रीतिरिवाज

हलेसीमा कोभिडपछिको ठूलो मेला, आज सार्वजनिक बिदा

इकागज |
मंसिर १७, २०७८ १२:५४ बजे

खोटाङ - खोटाङको त्रि-धार्मिक स्थल हलेसीमा दुई वर्षपछि बालाचतुर्दशी मेला लागेको छ । कोभिड-१९ को महामारीका कारण गत वर्ष स्थगित गरिएको बालाचतुर्दशी मेला यस पटक लागेको हो । हलेसीमा कोभिड सुरू भए यताकै ठूलो मेला लागेको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए । 

बालाचतुर्दशी अवसरमा हलेसीमा बिहीबारदेखि नै ठूलो मेला सुरू भएको छ । बालाचतुर्दशीका दिन हलेसीमा आफ्ना दिवंगत आफन्तको सम्झनामा शतबिज छर्नका लागि दर्शनार्थीको बाक्लो भिड लागेको थियो । मेला भर्न तथा दर्शन गर्नका लागि हलेसीमा जिल्लाभित्र तथा बाहिरका हजारौं दशानार्थीको घुइँचो लागेको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।


हलेसीमा बालाचतुर्दशी मेलाको अगाडि र पछाडि गरी हप्ता दिनसम्म मेला लाग्ने गरेको छ । कोभिडका कारण ८ चैत २०७७ देखि १६ मंसिर २०७७ तथा चालू आर्थिक वर्षको १५ वैशाखदेखि २७ भदौसम्म हलेसी बन्द गरिएको थियो । 

भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराँती समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसंभवले बोधिसत्व प्राप्त गरेको, नजिकै किरात समुदायको आदिम थलो तुवाचुङ स्थल रहेको लगायतका आधारमा हलेसीलाई त्रि(धार्मिकस्थल मान्ने गरिएको छ ।

मेलाका लागि सार्वजनिक बिदा 

बालाचतुर्दशी मेलाको अवसरमा हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा पर्ने हलेसीमा लाग्ने मेलालाई लक्षित गर्दै नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको हो । 

हिन्दु, किराँत र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा लाग्ने मेलाई थप बृहत बनाउनका लागि नगरपालिकाले प्रत्येक मेलाको अवसरमा सार्वजनिक बिदा दिँदैआएको छ । 

यस्तै, बालाचतुर्दशी मेलाकै अवसरमा रावाबेँसी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको छ । रावाबेँसी गाउँपालिका-६ हौंचुरको जुडी महादेवस्थान मन्दिरमा लाग्ने मेलालाई लक्षित गर्दै गाउँपालिकाले एक दिन सार्वजनिक बिदा दिएको हो ।  न्युज कारखाना


 



Author

थप समाचार