विचार

फोहोरले पिरोलेको बञ्चरे र काठमाडौँ

फोहोर हैन मोहोर फाल्दैछ काठमाडौँ

संकलनकर्ताको दादागिरी उस्तै

शुरज थपलिया |
माघ १, २०८० सोमबार ८:५१ बजे

काठमाडौँले ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक र धार्मिक महत्व बोकेको छ । धेरैको गन्तव्य बनेको​ शहरमा मानिसका अनेक रहर छन् । रहर लाग्नु पनि स्वाभाविक हो किनभने गाउँ, नगर र प्रदेशमा नभएका स्थान र परिवेश यहाँ पाइन्छन् ।

शहर आफ्नै विविधतामा रमाएको छ​ । जसमा काठमाडौँको आफ्नै मौलिक कला र संस्कृति छ । आकर्षणको केन्द्र, अनुपम भौगोलिक अवस्था, रहस्यपूर्ण जैविक विविधता, धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेको यो शहर देशभरका मानिसहरूको सपनाको शहर भन्दा फरक पर्दैन ।


धेरैको भविष्य र आशा बोकेको काठमाडौँले विदेशीहरूलाई लोभ्याएको छ । बर्सेनि स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँका ऐतिहासिक धरोहर तथा मठमन्दिर अवलोकनका लागि आउने गर्छन् ।

सपनाको शहरमा रहर नभएर समस्या पनि खडा हुने गर्छन् । धेरै समस्याहरूले ग्रस्त छ । कतिपय अवस्थामा दीर्घकालीन समस्या बनेर बस्ने गरेको उदाहरण पनि छन् ।

काठमाडौँको सबैभन्दा मुख्य समस्या भनेको नै फोहोर व्यवस्थापन हो । जसले यहाँको महत्व मात्र घटाएको छैन । सामाजिक संरचनादेखि स्थानीय, प्रदेश र केन्द्रसम्म गिज्याइरहेको छ । 

यसको दीर्घकालीन समाधान खोज्न न स्थानीय सरकारले चासो राखेको छ । न त केन्द्र सरकारले नै । अब एकछिन यसको सुरुवाती विन्दुमै पुगौँ ।

काठमाडौँ महानगरका पूर्वमेयर केशव स्थापितले फोहोर व्यवस्थापन गर्ने उचित स्थान खोजे । वि.सं २०६२ मा काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको ककनी गाउँपालिका-२ सिसडोलमा दुई वर्षका लागि भनेर फाल्न सुरु भएको थियो  ।

आज पनि सोही स्थानमा फोहोर विसर्जन गरिँदैछ । काठमाडौँले गरेको बाचा बिर्सियो तर फोहोर प्रभावित स्थानीय तहले बिर्सेको छैन ।

नेपालको संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित गरेको छ । तर, त्यो धारा मेलम्चीको पानीजस्तै धाराको टुटी सिसडोल र बञ्चरेमा बन्द भएको देखिन्छ ।

उपत्यकाका काठमाडौँ र ललितपुर महानगपालिकासहित १८ पालिकाको फोहोर दैनिक रूपमा दुई सय टिपर सिसडोल पुर्याइन्छ । फोहोर राख्न दिएकै कारण बन्चरेडाँडा र सिसडोलवासीले सजाय भोग्दै छन् ।

काठमाडौँले गरेको फोहोरको दुर्गन्धित वातावरणमा उनीहरू बस्न बाध्य छन् । आफूले नगरेको कर्मको फल भोग्न विवश छन् । फोहोरले जनजीवन अस्तव्यस्त भएको छ । गाउँ नै दुर्गन्धित हुँदा मानिसहरू मात्रै नभइ पशुचौपाया र खेतीपातीमा समेत प्रभाव पर्न थालेको छ ।

फोहोरका कारण सिसडोल र बञ्चरेका स्थानीयमा विभिन्न रोगहरू देखा परेका छन् । हेपाटाइटीस ए/ई, सोच्ने शक्तिमा असर, जन्डिस, आउँ रगत, अपाङ्गता भएका बच्चा जन्मिने, रुघाखोकी, डेँगी आदि जस्ता धेरै किसिमका सरुवा रोगको जोखिम यहाँका स्थानीयमा छ । ​काठमाडौँले फोहोरको दीर्घकालीन समाधानको खोजी नगर्दा स्थानीयमा भयावह समस्या देखिँदै गएको छ ।

हामी फोहोर देख्दा वा फोहोरको नजिक जाँदा मात्र पनि छि:छि र थु:थु गर्दै नाक मुख छोपेर हिँड्छौँ । तर, सिसडोल र बञ्चरेमा फोहोरको विशाल पहाड नै बनिसकेको छ ।

