विचार

रवीन्द्र मिश्र हिँडेको बाटोले पुर्‍याउने पुस १ या माघ १९ मै हो

दिपेश घिमिरे |
पुस ४, २०७८ आइतबार ११:३४ बजे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय र म २०७२ को कात्तिकमा ‘समाज र भ्रष्टाचार’ पुस्तक लेखनमा व्यस्त थियौँ । त्यही क्रममा पञ्चायतकालीन बहुचर्चित ‘कार्पेट काण्ड’बारे हामीबीचमा लामो कुराकानी चल्यो । जुन भ्रष्टाचार काण्ड पञ्चायतकालभरि बहुचर्चित थियो । जसमा पञ्चायतकालीन प्रधानमन्त्री डा. गिरी नै मुछिएका थिए ।

त्यो विषय उपाध्यायले डा. तुलसी गिरीसँगै भेटी कुरा गर्न सकिने बताउनुभयो । म उत्साहित भएँ । त्यसको केही दिनमा डा. गिरीबाट हामीले निमन्त्रणा पायौँ । उहाँको निवास बुढानिलकण्ठ पुग्यौँ । चिनजान गर्ने क्रममा म अखबारमा लेख लेखिरहन्छु भनेपछि भन्नुभयो, ‘डा. गिरीले यो छलफल ‘अफ द रेकर्ड’ रहोस् ।’
कुराकानीको प्रारम्भमै मैले एउटा प्रश्न गरेको थिएँ, ‘डा. सा’ब, वि.सं. २०१७ सालमा तपाई एउटा त्यस्तो पात्र हुनुहुन्थ्यो जो तराजुको जुन पट्टी बस्छ उसकै पल्ला भारी हुन्थ्यो । त्यो बेलामा तपाईं लोकतन्त्रको साटो राजतन्त्रको तराजुमा बस्नुभयो देशमा पञ्चायत आयो । आज ८९ वर्षको उमेरमा विगतलाई फर्केर हेर्दा कहिल्यै तराजुको अर्को पट्टी बसेको भए पनि हुने रहेछ भन्ने लाग्दैन ?’


डा. गिरिले मेरो अनुहार निकै बेर नियाल्नुभयो । अलि गम्भीर देखिनु भयो । त्यसपछि डा. गिरीको जवाफ आयो, ‘अरु विषयमा कुराकानी गरौँ, यो प्रश्नको जवाफ अन्तिममा दिउँला ।’ 

करिब ४ घण्टा हामीले नेपालको इतिहासका अनेक पाटोमा छलफल गर्‍यौँ । नेपाल–भारत सम्बन्धमा छलफल गर्यौ । निस्किने बेलामा मैले फेरि पहिले सोधेको प्रश्न दोहोर्याउने आँट गरिनँ । हामी उठेर बिदा हुन लाग्यौँ ।

तर, डा. गिरी स्वयंले एउटा प्रश्नको जवाफ दिनै बाँकी छ, ‘एकछिन बस्नुस् न ।’ र, लामो भूमिका बाँधेर जवाफ दिनुभयो । अन्त्यमा उहाँको भनाइ थियो, ‘राजतन्त्रको आजको जस्तो रुप र अवस्था देख्नुपर्दा मलाई लाग्छ, मैले त्यो निर्णय नगरेको भए पनि नराम्रो नहुने रहेछ ।’

छलफलका क्रममा ज्ञानेन्द्रको कार्यशैलीको अत्यन्तै आलोचना गर्नुभयो । २०६१ माघ–१९ पछि ज्ञानेन्द्रको अध्यक्षतामा गठित मन्त्रिपरिषद्का उपाध्यक्ष डा. गिरीले अन्त्यमा अप्रत्यक्ष रुपमा आफूले लिएको बाटो ठीक नभएको भन्ने जवाफ दिनुभयो । सूर्यनाथ उपाध्याय र डा. गिरीका एकजना सहयोगी यसको साक्षी हुनुहुन्छ । ‘अफ द रेकर्ड’ भनिएको कुराकानीलाई डा. गिरीसँगको चाहनाबमोजिम मैले लामो समय कहीँ कतै लेखिनँ ।  

मैले आज यो सन्दर्भ यहाँ लेख्नुहुन्थ्यो या हुँदैनथ्यो, थाहा छैन । यो नैतिकता र मर्यादाभित्र पर्छ कि पर्दैन पनि थाहा छैन । डा. गिरि त हुनुहुन्न, सूर्यनाथ सरले यसलाई कसरी लिनुहुन्छ ? त्यो पनि थाहा छैन । 

यद्यपि यतिबेला यो घटनाक्रमको सान्दर्भिकता देखेर लेख्नैपर्ने लाग्यो । गएको मंसिर महिनाभरि नेपालका प्रमुख राजनीतिक पार्टीहरू महाधिवेशनमा व्यस्त रहे । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेसले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरे भने एमाओवादी महाधिवेशनको प्रक्रियामै छ । 

