सप्ताहन्त

जनकलाल शर्मा-५

नेपालीमा यस्तो शैली र क्षमता भएको अर्को निबन्धकार छैन

डा. गोविन्दराज भट्टराई |
बैशाख १८, २०७८ शनिबार ८:२४ बजे

नेपाली साहित्यमा जनकलाल शर्मालाई नपढ्ने कोही छ जस्तो लाग्दैन । शर्माका ‘जोसमनी सन्त परम्परा र साहित्य’, ‘महाकवि देवकोटा : एक व्यक्तित्व दुई रचना’, ‘कौतुकमय डोल्पो’, ‘जनकलाल शर्माका प्रबन्ध’जस्ता कृतिले उनको अभिरुचिका भनौँ, क्षमताका विशेष क्षेत्र थिए भन्‍ने देखाउँछ । त्यसका साथै उनमा रहेको अभिव्यक्ति सामथ्र्यको विविधतालाई पुष्टि गर्दछन् । जनकलालका यस्ता कृतिको अध्ययनबाट प्रभावित हुनेमध्ये म आफूलाई एक पाठक ठान्दछु ।

चार वर्षअघि साझा प्रकाशनद्वारा प्रकाशित ‘जनकलाल शर्माका संस्मरण’ शीर्षक कृतिमाथि परिचय समीक्षा लेख्ने अवसर पाएको थिएँ । डा. सुमन ढकाल एवं डा. माधव पोखरेलद्वारा सम्पादित उक्त कृति जनकलालज्यूको संस्मरणात्मक निबन्ध सिर्जनामा विशिष्ट क्षमताको परिचय दिन्छ ।


प्रस्तुत कृति ‘मेरो निबन्ध अधुरै रह्यो’का विषयमा लेख्ता अघिल्लो कृतिको अलिकति प्रसंग नउठाई नहुने भएको छ । त्यसमा रहेका ३४ वटा निबन्धमध्ये २५ वटा चाहिँ २२ जना प्रसिद्ध व्यक्तिसँग जोडिएका छन् । ती हुन् : चन्द्रधर उप्रेती, पण्डित वासुदेव भट्टराई, बाबुराम आचार्य, धर्मरत्न यमी, विश्वेश्वरप्रसाद कोइराला, राहुल सांकृत्यायन, बालकृष्ण सम, ऋद्धिबहादुर मल्ल, ईश्वर बराल, पूर्णप्रसाद ब्राह्मण, गोपाल पाँडे असीम, धरणीधर कोइराला, केशवराज पिँडाली, खड्गमान मल्ल, सूर्यविक्रम ज्ञवाली र धनवज्र बज्राचार्य । 

यी नामबाटै थाहा हुन्छ, जनकलालका सम्झनामा गाँसिएकाहरू नेपालको राजनैतिक, शैक्षिक, सांस्कृतिक इतिहासका विशिष्ट व्यक्ति रहेका छन् । यीमध्ये एक पात्र महापण्डित राहुल सांकृत्यायन भारतीय मूलका विद्वान् हुन् भने अर्का संस्कृतिविद् नेपाली सत्यमोहन जोशीबाहेक आज सबै दिवंगत भइसके । 

राहुल सांकृत्यायनको संस्मरण तीनवटा लगातार रचनामा फैलिएको छ भने बीपी कोइरालाको दुईवटामा । बाँकी प्रत्येक जनालाई एउटा रचनामा प्रस्तुत गरिएकाले पच्चीस रचनामा बाइस व्यक्ति सम्झिइएका छन् तर तीसँग उनिएर करिब चार सय पात्र यसमा प्रस्तुत छन् । ती २२ जना विशिष्ट व्यक्तित्वमध्ये एकजना हुनुहुन्छ– श्री सत्यमोहन जोशी, जो जनकलालज्यूको यो अर्को कृति विमोचनमा पनि उपस्थित हुनुहुन्थ्यो । यो ठूलो गौरवको कुरा हो । 

