विचार

‘थ्री डन’ बजगाईं भन्छन् : परिआए अझै युद्धमा जान तयार छु !

लिलाराज खतिवडा |
मंसिर ९, २०७८ १७:० बजे

काभ्रेको सेरा बजारबाट अलिक मास्तिर टुसालमा बिहान सबेरै झुस्स दाह्री पालेको एउटा मैलोधैलो मान्छे भकाभक कुखुरा काटिरहेको थियो । उसको चेहरामा कुनै कान्ति थिएन । रगतका टाटाले रङ्गिएको एउटा ‘अप्रोन’ भिरेको थियो, उसले । बडेमानको अचानोमा ऊ निकै एकाग्र भएर मासु टुक्रा पारिरहेको थियो । दुई जना ग्राहक ‘काउन्टर’ बाहिर उभिएका थिए । एक पूर्व माओवादी लडाकुको मलाई दिइएको ठेगाना त्यसै घरमा पुगेर ठोक्किएको थियो । 

ठानेँ, कतै गलत ठेगानामा त आइएन ?


सोध्ने जमर्को गरेँ, ‘थ्री डन सुरजकुमार बजगाईंको घर कुन हो ?’ 

‘यही हो । किन र ?’ सुस्त आवाजमा जवाफ आयो ।

‘अनि सुरजकुमार बजगाईं चाहिँ कहाँ हुनुहुन्छ ?’ मेरो अर्को प्रश्न ।

‘म नै हुँ । के कति कामले आउनु भयो ?’

यो जवाफले छक्क परें, म । 

पूर्व माओवादी लडाकुसमेत रहेको ४४ वर्षे मार्सल आर्टस् खेलाडी एउटा बूढो मान्छे जस्तो कसरी देखिन पुग्यो ? के पीर पर्यो उसलाई ? सबथोक साथमा हुँदाहुँदै पनि किन कुनै बेलाको एउटा प्रतिभाशाली खेलाडी आज मुर्झाउन पुग्यो ? कुन नराधम शासकले थिच्यो, उसलाई ? 

यहाँ चोर, पाकेटमार र अपराधीहरू डन कहलिएर राजनीतिमा लागेका छन् । पद–पैसा पाएर मालामाल भएका छन् । देश–जनता लुटिरहेका छन् । तर यी वास्तविक डन किन यो हालतमा ? प्रश्न जति मार्मिक थियो, यसको जवाफ पनि निकै नै मार्मिक निस्कियो ।

अनि सुरु भयो एउटा नितान्त भिन्न उत्खनन् !   

टुसाल, काभ्रेका सुरजकुमार बजगाईं मार्सल आर्टका ‘थ्री डन’ हुन् । उनी माओवादी जनयुद्ध लडेका । छापामारहरूलाई उनी आत्मरक्षा र आक्रमणको तालिम दिन्थे । खेल खेल्न टुसालबाट बिहान चारै बजे दगुरेर त्रिपुरेश्वर रंगशाला पुग्थे । यो छब्बीस किलोमिटरको दूरी उनी र बाल्यकालका साथी रामेश्वर श्रेष्ठ मिलेर दुई घण्टामा तय गर्थे । तीन वर्षसम्म बिहानबिहान दगुरेर उनीहरू रंगशाला पुग्थे । उनीहरू अविराम दगुरेर जान्थे र फर्किंदा चाहिँ बसमा फर्किन्थे । उनीहरू जगत गौचन, राज तुलाधर र नारायण थापासँग ‘मार्सलआर्ट’ सिक्थे । नाला, उग्रचण्डीका रामेश्वर माओवादी जनयुद्धमा बेपत्ता भए, केही अत्तोपत्तो छैन । 

जीविकोपार्जनका लागि सुरजले काठमाडौँमा ट्याक्सी पनि चलाए । खेल खेलेर जीविका गर्न सम्भव थिएन । स्वदेशमा प्रतिभाको पनि कदर नभएपछि पाँच वर्ष मलेसिया बसेर फर्किएका सुरजले एक वर्ष नर्भिक अस्पतालमा सुरक्षा गार्डको काम पनि गरे । काम छाडेर टुसालमै ब्रोइलर कुखुरा पाल्न थाले । केही वर्षयता कुखुरा पाल्न छाडेर उनी बगरे भए । उनी आफ्नै गाउँमा प्रतिदिन छ–सात दर्जन गिरिराज कुखुरा काटेर बेच्ने गर्छन् । बिहान चारै बजे उठ्छन् । केहीबेर मर्निंङ वाक गरेर उनी तातो पानी उमाल्छन् र भकाभक कुखुरा काटेर भुत्ल्याउन थाल्छन् । अहिले भुत्ल्याउन पहिले जस्तो सकस छैन । एक लाख पच्चीस हजारमा बिजुलीबाट चल्ने कुखुरा भुत्ल्याउने मेसिनको जुगाड गरेका छन् । जसले दुई मिनेटमा पच्चीस किलो कुखुरा भुत्ल्याउन सक्छ । 

