विचार

टिप्पणी

किन खोतल्दैछन् ओलीले पूर्वीय दर्शन र सभ्यताको प्राचीन इतिहास, भोलिको आमसभामा के भन्लान् ?

पुष्पराज आचार्य |
माघ २२, २०७७ बिहीबार २०:१६ बजे

फाइल तस्बिर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली आजभोलि पूर्वीय दर्शन र सभ्यताको प्राचीन इतिहासका मर्मज्ञ एवं व्याख्याताका रूपमा देखा परेका छन् । सपथ ग्रहण समारोहमा ‘ईश्‍वर’को नाम उच्चारण समेत नगर्ने ओली एकाएक देवभूमिको पुरातात्विक महत्व खोजीमा निस्किए । यसक्रममा उनले ठोरी नजिकको एक गाउँ नै वास्तविक देवभूमि ‘अयोध्या’ रहेको बताए । दक्षिणी छिमेकी भारतको ध्यान खिच्‍ने यत्नबाट सुरु भएको अयोध्या काण्डसँगै ओलीले भारतसँग विस्तारै सम्बन्ध नवीकरण गर्दै लगे । 

केही समयअघि मात्रै ओलीले भारतीय जनता पार्टीको सरकार निकट जी न्यूज र डब्लुआइओएन टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा हिन्दु कुश क्षेत्रको वैदिक महत्वमाथि प्रकाश पार्ने कोसिस गरे । भारतवर्षको गौरवपूर्ण इतिहासको व्याख्या गरे । चतुर राजनीतिज्ञ ओलीले यस्ता अभिव्यक्तिहरूबाट आम मानिसहरूको मनोविज्ञान जाँचिसकेका छन् । पार्टीभित्र पकड कमजोर भएपछि सानो समूह बनाएका ओलीले आम समर्थन जुटाउन सहज हुने र दक्षिणी छिमेकीलाई खुसी पार्ने ‘हिन्दु धर्म’ को मुद्दा भेटाएका छन् । जसलाई भजाएर यसअघि कमल थापाको राष्ट्रिय प्रज्ञातन्त्र पार्टी तेस्राे दल बनेकाले ओलीले यसलाई दुवै हातमा लड्डूको रूपमा बुझेका छन् । 


ओली निकटका मन्त्रीहरूले भन्दै आएको २३ गतेको विशेष घोषणा के होला त ? यो सबैको चासोको विषय बनेको छ । ओलीको ५० लाख मत ल्याउने अभिव्यक्तिका पछाडिको रहस्य र दक्षिणी छिमेकीको भरपर्दो आड पाउने उपाय ओलीले पहिल्याइसकेका छन् । केही दिनअघि पशुपतिनाथमा ओलीद्वारा गरिएको क्षमा पूजा, युनेस्कोले वर्जित गर्दागर्दै पनि विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथको मन्दिरमा सुनको जलहरी हाल्ने तथा हिन्दु विश्‍वविद्यालय खोल्ने घोषणाहरू फगत संयोग मात्रै होइनन् । 

भारतसँग सम्बन्ध बिग्रदाँ चीनसँग पारवहन सम्झौता गर्न पुगेका ओलीलाई भारतले आँटिलो, भरपर्दो र परिपक्व (काम फत्ते गर्न सक्ने) नेताको रूपमा लिएको पुराना कम्युनिष्ट नेता चित्रबहादुर केसी बताउँछन् । केही दिन अघिमात्र नेकपाका नेता सुरेन्द्र पाण्डेले ओलीले नारायणहिटी अगाडि सभा गरेर पुरानै व्यवस्थाको प्रतीकात्मक सन्देश र हिन्दु राष्ट्रको घोषणा गर्न लागेको सूचना पाएको बताएका छन् । 

वास्तवमा नेपाल र भारतको सम्बन्धको उतारचढाव संविधान जारी भएपछि शुरु भएको थियो । नेपालमा संविधान जारी गर्ने अन्तिम तयारी भैसकेपछि तत्कालीन विदेश सचिव एवं हालका विदेशमन्त्री सुब्रमण्यम जयशंकरको सन्देश अनुसार संविधान जारी गर्ने मिति नसारेकोमा भारत रुष्ट भएको थियो । त्यसपछि भारतसँगको सम्बन्ध उतारचढापूर्ण रहँदै आयो, संविधान जारी भएलगत्तै र निर्वाचनपछि प्रधानमन्त्री भएका ओलीको । तर त्यो उतारचढावपूर्ण सम्बन्धलाई ओलीले नै ३६० डिग्रीमा घुमाएका छन् र राजनीतिको कोर्सलाई पुनः पुरानै हिसाबले अघि बढाउने यत्न गरेका छन् । 

