समुन्नत नेपाल
‘भन्न नहुने कुरा, गाउन नहुने गीत’को गतिमा उद्योग
अहिले नेपालमा उद्योग व्यवसायको अवस्था विकराल स्थितिमा पुगेको छ । कारण उद्योगी, व्यवसायीले विद्युत् पाएका छैनन् । उद्योगका लागि लोडसेडिङ घोषणा भएको छ । सबै उद्योगहरूले लोडसेडिङको सामना गर्नु परेको छ । बैंकहरूमा लिक्युडिटी छ । तर पैसाको अभाव छ । उद्योगहरूलाई चाहिने नै पैसा हो । त्यसको लागि एलसी खोल्नु पर्यो । कच्चा पदार्थको लागि सिआरआर रेसियो ९४ प्रतिशतसम्म पुगेको छ । अर्कोतर्फ एलसी खोलेपछि राष्ट्र बैंकले समयमा पैसा दिनु प¥यो । उद्योगलाई चाहिने कच्चा पदार्थ ल्याउन निकै गाह्रो छ । उदाहरणको लागि मेरो मिललाई एक महिनामा १० हजार टन कच्चा पदार्थ चाहिन्छ । हामीले मात्रै प्राइम क्वालिटी बिलेड प्रयोग गर्छौं । त्यसबाट हामी टिएमटी रड बनाउँछौं । टिएमटी भनेको थर्म मेकानिकल प्रक्रियाबाट उपचार गरिएको डण्डी हो । उद्योगका लागि चाहिने १० हजार टन भए पनि अहिले २७ सय टन मात्र ल्याएर हामी कसरी उद्योग सञ्चालन गरेर बाँच्न सक्छौं ? यो प्रश्न निकै टड्कारो बनेको छ ।
सरकारले भन्दा राष्ट्र बैंकले नोटिस जारी गर्दा उद्योगका लागि कच्चा पदार्थ रोकेको छैन भनिन्छ । यता रोकेको छैन तर उता बैंकहरूसँग पैसा छैन । उद्योग सञ्चालनका लागि मुख्य कुरा बिजुली पनि छैन । उद्योगहरूका लागि दैनिक १२ घण्टा लोडसेडिङ छ । नेपालको औद्योगिक क्षेत्र भनेको खासमा बारा र पर्सा जिल्ला हुन् । दुवै जिल्लामै पिक आवरमा विद्युत सेवा बन्द गरिएको छ । बेलुकी ६ बजेदेखि राति ११ बजेसम्म पावर बन्द छ । राति ११ बजेदेखि उद्योग चलाउन थाल्दा पनि घरिघरि बन्द हुन्छ । पावर बन्द हुँदा चलिरहेको मेसिन बन्द हुँदा धेरै नोक्सान व्यहोर्नु पर्ने हुन्छ । घरिघरि बत्ती जाँदा ४.५ पिस ब्लेड नोक्सान हुन्छ । चलिरहेको मेसिन रोकिँदा हुने प्राविधिक नोक्सान यस्तो छ ।
बाहिरबाट यसो हेर्दा उद्योगपति, उद्यमी ठीक देखिन्छन् । उनीहरूले बैंकको कर्जा लिएका हुन्छन् । कर्जा तिर्नका लागि उद्योग व्यवसाय राम्रोसँग चल्नुपर्ने हुन्छ । तर, धेरै तर्फको मारमा उद्योगी व्यवसायी परेका हुन्छन् । उद्योगी व्यवसायीहरूमाथि चन्दाको आतंक उत्तिकै छ । जागिर दिनुपर्ने प्रेसर पनि उत्तिकै हुन्छ । अब झन चुनाव आइरहेको छ । चन्दा माग्न आउन थालिसके । साहुहरू बस्नै नसकिने अवस्था आउँदैछ । एउटा उखान छ, ‘भन्न नहुने कुरा, गाउन नहुने गीत ।’ यो हाम्रो दुखेसो हो । उद्योगी, व्यवसायीले भोग्नु परेका यस्ता समस्या धेरै छन् । घाउ बल्झिरहेको हुन्छ तर, मानिसहरूले पत्यार नै गर्दैनन् । खाली खुट्टा हिँड्ने भरियालाई मात्रै पीडा थाहा हुन्छ, जुत्ता लगाउनेलाई के थाहा ?