जनकलालज्यूको निधनपश्चात् प्रकाशित यो दोस्रो कृति (निबन्ध संग्रह) ‘मेरो निबन्ध अधूरै रह्यो’ । वास्तवमा यो शीर्षकमा सांकेतिकता पनि छ । जीवनको अन्त्य कालसम्म सक्रियरूपले लेखिरहेका जनकलालका कति निबन्ध, कथा र आंकाक्षाहरू अधूरै रहेका हुन सक्छन् । यो त्यसको एउटा संकेत पनि हुन सक्छ । 

एउटा स्वप्नलोक र विभ्रान्तिमा विचरण गरिरहेको बेला जब कटु यथार्थले छोप्छ, जब श्रीमतीले तरकारी किन्‍ने पैसा माग्छिन्, तब उनी झस्किन्छन्, अब मनमा उठेको निबन्ध अधूरै हुने भयो जस्तो लाग्छ तर यत्तिकैमा यो निबन्ध पूरा भइसकेको हुन्छ । यो हो- उनको विशिष्ट कलात्मकता ।

प्रस्तुत निबन्ध संग्रहमाथि श्री कृष्णचन्द्रसिंह प्रधानले लेख्नुभएको एउटा भूमिका ‘निबन्धकार जनकलाल शर्मा : एक कथ्य अनेक तथ्य’ । यो भूमिका यस कृतिमाथिको एक उत्कृष्ट समीक्षा हो । यो भूमिका हालै प्रकाशित ‘भूमिका : लेखकको आरम्भअघिका शब्दहरू’ शीर्षक ग्रन्थमा संकलित छ । मलाई लाग्छ, कृष्णचन्द्रसिंहज्यूले आजसम्म निबन्धमाथि लेखेका भूमिकामध्ये यो एउटा मास्टरपिस हो । 

उनको निर्भीकता, स्पष्टवादिता र इमानदारी साँच्चै नै नेपाली लेखकका निमित्त अनुकरणीय शक्ति शिल्प हुन् । त्यसमा पनि उनका निबन्धमा एउटा नृतत्वशास्त्री, समाजवेत्ता, इतिहासविद् र संवेदनशील साहित्यकार सँगसँगै बोल्दछन् ।

यो पढिसकेपछि जनकलालका निबन्धमाथि भन्‍नुपर्ने, बोल्नुपर्ने, मूल्याङ्कन गर्नुपर्ने कुनै कुरा बाँकी रहँदैन । त्यसकारण म अब तिनै कुरा दोहोर्‍याउन चाहन्‍न, बरु छेउभित्ता लागेर अन्य एकदुई कुरामाथि प्रकाश पार्न चाहन्छु, जुन कुरा प्रस्तुत भूमिकामा परेका छैनन् । ‘मेरो निबन्ध अधूरै रह्यो’भित्र १५ वर्षको अवधिमा रचित १४ वटा निबन्ध रहेका छन् । सबभन्दा पहिलो निबन्ध हो, दाहिनु शंख  । जसको रचना मिति २०३९ र अन्तिम निबन्ध चाहिँ २०५५ सालमा दिवङ्गत हुनुभन्दा एक वर्षअघि रचिएको थियो । त्यो निबन्ध हो, ‘आउने बेलामा हात्ती जाने बेलामा राती’ । यो  चितवन जङ्गल लजमा आयोजित एघारौँ साहित्य महोत्सवको सम्झना हो । यो द्वारिका श्रेष्ठज्यूको प्रायोजनमा सम्पन्‍न महोत्सवमा मनुजबाबु मिश्र, सुदन खुस, ध.च. गोतामे आदिसँग मनाएको साहित्यिक वन महोत्सवको प्रसङ्ग हो ।
सङ्कलनका सबै निबन्ध पूर्वप्रकाशित देखिन्छन्, पुस्तकमा त्यो कुरा उल्लेख भएको छैन । 

