रीतिरिवाज

तराई क्षेत्रमा राखी बाँधिदै

आज जनैपूर्णिमा मनाइँदै

इकागज |
भदौ ६, २०७८ आइतबार ६:४० बजे

काठमाडौं - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्‍नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ।


यसै कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्‍ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ।

आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बसिन्छ। यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गइ गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्‍नान गर्दछन्। यसलाई श्रावणी स्‍नान पनि भनिन्छ।

स्‍नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ। अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विस्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ। रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदीको किनार र काठमाडौं उपत्यकालगायत देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ। यस वर्ष नयाँ भेरियन्टसहितको कोभिड जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी सांस्कृतिक पर्व मनाउन सरकारले आह्वान गरेको छ।

क्‍वाटी खाने दिन
जनैपूर्णिमाका दिन ११ थरिका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्‍वाटी खाइन्छ। यसरी क्‍वाटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्‍वाटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक हरू बताउँछन् । 

तराई क्षेत्रमा राखी बाँधिदै

महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘राखी’ पर्व मनाइँदै छ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यस पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो । पर्वका लागि  दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिला नै आज राखीमय देखिँदो छ ।

आज एकाबिहानैदेखि यस क्षेत्रका बजार खुलेका छन् । रङ्गीचङ्गी ‘राखी’ जताततै बेच्न राखिएका छन् । पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङका रक्षासूत्र किन्न बस्तीका चोकचोकमा मिथिलानी (मिथिलाका नारी)को भीड नै देखिएको छ । राखीसँगै मिथिलानी दाजुभाइलाई खुवाउन मिष्ठान्न परिकारका जोहोमा लागेकाले मिठाइ पसल पनि भरिभराउ छन् ।

पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । मिथिलामा यस पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् । अविवाहित चेलीको त दाजुभाइकै घर आफ्नो भएकाले घरमै पर्वका तयारीमा किशोरी र मैथिल नवयौवना व्यस्त देखिएका छन् । स–साना नानीहरुका घरका अभिभावकले सहयोग गर्दछन् ।

मिथिलाका सबै क्षेत्रमा आज दाजुभाइ/दिदीबहिनीबीच प्रेम, सद्भाव र एकअर्काप्रतिको समर्पण भाव झल्कने गीत गुञ्जिरहेका छन् । मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेकाले विगतमा हिन्दू, मैथिल परम्पराको यो पर्व अब सबै भाषाभाषी र धर्म समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य  तोपबहादुर ठकुरी बताउनुहुन्छ । सबैतिर राखी पर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्रमा आज बजारु चहलपहल ह्वात्तै बढेको छ । मिथिलामा साउन शुक्लपक्ष सुरु भएसँगै यस पर्वको तयारी सुरु हुने गरेको छ ।

पर्वमा दिदीबहिनीले राखी बाँधिदिएर मिष्ठान्न परिकार खुवाएपछि दाजुभाइले वस्त्रआभूषण र नगद दक्षिणा  चेलीलाई दिने गर्दछन् । हिन्दू परम्पराको रक्षावन्धन पर्वकै एक अङ्गका रूपमा राखी स्थापित भएको यहाँका वुद्धिजीवी बताउँछन् । रक्षावन्धन पर्वमा गुरुपुरोहितले अभिमन्त्रित डोरा शिष्य र यजमानलाई बाँधिदिने चलन पनि मिथिलामा छ । यद्यपि पर्वको मुख्य आकर्षणचाहिँ दिदीबहिनीले बाँधिदिने राखीकै हुने गरेको बर्दिवास–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतो बताउँछन् ।

अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज बलिलाई उनका गुरु शुक्राचार्यले देवतासँगको युद्धमा जानअघि शास्त्रोक्त विधिले अभिमन्त्रित गरिएको डोरा (रक्षाकवच, रक्षासूत्र) बाँधिदिएका विश्वासको परम्परामा पुरोहितबाट डोरा बाँध्ने चलन छ । त्यसैसँग जोडिएका अर्को प्रसङ्गमा बलिका बहिनी गङ्था र यमुनाले युद्धमा जानअघि विजयको कामना गर्दै हातमा रक्षावन्धन (रक्षाकवच) बाँधिदिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधिदिने परम्परा बसेको जिल्लाकै मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत विद्यापीठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिको भनाइ छ ।

राखी पर्व मिथिलामा सबै जातजाति, सम्प्रदाय र धर्मावलम्बीले मनाउने गरेका छन् । एक अर्को परम्पराभित्रका समुदायले आपसी देखासिकी र घुलमिलले पर्व साझा बन्दै गएका पाका मैथिल बताउँछन् । पछिल्लो दशकमा अत्याधुनिक सूचना र सञ्चार प्रविधिको विकासले फरक–फरक परम्पराका समुदाय एकाकार बन्दै गएर पर्व साझारूपमा मनाउन थालेका जिल्लाकै रामगोपालपुर नगरपालिका–२ महनपुरका इस्लाम धर्मावलम्बी  सकिवुल खानले जानकारी दिए।

मिथिलामा केही वर्षयता मधेशमा बस्ने पर्वते मूलका हिन्दू मात्र नभएर इस्लाम धर्मावलम्बी युवा पनि हिन्दू परिवारकी चेलीलाई दिदीबहिनी मानेर राखी बधाउन थालेका छन् । यो आपसी हेलमेल र सामाजिक, सांस्कृतिक सद्भावको अपूर्व नमूना बनेको भङ्वगाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा  सिद्धपुरका नेपाली भाषाका शिक्षक कमलबहादुर श्रेष्ठको भनाइ छ । रासस


Author

थप समाचार
x