तर, सबैभन्दा कान्छो विवेकशील साझा पार्टी कुन बाटो ठीक भन्ने झगडामा रुमल्लिँदै छ । ठूला राजनीतिक दलहरू महाधिवेशनमार्फत आफ्नो नयाँ नेतृत्व चुन्दै गर्दा उनीहरूलाई नै पाठ पढाउने र सिकाउने भन्दै सामाजिक सञ्जालमा आदर्श छाँट्ने पार्टी महाधिवेशनमार्फत आमकार्यकर्ताको ‘फ्रेस म्यान्डेट’ लिएर आउन तयार छैन ।

विवेकशील साझा पार्टीभित्रको आन्तरिक झगडा र त्यसको कारणबारे मैले जान्ने कुरा भएन । यद्यपि राजनीतिक दल एउटा सार्वजनिक संस्था भएकाले त्यसबारेमा बेसरोकार हुनु पनि भएन । समकालीन राजनीतिलाई प्रभाव पार्न सक्ने सामथ्र्य विवेकशील साझा पार्टीले हालसम्म बनाएको छैन । त्यसैले यसलाई यति ठूलो महत्व दिनुपर्ने हो कि होइन भन्ने प्रतिक्रिया यसअघिका दुइटा लेख लेख्दा मैले पाएको पनि थिएँ ।

तर फेरि विवेकशीलकै घर–झगडा बढ्दै जाँदा यो लेख किन पनि लेख्दै छु भने त्यहाँ विगत डेढ दशकदेखि वैकल्पिक राजनीतिको स्पेस निर्माण गर्न लागिरहेका युवा छन् । उनीहरूले आफ्नो उर्वर समय त्यसैका लागि योगदान गरेका छन् । देशको विकृति विसंगतिसँग वाक्क दिक्क भएर आफैँ विकल्प दिन सकिन्छ कि भनेर आँट गर्ने युवा यतिबेला रनभुल्लमा छन् कि जस्तो देखिन्छ । पार्टी विखण्डनको दोसाँधमा उभिएको यो समयमा मैले मेरो पुस्ताकै विवेकशील युवा साथीलाई केही भन्नैपर्छ भन्ने ठानेर यो लेख लेखेको हुँ । 

यतिबेला विवेकशील तमाम युवा कुन बाटो हिँड्ने भन्ने दोबाटोमा उभिएका छन् । मसँग निरन्तर सम्पर्कमा रहेका विवेकशीलका कैयाँै युवा नेता तथा कार्यकर्ता कुन बाटो हिँड्दा कहाँ पुगिन्छ भन्नेबारेमा अस्पष्ट देखिरहेको छु । धेरै युवा रनभुल्लमा छन् । पार्टीभित्र रवीन्द्र मिश्रको ‘म नभई देश बन्दैन’ र ‘मैले पाइनँ भने यो देश बनाउन सक्ने अर्को कोही व्यक्ति नै जन्मेको छैन’ भन्ने ‘न्यारेटिभ’सहितको ‘स्पिकर’ ठूलो आवाजमा घन्किरहेको छ । परिवर्तनलाई आत्मसात् र संस्थागत गराँै सामूहिकतामा विश्वास गरौँ भन्ने सानो आवाज धेरैले सुन्न सकिरहेका छैनन् । 

यही रनभुल्ल अवस्थाको फाइदा उठाउँदै मिश्रले डेढ दशकअघि मात्रै लाखौँ नागरिकको बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण गरिरहेका छन् । मिलन पाण्डे, रन्जु दर्शनालगायतका केही युवा त्यो गलत हुन्छ भन्दै मिश्र प्रवृत्तिविरुद्ध आन्तरिक संघर्ष गरिरहेका छन् । यसमा समग्र विवेकशीलका युवा नेता तथा कार्यकर्ता प्रस्ट हुँदा हुन्छ रिूक रवीन्द्र मिश्र हिँडेको बाटोले पुर्याउने भनेको २०१७ पुस १ या २०६१ माघ १९ मै हो । 

वि.सं. २०१७ पुस १ गते महेन्द्रले लोकतन्त्रको हत्या गरी पञ्चायत शासन लागू गर्दै गर्दा पनि तत्कालीन राजनीतिक युवा यस्तै अवस्था भोगिरहेका थिए । जसमध्ये तुलसी गिरी, विश्ववन्धु थापा लगायतले नेपाली कांग्रेस छाडेर दरबार पसे भने बीपी, कृष्णप्रसाद, गणेशमानहरू संघर्षमा । केशरजंग रायमाझी कम्युनिस्ट आन्दोलन छाडेर दरबार पस्दै गर्दा पुष्पलाल आन्दोलनलाई जोगाउन संघर्षमा होमिँदै थिए ।

