विचार

टिप्पणी

राष्ट्रवाद फुलाउने, जनता भुलाउने

पुष्पराज आचार्य |
चैत २१, २०७८ सोमबार १५:३१ बजे

काठमाडौँ– देशलाई छपक्कै निर्वाचनले छोपेको छ, निर्वाचनको माहौल शुरु भैसकेको छ । निर्वाचनमा जनतालाई बेच्ने घच्चीका नारा/मुद्दा के होलान्– त्यसको खोजीमा सबै दलहरू छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पुनः राष्ट्रवादी अभियान शुरु गरेको छ । 

दिल्लीस्थित नेपाली दूतावासको एउटा कुनामा नयाँ नक्सा राख्न छुटेको रहेछ । त्यसलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनिदिए, ‘शेरबहादुर देउवाले दिल्लीस्थित दूतावासमा राखिएका चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेर भारतसँग दलाली गरे ।’


आसन्न निर्वाचनको संघारमा प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई लिएर सशंकित ओलीले यसलाई यसरी मसला बनाउन खोजिरहेका छन् कि राष्ट्रवादका ठेकेदार उनै हुन् । यथार्थमा दिल्ली दूतावासमा चुच्चे नक्सा हटाएर पुरानो नक्सा राखिएको होइन, एउटा कुनामा राखिएको नक्सा फेर्न छुटेको हो । यसअघि ओलीले नियुक्त गरेर पठाएका राजदूत नीलाम्बर आचार्य थिए, उनले पो ढङ्गसँग काम नगरेका हुन् कि !

फेरि उनै आचार्यले ट्वीटरमा प्रतिवाद गरे, ‘लिम्पियाधुरासहितको नयाँ नक्सा राखिएको थियो त ! अहिलेको अवस्था भने मैले भन्नसक्ने कुरा भएन ।’

दिल्लीस्थित दूतावासका अनुसार, दूतावासमा सबै ठाउँमा नक्सा परिवर्तन गर्दा एउटा कुनामा भने छुटेको रहेछ ।

सत्य के हो भने केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वकालमा सबै दल एकमत भएर राष्ट्रिय सहमतिमा लिम्पियाधुरा, लिपुलेक कालापानी क्षेत्रको नक्सा जारी भएको हो, संसदले सर्वसम्मत अनुमोदन गरेको हो । नयाँ नक्सा जारी गरेपछि भारतसँग सीमा समस्या समाधानका लागि संवाद हुन सकिरहेको थिएन । चार वर्षपछि नेपालका प्रधानमन्त्रीको भारतमा भ्रमण भयो । 

प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा समस्या समाधानका लागि समकक्षी नरेन्द्र मोदीसँग कुराकानी गरे । उच्च राजनीतिक तहमा भएको यो संवादपछि भारतसँग तथ्य र प्रमाणका आधारमा वार्ता गर्ने र उसले नियन्त्रणमा लिएका भूभाग फिर्ता लिनेतर्फ राष्ट्रिय सहमति कायम गर्दै दलहरू अगाडि बढ्नुपर्ने हो । यदि समाधान निकाल्ने हो र आफ्नो भूभाग फिर्ता ल्याउने हो भने भारतलाई भड्काएर होइन, उसँग वार्ता गरेर ऐतिहासिक दस्तावेज, तथ्य र प्रमाणका आधारमा आफ्नो भूमि फिर्ता माग्ने हो । 
तर सीमा समस्यालाई अतिराजनीतिकरण गरेर भारतलाई चिढ्याउने, यस विषयमा संवाद नै नहुने स्थिति सिर्जना गरेर उक्त भूभाग फिर्ता लिन सकिएला कि भारतसँग संवाद गरेर ? अवश्य पनि भारतसँग संवाद गरेर नै यी भूभाग नेपालले फिर्ता लिनुपर्छ । 

राष्ट्रिय सहमतिमा नयाँ नक्सा जारी भयो, तर त्यसलाई फिर्ता लिन भारतसँग संवाद अघि बढाउने जिम्मेवारी सरकारको थियो । ओलीले भारतसँग सम्बन्ध सुधार्न उनको कार्यकालको आखिरीतिर प्रयास गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत ‘र’का प्रमुख सामन्त गोयललाई मध्यरातमा बालुवाटारमा स्वागत गरेपछि तत्कालीन प्रधानमन्त्री ओलीले शिक्षा मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको नयाँ नक्सा राखेर प्रकाशन गरेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक पुस्तक वितरण गर्न नदिएको भनेर व्यापक आलोचना भएको थियो ।

भारतसँग सीमा सम्बन्धी कुरा उठाएर प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक लाभ लिने हुन् कि भन्ने कुण्ठाका कारण अहिले दिल्ली दूतावासको नक्साको मुद्दा उछालिएको छ । देशको प्रमुख राजनीतिक दल नेकपा एमालेका लागि त्यो ठूलो मुद्दा बनेको छ । राष्ट्रिय सहमतिमा जारी गरिएको नक्साका आधारमा सीमा समस्या समाधान गरौं भनेर प्रधानमन्त्रीले भारतीय समकक्षीसँग प्रस्ताव गर्नु महत्वपूर्ण परिघटना हो । 

भारत र नेपालबीच सीमा विवाद समाधान गर्नेतर्फ सबै दलको सार्थक र सकारात्मक पहल हुन जरुरी छ । राष्ट्रवाद फुलाएर, जनता भुलाएरमात्र राजनीतिक लाभ सिद्ध हुन्छ भन्ने अन्तर्निहीत उद्देश्य राखेर यस्ता समस्या बल्झाउन खोज्नु निरर्थक प्रयास हो ।

यो घटनाले अघिल्लो वर्षको एउटा घटना स्मरण गरायो । तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली २०२१ को जनवरीमा भारत भ्रमणमा जाँदा ‘इन्डिया काउन्सिल अफ वर्ल्ड अफेयर्स’ले आयोजना गरेको कार्यक्रमको ब्यानरमा नेपालको पुरानै नक्सा राखिएको थियो ।

ज्ञवाली परराष्ट्रमन्त्री हुँदा पुरानै नक्सासहितको ब्यानरमा मन्तव्य दिन राजी भएका थिए त ?

आयोजकको असावधानीले भएको यो कमजोरीको ज्ञवाली शिकार भएका थिए । यस्ता संवेदनशील मुद्दालाई रोमाञ्चकता र एकअर्काको राजनीतिक करिअरलाई हानी गर्ने तिकडमबाजीबाट अभिप्रेरित व्यवहारले अन्ततः मुलुकलाई घाटा हुनेछ । हामीले समस्यालाई समाधानतिर लैजाने हो, उश्रृंखल बखेडा सिर्जना गरेर यसलाई अल्झाउने होइन ।

सीमाको विषय राष्ट्रिय सहमतिबाट समाधान गर्नुपर्छ । दलहरूले यसलाई अतिराजनीतिकरण गरेर देशभित्र राजनीतिक लाभका लागि मात्र प्रयोग गर्ने हो र दलहरूबीच हुने ‘ब्लेम–गेम’ (आरोप–प्रत्यारोपको खेल)ले हाम्रो आवाज खण्डित हुनजान्छ । जसले गर्दा क्रमशः भारतले हामीले उठाएका यी विषयमा गम्भीरतापूर्वक ध्यान (सिरियस अटेन्सन) दिन छाड्छ । सबै दलहरूले पहिले नक्सामा भएको भूमि फिर्ता ल्याउने साझा उद्देश्य हासिल गरौं । को बढी राष्ट्रवादी भन्ने मूल्यांकन गर्ने जिम्मा जनतामा छाडिदिउँ । 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x