा नेपालको विद्युत् सेवा प्रदायक नेपाल विद्युत् प्राधिकरणले विद्युतीय उपकरणहरूको प्रयोगलाई प्रोत्साहन गर्दै विद्युत् माग बढाउन अनुरोध गरेको देख्ने गछौँ । जुन कुरा नेपाल सरकारका दीर्घकालीन योजनाहरूमा पनि पर्ने गरेका छन् । यसकारण पनि हाम्रो जीवनको निकट भविष्यमा विद्युतीय सामग्री थपिई विद्युत् झन् बढी प्रयोग हुने कुरा निश्चित छ । 

चुहावटका कारण एकातिर हामीले महँगो महसुल तिरेर भित्र्याएको विद्युत् जमिनमा खेर गइरहेको हुन्छ भने अर्कोतिर हामी प्रयोगकर्तालाई नै असुरक्षित गराइरहेको हुन्छ ।

विद्युत् हाम्रो जीवनको महत्वपूर्ण अंग भइसक्दा पनि सामान्य जनमानसमा यसबारे बुझ्ने रुचि खासै देखिँदैन । प्रायः विद्युत् उपभोक्ताको विद्युत्सम्बन्धी चासो केवल विद्युत् महसुलमै सीमित हुन्छ । हामीले घर गराउँदा बाथरुमका टाइल र झ्यालका पर्दाका बुट्टा छनोटमा जति ध्यान र समय दिइरहेका हुन्छाँै, त्यही घरको एमसीबी तथा विद्युतीय सुरक्षाका सामग्रीमा दिइरहेका हुँदैनौँ जबकि तिनका गलत प्रयोगले ठूलो जनधनको क्षतिको सम्भावना रहन्छ । विद्युत्को सम्भावित खतरा सामान्य मानिसले नदेख्ने हुनाले पनि यसको प्रयोगमा सावधानी कम देखिन्छ ।

हाम्रो अपरिहार्य आवश्यकताका रूपमा विकसित भइरहेको विद्युत्, हामीले प्रयोग गर्ने विद्युतीय उपकरणहरू, घरको वायरिङ, विद्युतीय उपकरणहरूको सुरक्षित प्रयोग र विद्युतीय दुर्घटनाको प्राथमिक उपचारसम्मको आघारभूत ज्ञान हरेक व्यक्तिमा हुनु आवश्यक छ । यसबाट विद्युत्को सुरक्षित तथा किफायती प्रयोग गर्न मद्दत पुग्नेछ ।

रिपब्लिका राष्ट्रिय दैनिकमा २०७६ माघ १६ मा प्रकाशित समाचारअनुसार नेपालमा २०७४ सालमा मात्रै ५२० विद्युतीय दुर्घटना भएका थिए जसमा ३२१ जनाको मृत्यु भएको थियो । विद्युत् र यसको प्रयोगसम्बन्धी सामान्य ज्ञान र चेतनाको कमीले अनावश्यक विद्युत् महसुल तथा ज्यानको क्षति भोग्नुपरेको धेरै उदाहरण भेटिन्छन् । बजारमा पाइने सबै विद्युतीय उपकरणहरूमा प्रयोककर्ताको सुरक्षाको व्यवस्था नहुँदा पनि धेरै दुर्घटना भएको देखिन्छ ।

हामी ऊर्जाको खपत मात्रै बढाउन लागिरहँदा विकसित देश अहिले ऊर्जा दक्षता र ऊर्जाको प्रभावकारी प्रयोगमा पुगिसकेका छन् । कुनै काम वा कुनै आवश्यकता कमभन्दा कम ऊर्जा खपत गरेर सम्पन्न वा परिपूर्ति गर्नु नै राम्रो ऊर्जा दक्षता हो । विभिन्न देशले ऊर्जा दक्षताको लक्ष्य राखी सोहीअनुरूप खोज तथा अनुसन्धान गरिरहेका छन् । युरोपियन युनियनले आवश्यकताभन्दा बढी विद्युत् खपत गर्ने ‘फिलामेन्ट बल्ब’, ‘हेयर ड्रायर’, ठूला ‘भ्याकुम क्लिनर’, टिभी, फ्रिज, ‘वासिङ मेसिन’लगायतका एक दर्जन घरायसी विद्युतीय उपकरणहरूलाई २०१४ मा नै बन्देज लगाइसकेको छ ।

