सप्ताहन्त

कविता

डिल्लीबजारको ल्हासा सपना

मिलन बगाले |
साउन ३०, २०७८ शनिबार ६:३९ बजे


वर्षौँ बर्षसम्म
मुसाले खोतल्नुसम्म खोतल्यो, 
धमिराले  खानुसम्म खायो । 
बाछिटो, भुइँचालो
सबै सबै अघाएपछि 
बल्ल मान्छेको पालो आयो । 
घोचाले घोचेर 
डिल्लीबजार फाँटको
एउटा पुरानु घर भत्किएसँगै
मेरो ‘गरिबी’ पनि भत्किएको छ । 
म देवकोटा गद्गद् भएको छु । 

नयाँ बन्‍ने घरभित्र 
फूलमार चुरोटका खोल नराख्नु । 
गाता च्यातिएका किताब नराख्नु । 
नगरकोटी भाइको 
बिरलाकोटी किताबजस्तै 
चिटिक्क किताबमा बाक्ला जिल्दा हालिदिनु । 


डिल्लीबजार दरबार बनेसँगै
म देवकोटाका कथा फेरिनेछन् । 
‘फाइभस्टार’ देवकोटा 
‘फाइभस्टार’ घरमा बस्थे । 
‘फाइभस्टार’ कविता लेख्थे । 
‘मस्तिष्कको सुनको छानो’ लेख्ने कवि
कसरी माटोको घरमा सुहाउँछ ?
देवकोटाको ब्यक्तित्वलाई 
मर्मतको रहर नगर्नु  
अब देवकोटाको नयाँ कथा कथ्नु छ । 
नयाँ नेपालको नयाँ देवकोटा रच्‍नु छ । 

नयाँ घर पाउने खबरले 
मख्ख म देवकोटाको
मन अझै पनि चंगा छैन ।
घरै बसीबसी ल्हासा देख्‍न नपाए
डिल्लीबजार दरबारको के अर्थ ? 
ल्हासा हेरिरहेका देवकोटा ।
देवकोटा हेरिरहेको ल्हासा ।
यति सानो अभिलाषा 
नयाँ नेपालको प्रतिष्ठानले कसो पूरा नगर्ला ? 

भानु नगरवासी भानुभक्त
१०० फुट अग्लिने अरे ।
ब्यास नगरका ब्यासजी
१०८ फुट अग्लिने अरे ।
महानगरवासी म देवकोटा
सधैं अर्धकदमै खुम्चिरहनु ?

नयाँ बन्‍ने दरबारको छतमा
कति फुट अग्लो
सालिक राख्यो भने
डिल्लीबजारबाट ल्हासा देखिन्छ ?
अध्ययन गराउनु प्रतिष्ठान । 

तात्तातो हिसाब निकाल्न नसके पनि
म देवकोटा अनुमानमै भन्‍न सक्छु ।
सालिक धेरै अग्लो हुनेछ ।
धानिनसक्नु गह्रौं हुनेछ ।
मेरो सालिकमाथि चढेर
अरुले ल्हासा नहेर्नु ।
ल्हासा हेर्न रहर लागे 
मेरै सालिक बराबरको
अर्को टावरपनि उभ्याउनु ।

६ इन्च मोटो ढलानले
७ फिट गहिरो जगले
ल्हासा हेर्ने देवकोटा धान्‍न सकिन्‍न ।
म देवकोटाको ‘गरिबी’ छोप्‍न
ल्हासाको सुन देखिनु जरुरी छ ।
पोतला छर्लङ्ग देखिनु जरुरी छ । 
डिल्लीबजार दरबार
पोतालाभन्दा सानो नबनाउनु । 

(२०७८ साल साउन २६ गते मंगलबार)


Author

थप समाचार
x