विचार

संसदीय संवाददाताको डायरी-१०

२४ वर्षअघि आजैका दिन प्रधानमन्त्री चन्दको मुखबाट ‘मुसा’ निस्केपछि...

हरिबहादुर थापा |
असोज १८, २०७८ सोमबार ९:१० बजे

२०५४ असोज १८ । अर्थात्, २४ वर्षअघिको आज । प्रतिनिधि सभामा ‘मुसा’ प्रवेश भएको थियो । त्यो दिन अपराह्न प्रतिनिधि सभाको ग्यालरी बैठक भरिभराउ थियो । जतिखेर प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुँदै थियो । प्रधानमन्त्रीविरुद्ध मतदान भएपछि चासोसहित भरिभराउ हुनु स्वाभाविकै थियो । 

झण्डा हल्लाउँदै सदनमा प्रवेश गरेका आफ्नै पार्टीका ‘मन्त्री-माननीय’हरू ‘फ्लोर क्रस’ गर्दै विपक्षसँग मोहित हुँदै थिए । तिनको ‘फ्लोर क्रस’सँगै चन्दको कुर्सी असुरक्षित भएको थियो । त्यो दृश्यलाई चन्दले शालीन भाषामा भने, ‘मुसा प्रवृत्ति’ । आफूविरुद्ध अविश्वास प्रस्ताव राख्नुका अनेकन् तर्क सुनिसकेपछि चन्द जवाफ दिन रोस्ट्रममा उभिएका थिए, त्यतिखेर प्रस्ताव पारित हुनेमा कुनै द्विविधा पनि थिएन ।


अनि चन्दले भने, ‘मुसालाई जहाजमा चढाएर अनि कोही खुसी नहुनुस् ।’ उनले त्यसरी ‘मुसा’ शब्द प्रयोग गरेपछि संसद्‌भित्र सन्‍नाटा छायो । अनि चन्दले भनिरहे, ‘कथंकदाचित् मुसा पानीजहाजमा पसेपछि त्यही जहाज प्वाल पार्न थाल्छन् । त्यो जहाज डुब्न थाल्यो भने सर्वप्रथम तिनीहरू त्यो जहाज छाडेर अर्काेमा हाम फाल्छन्, अर्को जहाजलाई पनि त्यसरी नै कोतरेर प्वाल पारी डुबाइदिन्छन् ।’

चन्द भद्र, शालीन, नम्र बोली बोल्ने नेतामा गनिन्थे र गनिन्छन् । त्यो दिन नम्र शैलीमा जहाज र मुसा प्रवृत्ति कथा सुनाउँदै गर्दा अविश्वास प्रस्तावक कांग्रेस र आफ्नै सहयात्री सूर्यबहादुर थापाप्रति व्यंग्य कस्दै थिए । अनि चन्दले थपे, ‘यिनै मुसा बोक्न रहर गर्ने जहाजवालाहरू यतिखेर मेरो जहाज डुबेकामा खुसी नहुनुहोस् । यी मुसालाई जहाजमा राखेर हिँडेपछि कुनै पनि दिन जहाज डुबाइदिनेछन् ।’

त्यति मात्र होइन, उनले मुसा प्रवृत्तिवाला सांसदहरूलाई चेतावनी दिए, ‘हाम फाल्दा कहिलेकाहीँ अर्को जहाज नपाइन सक्छ । समुद्रमा परी मर्ने दिन पनि आउन सक्छ ।’ अर्थात्, जहाज चढ्नेहरूले मन्त्रीको कुर्सी नपाएर भौँतारिनुपर्ला भन्‍ने संकेत चन्दको थियो । मन्त्रीबाट विपक्षमा पुगेकाहरूले त्यसरी नै पद नपाउन सक्छन् भन्‍ने आशय उनको थियो ।

०००
माननीय, सांसदज्यूहरूलाई त्यसरी अरु नागरिकले ‘मुसा’को उपमा दिएमा ‘विशेषाधिकार उल्लंघन’मा सजायको भागिदार हुन्थे, सायद । तर, प्रधानमन्त्रीकै मुखबाट माननीयज्यूहरूलाई ‘मुसा प्रवृत्ति’ विभूषित गरिरहँदा कतैबाट प्रश्न उठ्ने सम्भावना नै रहेन । बरु ‘मुसा प्रवृत्ति’बारे बहस राम्रैसँग बाक्लियो नै ।

हुन पनि त्यो कालखण्डमा ‘मुसा प्रवृत्ति’ले संसदीय राजनीति कुटुकुटु खाइरहेको दृश्य नियमित हेर्नुपरेको थियो । त्यसरी मुसा प्रवृत्तिमा लाग्नेमा धेरै सांसद थिएनन्, पञ्चायती राजनीतिका हर्ताकर्ताले भरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका १९, स्वतन्त्र ७, नेपाल सद्भावना पार्टीका ३ सांसद थिए ।

चन्द सरकारमा एमालेका वामदेव गौतम निकै शक्तिशाली थिए, उपप्रधान तथा गृहमन्त्री गौतमले चन्दलाई ओझेलमा पारेका थिए । गौतम जसरी पनि चन्दलाई टिकाइ राख्नुपर्छ र त्यस निम्ति खर्च गर्न पनि उद्यत् थिए । खासमा एमालेले त्यतिखेर खर्च गरेर सरकार नजोगाउने नीति लियो । उतिखेरको दृश्य सम्झँदै विरोध खतिवडा भन्छन्, ‘अर्काका सांसद् तान्‍ने-किन्‍ने मामलामा पार्टी महासचिव माधवकुमार नेपालको समर्थन रहेन । पार्टीले त कुनै कन्ज्युस्याइँ नगरीकन मत हालेकै हो । वामदेव गौतम अघिल्तिर यसरी सांसद किन्‍ने विषयमा म सख्त विरोधी छु भनेर उहाँले भन्‍नुभएकै हो ।’

चन्दले एमाले जस्तो क्रान्तिकारी पार्टीको शिरमा चढ्दै बहुदलकालीन प्रधानमन्त्री हुने ‘अपूर्व अवसर’ पाएका थिए । तर त्यो दृश्य उनकै पार्टी राप्रपालाई पाच्य भएन । अनि कांग्रेसले त पहिला नै राप्रपालाई साथ लिइसकेको थियो । उसलाई राप्रपाका अर्का नेता सूर्यबहादुर थापालाई शिरमा राख्न कुनै आपत्ति हुने सवाल पनि थिएन । अझ थापा त पूर्वकांग्रेसी पात्र नै थिए ।

पञ्चायतकालीन हर्ताकर्ता थापालाई पनि बहुदलकालीन प्रधानमन्त्री हुन रहर जाग्ने नै भयो । अझ आफ्नै पार्टीकै भए पनि चन्द पञ्चायतकालदेखिकै ‘दुस्मन’ थिए । त्यो ‘दुस्मनी’को बदला पञ्चायतकालमा लिन सफल भएनन् । उनले त्यो बदलामा बहुदलकालमा लिए । अर्थात्, चन्दलाई २१० दिनमै सत्ताबाट बाहिर पुर्‍याइदिए । 

उता सूर्यबहादुर थापा एमालेसँग समीकरण गर्ने पक्षमै थिएनन् । उनले सदनमै भने, ‘खालि साथीभाइको जिद्दीले मात्र एमालेसँग सहयात्राको परीक्षण गर्नुपरेको थियो । त्यहीकारण मात्र मैले सहयोग गरेको थिएँ ।’ आफ्नै सहयात्रीहरूका चरित्रबाट वाक्क भएपछि चन्दले माननीयलाई ‘मुसा’ले विभूषित गर्न पुगेका थिए ।

