विचार

ओली : सर्वाधिक अनुकूल समयका सर्वाधिक प्रतिकूल प्रतिनायक

अमृत विक |
पुस १०, २०७७ शुक्रबार ९:३२ बजे

‘अहंकारको अन्तिम लक्ष्य केही देख्‍न होइन तर केही बन्‍नका लागि हो ।’  प्रख्यात पाकिस्तानी उर्दु कवि मोहम्मद इकवालको यो भनाइको मर्मलाई प्रधानमन्त्री केपी ओलीको पछिल्लो कदमले सत्य साबित गरिदिएको छ । कोरोना कहरमा जनता पिल्सिरहेका छन् । संक्रमितको संख्या दिनदिनै बढिरहेको छ, अर्थतन्त्र धराशयी हुँदै गइरहेको छ ।

शीतलहरले तराईको जनजीवन कष्टकर बन्दैछ । उखु किसान न्यायका लागि राजधानीको सडकमा रोइरहेका छन् । भोका पेट काठमाडौँका सडकमा भौंतारिरहेका छन् भने युवा महामारी पनि नभनी विदेश पलायन भइरहेका छन् । देशको यी भयावह दृश्य प्रधानमन्त्रीका आँखाबाट गायब छन् । उनले देखेका छन्, केवल प्रधानमन्त्रीको कुर्सी र बालुवाटारदेखि शीतलनिवाससम्मको बाटो । पार्टीभित्रको झगडा र आत्मकेन्द्रित अहंकारले प्रधानमन्त्री मँैमत्त छन् । नेता होइन, अधिनायकवादी शासक बनेका छन् । त्यही अहंकारको अन्धतामा उनी जनमत, जनादेश र संविधानको भावनाविपरीत उल्टो बाटो हिँडिरहेका छन् । प्रधानमन्त्रीको पछिल्लो कदम अनपेक्षित भने होइन । उनी यो हदसम्म जान्छन् भन्‍ने पूर्वानुमान नगरिएको होइन । 


२०७४ असोज १७ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको छ बुँदे सहमतिसहितको चुनावी गठबन्धन अक्टोबर सरप्राइजका रूपमा आएको थियो । एक अर्काका कटु आलोचकका रूपमा चिनिएका ओली र पुष्पकमल दाहालले कसरी एकताको रोडम्यापसहितको ६ बुँदे सहमतिमा हस्ताक्षर गरेर चुनावी गठबन्धनमा निर्माण गरे आफैँमा अहं प्रश्न थियो । दश वर्षे सशस्त्र संघर्ष, त्यसपछिको झन्डै डेढ दशकको संक्रमणकाल, पटक-पटकको सरकार परिवर्तन र अस्थिर राजनीतिले आजित भएका जनताले यो गठबन्धनलाई राजनीतिक स्थायित्वका लागि सुखद् संकेत मानेका थिए ।

विकास र समृध्दिका लागि स्थायी सरकारको नारा लिएर जनतामा गएको गठबन्धनले सोहीअनुसारको म्यान्डेट पायो । निर्वाचनअघि सहमति जनाएअनुरूप नै दुईजना अध्यक्ष हुनेगरी २०७५ जेठ ३ गते पार्टी एकीकरण भयो । ‘सुखी नेपाली समृध्द नेपाल’को नारासहित प्रधानमन्त्रीले घरघरमा ग्यासको पाइप जडान गर्ने, हावाबाट बिजुली निकाल्ने, चीन र भारतसँगको रेल सञ्जाल विस्तार गर्नेदेखि आफ्नै पानीजहाज हुनेसम्मको सपना देखाए । विकासको सपना देख्‍ने र राष्ट्रियताको पक्षमा अडान लिने नेतालाई जनताले नायकका रूपमा देख्‍न चाहेका थिए तर संविधानविपरीतको निर्णय गरेर उनी आफैं खलनायकको पात्र बनेका छन् ।

हालको अवस्थामा आइपुग्नुमा ओलीको तानाशाही प्रवृत्ति र स्वेच्छाचारिता मात्रै दोषी छैन प्रचण्ड, माधव, झलनाथ र वामदेवको ल्याङल्याङे प्रवृत्ति पनि उत्तिकै जिम्मेवार छ । नेपाली कांग्रेसको कमजोर र प्रभावहीन  प्रतिपक्षको भूमिका पनि त्यसमा भागिदार छ । प्रचण्ड र माधव समूह स्पष्ट अडान लिन नसक्ने, ओलीसँग उधारो सहमति गर्ने, कार्यान्वयन नभएपछि पुनः विरोध गर्ने प्रवृत्ति उनीहरूकै लागि प्रत्युत्पादक बन्यो ।

प्रधानमन्त्री ओलीले आफू हारेर भए पनि देशलाई जिताउने र राजनेता बन्‍ने अवसर गुमाएका छन् ।

गत भदौ महिनामा सभामुख र विपक्षी दललाई समेत थाहै नदिई प्रधानमन्त्रीले संसद् अधिवेशन अन्त गर्दा न प्रतिपक्षले आवाज उठायो न त प्रचण्ड समूहले नै । सचिवालय बैठकमा घरीघरी प्रधानमन्त्रीको राजीनामा मागिरहने नेताहरूले संसद् अधिवेशन माग गरेर संसद्मा अविश्वासको प्रस्ताव ल्याउने हिम्मत पहिल्यै किन गर्न सकेनन् ? प्रधानमन्त्रीको पटक–पटकको राजीनामाको माग जनताले दिएको स्थायी सरकारको म्यान्डेटविपरीत थियो । 

संविधानले नदिएको अधिकार प्रयोग गरेर संसद् विघटन गर्ने आँट प्रधानमन्त्रीले किन गरे ? यसलाई नेकपाभित्रको झगडा र नेपालको आन्तरिक राजनीतिसँग मात्र जोडेर पुग्दैन । भारतीय खुफिया एजेन्सी ‘रअ’का पूर्वअधिकारी अमर भूषणद्वारा लिखित २०१९ मा प्रकाशित पुस्तक ‘इन्साइड नेपाल’मा नेपाली राजनीतिमा भारतीय गुप्तचर संस्था ‘रअ’को प्रभावबारे उल्लेख गरिएको छ ।

लेखकले राजा वीरेन्द्रले चीनसँग सहयोग मागेपछि रिसाएको भारतले नेपालको राजतन्त्र फाल्न गुप्तचर संस्था ‘रअ’मार्फत खेलेको भूमिका र राजनीतिक दलहरूसँग मिलेर राजतन्त्रविरुध्द लड्न ‘रअ’का एजेन्टले तत्कालीन माओवादी अध्यक्ष  प्रचण्डलाई आकर्षित गरेको प्रसंग उल्लेख गरेका छन् । फिक्सन भनिए पनि सत्य कथाबाट प्रभावित भनिएकाले उक्त घटनामा उल्लेख गरिएका घटना र पात्रलाई  फिक्सनकै रूपमा मात्र लिन सकिँदैन । महाकाली सन्धियता भारतले आफूनिकट मान्दै आएको ओली नेतृत्वको प्रो-चाइनिज कदमबाट रुष्ट बनेको भारतले नक्सा प्रकरणलाई पनि चिनियाँ उक्साहटमा नेपालले गरेको भारतविरोधी कदम भन्दै आएको छ ।

तत्कालीन भूमिगत माओवादी पार्टी र संसद्वादी दलहरूबीच नयाँ दिल्लीमा भएको बाह्र बुँदा समझदारीपछि नेपालको आन्तरिक राजनीतिमा प्रत्यक्ष या अप्रत्यक्ष भूमिका खेल्दै आएको दिल्लीस्थिर सरकार बनेयता भूमिका शून्य थियो । ऊ पुरानो भूमिकामा फर्कन प्रयासरत थियो । नक्सा प्रकरणले चिसिएको सम्बन्ध भारतीय स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोनमार्फत शुभकामना सन्देश दिएपछि केही सकारात्मक बन्यो । त्यसपछिका दुई महिनाको अन्तरालमा ‘रअ’ प्रमुख सामन्तकुमार गोयल, सेनाध्यक्ष मनोजमुकुन्द नरबाणे, विदेश सचिव हर्षवध्र्दन शृंगला र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमण दुई देशबीचको सम्बन्‍ध सुधारका रूपमा मात्र नभई उसको राष्ट्रिय स्वार्थ सुनिश्चितता मिसनका रूपमा लिन सकिन्छ ।

प्रधानमन्त्रीको कदममा कहीँ न कहीँ भारतीय उच्च अधिकारीको भ्रमणको प्रभाव छ भन्‍ने कुरालाई इन्कार गर्न सकिँदैन । प्रधानमन्त्रीको सिफारिसलाई राष्ट्रपतिले कानुनविद्को सरसल्लाहविना नै हतारमा सदर गरिदिएको अवस्था, विपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाको औपचारिकता मात्रैको विरोध, अनि संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्दा देउवा र प्रधानन्यायाधीशनिकट व्यक्तिहरूको नियुक्तिले पनि संसद् विघटन योजनाबध्द ढंगले चालिएको कदमका रूपमा लिन सकिन्छ ।