आजको दिनमा हामी पछाडि फर्केर इतिहास हेरौँ, कुन बाटो सही थियो । असहजता र प्रतिकूलताको बीचमा रहेरै बीपीको जीवनको अन्त्य भयो । आज लाखौँ अनुयायी छन् । आफ्नो सारा जीवन गद्दार कहलिएर बितेका पुष्पलाल सम्पूर्ण कम्युनिस्ट पार्टीको आदर्श बनेका छन् । विवेकशीलका सदस्यले निर्णय लिन केही सोच्नै पर्दैन यति इतिहासलाई एक साँझ पढे काफी हुन्छ । त्यसैले राजनीति गर्ने नै हो भने आदर्शको बाटो समात्ने हो, समर्पणको होइन ।

अर्को महत्वपूर्ण सवाल राजनीनिक ‘स्पेस’को हो । भर्खरै राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमार्फत राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भए । महाधिवेशनमा उनको पक्षमा देखिएको कार्यकर्ताको आकर्षण र उनले जित हासिल गरिसकेपछि उनका पक्षमा लेखिएका शब्द हेर्दा राजतन्त्र, हिन्दू धर्म तथा एकात्मक राज्य प्रणालीको एजेन्डा अब राप्रपाकै भयो । उसैले निरन्तर त्यसमा दाबी गर्नेछ । 

त्यस विचारमा आस्था राख्नेले हलोमै भोट हाल्नेछन् । दक्षिणपन्थको नेतृत्व गर्ने गरी राप्रपा तयार भइसकेको छ । नेपाली कांग्रेसमा महाधिवेशनमार्फत युवा पुस्ताले गरेको हस्तक्षेपले उदार लोकतान्त्रिक ‘स्पेस’को नेतृत्व नेपाली कांग्रेसले नै गर्नेछ । त्यो प्रस्ट देखिएको छ । छिपछिपे राष्ट्रवाद, नरम हिन्दूवादको नेतृत्व नेकपा एमालेले नै नेतृत्व गर्नेछ ।

अयोध्याको राम मन्दिर र पशुपतिको जलहरीदेखि चुच्चे नक्सासम्मका गतिविधि हेर्दा एमालेले आफ्नो राजनीतिक ‘स्पेस’ प्रस्ट पारिसकेको छ । उग्रवामपन्थका लागि एनेकपा माओवादी छँदै छ । तर, नजिकै नयाँ दिल्लीलाई हेर्ने हो भने वैकल्पिक राजनीतिको ‘स्पेस’ नेपालमा अझै पनि बाँकी छ । सम्भावना देखेरै उज्ज्वल थापाले सुरु गरेको वैकल्पिक राजनीतिको ‘स्पेस’ रवीन्द्र मिश्रले विचारमाथि देश सामग्री पस्कँदै गर्दा गुमाइसकेका छन् । विवेकशीलका युवालाई त्यो ‘स्पेस’ बाँकी नै छ । रवीन्द्र मिश्रको राजनीतिक स्पेस निकै साँघुरिएको छ । 

कुनै पनि राजनीतिक दलको परीक्षण गर्ने आगामी निर्वाचनमा होइन, इतिहासमा हो । इतिहासको कठघरामा उभिएर जवाफ दिनैपर्ने अवस्थामा भर्खरै गरिएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न छाडेर फेरि राजनीतिक परिवर्तनकै एजेन्डा त्यो पनि प्रतिगामी दृष्टिकोणले त कही पुर्याउँदैन नै । इतिहासले पनि त्यसलाई माफ गर्दैन । आफ्नो जीवनभरि शक्ति र सत्तामा रहेका तुलसी गिरीलाई झैँ जीवनको उत्तरार्धमा सोच्दै गर्दा अर्को बाटो समातेको भए पनि गलत हुने थिएन कि भन्ने लागिरहन्छ ।

नेपालको आजसम्मको इतिहास हेर्ने हो भने देश कहिल्यै पछाडि फर्केको छैन । देश कमजोर भएको छ । समस्या बढेका छन् । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बिस्तारै क्षयीकरण हँुदै गइरहेको छ । तर पनि नेपाली नागरिक अग्रगामी बाटो मात्रै हिँडिरहेका छन् । त्यसकै लागि ज्यान गुमाउन तयार छन् । 

अन्त्यमा, फुच्चे पार्टीको फुच्चे नेताहरूले नेपालको संविधान २०७२ को पक्षमा जुन तहमा प्रतिबद्धता देखाएका छन्, त्यो अभुतपूर्व छ । त्यसले हालसम्मको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै देश निर्माणमा लाग्न समग्र युवालाई प्रेरित गरिरहनेछ । यतिबेला बाटो बिराएका वा बिराउन खोजेकाहरूले जीवनको उत्तरार्धमा सही बाटो छनौट गर्न नसकेको तथ्य घुमारै भए पनि स्वीकार गर्नेछन् ।


Author

थप समाचार
x