मतदानको दिन राप्रपाका सांसद सत्तारुढ कुर्सी अर्थात् एमालेसँगै बसेका थिए । अन्तिम समयसम्म कता जान्छन् भन्‍ने अन्यौल थियो । किनभने सांसदहरूलाई लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा दुवैतिरबाट ‘ह्वीप’ लागेको थियो । राप्रपा ‘ह्वीप’ सर्वेन्द्रनाथ शुक्ल थापातिर लागेपछि चन्दले प्रेमबहादुर भण्डारीलाई ‘चीफ ह्वीप’ बनाएका थिए । उनीमाथि पनि शंका भएपछि अन्तिममा पद्मसुन्दर लावतीलाई ‘चिफ ह्वीप’ नियुक्त गर्नुपरेको थियो ।

‘ह्वीप’ उल्लंघन र ‘फ्लोर क्रस’ गर्दै राप्रपा सांसदहरू भकाभक मतदान गर्न चाहिँ कांग्रेसद्वारा प्रस्तुत अविश्वास प्रस्तावतिर गए । चन्दले आफ्‍नै पार्टीबाट जम्माजम्मी पाँच मत मात्र पाए । चन्दका सारथीमा केवल पद्मसुन्दर लावती, रामकृष्ण आचार्य, प्रेमबहादुर भण्डारी र राजीव पराजुली मात्र रहे । अझ रामकृष्ण आचार्य मतदान गर्नुपूर्व निकै ‘द्विविधापूर्ण’ अवस्थामा थिए । उनमा छटपटाहट तीव्र थियो । कहिले टोपी खोल्थे, कहिले लगाउँथे । अन्तिममा मात्र चन्दलाई साथ दिन पुगेका थिए ।

जतिखेर मुलुकमा अविश्वास प्रस्ताव प्रकरण चल्दै थियो, त्यतिखेर कमल थापा मुलुकमा थिएनन् । उनी चन्द परिषद्मा शक्तिशाली परराष्ट्र मन्त्री थिए । उनी पूर्ववर्ती शेरबहादुर देउवा सरकारमा मन्त्री छँदाछँदै चन्दलाई प्रधानमन्त्री बनाउन लागिपरेकै थिए । उनले देउवा सरकार हुँदा मन्त्रीको झण्डा हल्लाउँदै विपक्षमा मतदान गरेका थिए । त्यसो हुँदा उनी चन्दकै साथमा हुन्छन् भन्‍ने राजनीतिक विश्लेषण थियो । उनी मतदान हुनु अघिल्लो दिन विदेश शयरबाट फर्किए । आश्चर्यजनक शैलीमा उनी चन्दविरुद्ध उभिन पुगे । जुन दृश्य चन्दका लागि सह्य थिएन ।

०००
त्यसो त, चन्दले पनि जहाजका प्वाल टाल्न कुनै कसर बाँकी राखेका थिएनन् । आफ्‍ना र स्वतन्त्र सांसदहरूलाई मन्त्री बनाएकै थिए । चन्दले लोभ्याउँदै, फकाउँदै र सल्लाहमा मन्त्री नियुक्तिको घोषणा गरेका थिए । तर अर्को पक्षबाट आकर्षक ‘अफर’ आएपछि तिनले मन्त्री पदको शपथ समेत खाइदिएनन् । 

त्यो दृश्य उप्काउँदै चन्दले भनेका थिए, ‘कुनै मूर्खले पनि त्यत्तिकै कसैलाई मन्त्री घोषणा गर्दैन । मन्त्री खान्छु भनेपछि नियुक्त गरिएको हो । देशको प्रतिष्ठा जोगाउने सांसद/मन्त्री जस्ता व्यक्तिलाई थुनेर राख्‍न सकिन्‍न ।’

हुन पनि सत्ता जगाउन २३ दिनअघि हृदयेश त्रिपाठीलाई मन्त्रीमा नियुक्त गरिएको थियो । उनी शपथ लिन गएनन् । मतदानका दिन उनी प्रतिपक्षी कुर्सीमै बसेका थिए । कांग्रेसले असोज ६ का दिन अविश्वास प्रस्ताव दर्ता गराएको थियो । प्रधानमन्त्री चन्दले मन्त्रिपरिषद् पुनर्गठन गरे । उनको त्यो मन्त्रिपरिषद् पुनर्गठन छैटौं थियो । अझ स्वतन्त्र सांसद मोतीप्रसाद पहाडीलाई आकर्षक मन्त्रालयसहित असोज ६ मा मन्त्रिपरिषद्‌मा प्रवेश गराए । तर, पहाडी शपथमै गएनन् । बरु उल्टो अविश्वास प्रस्तावमाथि मतदान हुनु दुई दिनअघि कांग्रेसमै विधिवत् प्रवेश गरे ।

एकातिर मन्त्री घोषित हुँदै थियो, शपथमा नआएपछि चन्द निकै तनावमा परेका थिए । शपथका निम्ति मन्त्रीहरूको ‘धुइँपत्ताल’ खोजी भयो । ‘कहाँ हुनुहुन्छ, जवाफ मिल्यो, देउवा (शेरबहादुर) कहाँ छु’ चन्दले सदनमै सुनाएका थिए । कतिपयले त ‘फ्याक्स’मार्फत राजीनामा पठाएका थिए ।

सदनमा ‘मुसा’बारे रोचक प्रस्तुति भइरहँदा राप्रपाका त्यस्ता प्रवृत्तिका सांसदहरूको अनुहार बिग्रिएको थियो । अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुअघि नवनियुक्त प्रमुख सचेतक पद्मसुन्दर लावतीले ‘विपक्ष’मा मतदान गर्न सदनमै ह्वीप लगाएको घोषणा गरेका थिए, ‘हामीले भनिदिएका छौं, जहाँ पायो त्यहाँ गरिएको बैठकको आधिकारिकता हुँदैन । हाम्रा माननीयज्यू विपक्षमा मतदान गर्नुहोला ।’

तर, लावतीको ‘ह्वीप’लाई कसले टेर्थ्यो र ? अन्ततः मतदान प्रस्तावमा मतदान भयो । चन्दले जम्माजम्मी ९४ मत पाए । प्रस्तावमा १०७ मत परेपछि स्वतः चन्दको पद गयो । सँगै सूर्यबहादुर थापाको अनुहार एकाएक चम्किलो बन्‍ने नै भयो ।

मुलुक चाहिँ दसैँको रौनकमा प्रवेश गरिसकेको थियो । दुई दिनपछि कांग्रेसको शिरमा टेक्दै सूर्यबहादुर थापा प्रधानमन्त्रीमा नियुक्त भए । उनै चौधजना ‘मुसा प्रवृत्ति’को प्रयोग गर्दै थापा सत्तासीन हुन पुगे । त्यति मात्र होइन, थापाले चन्दकै पक्षमा उभिएका रामकृष्ण आचार्य, प्रेमबहादुर भण्डारी र राजीव पराजुलीलाई पनि मन्त्री बनाए । अर्थात्, चन्दसँग जम्माजम्मी पदमसुन्दर लावती मात्र बाँकी रहे ।

तैपनि चन्दका प्रमुख सचेतक लावतीले दलीय ‘ह्वीप’ उल्लंघन गरेको अभियोगमा १७ जना सांसद्को दल त्याग ऐनअनुरूप पद खारेजी पत्र सभामुखसमक्ष दर्ता गराउन खोजे । अनौठो चाहिँ दुई सांसदले १७ सांसदको पद खारेजी पत्र दर्ता गर्ने हिम्मत गर्‍यो । पार्टी केन्द्रीय समितिको निर्णय नभएको उल्लेख गरी संसद्‌ सचिवालयले दर्ता गर्न चाहेन । सचिवालयले त्यो दर्ता नगरेपछि त्यो प्रकरण त्यत्तिकै गयो ।