अझ काठमाडौँका फोहोर फाल्न लैजाने क्रम पनि जारी छ । त्यो फोहोरको पहाड अझ अग्लो बन्ने निश्चित छ । फोहोर घट्नेभन्दा पनि बढ्ने नै देखिन्छ । यसको समाधानको उपाय न महानगरसँग न संघीय सरकारसँग नै । अझ भन्ने हो भने प्रभावित स्थानीय तहसँग पनि छैन । 

फोहोर निचोरिएर निस्कने लिच्चडको पोखरी नै बनेको छ । पोखरीबाट लिच्चड निस्केर बाहिर जान थालिसकेको छ ।

अहिले फोहोरहरू माटो लगेर पुर्ने गरिन्छ । त्यसले दुर्गन्ध कम भए पनि निस्कने लिच्चडले भने समस्या बनाएको छ । वरिपरि हिँड्ने बाटोहरूसमेत दुर्गन्धित र असुरक्षित बनेको छ । तर, सरकार स्थानीयलाई झुटो आश्वासन मात्रै बाँडिरहेको छ, दीर्घकालीन समस्या समाधानमा चासो नै दिँदैन । 

काठमाडौँ उपत्यकाको पनि समस्या उस्तै छ । करिब ३५ लाख जनसंख्या रहेको उपत्यकामा काठमाडौँ महानगरपालिकाबाट दैनिक ५ सय १० टन फोहोर निस्कन्छ ।

महानगरले फोहोर व्यवस्थापनका लागि जहाँ पायो त्यही होल्डिंग साइट बनाएर नागरिकलाई दु:ख दिइरहेको छ । कहिले  ‘वेस्ट टु इनर्जी प्लान्ट’ त कहिले के, यस्ता विविध कुरामा महानगरले भाषण र घोषणा मात्रै गरेको छ ।  

फोहोर संकलन केन्द्र, स्थानान्तरण केन्द्र  (ट्रान्सफर स्टेशन) वा प्रशोधन स्थलमा फालिएको वा राखिएको फोहोरमैला जथाभाबी बनाएकाले अर्को ठूलो समस्या  छ । जथाभाबी बनाएको यस्ता केन्द्रले ट्राफिक जाम मात्रै होइन सडकका पेटीसमेत फोहोरले भरिभराउ हुँदा शहरको मुहारसमेत फोहोरी देखिएको छ ।

फोहोरबाट निस्केको दूषित पानी (लिच्चड) वा ढलले अन्य व्यक्तिको घर वा जग्गा प्रदूषित गराउनु कसुर हो भनि फोहरमैला व्यवस्थापन ऐन, २०६८ ले भनेको छ । तर, महानगरले संकलन केन्द्र वा स्थानान्तरण केन्द्रबाट निस्किएका त्यस्ता कुराहरूलाई वेवास्ता गरेको छ । वर्षा याममा ती लिच्चड कहाँ-कहाँसम्म बगेर पुग्छन् सोच्न नि सकिँदैन ।

फोहोर संकलनमा आएका गाडीहरूले पनि समस्या थपेका छन् । तिनीहरूको कुनै नियमित समय नै हुन्न । मनलाग्दी कहिले बिहान, दिउँसो जति बेला पनि आउँछन् । कहिले एक हप्तामा आउँछन्, कहिले दुई हप्तासम्म आउँदैनन् ।

नियमित समय र बार नहुँदा मजदुरी गरेर खाने, कार्यालय तथा कलेज जानेहरूलाई फोहोर फाल्नै समस्या भएको छ । आफ्नो घरको गर्जो टार्न शहरमा आएका  कर्मचारी तथा विद्यार्थी आफ्नो अफिस, कलेज बिदा लिएर फोहोर पठाउन बाध्य छन् ।

फोहोर नफालौँ दुर्गन्धको समस्या फोहोर फालौँ नियमित समय र गाडीको समस्या छ । साँघुरो सडक भएका उपत्यकाका भित्री सडकमा ठूला फोहोर संकलन गर्ने गाडीहरू छिर्दा सर्वसाधारणले ट्राफिक जामको मार पनि खेप्नु परिरहेको छ ।​

त्यही माथि फोहोर संकलनकर्ताको दादागिरी पनि उस्तै छ । उनीहरू न राम्रोसँग बोल्छन् न व्यवहार नै राम्रो गर्छन् । फोहोर लिन घर-घर आउनुपर्ने उनीहरू एउटा स्थानमा फोहोर ल्याउन उर्दी गर्दै हिँड्छन् । फोहोर लैजाउ भन्दा उनीहरूको हप्कीदप्की खानुपर्छ । पैसा तिरेर फोहोर व्यवस्थापन गर्दा पनि सित्तैमा काम गरिदिए जस्तै व्यवहारले सर्वसाधारण आजित छन् ।