मलेसिया जानुअघि उनले प्रेसमा पनि काम गरे, जनदिशा दैनिक । उनी त्यहाँ वितरण शाखामा थिए र एक वर्ष काम गरे । चवन्न सालमा ‘थ्री डन’ भएपछि उनले माओवादीमा प्रवेश गरेका हुन् । त्यसपछि लगत्तै उनी बौद्धको हयात क्यासिनोमा बाउन्सर भए । स्मरण गर्छन्, ‘खासमा त्यो एक मिसन थियो । म लगायत केही साथी खासमा माओवादीमा थियौँ । तर राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यकर्ता भयौँ र हयातमा बाउन्सर थियौँ । त्यतिबेला जिन्दगी कुनै सस्पेन्स हिन्दी फिल्म जस्तो भएको थियो ।’

केही महिना यसरी काम गरेपछि पार्टीले उनलाई काभ्रेको विकट गाउँ देउपुर खटायो । त्यहाँ उनी तेह्र महिना छापामारलाई आक्रमण र प्रत्याक्रमणको तालिम दिएर बसे । अनैकोटमा सेनाले आक्रमण गर्यो । सात जना जनवादी कलाकार मारिए । सुरजहरू बसेको स्थान त्यहाँबाट नजिकै थियो । सुइँको पाएर केही भागे । केही सेनाद्वारा समातिए । सुरज भन्छन्, म भाग्न सफल भएँ र सकेजतिलाई साथैमा भगाएँ । एक सय पैँतिस जनामा तेह्र जना मात्रै समातिए । 

भागेर बाह्र जना अन्य लडाकूका साथमा सुरज शक्तिखोर पुगे । उनीहरू छरपस्ट भएर भागेका थिए । कोही कता पुगे, कोही कता । शक्तिखोरमा लडाकूको संख्या मनग्य थियो र स्थान पनि अनकण्टार र अति गुप्त थियो ।
...
काभ्रेको नाला मास्तिरको काँक्रेमा स्व. राजा गिर्वाणयुद्ध शाहका पालामा बझाङका पण्डित काशीनाथ बजगाईंले टन्नै बिर्ता पाए । उनै काशीनाथका सन्तानले अहिले डाँडाकाँडा ढाकेका छन् । काँक्रेमा मात्रै पाँच सय घर बजगाईं छन् । वरपरका टुसाल, सुमारा, माझगाउँ, बुडोल र तेलकोट जस्ता गाउँमा पनि बजगाईंहरूको बाहुल्यता छ ।

सात वर्षको उमेरमा सुरजका बुबाको मृत्यु भयो । आमा र दाजुका संरक्षणमा उनी हुर्किए । बनेपाको आजाद माध्यमिक विद्यालयमा नौ कक्षा पढ्दा पढ्दै उनी ‘सोतोकान कराते’ खेलमा लागे । उनी खेलमा अब्बल हुँदै गए । गुरु थिए स्थानीय हेमकुमार श्रेष्ठ । छ महिना यो खेल खेलेपछि उनी ‘क्युकोसिन’मा गए । ‘सोतोकान’ ‘पोइन्ट गेम’ हो भने ‘क्युकोसिन’ ‘नक आउट गेम’ । पहिलोमा विपक्षीलाई हानेर वा छोएर तान्ने गरिन्छ । दोस्रोमा भने हानेर पेल्ने र ढाल्ने उद्देश्य हुन्छ । भन्छन्, ‘पेल्ने र हान्ने मात्रै होइन, क्युकोसिनमा विपक्षीलाई हानेर भाँच्ने पनि उद्देश्य हुन्छ । यो निकै खतरनाक खेल हो ।’

उनले लगातार तीन वर्ष ‘क्युकोसिन’ खेले । पहिलो भन्दा यसै खेलमा उनलाई मजा आयो । यसै खेलमा उनी ‘थ्री डन’ हुन् । उनका गुरु थिए, राज तुलाधर र जगत गौचन । खेल खेल्न उनी नालाका रामेश्वर श्रेष्ठसँग भारतको पूना पनि गए । खेल जितेर उनीहरूले मेडल पनि लिएर आए । तर नेपालमा खेलकुदका क्षेत्रमा त्यतिबेला कुनै प्रोत्साहन थिएन । (अझै पनि कहाँ छ र ?) घरबाटै खर्च लिएर अभ्यास गर्न उनी असमर्थ हुँदै गए । खेल खेल्दाखेल्दै उनी चवन्न सालमा माओवादीमा लागे र लडाकूहरूलाई आक्रमण र प्रत्याक्रमणको तालिम दिन थाले । उनीसँग त्यतिबेला सँगै हिँडेका लडाकूहरू हाल विभिन्न माओवादी नेताका अंगरक्षक छन् । उनले कसैको नाम लिन चाहेनन् । 