प्रधानमन्त्रीको कदमको पहिलो सिकार उनी आफैं भएका छन्, उनको यो अविवेकी कदमको चौतर्फी आलोचना भएको छ । उनको अविवेकी निर्णयका कारण राष्ट्रपतिको गरिमामय पद पनि विवादित बनेको छ । प्रधानमन्त्रीको गैरसंवैधानिक कदम सच्याउने जिम्मा न्यायपालिकामा निर्भर छ तर न्यायपालिकाले सच्याएन भने संविधानको औचित्य नै समाप्त हुने कानुनविद्को तर्क छ । सच्यायो भने पनि कार्यपालिका र न्यायपालिकाबीचमा शक्ति संघर्षको स्थिति पैदा हुनेछ । प्रधानमन्त्री मात्रै नभई राष्ट्रपति पनि निलम्बनमा पर्ने कानुनविद्को राय छ । प्रधानमन्त्रीको कदम सदर भएर निर्वाचन तोकिएको समयमा नै भयो भने पनि बीस अर्बभन्दा बढीको निर्वाचन खर्चको व्ययभार देशले बोक्नुपर्नेछ ।

देशको यी भयावह दृश्य प्रधानमन्त्रीका आँखाबाट गायब छन् । उनले देखेका छन्, केवल प्रधानमन्त्रीको कुर्सी र बालुवाटारदेखि शीतलनिवाससम्मको बाटो ।

प्रधानमन्त्रीको कदमलाई आम जनमानसले स्वेच्छाचारी भनिरहँदा उनका समर्थक बाध्यकारी भनिरहेका छन् । राजतन्त्र पुनःस्थापनाका समर्थकले प्रधानमन्त्रीको कदमलाई स्वागत पनि गरेका छन् । भूमिगत आन्दोलन गरिरहेको विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले पनि संसदीय राजनीतिको औचित्य समाप्त भएको तर्क पेस गर्दै जनमत आफूतिर आकर्षण गर्न सक्छ । सत्तारूढ दल विभाजित भएको अवस्थामा निर्वाचनमा जाँदा आफूहरूलाई लाभ हुने आंकलन प्रतिपक्षी कांग्रेसले पनि गरेकै होला । तर सवाल व्यक्ति गुट र दलको होइन सवाल देश र जनताको भविष्यको हो । राष्ट्रपतिको साथ पाएको भरमा प्रधानमन्त्रीले संसद् विघटन गर्दै जाने हो भने देश सधैँ अस्थिरताको गोलचक्करमा फसिरहन्छ । 

दुई विशाल छिमेकी देशको आपसी सम्बन्ध सहकार्यको भन्दा पनि प्रतिस्पर्धा र अविश्वासको दिशातिर उन्मुख छ । नेपालको पछिल्लो घटनाक्रमबारे प्रतिक्रिया दिने क्रममा नेपाल मामलाका जानकार भारतीय सेनाका पूर्वजनरल अशोक मेहताले भारतका लागि सुखद र चीनका लागि दुःखद् भएको बताएका छन् ।

सम्भवतः चीनले पनि केही प्रतिक्रिया दिनेछ ।  हाल परम्परागत दक्षिणी छिमेकीले मात्र नभई उत्तरी छिमेकीले पनि नेपालको आन्तरिक मामिलामा चासो दिन थालेको छ । राजनीतिक अस्थिरता र व्यक्तिगत स्वेच्छाचारी कदमले बाह्य शक्तिहरूको प्रोक्सी द्वन्द्वको अवस्था उत्पन्‍न हुन सक्छ । जातीय, क्षेत्रीय र धार्मिक असन्तुष्टहरूको पूर्णरूपमा व्यवस्थापन भई नसकेको अवस्थामा प्रोक्सी समूहहरूको स्वार्थको प्रतिस्पर्धाले देशलाई दीर्घकालीन द्वन्द्वतर्फ धकेल्न सक्छ । 

विश्व इतिहासमा आफू हार्न तयार भएर देशलाई जिताएका नेल्सन मन्डेला, अब्राहम लिंकन र महात्मा गान्धीजस्ता महान् नेता र अहंकारको घोडा चढेर आफूले जित्ने नाममा देशलाई हराउने हिटलर, मुसोलिनी र पोल्पोट जस्ता क्रुर शासकका उदाहरण छन् । प्रधानमन्त्री ओलीले आफू हारेर भए पनि देशलाई जिताउने र राजनेता बन्‍ने अवसर गुमाएका छन् ।

झन्डै दुई तिहाइ बहुमतको समर्थनप्राप्त सरकारको नेतृत्व गरेका उनले संसद्को सामना नै नगरी संविधान र जनचाहनाविपरीत संसद् विघटन गरेर देशलाई अनिर्णयका बन्दी बनाएका छन् । यो गल्तीको हिसाबकिताब उनको चौध वर्षे जेलजीवन र देशको नयाँ नक्सा जारी गरेको विषयले मात्र तिर्नसक्ने छैनन् र उनीमाथि संवैधानिक ‘कू’को दाग लागिरहनेछ ।


Author

थप समाचार
x