महानगरले विविध विषयमा बजेट खर्च गरिरहेको छ । फोहोर बोक्ने गतिलो गाडी वा टिपरसमेत खरिद गर्न सकेको छैन । विदेशतिर फोहोर बोक्ने गाडी सफा र फोहोर रहित हुन्छन् ।

नेपालमा भने टिपरको ढाल माथि-माथि पुग्ने गरी फोहोर कोचिन्छ । जसका कारण कच्ची र खाल्डो परेको बाटोमा ती फोहोर खसेर सडक दुर्गन्धित बन्न पुग्छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्वास्थ्यको हिसाबले बस्ती बसेको कम्तीमा पनि २५० मिटर टाढा मात्र फोहोर संकलन केन्द्र, स्थानान्तरण केन्द्र (ट्रान्सफर स्टेशन) वा प्रशोधन स्थल निर्माण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

महानगरले नै यो कानुनलाई लत्याएको छ । जहाँ पायो त्यहीँ त्यस्ता केन्द्रहरू खोलेका छन् । सडकको छेउमा जाम नै हुने गरी भिड गरेर फोहोर संकलन र अर्को गाडी मै सिफ्ट गर्ने काम हुन्छ ।

विदेशमा बिहान वा बेलुका समय मिलाएर तोकिएको समयमा गाडी आफैँ आएर फोहोर लैजान्छ । तर, नेपालमा भने आफैँले फोहोर लगेर गाडीमा हालिदिनुपर्छ । फोहोर संकलनकर्ताहरू गाडी माथिबाट नै फोहोर राख्ने भाँडो भुईँमा फालेर हिँड्छन् ।

फोहोरसम्बन्धी एक अध्ययनअनुसार काठमाडौँको घरायसी फोहोरमा करिब ७५ प्रतिशत कुहिने फोहोर हुन्छन् । १०.५ प्रतिशत प्लास्टिक, ४ प्रतिशत कागज, ०.५ प्रतिशत धातु, २ प्रतिशत सिसा, १.५ प्रतिशत कपडा, ०.२५ प्रतिशत रबर र ई-वेस्टलगायत अन्य ६ प्रतिशत रहने गरेको छ ।

यसरी हेर्दा ७५ प्रतिशत कुहिने फोहोर व्यवस्थापन गर्न सके २५ प्रतिशतमा १३ प्रतिशत पुन: प्रयोग गर्न सकिने अध्ययनले देखाएको छ । यसरी हेर्दा ल्यान्डफिल साइटमा विसर्जन गर्ने फोहोर १२ प्रतिशत मात्रै हुन्छ । तर, अहिले १० प्रतिशतलाई पुन: प्रयोग गरी ९० प्रतिशत भने ल्यान्डफिल साइटमा लगिन्छ । घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याउने मात्रै हो भने पनि धेरै समस्या समाधान गर्न सकिन्छ तर यसमा स्थानीय सरकार चुकेका छन् ।

महानगरका प्रमुखहरूले जसरी भोट माग्दा फोहोर व्यवस्थापनलाई प्रमुख एजेण्डा बनाएका थिए अहिले कार्यान्वयनमा त्यो देखिँदैन । पटक-पटक फोहोर फाल्ने ठाउँ (बञ्चरे र सिसडोल) का बासिन्दाले फोहोर व्यवस्थापनमा अवरोध गरेका छन् ।

उनीहरूको माग सम्बोधनका लागि आग्रह गरेका छन् । त्यो आश्वासन मात्रै भएको छ । सम्झौता गर्ने, सम्झौता उल्लंघन गर्ने, फेरि फोहोर फाल्न अवरोध गर्ने फेरि सम्झौता गर्ने लुकामारी जस्तो मात्रै भएको छ । दीर्घकालीन समस्या समाधान गर्नेतर्फ कोही कसैको ध्यान गएको पाइँदैन ।

यता, मतदातालाई दिएको आश्वासन पनि महानगर प्रमुखहरूले पूरा गर्न सकेको देखिँदैन । फोहोर व्यवस्थापनका लागि प्रत्येक घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याए मात्रै पनि फोहोरको समस्या आधा समाधान हुन्छ । त्यसमा काठमाडौँ महानगरले सुस्त प्रयास गरेको छ ।​

उनीहरूले आफैँ उपस्थित हुन नसके पनि आफ्नो प्रतिनिधि पठाएर फोहोर व्यवस्थापनबारे ठोस कार्यक्रम गर्न, जनचेतना जगाउन, फोहोर छुट्याउने तालिम वा प्रक्रिया बुझाउन आवश्यक छ । यदि घर-घरबाटै फोहोर छुट्टिने हो भने सहज रूपले फोहोर व्यवस्थापन दिगो बन्न सक्छ ।​