सुनाउँछन्, ‘भो, त्यो झूठो जनयुद्धको कुरै नगरौँ । जुन उद्देश्यले त्यो सुरु भएको थियो, त्यसको अन्त्यचाहिँ विपरीत भयो । नेताहरू भ्रष्ट भए । नेताहरू घोडा झैं पशुबजारमा बिक्री भए । अहिले त माओवादी पार्टी नै पतनोन्मुख छ । जनयुद्ध लडेको बेकार भयो । भो, कुरै नगरौं ।’ 

एक प्रतिभाशाली र सचेत नागरिकको राजनीतिप्रतिको यो वितृष्णा भयंकर महसुस हुन गयो । किनभने, सुरज मात्रै होइन, अरु धेरै प्रतिभाशाली र क्षमतावान नागरिकहरूलाई आज मुलुकमा ‘माइनस’ गरिएको छ र नालायकहरूको झुण्डलाई राजनीतिमा घुसाइएको छ । विचारलाई तरबारले काट्न खोज्नेहरूको भविष्य पनि त्यति उज्यालो चाहिँ छैन । मुलुकमा व्याप्त घटनाक्रम हेर्दा यहाँ कुनै पनि बेला युद्ध भड्किन सक्ने सम्भावना तीव्र्र भएर गएको छ । मूलधारको राजनीतिप्रति आम जनता निकै नै असन्तुष्ट र उदासीन देखिन्छन् ।   

...

भो, दिवालिया हुँदै गरेका नेता र पार्टीको कुरा नगरौं । ओके छ त । 

‘जनयुद्धका बेला तपाईं के हतियार बोक्नु हुन्थ्यो ?’ उनलाई अब यस्तो प्रश्न सोधियो । 

‘थियो । एउटा सात राउन्डको सानो पेस्तोल ।’ उनले सहज जवाफ दिए ।

‘कहाँ छ त्यो अहिले ?’ मेरो यो प्रश्न सुनेर उनी हाँसे । 

केही जवाफ दिएनन् । केही बेर मौन रहेर उनले उत्साहित मुद्रामा भने, ‘अहिले पनि म बहिस्कारवादी नै हुँ । जुन उद्देश्यले नेपालमा जनयुद्ध सुरु भएको थियो, म त्यसैमा अडिग छु । संसदीय व्यवस्था मान्ने कुरै भएन । नेताहरू भ्रष्ट भएर मात्रै यो सब देख्नु परेको हो । म अझै पनि निर्वाचनको विरोधी हुँ । अझै पनि परिआएको खण्डमा युद्धमा निस्किन तयार छु । नत्र कुखुरै काटेर बस्छु ।’

अब उनी वास्तविक कम्युनिस्ट नजर आइरहेका थिए– सर्वहारा, साधारण, दृढ संकल्पयुक्त र मजबूत । सँगै जनयुद्ध लडेकाहरू सत्ताको चुरीफुरीमा व्यस्त भइरहँदा पनि उनले कुखुरै काटे । उनीहरूसँग आफ्नो विमति साँधिरहे । हतियारमा धार लगाउन छाडेनन् । बिहान सबेरै उठेर समाचार सुन्छन् । कामधाम सकेर फेसबुक र युट्युबमा सारा खबर स्क्यान गर्छन् । सिगार तान्छन् । भेट्न आउने साथीभाइलाई समय दिन्छन् । मुलुकको खस्किँदो अवस्थाबारे चर्चा गर्छन् । यस्तो बेला अर्थोक के गर्नु ?

एउटा रोचक प्रसंग 

जनयुद्ध चलिरहेका बेला एकपटक उनी घर आएका थिए । सेनाले खोजतलास बढाएको थियो । बिहान सबेरै उठेर उनी पानी लगाउन आफ्नो खेतमा गए । घाम झुल्किन लाग्दा उनी काम सकेर खेतमास्तिर बाटामा उक्लिनासाथ देखे, केही सेना उनी भएतिरै लम्किरहेका थिए । 

सेनाले उनलाई सोधिहाल्यो, ‘सुरजकुमार बजगाईंको घर कुन हो ?’