०००
१५ वर्षको अवधिमा रचित खासगरी गरिमा, मधुपर्क र अन्य पत्रिकामा प्रकाशित भएछन् । अन्तिम रचना प्रकाशित भएको ९ वर्षपछि कृष्णचन्द्रसिंहज्यूले भूमिका लेखिदिनुभएको सात वर्षपछि आज यो कृति प्रकाशनमा आएको छ । यसको भूमिका १ असोज २०५७ मा लेखिएको थियो । 

त्यसपछि प्रस्तुत कृति प्रकाशमा ल्याउन लेखकका पुत्ररत्न डा. सुमन ढकालले धेरै परिश्रम गरेको देखिन्छ भने गरिमाको जन्म कालदेखि नै जोडिएका श्री विष्णुविभु घिमिरेसमेत यसको सम्पादनमा संलग्न भएका छन्, यो खुसीको कुरा हो ।

यस कृतिको सम्पादन हुने क्रममा परोक्षरूपले म पनि एकदुई पल्ट संलग्‍न भएको थिएँ । यसको पाण्डुलिपि धेरैजसो नीलो मसीमा सुन्दर हस्ताक्षरमा थियो तर प्रत्येक पृष्ठमा १५ देखि २० टाउँमा रातो मसीले सुद्याइएको थियो । टाइप गर्नेले सुद्याएअनुसार नै टंकण गरेर ल्याए । हेर्‍यो जनकलालजीको हिज्जे एकप्रकारको थियो, नयाँ शुद्धीकृत रूप अर्कै थियो । 

०००
जनकलालका हस्ताक्षरमाथि करेक्सन हुनु उनैमाथि अनादर थियो । सायद त्यसैले सम्पादकज्यूहरूको खासगरी सुमनज्यूको चाहनाअनुरूप टाइपलाई फेरि पूर्वरूपमै राखियो । गरेकालाई ‘अन्डू’ गरियो । रातो मसीको करेक्सन माया मारियो । यसरी हेर्दा नयाँ हिज्जेको अभ्यास गर्नेहरूका लागि यसको व्याकरणका शब्दकोश पुरानो पनि देखिएला तर मलाई के लाग्छ भने नेपाली भाषा व्याकरणमा यसरी बारम्बार परिवर्तन गरेर नेपाली गुरुहरूले ठूलो गल्ती गरिरहेका छन् ।

आजका शब्दकोशहरू तिनै विविधता र अन्योलका प्रतीक भएका छन् । एकपल्ट सिकेको व्याकरणले एउटा जीवनभरि पनि थाम्दैन भने यो अत्यन्तै दु:खको कुरा हो । मलाई लाग्छ नेपाली भाषाको स्थिरीकरणलाई र स्तरीकरणलाई यस्तो प्रयत्नले प्रतिकूल असर पारिरहेको छ, हाम्रो अघिल्तिर जनकलाल भएको भए अवश्य यस्ता कुराको विरोध गर्थे होलान् ।

जनकलालको निबन्धात्मक शैली कसैसँगै नमिल्ने खालको छ । तिनमा संस्मरणात्मकता छ, अनेक व्यक्ति र ससाना घटनासँग उनिएका हुन्छन् । आफ्नो वा तिनीहरूको त्रुटिमा यस्तै गएर व्यंग्य मिसाउँदै लेखिएका छन् । ती सबैमा लेखकको अत्यन्तै गहिरो संलग्नता हुन्छ । प्रत्येक जस्तो निबन्ध अतीतको घटना, व्यवहार, चालचलन, सांस्कृतिक, राजनीतिक इतिहासतिर पसेका हुन्छन् अतीतको उत्खनन हुन्छ । उनको ज्ञान र विषयको क्षेत्र विस्तृत हुन्छ, अध्ययनको गहनता प्रकट हुन्छन्, सम्झनाको गहिराइ पनि डुबिनसक्नु छ, त्यसमा पनि पुरातत्व, इतिहास र संस्कृति चेतना बारम्बार आइरहन्छ ।