संविधान जारी गर्नुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल तथा विद्या भण्डारीले पालैपालो भारतको भ्रमण गरेका थिए । भारतीय राजनीतिक नेतृत्वले सबै दलका नेताहरूसँग एउटै चासो राखेको थियो– संविधानमा ‘नेपाल हिन्दु राष्ट्र हुनेछ’ भन्‍ने प्रावधान राख्नुपर्‍यो । अन्य व्यहोरा भारतले स्वीकार गर्छ भन्‍ने नै थियो । जानकारहरूका अनुसार सबै नेताहरूले कोसिस गर्छौं, यसबारे दलहरूबीच पनि छलफल गर्नुपर्छ भन्ने नै जवाफ दिए । तर पुष्पकमल दाहालले भने वचन नै दिएर फर्के । धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिसकेको, अन्तरिक संविधानमै व्यवस्था गरिसकेकाले एकाएक हिन्दु राष्ट्र बनाउन सम्भव हुँदैन भन्‍ने नै दलहरूको निष्कर्ष रह्यो ।

त्यसपछि संविधानमा भाग १ धारा (४) मा स्पष्टीकरण लेखियो – ‘यस धाराको प्रयोजनका लागि ‘धर्मनिरपेक्ष’ भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ ।’ जसलाई भारतले आफूमाथि जालसाँझी गरेको रूपमा लियो र झनै क्रुद्ध भयो । नेपालमाथि नाकाबन्दीपछि राज्यसभामा जवाफ दिने क्रममा तत्कालीन विदेशमन्त्री सुषमा स्वराजले नेपाली नेताहरूको भारत भ्रमण र आफ्नो काठमाडौं भ्रमण (भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी सहयोग सम्मेलन) मा भएका सहमति नेपाली नेताहरू वेवास्ता गरेको स्पष्ट संकेत गरेकी थिइन् । 

भारतको चिड्चिडाहट बुझिरहेका ओलीले यसपटक अत्यन्त राम्रो मौका पाए । चीनले ओलीलाई बरु सत्ता छाड तर पार्टी नफुटाऊ भनेपछि उनले आफ्ना निकटहरूसँग चीनबाट सोचेजस्तो सहयोग नपाएको भन्दै दुःखमनाउ समेत गरेका थिए । यसैक्रममा भारतीय प्रधानमन्त्रीका दूतका रूपमा भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयलसँग ओलीको भेटघाटपछि ओलीले आफूहरू विरुद्ध ठूलै चाल चल्न लागेको बुझ्न प्रचण्डको समूहलाई पनि गाह्रो परेन । ‘रअ’ का प्रमुख गोयलको भ्रमणपछि सत्तारुढ नेकपाभित्रको विग्रह अझै बढ्दै गयो र अन्ततः उनीहरू आमने-सामने भएका छन् । 

शुक्रबारको शक्ति प्रदर्शन एवं आमसभालाई ओलीले निकै महत्व दिएका छन् । उनले प्रचण्ड र माधव नेपाललाई आमसभा कस्तो हुन्छ देखाइदिने बताउँदै आएका छन् भने  ओली समूहका महासचिव विष्णु पौडेलले प्रधानमन्त्रीले विशेष घोषणा गर्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले आजकाल हरेक सम्बोधनहरूमा धर्म संस्कृति, सभ्यता, तपोभूमि, देवभूमिका प्रसङ्ग निकाली रहन्छन् ।

‘हिमवत खण्डको हाम्रो जस्तो सभ्यता, सांस्कृतिक सम्पन्नता र ऐतिहासिक गौरव अन्यत्र पाइँदैन । हामी ऋषिमुनि तथा ज्ञानीहरूका सन्तान हौं । यसको अर्थ हाम्रा महान र विद्वान पुर्खाहरूको आनुवांशिक स्मृति छ,’ हालै राजधानीमा आयोजित किताबजात्रा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका छन्, ‘यस ऐतिहासिक भूमिमा आदिज्ञान संग्रह– वेद, उपनिषद् र विभिन्न दार्शनिक एवं चिकित्सा र खगोल शास्त्रसम्बन्धी ज्ञान संग्रहहरू थिए । हाम्रा पूर्वज र अग्रजहरू परिश्रमी, रचनात्मक र अनुसन्धाता रहेको तथ्य पनि उत्तिकै सत्य हो । यो इतिहास पुन:स्थापित गर्नु जरुरी छ ।’ ओलीले आफैंले जारी गरेको संविधानको पालना गर्लान् कि प्राचीन सनातन धर्म संस्कृतिको उत्खनन्मा लाग्‍नेहुन् त्यो उनको शुक्रबारको सम्बोधनले नै स्पष्ट पार्नेछ । 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x