रीतिरिवाज

जनकपुरमा विवाह पञ्चमीको पूर्वसन्ध्यामा 'मटकोर' सम्पन्‍न

सुभाष कर्ण |
मंसिर २१, २०७८ मंगलबार १७:५९ बजे

जनकपुरधाम- श्रीराम जानकी विवाह पञ्चमी महोत्सवको पूर्वसन्ध्यामा मंगलबार मटकोर उत्सव सम्पन्न गरिएको छ ।

जनकपुरधाम स्थित पवित्र सरोवर गंगा सागर पोखरीबाट विवाहका लागि वेदी बनाउन माटो खनेर सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मटकोर विधि मनाइएको हो । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको नेतृत्वमा मन्दिरबाट बाजागाजाका साथ साधु सन्त सहित हजारौ श्रद्धालुको सहभागितामा मैथिली वैवाहिक गीत गाउंदै माटो खन्न गंगा सागर पोखरी पुगेका थिए ।


माता सीताको स्वरुपलाई पुजापाठ गरी गंगा सागरको डिलमा खनिएका ती माटो वेदीका लागि मन्दिरमा भित्र्याइएको छ । सोही माटोले विवाहका बन्ने बेदी (मडवा) मा प्रयोग गरिनेछ ।

सो मटकोर कार्यक्रममा प्रदेशका उप सभामुख उपमा देव, उद्योग, पर्यटन तथा वातावरण मन्त्री शत्रुध्न महतो, प्रतिनिधिसभा सदस्य जुली महतोलगायत, प्रशासनिक निकाय र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

मिथिला विवाह पद्धति अनुसार विवाहका लागि बनाइने वेदीका लागि माटो खनिने विधिलाई मटकोर भनिन्छ । वेदीका लागि प्रत्येक वर्ष गंगा सागर पोखरीबाटै माटो खनिँदै आएको छ ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि मंसिर शुक्लपञ्चमी तिथिका दिन विवाह पञ्चमी महोत्सव मनाइने छ । मिथिला विवाह परम्परा अनुसार विवाहका हरेक विधि अपनाइनेछ । दिउँसो तिर रंगभूमि मैदानमा स्वयंवर र भगवान श्रीराम र माता जानकीको डोला मिलनक गरिनेछ । सो डोलालाई नगर परिक्रमा गराइने छ ।

बेलुका तिर वैवाहिक कार्यक्रम आयोजना गरिनेछ । सो वैवाहिक कार्यक्रममा अयोध्याबाट आएका साधु सन्तहरु जन्तीको रुपमा उपस्थित हुनेछन् । वैवाहिक कार्यक्रममा प्रत्येक वर्ष झै यसवर्ष पनि माता सीताको अभिभावकको भूमिका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र भगवान श्रीरामको अभिभावकको भूमिका अयोध्या लक्ष्मण किलाधिशबाट महन्थले निर्वाह गर्नेछन् ।

अन्तिम दिन जन्तीलाई भोजन र सम्धी मिलन सहित रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यअसघि नगर दर्शन, फुलवारी लिला, धनुष यज्ञ र तिलकोत्सव सम्पन्न भइसकेको छ ।  

त्रेतायुगमा भगवान राम र सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा मंसिर शुक्ल पञ्चमी तिथिका दिन हर्षोल्लास एवं धूमधामका साथ विवाह पञ्चमी महोत्सव मनाइदंै आएको छ । विवाह कार्य सम्पन्न गर्न कम्तिमा ७ दिन लाग्ने भएको हुनाले केही दशकदेखि सप्ताहव्यापी कार्यक्रम आयोजना गरिदै आएको छ ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x