त्रिशंकू संसद्‌कालभरि पूर्वाग्रहरहित भएर मूल्यांकन गर्ने हो भने बहुदलीय संसद्‌लाई विषाक्त तुल्याउन राप्रपाको अनौठो भूमिका रह्यो । तिनीहरू दलविहीन पञ्चायती व्यवस्थाकै उपज थिए । अनि जसका विरुद्ध कांग्रेस-कम्युनिष्ट लडे, तिनैलाई पाँच/छ वर्ष नपुग्दै शिरमा राख्‍नका खातिर संसदीय व्यवस्थाकै धज्जी उडाउन कुनै कसर बाँकी राखेनन् । 

०००
खासमा ‘मुसा’ त चौध वर्षअघि नै तत्कालीन सदन राष्ट्रिय पञ्चायतमै प्रवेश गरेको थियो । तर अलिक फरक ढंगमा । उतिबेला त्यो शब्द उनै सूर्यबहादुर थापामाथि तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य डा. प्रकाशचन्द्र लोहनीले प्रयोग गरेका थिए । उतिबेला थापाविरुद्ध लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएको थियो, जसको प्रस्तावक-समर्थक डा. लोहनी, पशुपतिशमशेर राणा, पद्मसुन्दर लावतीहरू थिए ।

उतिखेर प्रस्तावमाथि छलफल चलिरहँदा पञ्चहरूले थापाविरुद्ध व्यंग्यवाण प्रयोग गर्न छाडेनन् । पञ्चतन्त्रका श्लोकको व्याख्या गर्दै डा. लोहनी वाक्य थिए, ‘गए गुज्रेको व्यक्ति माथिल्लो पदमा गयो भने त्यसले आफ्‍नै मालिकलाई नै खत्तम गर्ने इच्छा राख्छ ।’

उनको व्याख्या थियो, ‘एउटा मुसालाई सिंह बन्‍ने वरदान मिलेपछि जसरी ऋषिलाई खत्तम गर्ने इच्छा राखेको थियो । त्यो मुसाको बुद्धि बिग्रिएर उसले के भनी ठान्यो भने जसले उसलाई सिंह बनाएको छ, त्यसलाई नै खत्तम गरिदिए भने सबैले मान्छन् भन्‍ने अपभ्रंश बुद्धिमा ऊ लाग्यो । त्यो कथामा अन्त्यमा मुसाले ऋषिलाई हमला गर्न जान्छ । फेरि ऋषिले मुसामै परिणत गरिदिन्छन् ।’

अर्थात्, राजा र पञ्चायतले सूर्यबहादुर थापा बनायो र सूर्यबहादुर थापाले सिंह भएपछि दुवैमाथि आक्रमण गर्न उद्यत भएको सन्दर्भमा लोहनीले पञ्चतन्त्रको श्लोक प्रयोग गरेका हुन् । २०४० असार २७ का दिन तत्कालीन प्रधानमन्त्री थापाविरुद्ध राष्ट्रिय पञ्चायतमा अविश्वास प्रस्ताव राखिएको थियो । जसरी २०५४ असोजमा चन्दलाई राप्रपाका सांसदले छाडेका थिए, त्यसरी नै २०४० असारमा सूर्यबहादुर थापालाई मन्त्री र राष्ट्रिय पञ्चायत सदस्यहरूले छाडेका थिए ।

त्यतिबेला नौ जना मन्त्रीहरूले प्रधानमन्त्रीसँग ‘नीतिगत मतभेद’ शब्द प्रयोग गर्दै राजीनामा दिँदै गए । यहाँसम्म कि अघिल्लो दिन बजेट प्रस्तुत गर्ने अर्थमन्त्री समेतले थापालाई धोका दिँदै विपक्षमा मतदान गर्न पुगेका थिए । त्यो दिन थापाले जम्माजम्मी १७ मत पाए, चन्दको प्रस्तावको पक्षमा १०८ मत पर्‍यो । अझ थापा स्वयंले ‘ग्रुमिङ’ गरेका पात्रहरू नै घनघोर प्रतिद्वन्द्वी बने । थापालाई किनारा लगाउँदै चन्द प्रधानमन्त्री बन्‍न सफल भए ।

