पर्यटन

बागमतीमा पर्यटक लाेभ्याउन भ्यूटावर, २३ करोड बढी खर्च

इकागज |
साउन २५, २०८० बिहीबार २१:५१ बजे

मकवानपुर- नेपाल भौगोलिक रूपमै दृश्यावलोकनीय छ । प्राकृतिक छटाले भरिपूर्ण यहाँको सम्पदाको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटनको आवागमन हुने गरेको छ । आर्थिक पाटोमा पनि यसको योगदान हुने गरेको छ । यसमा अझै आकर्षण बढाउन र समय सापेक्ष माग पूरा गर्न भन्दै बागमती प्रदेश सरकारले झण्डै २४ करोड खर्च गरेको छ ।

प्रदेशका विभिन्न जिल्लाको विभिन्न स्थानमा पर्यटकीय आकर्षणका लागि भ्यूटावर निर्माणार्थ २३ करोडको हाराहारीमा लगानी गरिएको हो । प्रदेश सरकारले प्रदेशको विभिन्न नौ जिल्लामा एक एक वटा भ्यूटावर अर्थात दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ । पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्ममा नौ वटा भ्यूटावर बनाउन २३ करोड ८७ लाख ८८ हजार ७६८ रुपैयाँ खर्च भएको छ ।


बागमती प्रदेशका १३ जिल्लामध्ये मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, सिन्धुली, नुवाकोट, धादिङ र दोलखामा भ्यूटावर सम्पन्न भएको हो । २०७६ सालमा सम्झौता गरेर २०७९ सालसम्ममा सबै भ्यूटावर को निर्माण सकिएको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अमृतकुमार श्रेष्ठले बताए । उपत्यकाका तीन जिल्ला र  चितवन जिल्लामा भने भ्यूटावर निर्माण गरिएको छैन ।

मकवानपुर जिल्लाको चित्लाङ ‘हिल स्टेसन’ निर्माणका लागि प्रदेश सरकारले दुई करोड ९९ लाख ४१ हजार ८७३ रुपैयाँ लगानी ग-यो । नुवाकोटको ककनी ‘हिल स्टेसन’ तीन करोड ३२ लाख ३२ हजार ६५९ रुपैयाँमा निर्माण गरिएको छ । यसैगरी सिन्धुपाल्चोकमा तीन करोड पाँच लाख २६ हजार ८७८ रुपैयाँमा भ्यूटावर निर्माण भएको थियो । पर्यटन विकास आयोजना, हेटौंडा अन्तर्गत निर्माण भएका यी ‘हिल स्टेसन’ २०७६ सालमा सम्झौता भई २०७७ सालमा निर्माण सकिएका थिए ।

२०७७ सालमा सम्झौता भई २०७८ मा सम्पन्न भएका ‘हिल स्टेसन’ मा काभ्रेको रोसी भूमिचुलीमा दुई करोड १९ लाख ८१ हजार ६५३ रुपैयाँ, रामेछापको गोगनपानी सुलीथुम्का खाँडादेवी–५ मा दुई करोड ६५ लाख ८६ हजार ३४७ रुपैयाँमा र सिन्धुली जिल्लाको सिद्धबाबा चुचुरोमा दुई करोड सात लाख ५५ हजार ९२० रुपैयाँमा भ्यूटावर निर्माण भएको मन्त्रालयले जनाएको छ ।

नुवाकोटको चिम्टेश्वरमा दुई करोड ७४ लाख ३८ हजार ७६८ रुपैयाँमा,  धादिङको तोप्लाङमा दुई करोड १८ लाख ८९ हजार ६६९ रुपैयाँमा र दोलखा जिल्लाको जिरी ‘हिल स्टेसन’ दुई करोड ६४ लाख ३४ हजार ९९६ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ। यी ‘हिल स्टेसन’ २०७७ सालमा सम्झौता भई २०७९ मा सम्पन्न भएका हुन् । पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनाका अनुसार भ्यूटावरसँगै शौचालय र सभा हल पनि निर्माण भएका छन्  । भौतिक संरचनाको प्रगति पूरै भए पनि लागत अनुमानको ९० प्रतिशत खर्च भएको श्रीवास्तवले बताए ।

५ वर्षमा निर्माण सम्पन्न भएका यि भ्यूटावरहरू सम्बन्धित निकायलाई हस्तान्तरण गर्न बाँकी छ । भ्यूटावर निर्माणभन्दा मुख्य सवाल प्रभावकारी सञ्चालनसँग जोडिएको हुन्छ । निर्माण भएका पर्यटकीय पूर्वाधारको प्रभावकारी सञ्चालन, दिगो व्यवस्थापन र  समुचित उपयोगका लागि कार्यविधि निर्माण गरेर मात्रै सम्बन्धित निकायलाई हस्तान्तरण गर्न तयारी भइरहेको छ । पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७९ को मस्यौदा सहमतिका लागि साउन ९ गते आर्थिक मामिला तथा योजना मन्त्रालय पठाइएको छ ।

पर्यटन विकास आयोजना हेटौँडाका प्रमुख रोशनकुमार श्रीवास्तवका अनुसार मस्यौदामा निर्माण सम्पन्न भइसकेका भ्यूटावर स्थानीय तहलाई हस्तान्तरण गरिने प्रावधान छ । स्थानीय तहले व्यवस्थापन गर्न नसके निजी क्षेत्रलाई र वन क्षेत्रमा बनेका भ्यूटावर सम्बन्धित सामुदायिक वनलाई व्यवस्थापनको जिम्मेवारी दिने गरी मस्यौदा तयार गरिएको छ ।

कार्यविधिको मस्यौदामा पर्यटन पूर्वाधार वा सम्पदा परिसर प्रवेशमा लाग्ने प्रवेश शुल्कलगायतका शुल्क स्थानीय तहले तोकेबमोजिम हुने र निजी क्षेत्रको हकमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी शुल्क निर्धारण गर्न सकिने उल्लेख छ । पूर्वाधारको सेवा शुल्कबाट प्राप्त रकमको कम्तीमा १० प्रतिशत पर्यटन पूर्वाधार वा सम्पदाको संरक्षण, प्रवर्द्धन र विकासमा खर्च गरिनुपर्ने व्यवस्था छ ।

अधिकांश भ्यूटावरहरू सम्बन्धित स्थानीय तहहरूले नै चलाउन इच्छा देखाएको बुझिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–४, च्याउकोट सिद्धबाबाका वडाध्यक्ष महेन्द्र ढकालले भ्यूटावर निर्माण सम्पन्न भइसकेको र प्रदेश सरकारबाट हस्तान्तरणपछि स्थानीय तहमार्फत चलाइने बताए । यो स्थान धार्मिक र पर्यटकीय स्थल भएकाले अहिले पनि तराईतिरबाट आन्तरिक पर्यटक घुम्न आउने गरेको उनले बताए ।

नेपालको डाँडाकाँडाहरूले नै प्राकृतिक भ्यूटावरको काम गरिरहेको भन्दै यस्तो क्षेत्रमा गरिएको लगानी प्रभावकारी नभएको टीकाटिप्पणी तीन वर्षअघि व्यापक आएको थियो । यद्यपि प्रदेश सरकारले लगानी र निर्माण कार्यलाई निरन्तरता दिँदै ९ वटा भ्यूटावरको निर्माण कार्य लगभग सकेको हो ।


Author

थप समाचार
x