म यहाँ कृष्णचन्द्रसिंहज्यूको भूमिकाबाट एउटा अंश उद्धृत गरेर जनकलालका निबन्धको प्रमुख विशेषता प्रस्ट्याउन चाहन्छु कसैबाट प्रभावित भई उनी सिको गरिरहेका हुँदैनन्, कसैबाट केही लिएर दिइरहेका पनि छैनन् । पूर्वबाट टाढिएझैँ पूर्वजहरूबाट पनि त्यति नै टाढा छन् उनी, जति टाढा छन् पश्चिमबाट । आफैँ भएर प्रकटिनेमा जनकलालको क्लासिक मुहारजस्तै उनका निबन्धको पनि छुट्टै संरचनात्मक एनाटोमी छ ।

उनका दाहिनु शंख, भीरबाट भैँसी स्वाहा, मेरो निबन्ध अधूरै रह्यो जस्ता आधीभन्दा बढी निबन्धमा कथाको निर्माण छ, कथात्मकता र निबन्धात्मकता मिसिएका अर्थात् बोर्डरलाइनका सिर्जना छन् ।

उनको निर्भीकता, स्पष्टवादिता र इमानदारी साँच्चै नै नेपाली लेखकका निमित्त अनुकरणीय शक्ति शिल्प हुन् । त्यसमा पनि उनका निबन्धमा एउटा नृतत्वशास्त्री, समाजवेत्ता, इतिहासविद् र संवेदनशील साहित्यकार सँगसँगै बोल्दछन् । यता दाहिनु शंख चोरिएको, उता भारतमा टुप्पी काटिएको, क्रिश्चियनको जूठो प्याज र गोलभेडा खानुपरेको, राणाहरूको अघिल्तिर काम्नु परेको जस्ता अनेक प्रसङ्ग छन् जसले पाठकलाई विचित्रका कथा सुनाउँछन् । 

उनले कति ठाउँका पात्रको नाम गोप्य राखेका छन् ती कुरा समकालीनलाई, परिवारजनलाई र ती पात्रलाई मात्र थाहा होला जस्तो सात सालपछि अर्थमन्त्री भएर मर्ने अर्थपिशाच, सांखुछेउका प्रसिद्ध पुरातत्वविद्, उसैका लागिका आलोचक, जर्मनीका महामहिम र उनकी बुहारी यस्ता धेरै व्यक्ति छन् जसको नाम र प्रसंग कतै खुल्दैन । उनले प्रहार गर्दा त्यसरी घुमाएर थला बस्ने गरी हिर्काउँछन् । त्यो चोेट खानेलाई मात्र थाहा हुन्छ । यो उनको प्रच्छन्‍न कला हो, सत्य लुकाउन नसक्ने इमानदारी पनि ।

भाषा व्याकरणमा बारम्बार परिवर्तन गरेर नेपाली गुरुहरूले ठूलो गल्ती गरिरहेका छन् । आजका शब्दकोशहरू तिनै विविधता र अन्योलका प्रतीक भएका छन् । एकपल्ट सिकेको व्याकरणले एउटा जीवनभरि पनि थाम्दैन भने यो अत्यन्तै दु:खको कुरा हो ।

जनकलालको ज्ञान, सम्पर्क र परिचयको विस्तृत रूपले गर्दा अनेकौँ व्यक्ति र सन्दर्भको नाम आउँछ । राणाकालीन शासकदेखि देश–विदेशका विद्वान्को सम्पर्कको चर्चा आउँछ । भारतका जाकिर हुसेन, आचार्य विनोवा भावे, प्रथम राष्ट्रपति, काका कालेलकर, हाम्रा छविलाल, प्रपन्‍नाचार्य, सूर्यविक्रम के आई सिंह, मदनमणि दीक्षित, अनेकौँ बगांली विद्वान्, चिनियाँ राजनेता, जर्मनी र फ्रेन्च विद्वान अनेक प्रसंग छन् । उनको सम्पर्कको व्यापकता र सम्झनाको ताजापनको कुरा गर्दा जनकलाल शर्माका संस्मरण सन्दर्भित ४०० जति व्यक्ति पात्र सम्झे पुग्छ ।