मालवाहक सवारी साधनको भार वहन क्षमता सरकारले तोकेको छ । जस्तै: गिट्टी, बालुवालगायत अन्य सामग्री यतिसम्म बोक्न पाइने नियम छ । तर, फोहोर बोक्ने गाडीलाई कुनै नियम कानुनले छुँदैन ।

उनीहरू मनलाग्दी हिसाबले फोहोर अटेसमटेस गरी भरिरहेका देखिन्छन् । अझ गाडीका साइडमा समेत फोहोर हालेका झोला, बोहोरा, प्लाष्टिक झुन्ड्याइएको देखिन्छ । जसको कारण भार थेग्न नसकेर फोहोरका गाडीहरू दुर्घटनामा परेको समाचारहरू पनि आउने गर्छन् । महानगरको काम सिसडोल र बञ्चरेमा फोहोर पठाउने मात्रै होइन । स्थानीय स्तरमा फोहोर व्यवस्थापन गर्न सहजीकरण गर्नु पनि मुख्य दायित्व हो ।

फोहोरलाई हेटौँडा उपमहानगरपालिकाले कम्पोष्ट मल बनाएर बेच्यो, वालिङले फोहोर उल्टो सर्वसाधारणसँग किनिरहेको छ । वालिङले कुहिने नकुहिने फोहोर छुट्याउँछ । कुहिने फोहोरबाट मल बनाइन्छ, नकुहिने फोहोरलाई सूक्ष्म रूपमा वर्गीकरण गरी कवाडीमा बेचिन्छ । नगरप्रमुख दिलीप प्रताप खाँड फोहोर बेचेरै ८० लाखसम्म आम्दानी गरेको बताउँछन् । 

यस्तै भारतको अहमदाबादमा रहेको पिराना डम्पिङ साइटबाट पनि नेपालले सिक्न सक्छ । उक्त साइट ५० वर्ष पुरानो हो । उसले यो साइटमा रहेको फोहोरलाई फिल्टर गरी छुट्याएर सडक निर्माणका लागि कच्चा पदार्थको रूपमा प्रयोग गरिरहेको छ । सिमेन्ट फ्याक्ट्रीको लागि प्लाष्टिकजन्य कच्चा पदार्थ प्रयोग भइरहेको छ । ८४ हेक्टर (लगभग ६ सय रोपनी) मध्ये  ३५ हेक्टरमा डम्पिङ भएका फोहोरको व्यवस्थापन भएको छ । सो साइट अब दुई वर्षमा खाली हुँदैछ ।

तर, काठमाडौँले फोहोरलाई मोहोर बनाउनु त कता हो कता व्यवस्थापन समेत गर्न सकेको छैन । वालिङको मोडल मात्रै अपनाउने हो भने काठमाडौँले करोडौँ आम्दानी गर्न सक्थ्यो । यहाँ त महानगरको काम सर्वसाधारणबाट शुल्क उठाएर फोहोर फाल्ने, फोहोर बोक्ने गाडीबाट दस्तुर संकलन गर्ने मात्रै भएको छ ।

नागरिकले सहज रूपमा फोहोर फाल्न पाएका छन् कि छैनन् ? फोहोर व्यवस्थापनकर्ताहरू समयमै फोहोर संकलन गर्न गएका छन् कि छैनन् ? नियमानुसार सहज तरिकाले फोहोर समयमै उठ्यो कि उठेन ? यस्ता कुराहरूमा पनि प्रभावकारी अनुगमन गर्नु आवश्यक छ ।

अहिले फोहोरको विषयले काठमाडौँवासी र डम्पिङ साइटका स्थानीयलाई निकै सास्ती दिइरहेको छ । फोहोर फाल्ने स्थानमा पानीका मुहान दूषित हुने माटोमा अम्लीयपन बढ्ने गर्दा बाली उत्पादन नहुने समस्या देखिएको छ ।

यस्तै स्थिति देखिएमा भोलिको पुस्ताले धिकार्ने छन् । अतः स्थानीय र संघीय सरकार दुवै मिलेर भावी पुस्ताका लागि सहज वातावरण बनाउन र फोहोरको स्थानीय तहबाटै व्यवस्थापन गर्न आवश्यक छ ।

र,यो पनि

फोहोरलाई पछ्याउँदा (फोटो फिचर)

‘रक्सीका बोतल, फुटेका सिसाले धेरै गाह्रो बनाएको छ’

 


Author

थप समाचार
x