उनले पलभर सास रोके । अनि छेवैको एउटा बन्द पसलतर्फ देखाउँदै सहजभावमा जवाफ दिए, ‘घर त उसको अलिक तल हो । तर अहिले एकछिनमा यो पसलमा चिया खान आउने पहिलो मान्छे नै सुरज हुनेछ ।’

सेनाले उनलाई बन्दै चिनेन । उनको हुलिया पनि ठेट किसानको जस्तै थियो । एउटा माओवादी लडाकु यस्तो हुलियामा पनि हुन सक्छ भनेर सेनाले अनुमान गर्न सकेन । त्यसपछि उनी भित्री बाटो लगभग ‘म्याराथुन’ गर्दै काठमाडाँै पुगे र भूमिगत भए । स्मरण गर्छन्, ‘त्यसपछि मैले केही महिना ट्याक्सी चलाएँ र अनेक तरहले जनयुद्धलाई सघाइरहें । ’  
...
विगतमा अत्यधिक दगुरेर होला, केही महिनाअघि उनको दाहिने कुर्कुच्चाको अपरेसन गर्नुपर्यो । अपरेसनपछि उनी दुई महिना ‘बेडरेस्ट’मा बसे । भतिजाले कुखुरा काट्न र बिक्री गर्न सघायो । सुरजका एक दाजु छन् जो ‘मेरिनोल नेपाल’मा लामो समयदेखि कार्यरत छन । दुई दाजुभाइको दश जनाको संयुक्त परिवार छ । परिवारमा मेलमिलाप कायम छ । सुरजका दुई छोरीहरू छन् । एउटी सातमा र अर्की नौमा पढ्छन् । घाम कतै उदाउँदो छ । घाम कतै मध्यान्हमा छ । अनि घाम कतै अस्ताउँदै छ । वृत्त आवृत्त भइरहन्छ । यो नै सृष्टिको नियमित प्रक्रिया ! 

सन्तुष्ट स्वादमा भन्छन्, ‘पुर्खाहरूको आशीर्वाद र आफ्नो मेहनतले जिन्दगी ठीकठाक चलिरहेको छ ।’ अझै पनि एउटा ‘मार्सलआर्टस् स्कुल’ खोल्ने सपना छ । तर आजको पुस्ता भर्चुअल खेल मात्रै खेल्न थालेकोमा उनी आश्चर्यचकित छन् । उनका अनुसार दुनियाँका सबै मान्छेले आत्मरक्षाको तालिम लिनु जरुरी छ । नत्र ब्रोइलर कुखुरा काटिए जसरी उनीहरू नष्ट पनि हुन सक्छन् । 

विद्यालयमा ‘मार्सलआर्टस्’ खेल अनिवार्य गरिनु पर्ने उनको धारणा छ । बालबालिकालाई बेलैमा आक्रमण र प्रत्याक्रमणको तालिम दिनु पर्ने कुरामा जोड दिँदै उनी भन्छन्, ‘आत्मरक्षा गर्न नजान्ने मान्छे र ब्रोइलर कुखुरामा केही फरक छैन । बरु लोकल कुखुराले आत्मरक्षा र आक्रमणसमेत गर्न जानेको हुन्छ ।’

सुरजले यसो भन्दै गर्दा मलाई एडोल्फ हिटलरको पुस्तक ‘मेन काम्फ’को स्मरण भयो । हिटलर लेख्छन्, ‘मान्छेलाई सानैदेखि घुस्सा हान्न र खानसमेत सिकाउनु पर्छ ।’ तर आज सिद्धान्त बढी पढ्ने, प्रायोगिक शिक्षा नअपनाउने र भर्चुअल दुनियाँमा मात्रै हराउने जुन पुस्ता तयार भएको छ त्यो ब्रोइलर कुखुरा (भनौं न, साइकोप्याथ !) समान छ । न ठीकसँग खान्छन् । न ठीकसँग सुत्छन् । न ठीकसँग खेल्छन् । न ठीकसँग हिँड्छन् । न ठीकसँग सम्भोग गर्छन् । अनि कसरी हुन्छ जिन्दगी सहज र शक्तिशाली ?
...
खोल हेरेर पुस्तकभित्र लेखिएका कुरा अनुमान गर्नु हास्यास्पद हो । यस कथामा पनि त्यस्तै हुन पुग्यो । झ्वाट्ट हेर्दा मैलोधैलो र उदास देखिएका सुरज वास्तवमा निकै उज्याला र शक्तिशाली रहेछन् । उनका हिम्मत, सपना र दृढ निश्चय अनुसरण गर्न लायक छन् । उनका आँखामा प्रस्ट रूपमा के देख्न सकिन्छ भने, सपनाहरू अधुरै छन् र उनको लक्ष्य महान् छ ! कैयौं घण्टा उनीसँग भलाकुसारी गरेपछि अनुभूत भएको हो, यो ।

उनीसँग बिदा मागेर सहर फर्किंदै गर्दा लाग्यो, के असली गुरिल्ला यस्तै हुन्छन् ?


 



Author

थप समाचार