जनकलालका निबन्धमा एउटा विराटता पाइन्छ । उनी सूक्ष्मताबाट विराटतातिर, सामान्यबाट असामान्यतातिरको यात्रा गर्दछन् । राष्ट्रप्रेम, इतिहास प्रेम र संस्कृति चिन्ता छ जहाँ पनि यहाँका खराब प्रवृत्ति सच्याउने चेष्टा र अन्धकारमय अतीतबाट उज्यालोतिर फर्किरहेको यात्रा छ जहाँ पनि । 

अन्त्यमा, म फेरि कृष्णचन्द्रसिंह प्रधानज्यूलाई उद्धृत गरी यो कथन टुंग्याउन चाहन्छु : व्यक्तिगत अनुभूतिलाई सार्वजनिकता प्रदान गर्ने विचार भाषा, शैली, प्रस्तुतिहरूको निजात्मक प्रयोग र अनुभूतिका वृत्तान्तहरूले चर्चेको सेरोफेरो नै त निबन्धको विचरणभूमि हो । योसित त्यसको नजिकको साइनो छ । यो परिभाषा सामान्यतया सबै निबन्धको हो अझ खासगरी जनकलालका निबन्धको । 

उनका निबन्धको विशेषता बताउँदै कृष्णचन्द्रसिंह प्रधान फेरि भन्दछन्- निबन्धको मार्मिकता र ओजस्विता त्यसमा छाएको प्रखर व्यंग्यात्मक सीप पनि हो । व्यंग्य जति प्रखर हुन्छ, अवैयक्तिक र सामाजिक व्याप्तिभित्र परिवेशित हुन्छ, त्यति नै स्तरीय, गहन, सापेक्षित र व्यापक हुन्छ, अर्थपूर्ण हुन्छ । जनकलालको निबन्ध भनूँ भने एउटा व्यंग्य हो दुराचरण दुस्प्रवृत्तिहरूको विरोधमा । यो व्यंग्य भावात्मक भएर अर्थोत्पादक हुन्छ । छिपछिपे आनन्द दिने काउकुति सँगालेर पनि मर्मान्तक प्रहार गर्ने कञ्चनजङ्गा शिल्पी हुन् जनकलाल ।

अन्त्यमा, जनकलालका निबन्ध पढ्नु भनेको गम्भीर विद्वत्तालाई छुनु हो; राष्ट्र प्रेम, जाति प्रेम, सुधार प्रेम पढ्नु हो; मौलिक शक्ति भएका ओजपूर्ण सिर्जनाले वर्षौंसम्म यो मनलाई थिच्नु हो । एउटा अतीतको उत्खनन हो । म चाहन्छु सबैलाई यी शक्तिशाली सिर्जनाले तानिरहून् । उनका निबन्ध नपढ्दा नेपाली निबन्धको ज्ञान र अध्ययन अधुरै रहने छ ।
(ट्याइलाफाँट, कीर्तिपुर, काठमाडौँ । रचना पत्रिकाबाट ।)

र, यो पनि
जनकलाल शर्मा-१ : छुवाछुत प्रथा हट्न असम्भव छ

जनकलाल शर्मा-२ : जनकलाललाई राहुल सांकृत्यायनका दुई चिठी

- जनकलाल शर्मा-३ : जब विक्रमशाही सुनकेसराको रूपलावण्यमा भुले...

- जनकलाल शर्मा-४: कुभिण्डाको मुरब्बा, ठूलो खसीको थलथले र मिठाईको बिर्को


Author

थप समाचार
x