पहिलो कुरा उद्योग, व्यवसाय खोल्न सजिलो छैन । यदि कसैले लगानी गर्न खोज्दैछ भने यहाँ थुप्रै नीतिगत झन्झट छन् । यहाँ कर्मचारीले त घोडा चढ्छ । कुनै कामकाज गर्नलाई सरकारी तवरबाट सकेसम्म हुनै दिँदैनन् । यहाँ उद्योगको लाइसेन्स लिनका लागि उत्तिकै सकस छ । त्यसलाई चाहिने विद्युत् लिनका लागि अर्को गाह्रो छ । वन तथा वातावरण मन्त्रालयबाट स्वीकृति लिनुपर्ने हुन्छ । यो सबै झन्झट पार गरेर आउँदाखेरि पनि हामीले उत्पादन गर्ने कच्चा पदार्थ पाउँदैनौं । उद्यमीहरूले विद्युत् लोडसेडिङको समयमा बिजुली चलाएमा हामीलाई हर्जना तिराइन्छ । हर्जनाको मुद्दा अहिलेसम्म सर्वोच्च अदालतमा विचाराधीन नै छ । टिओडी प्लस मिटरको शुल्क लगाइन्छ । नेपाल विद्युत् प्राधिकरणले उद्यमीहरूसँग १२ अर्ब रूपैयाँ लिन बाँकी भएको दाबी गरेको छ । तर, एकपैसा पनि तिर्न बाँकी छैन । नीतिगत झन्झट सँगसँगै एउटा उद्यमीले धेरै समस्या झेल्नु परेको छ । चलिरहेको आर्थिक वर्षमा छड बनाउने ब्लेड र सेकेन्ड ग्रेड ब्लेडको मूल्यमा १० रूपैयाँ फरक छ । सेकेन्ड ग्रेड ब्लेडको मोलमा भन्सार, अन्तशुल्क निशुल्क छ । प्राइम टाइमको ब्लेडमा बढी शुल्क लगाइएको छ । प्राइम क्वालिटी बनाउने निश्चित ग्रुपहरू छन् । सेकेन्ड ग्रेड ब्लेड बनाउनेहरूले लबिङ गरेर सरकारले अन्तशुल्क छुट दियो । तर, प्राइम टाइम ब्लेडलाई स्रोतबाटै अन्तशुल्क लगाइएको छ । हामी विश्व व्यापार संगठनको सदस्य पनि हौं । त्यसकारण पनि हामीले स्रोतमै मूल्य नतिरेर उत्पादन भएपछि मात्रै कर तिर्न पाउनुपर्छ । नक्कली ब्लेड बनाउनेसँग हामी कसरी प्रतिस्पर्धा गर्ने ? अर्थ मन्त्रीले नक्कली ब्लेड नै बनौन पट्टि लाग्न सुझाव दिनुभयो । हामा, हिमायलन, पञ्चकन्याले सक्कली डण्डीबाटै ब्लेड बनाउने गरेका छन् । सरकारकै तथ्यांक अनुसार पहिले ९० हजार टन कच्चा पदार्थ आउँथ्यो भने अहिले ९ लाख टन आएको छ । बढी आएको सेकेण्ड ग्रेड ब्लेडमा भन्सार पनि छैन अन्तशूल्क पनि छैन ।
यता अन्तशुल्कमा पनि विभेद छ । सेकेन्ड ग्रेड ब्लेड बनाउनेलाई अन्तशुल्क, भन्सार निशुल्क छ । यसले गर्दा देशको राजस्व गुमेको छ । उता सक्कली डण्डी बनाउनेलाई अन्त शुल्क थपिएको छ । यसले सक्कली डण्डीको भाउ बढेको छ । यसले सरकारको राजस्वमा नोक्सानी पुगेको छ । रसिया, युक्रेनको युद्धका कारण हरेकमा मूल्य बढेको छ । बजारमा प्राइम क्वालिटी ब्लेड ८ सय डलर पुगेको छ । यता डलरको भाउ पनि बढेको छ । अन्तशूल्क भनेको चीज भन्सारको स्रोतमा लगाउन मिल्दैन । स्रोतमै अन्तशुल्क लगाइँदिँदा ब्लेडको निर्यात घटेको छ । कमजोर डण्डी उत्पादनतर्फ देश गैरहेको छ । नक्कलीतर्फ गैरहेको छ । प्राइम क्वालिटीबाट बन्ने छठ घटेको छ । इन्डक्सन फर्नेसतर्फ जानु हुँदैन र प्राइम क्वालिटीमै जानु पर्ने हो । कमजोर निम्न स्तरको डन्डीमा देशको जग हालिँदैन, देशै नभए पछि मन्त्री, राजस्व, कर केही होला र ?