पञ्चायतकालीन २०४० असारको दृश्य हुबहु मञ्चन भएझैँ लाग्थ्यो, २०५४ असोजमा पनि । पञ्चायतका हर्ताकर्ता पात्रहरू जमजमाएका थिए, थापा, चन्द, डा. लोहनीका अतिरिक्त पदमसुन्दर लावती, पशुपति शमशेर राणा, बुद्धिमान तामाङहरू । उनीहरूको केवल कित्तामात्रै परिवर्तन भएको थियो, प्रवृत्ति चाहिँ उही ।

प्रधानमन्त्रीको शक्तिबाट तल झारिएपछि पञ्चायतकालभरि थापा डा. लोहनीले भनेझैँ शक्तिहीन ‘मुसा’मा परिणत भएका थिए । बहुदलकालका मुसाहरू चाहिँ मन्त्री पदले विभूषित र एकाएक आर्थिक रूपले सम्पन्‍न बन्‍न पुगे ।

संयोग भन्‍नुपर्छ, २०४० असार २७ मा १७ राष्ट्रिय पञ्चायत सदस्य साथमा रहे । २०५४ मा सरकार गठन गर्दासम्म राप्रपाका १७ भाइ पुर्‍याए, थापाले ।

०००
‘संसदीय व्यवस्थाको रूप कस्तो हुन्छ ?’ प्रवृत्तिको पुनरावृत्ति डरलाग्दो गरी हुँदै छ । पञ्चायत दलविहीन व्यवस्था थियो, त्यहाँ व्यक्ति हाबी हुनु स्वाभाविक हो । तर संसद्‌, दलीय व्यवस्था हो । दलीय व्यवस्थामा निर्दलीय चरित्रको बाक्लिँदो क्रम छ । अझ उतिबेला प्रतिनिधि सभा सांसद भएकाको हकमा मात्र ‘मुसा प्रवृत्ति’ लागू भएको थियो । 

अब त्यो दृश्य प्रदेश सभामा पनि बाक्लैसँगै मञ्चित भइसकेको छ । उतिबेला आम्दानी हुने मन्त्रालयको मन्त्री पदले लोभ्याइन्थ्यो, त्यही प्रवृत्तिले प्रश्रय पाएको छ । अझ पदकै निम्ति पार्टी विभाजनसमेत सामान्य भएको छ । पदीय लोभका अतिरिक्त आर्थिक लेनदेन हुनु स्वाभाविकै बन्दो छ । पदसँगै सम्पत्तिवाल राजनीतिकर्मी बन्दैछन् ।

संसदीय व्यवस्था आफ्‍नै मूल्य-मान्यता, आदर्शमा आधारित हुन्छ । तर, स्वार्थी खेलसँगै हाम्रो संसदीय व्यवस्था विडम्बना नै विडम्बनाले भरिँदै छ । दुर्भाग्य चाहिँ त्यसरी खराब कर्ममा संलग्‍न पात्रहरू कहिल्यै सजायका भागीदार बन्दैनन् । बरु उल्टो शक्तिशाली बन्छन् । अनि तिनीहरू दोष चाहिँ संसदीय व्यवस्थाको थाप्लोमा हाल्छन् ।

धेरैलाई लाग्दो हो, संसद्‌ र संसदीय व्यवस्थाले मात्र वजन गुमाएको छ । त्यसो होइन, स्वयं सांसदले पनि आफ्नै वजन गुमाएका छन् । तिनीहरूले वास्तविक ‘माननीय’ प्राप्त नसक्नुमा तिनकै क्रियाकर्म पर्याप्त छ । कामना गरौं, लोकतान्त्रिक गणतन्त्रसहितको संसदीय व्यवस्थामा त्यस्ता दृश्य नदोहोरियून् ।

र, पढनुहोस् डायरीका यसअघिका यी पाना :


Author

हरिबहादुर थापा

संसद्, शासन र राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x