यस्ता उपकरणहरूले ऊर्जा दक्षताको लक्ष्य पछ्याउन बढीमा ३० प्रतिशतसम्म विद्युत् खपत घटाउनुपर्ने कुरा उल्लेख गरिएको थियो । लामो समय विद्युत् उर्जा संकट भोगेको नेपालले ऊर्जा दक्षताका लागि खासै धेरै महत्व दिएको भेटिँदैन । तर पनि जर्मन सरकारको सहयोगमा २०६७ सालबाट ऊर्जा दक्षताको अभ्यास गराउने उद्देश्यले नेपाल ऊर्जा दक्षता कार्यक्रमको सुरुवात भएको छ । त्यस्तै ऊर्जा दक्षतालाई थप प्रभावकारी बनाउन आवश्यक नीति नियम बनाई सन् २०३० सम्म ऊर्जा दक्षताको दरमा ठोस लक्ष्य हासिल गर्ने उद्देश्यले मन्त्रिपरिषद्बाट राष्ट्रिय ऊर्जा दक्षता रणनीति २०७५ परित भइसकेको छ ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत बढाउन बारम्बार अपिल गरिरहे तापनि ऊर्जा दक्षता र ऊर्जाको प्रभावकारी प्रयोगलाई सधैँ प्रोत्साहन गरिरहेको छ । तुलनात्मक रूपमा उही उज्यालोका लागि कम विद्युत् खपत गर्ने ‘लिड लाइट’ वितरण गर्नु, निजी ट्रान्सफर्मर जडान गर्दा अनिवार्य रूपमा त्यसको ऊर्जा क्षति परीक्षण गरी नियमन गर्नु र हरेक वर्ष आफ्नो प्रणालीमा भएको क्षति तथा चुहावटलाई निरन्तर घटाउने लक्ष्य लिई उच्च महत्वसाथ आवश्यक कार्य गर्नु यसका केही उदाहरण हुन् ।

राष्ट्रिय ऊर्जा दक्षता रणनीति २०७५ सँगै नेपालमा ऊर्जा दक्षताको प्रोत्साहन तथा सरोकारवालाहरूसँग सहकार्य गर्नका लागि नेपालको पहिलो ऊर्जा दक्षता इकाइका रूपमा वैकल्पिक ऊर्जा प्रवद्र्घन केन्द्रले आवश्यक कार्य गरिरहेको छ । अन्यत्र जस्तो ऊर्जा दक्षताकै निम्ति हामीलाई बोध हुनेगरी खासै धेरै क्रियाकलाप भएका छैनन्, ठूला उपलब्धिहरू हासिल भएका छैनन्, हामी ऊर्जा दक्षताको अत्यन्तै सुरुवाती क्षणमा छौँ । नीति–नियम आइसकेपछि पनि ऊर्जा दक्षताको प्रभावकारी कार्यान्वयन केवल उपभोक्ताको साथ, सहयोग र बुझाइले मात्र सम्भव छ । त्यसकारण उपभोक्ता स्वयंलाई विद्युत्को प्रभावकारी, किफायती तथा सुरक्षित प्रयोग र आप्mनो आवश्यकताका लागि कम विद्युत् गर्ने विद्युतीय उपकरणको छनोट गर्नका लागि पनि विद्युत्सम्बन्धी आधारभूत ज्ञान अनिवार्य भइसकेको छ ।

२०७६ माघ १६ मा प्रकाशित समाचारअनुसार नेपालमा २०७४ सालमा मात्रै ५२० विद्युतीय दुर्घटना भएका थिए जसमा ३२१ जनाको मृत्यु भएको थियो । विद्युत् र यसको प्रयोगसम्बन्धी सामान्य ज्ञान र चेतनाको कमीले अनावश्यक विद्युत् महसुल तथा ज्यानको क्षति भोग्नुपरेको धेरै उदाहरण भेटिन्छन् ।

अन्त्यमा, विश्वमा नै विद्युत् एक निर्विकल्प शक्तिका रूपमा स्थापित भइसकेको छ । हाम्रो देशको विद्युत् क्षेत्रमा विद्यमान तीन चुनौती— विद्युत् उत्पादन तथा आपूर्तिमा आत्मनिर्भरता, विद्युत् मागमा वृद्धि र विद्युत्को सदुपयोग रहेका छन् ।

यी चुनौती आपसमा सम्बन्धित छन् एक अर्कोमा परिपूरक छन्, तसर्थ यिनीहरूमा अहिलेदेखि नै सन्तुलन हुनु जरुरी छ । उल्लिखित सम्भावनाहरूका कारणले पनि अहिले विश्वको एक न्यून विद्युत् उत्पादन तथा खपत गर्ने हाम्रो देशमा पनि निकट भविष्यमै धेरै विद्युतीय उपकरण थपिँदैछन् । सरकारकै नीति तथा प्रोत्साहनका कारण पनि बजारमा विद्युतीय सामग्रीको उपलब्धता बढ्नु स्वाभाविक नै हो ।

हाम्रो जीवनशैलीमा विद्युतीय उपकरणहरू थपिएसँगै दुर्घटनाको जोखिम पनि थपिँदै जानेछन् । साथै अन्तर्राष्ट्रिय मापदण्डअनुसार कुल गार्हस्थ उत्पादनको अनुपातमा ऊर्जाको उपभोग बढी रहेको हाम्रो देशमा अझै विद्युत् खपत बढाउने बहानामा बढी विद्युत् खपत गर्ने कम ऊर्जा दक्षता भएका विद्युतीय उपकरणहरू भित्रिई प्रयोगमा आएमा ऊर्जाको केवल प्रयोग मात्रै हुनेछ सदुपयोग हुनेछैन् । तसर्थ बजारमा उपलब्ध विद्युतीय उपकरणहरूको गुणस्तर, ऊर्जा दक्षता तथा उपकरणले प्रयोगकर्ताको न्यूनतम सुरक्षाको व्यवस्था गरे–नगरेको मापन प्रभावकारी ढंगले गरी चित्तबुझ्दो नभेटिएमा बन्देजसम्म गर्न सक्ने नियमनकारी संयन्त्रको आवश्यकता यथाशीघ्र अपरिहार्य भइसकेको छ ।

केवल विद्युत्को प्रयोगले प्रतिव्यक्ति खपत बढाएर मात्रै हाम्रो जीवन गुणस्तर उकासिन सक्दैन । हामीले जडान गरेको मिटरमा उठेको विद्युत्को खपत हाम्रो वास्तविक खपत नै नहुन सक्छ । कतिपय हामीले प्रयोग गरिरहेका उपकरणहरूले अनावश्यक रूपमा बढी खपत गरिरहेका हुन सक्छन् । लोडको असन्तुलन तथा चुहावटका कारण एकातिर हामीले महँगो महसुल तिरेर भित्र्याएको विद्युत् जमिनमा खेर गइरहेको हुन्छ भने अर्कोतिर हामी प्रयोगकर्तालाई नै असुरक्षित गराइरहेको हुन्छ ।

हाम्रो देशमा अरु विकसित देशमा जस्तो धेरै ऊर्जा खपत गर्ने उपभोक्ताहरूको ऊर्जा सेवा प्रदायकबाट वार्षिक वा अर्धवार्षिक रूपमा ऊर्जा लेखा परीक्षण गरिदिने गर्ने अभ्यास नभए पनि सचेत उपभोक्ताका रूपमा आफ्ना लागि आफैँले वार्षिक ऊर्जा लेखा परीक्षण गर्नु विद्युत्का ठूला उपभोक्ताहरूलाई लाभदायक हुन्छ । विद्युत् हाम्रो जीवनको एक महत्वपूर्र्ण आवश्यकता भइसकेको हुनाले यससँग सम्बन्धित यस्ता आधारभूत ज्ञान सबै उपभोक्ताहरूलाई हुन जरुरी छ । त्यसैले विद्युत्को प्रयोग मात्रै होइन, जिम्मेवार उपभोक्ताका रूपमा कुशल विद्युतीय उपकरणहरूको प्रभावकारी प्रयोग तथा प्रोत्साहन गरौँ, सुरक्षित तवरले उत्पादक प्रयोग बढाऔँ, यही नै अहिलेको विद्युत्को आवश्यक सही सदुपयोग हो ।

([email protected] इन्जिनियर हुन् ।)


Author

थप समाचार
x