स्थानीय, नीतिगत समस्यालाई समाधान गर्न सरकारले ध्यान दिनुपर्छ । यही कारणले विदेशी प्रत्यक्ष रूपमा लगानीमा आउन सकेका छैनन् । लाइसेन्स लिने झन्झट छ । त्यसमाथि बिजुली छैन । उद्यमीहरूलाई परेको भार आखिर उपभोक्तालाई पर्ने हो । यो सरकारले सोच्नुपर्ने कुरा हो । जहाँ पनि मिलोमतो नभइ कामै बन्दैन । हरेक क्षेत्रमा कार्टेल, सिन्डिकेट छ । हामीले यी कुरा सुनाउन सबै पार्टीका अध्यक्ष भेट्यौं, अर्थमन्त्री भेट्यौं । हाम्रो कुरा कसले सुन्ने ? अर्थमन्त्रीले सिधै नक्कली डण्डी उत्पादन गरन भने । देशमै केही गरौं भन्ने हामीहरूलाई सरकारले सहयोग गर्न सकेको छैन ।
कच्चा पदार्थ आउने गोदाम देशको पारीपट्टि हुन्छ । ७० टन बोकेर आएको छ भने ४० टन भनिन्छ । भन्सार, अन्तशुल्क, कर छल्नका लागि कम भनिन्छ । हरेक पटक भनिरहँदा पनि सुधार हुन सकेको छैन । म कर्ममा विश्वास गर्छु । अरु पैसामा विश्वास गर्छन् होला । काही पैसाको पछिपछि छैनौं । निष्ठा र गुणस्तरमा विश्वास गर्छौं । कुनै न कुनै दिन त हामी सफल हुन्छौं । सहौं सहौं सहौं, सहनै नसकिने भए पनि सहौं । यही दर्शनले नै म बाँचिरहेछु । उद्यमीहरूको बैंकको ऋण हुन्छ । देशलाई विकसित बनाउन मैले फलामको काम थालें । २०२९ सालदेखि फलामको काममा लागेको हो । आज यो कामको उमेर ४९ वर्ष पुगिसक्यो । धेरै कुरा सिकें । अझै कति हण्डर, ठक्कर खानु छ । तर, सफल त्यही हुन्छ जसले असल काम गर्छ । अहिलेसम्म फेल भएको छैन ।
हामा अर्थात् हारती माता
हामा स्टिल्स नाम । स्वम्भूमा एउटा मन्दिर छ हारती माता । जब मैले एसएलसी पढ्दै थिएँ, त्यस समयमा बिहान स्वम्भूबाट हिँडेर हरेक बिहान पशुपतिनाथ पुग्थें । फर्केर आएपछि म स्वयम्भू जान्थें । म जुनसुकै काम गर्दा पनि हारती माताको नामबाटै गर्थें । हारती माता नाम लामो भएकाले हामा नाम राखेको हुँ । सन् १९७० मा ओशाका जापानमा एक्सपो ७० भयो । म जापान गएँ । जापान कसरी सफल भयो भन्ने अध्ययन गरें । जापानमा आफ्नो कच्चा पदार्थ केही छैन । विदेशबाट कच्चापदार्थ लिएर प्रशोधन गरेर बेच्ने । त्यो बेच्ने पोर्टको नाम याकोहामा । जापान आफैले पनि यस पोर्टलाई गुडलकको रूपमा लिने गरेको छ । मैले पनि हामा पनि गुडलक ठानी नाम राखेको हुँ । अर्को अर्थ हा भनेको बिउ र मा भनेको बिरुवा पनि हो । बिउ राम्रो भए पो बिरुवा राम्रो हुन्छ । नेवारी संस्कृतिमा घरको मुलीलाई हामा भन्छन् । मूली राम्रो भए पो शाखा सन्तान असल हुन्छ । यसकारण धेरै सोचेर हामा राखेको हुँ । यही सोचअनुसार काम गर्दै गएको छु ।
*समुन्नत नेपाल गुठी एउटा सार्वजनिक गुठी हो । यस गुठीले क) राष्ट्रिय एकता, सुरक्षा र आत्मनिर्भरता ख) सदाचार स्थापना र भ्रष्टाचार नियन्त्रण ग) साँस्कृतिक तथा प्राकृतिक विविधताको संरक्षण घ) परराष्ट्र सम्बन्ध का क्षेत्रमा अनुसन्धात्मक र विश्लेषण, नीति-निर्माण र कार्यान्वयनमा सहयोग र सल्लाह तथा पैरवी, जागरण र उत्प्रेरणा जस्ता कार्य गर्दछ ।
प्रतिक्रियाका लागि : [email protected]
समुन्नत नेपाल
- जलवायु परिवर्तन र नेपालको अस्तित्वको सवाल
- हुलाक टिकटमा नेपालको इतिहास : जिउँदा सत्यमोहनदेखि दिवंगत राजा वीरेन्द्रसम्म
- प्रधानमन्त्री देउवाको भारत भ्रमण : धरमराइरहेका आधारभूत पक्ष
- मन्त्रीजीको भ्रष्टाचार चर्तिकला !
- संविधानमा रहेका आयोगहरूको उपयोग र औचित्य
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया