मध्यान्तर : बाघखोर प्रज्ञा ८
अति मानसिक सिद्धि अनुष्ठानको अन्तिम दिन थियो । लास्ट रिसोर्टमा अचानक ठूलो संख्यामा सुरक्षाकर्मी र केही अञ्जान व्यक्ति टप्किए । उनीहरूसँग सिकारी कुकुर पनि थिए । प्राय: सबै सुरक्षाकर्मीले कम्मरमा राइफल भिरेका थिए ।
प्रिज्मकुटीमा एक्काइसदिने अनुष्ठान समापनको प्रार्थना चलिरहेको थियो । सुरक्षाकर्मीहरूले लास्ट रिसोर्टलाई तीनतिरबाट घेरा हालिसकेका थिए । सिकारी कुकुरको घ्राणशक्तिको मद्दतले उनीहरूले प्रिज्मकुटीलाई पनि घेराबन्दीमा पारिहाले ।
ढोकामा दाखिला भएर भित्र चिहाउँदै सुरक्षाकर्मीले सोधे, ‘त्यो सिकारी केटो कहाँ छ ?’
मैले रामलाई निश्चिन्त भावमा भनेँ, ‘हासिल सिद्धि आज्माएर हेर्ने यो नै उचित अवसर हो । न यहाँ कोही मित्र छन् । न त दुश्मन नै । जाऊ, ढुक्क भएर लड !’
ऊ जुरुक्कै उठ्यो । ड्रयागन गति र चालमा फुत्तै ढोकामा पुग्यो । बाहिर उसले एकपटक चारैतिर हेर्यो । काँधमा अत्याधुनिक हतियार भिरेका सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति थियो । केटालाई देखेर उनीहरू अरु सतर्क भए । केटाले निडर र ओजिलो जवाफ दियो, ‘म यहाँ छु !’
‘यही हो, यही हो ! यसैले हाम्रा केही गाउँलेलाई तीर हानेर हत्या गरेको थियो । अनि यसले हाम्री चेलीलाई अपहरण गरेर राखेको छ । बाइक चलाइरहेका बेला तीर हानेर ढालेपछि वराहक्षेत्रको जंगलमा यसैले हाम्रो एउटा गाउँलेको सारा पैसा पनि लुटेको थियो । अस्ति त यो एकदम जंगली लाग्थ्यो । अहिले भने यो यहाँ भेष बदलेर कालो भएर बसेको रहेछ !' सुरक्षाकर्मीबीच उभिएको एउटा व्यक्तिले केटालाई नियालेर हेर्दै अलिक आक्रोशित भएर भन्यो । सुनेर केटाले प्रतिक्रिया दियो, ‘अहिले तैँले जे जति भनिस् त्यो नै तेरो जिन्दगीको अन्तिम वाक्य भयो । अल्बिदा !’
भनिसक्दै उसले मुखबाट ह्वारारा आगाका ज्वालाहरू तीव्र गतिमा सुरक्षाकर्मी र अन्य व्यक्तिहरूतर्फ हुत्यायो । उनीहरूलाई सम्हालिनै नदिई उसले निरन्तर आगाका ज्वालाहरू ओकलिरह्यो । सुरक्षाकर्मीहरूलाई आगोको विशाल ज्वालाले ढाक्यो । उनीहरू ऐयाआत्था गर्दै तितरबितर हुन थाले । वातावरणमा जताततै धुँवा उठेको थियो । त्यति काम भ्याएर केटोचाहिँ झट्कामा एकातिर अदृश्य भयो ।
रिसोर्टको मूलद्वारमा अलिक धेरै संख्यामा सुरक्षाकर्मी तैनाथ थिए । परिसरभित्र सर्चमा गएकाहरूको आर्तनाद सुनेर र उनीहरू हताहत हुनेगरी विशाल आगाका मुस्लाको आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले आआफ्ना हतियार सोझ्याए । र, प्रत्याक्रमणका लागि फँणा उठाइहाले ।
अज्ञात दिशाबाट केटो बिजुलीगतिमा हठात मूलद्वारमा प्रकट भयो र सुरक्षाकर्मीहरूले सम्हालिन नपाउँदै आगाका विशाल लप्काले आक्रमण गरिहाल्यो । केटो दौड लगाइलगाइ ताकेर उनीहरूतर्फ मुखबाट आगाका ज्वालाहरू वर्षाइरहेको थियो । सुरक्षाकर्मीहरू नराम्रोसँग पिल्सिए । केही ढलेको ढल्यै भए । कोही भागारेभाग भए । केटाले भाग्दै गरेका सुरक्षाकर्मीहरूलाई पछाडिबाट एकटक लगाइरह्यो । सुरक्षाकर्मीका ढाडहरू हुर्हुरी बल्न थाले । केटो जहाँ टक लगाउँथ्यो, त्यहाँ आगो उठ्थ्यो ।
त्यसपछि केटाले अर्को दिशामा भाग्दै गरेका सुरक्षाकर्मीहरूलाई कुद्दै गएर आगाका ज्वालाले आक्रमण गयो र भ्वाकभ्वाकी ढाल्यो । चारैतिर धुँवाको कुइँरीमण्डल हुनपुग्यो । हेर्दाहेर्दै केटाले लास्ट रिसोर्ट परिसरमा सुरक्षाकर्मी र अन्य केही मान्छेको लास बिच्छ्याइदियो । सुरक्षाकर्मीसँग आएका तीन जना महिला पनि आगोले जलेर मर्न पुगे । सुरक्षाकर्मीले ल्याएका जर्मनसेफर्ड कुकुर पनि जलेर मरिसकेका थिए । कतिपय मानिस घायल भएर छट्पटाइरहेका थिए । उनीहरू डढेर काला भएका थिए । उनीहरूमाथि केटाले थप आगो वर्षाइदियो । उनीहरू हुर्हुरी बल्न थाले । अनि केहीबेर छटपटाएर निस्तेज भए ।
वरिपरि पोलेको जस्तो मासु गन्हाएर उखपात भएको थियो । केटाले जंगलतर्फ हेरेर एउटा अनौठो आवाज निकाल्यो । केहीबेरमा नै त्यहाँ चितुवा, ठूलाठूला अजिंगर र अन्य मांशाहारी जीवजन्तुलगायत चील र गिध्दसमेत आएर भटाभट सुरक्षाकर्मीका लास उधिन्न थाले । उनीहरूका बर्दी र भित्री लुगा जलेका थिए । बाहिरी शरीर लगभग पाकेको थियो । हेर्दाहेर्दै जनावर र पन्छीहरूले स्वाद मानीमानी मान्छेको मासु खाइभ्याए । अब त्यहाँ हाडखोरहरू मात्रै बाँकी थिए ।
लास्ट रिसोर्टभित्र चिहानघारीमा जस्तो सन्नाटा छायो । मूलद्वारमा सुरक्षाकर्मीको एउटा ट्रक र भ्यानसमेत खडा थिए । वरपर कोही थिएन । केटो सरासर मूलद्वारतर्फ हान्नियो र ती सरकारी सवारीसाधनमा मुखबाट आगाका ज्वालाहरू वर्षाइदियो । हेर्दाहेर्दै ती सबै जलेर खाक् भए ।
आर्तनादले भरिएका समाचारले रक्तसञ्चार तीव्र भएपछि मैले मोबाइलको स्विच अफ गरिदिएँ । अनि आँखा बन्द गरेँ ।
केटो बिजुली गतिमा प्रिज्मकुटी पुग्यो । मूलद्वार र प्रिज्मकुटीबीचको चउरमा केही जनावर अझै मासु लुछिरहेका थिए । चितुवाहरू भने अघाएपछि पञ्जाले जुँगा पुछ्दै थिए । अजिंगरहरू ढ्याऊ गर्दै थिए । चमेरा, लाटोकोसेरा र अन्य पन्छीहरू पनि स्वादिलो भोजन गरेपछि दंग परेर आकाशमा गोलचक्कर काटिरहेका थिए ।
‘भिडन्त कस्तो रह्यो ?’ हवनकुण्ड छेउमा आएर बस्दै गरेको केटालाई मैले नियालेर हेर्दै सोधेँ ।
‘गाँसै पुगेन । तर समग्रमा मजै आयो !’ उसले हल्का मुस्कुराएर भन्यो ।
‘हाहाहा ...!’ म जोडले हाँसे ।
अनि उसको भृकुटीमा दृष्टि टिकाएर भनेँ, ‘यो त सुरुआत हो, पार्थ । अहिले हामी यहाँ न्युक्लियर हातहतियारहरूमाझ बाँचिरहेका छौँ । बाँचिरहेका ? हामी त यहाँ ज्युँदा लाससरह हुनपुगेका छौँ । तर अब हुनेछ सम्पूर्ण छिनोफानो । युद्धको उपहार नै हिंसा र मृत्यु भएकाले फलस्वरूप अब यहाँ लासहरूको बिस्कुन लाग्नु सामान्य बन्दै जानेछ । तर अब कुपोषणग्रस्त मांशाहारी जीवजन्तु र चराचुरुंगीहरूका लागि भने हरेक दिन दसैँ नैँ पो होला जस्तो छ ।’
केटाले भन्यो, ‘मान्छेले पशुपन्छीमाथि र स्वयं मान्छेमाथि नै अत्यधिक अत्याचार र दमन गरेको छ । अब बदला चुकाउने बेला भयो । अँध्यारोको पनि एउटा निश्चित समयसीमा हुनेहुँदा रात अवश्य सकिन्छ । अनि रात सकिएपछि जसरी पनि घाम झुल्किन्छ ।’
मैले सचेत गराउँदै भनेँ, ‘अब हामी एकदमै चनाखो भएर बस्नु पर्छ । थप सुरक्षाकर्मी आउने सम्भावना छ । तिमीलाई अघि बढ्न राम्रै अभ्यास होला जस्तो छ ।’
केटीले निकै हिम्मतिलो आवाजमा भनी, ‘अघि मौकै पाइएन । यसपालि त म पनि लड्छु !’
केटीका कुरा सुनेर केटो फिस्स हाँस्यो ।
मैले भनेँ, ‘अब लिलाराजलाई पनि बोलाउनु पर्छ । हामीले मुलुकमा सर्वप्रथम गर्नुपर्ने आक्रमणको उसले पोख्त योजना बनाएको छ । उसले भन्दै थियो कि केही विध्वंशकारी कार्यलाई नसियतस्वरूप दुनियाँसमक्ष पेस गरेपछि मात्रै हामी हाम्रो ‘प्रथम विश्व शान्ति’को अभूतपूर्व लक्ष्यका बारेमा खुलासा गर्नेछौँ । सर्वप्रथम केही अप्रत्याशित आक्रमण हुनु जरुरी छ, रे । त्यसैले हुनसक्छ, यहाँ सुरक्षाकर्मीहरू आउनुपूर्व नै हामी मुलुकमा एक किसिमले धावा बोलिसक्ने छौँ ।’
नाम लिनासाथ लिलाराज प्रकट भयो । उसको अनुहार अति तेज देखिन्थ्यो । यस्तो लाग्यो, उसका आँखामा मृत्यु सवार थियो । चकटीमा बस्दै उसले भन्यो, ‘मैले ‘क्लेयरभोयन्ट’ भएर केहीबेर अगाडि यहाँ के के भयो भन्ने कुरा थाहा पाएँ । अब त्यो समय आएको छ जसको हामीलाई अत्यधिक पर्खाइ थियो । आज राति नै हामी कान्तिपुर लगभग कब्जा गरिसक्नेछौँ । तर त्यसअघि रामलाई मैले थप एउटा सिद्धि सिकाउनु पर्नेछ । त्यो हो, शून्य गुरुत्वाकर्षण र आकाशगमन । हर विजयका लागि मैले उसलाई अरू सारा विध्या सिकाइसकेपछि सिकाउनु पर्ने अति चमत्कारिक विध्या हुन् यी ।’
सीताले एक कप जडीबुटी चिया र जौको कुकिजले लिलाराजको स्वागत गरी । रामले जंगलबाट खोजेर ल्याएको एक कचौरा काफल पनि उसले पेस गरी । आरामसँग खाजा खाएपछि लिलाराजले रामलाई आफ्नो अगाडि पलेँटी कसेर बस्न लगायो । अनि केही निर्देशन दिन थाल्यो ।
लिलाराजले एक सुरूप चिया पियो र भन्यो, ‘अब लामो सास तानेर एकछिन रोकिराख । सास छाडेर पनि केहीबेर रोकिराख । अनि फेरि तानेर रोक । सास रोक्दा आफ्नो छातीलाई सकेसम्म कस्ने प्रयास गर । अनि मलद्वारलाई पनि जोडसँग कसिराख ।’
रामले निर्देशन पालना गर्र्यो । म भने चुपचाप आँखा बन्द गरेर बसेँ । लिलाराज आएपछि प्रिज्मकुटीको ऊर्जामा थप इन्धन मिलेको थियो । अहिले यहाँ लिलाराज र मबीचको साइनो पनि उजागर गर्ने जाँगर चल्यो । लिलाराज थियो, मेरो साक्षात् प्रतिकृति अर्थात ‘डिट्टो रेप्लिका’ ।
रामले सास तानेर रोक्यो । अनि सास छाडेर पनि रोक्यो । सास रोक्दा उसले छातीको कसाव क्रमश: बढाउन थाल्यो । सास रोकेका बेला शरीरको सारा रगत उसको अनुहारमा एकत्रित भएजस्तो लाग्थ्यो । उसको निधार र गर्धनका नसाहरू पनि फुलेर आए ।
एक घण्टाको अभ्यासले नै राम निकै सफलता हासिल गर्न सक्षम भएको थियो । अब ऊ लामो समय सास रोक्न सक्षम भइरहेको थियो । सास तानेर रोकिरहेका बेला अचानक उसको शरीर मास्तिर उठ्यो र ऊ हावामा तैरिन थाल्यो । लौ, अचम्म !
मैले टाउको मास्तिर उठाएर उसलाई नियाल्दै अलिक जोडसँग भनेँ, ‘आँखाका दुवै गेडीहरूलाई मजबुतीसाथ एकआपसमा केन्द्रीकृत गर्दै मास्तिर खिँच्ने प्रयास गर । मलद्वारलाई कसिराख । अनि सास पनि रोकिराख ।’
उसले त्यसै गर्र्यो । अब उसको शरीर झन्झन् मास्तिर उठ्न थाल्यो र ऊ प्रिज्मकुटीको चिम्नी नजिकै पुग्यो ।
मैले भनेँ, ‘अब बिस्तारै सास छाड ।’
सास छाडेसँगै ऊ क्रमश: तल ओर्लियो । र यथास्थानमा बस्यो ।
लिलाराजले अलिक लामो संवाद बोल्यो, ‘कुरा बुझ्यौ ? सास रोक्दा तिमी वायुमण्डलमा मास्तिर उड्ने छौ । सास छाड्दा चाहिँ तल ओर्लिने छौ । दायाँतर्फ उड्नु परे दायाँ हात र बाँयातर्फ उड्नु परे बायाँ हात सोझ्याउने । गति बढाउनु परे छिटोछिटो सास लिएर छाड्ने । आकाशमा पुगिसकेपछि तिमीले सासको कसरत गरिरहनु पर्दैन । निश्चित उडान भर्नका लागि मात्रै सासलाई तोडमरोड गर्नुपर्ने हुन्छ । आवश्यक्ताअनुसार सासलाई तोडमरोड गरेर उचाइ चुमेपछि तिमी जता सोच्छौ सोही दिशामा उडान भर्न सक्छौ । सोचेरै तिमी आफ्नो गतिलाई तीव्र वा धीमा तुल्याउन र चाहेको स्थानमा सुरक्षित अवतरण गर्न पनि सक्छौ । ल, अब बाहिर मैदानमा गएर एकफेरा अभ्यास गरेर आऊ ।’
आफैंलाई प्रश्न गरेँ- के घना अन्धकारमा यहाँ आगोको केवल एक बीजले पुरै दुनियाँ जलाएर नष्ट गरिदिन सक्छ ?
रामले सास रोक्यो । ऊ अलिकति मास्तिर उड्यो । त्यसपछि उसले प्रिज्मकुटीको ढोकातर्फ दायाँ हात सोझ्यायो । उसको शरीर हावामा तैरिँदै त्यतै उड्न थाल्यो । उसले छिटोछिटो सास फेरेपछि हावामा उसको गति पनि बढ्यो । ऊ निमेषभरमा नै बाहिर चउरमा पुग्यो र आफूलाई शून्य गुरुत्वाकर्षणको आयाममा उकालेर आकाशगमन सिद्धिको अभ्यास गर्न थाल्यो ।
लिलाराज, सीता र म यता रामको प्रशंसा गर्न थाल्यौँ । छोटो समयमा नै ऊ अनेक सिद्धिमा पोख्त हुन पुगेको थियो । मैले लिलाराजलाई दिउँसोको भिडन्तका कारण अब रिसोर्ट छोड्नै पर्ने बताएँ । सीताले हामीलाई जडीबुटी चिया थपिदिई ।
केहीबेरमा नै राम केही झुत्ता फल लिएर आइपुग्यो । उसले हाँगैसित जंगली फलहरू टिपेर ल्याएको थियो ।
‘कस्तो रह्यो त तिम्रो आकाशगमन ?’ मैले सोधेँ ।
‘एकदमै गज्जब ! मैले यसका सारा अभ्यासहरू गरेँ र आफूलाई पोख्त बनाएँ । अब थप आज्ञा होस्, गुरुदेव !’ केटाले सबैलाई जंगली फल दिँदै भन्यो ।
‘अब म तिमीलाई अर्को एउटा ‘ट्रान्स’मा लैजान्छु । केहीबेर आँखा बन्द गर र भृकुटीमा सारा ध्यान एकत्रित गर ।’ मैले केटालाई आज्ञा दिएँ ।
केटाले आज्ञा पालना गर्यो ।
मैले भनेँ, ‘मनको रजतपटमा अब तिमीले क्रमश: केही दृश्य देख्ने छौ । ....अहिले तिमीले एउटा एयरपोर्ट देख्यौ । त्यहाँ चारैतिर घुमेर हेर, तिमीले केही बडेमानका पेट्रोल ट्यांकीहरू फेला पार्नेछौ । आजै राति त्यहाँ पुगेर तिमीले आगो ओकल्ने छौ !’
धडाम् !!
एउटा भयानक विस्फोटनको आवाजले अकस्मात जाग्न पुगेँ, म । राजधानीबाट एउटा साथी आएर पल्लो कोठामा सुतेको थियो । मध्यरातमा भएको भयानक विस्फोटनको आवाजले ऊ पनि जाग्न पुग्यो ।
मैले भनेँ, ‘टायर पड्केको आवाज हुन सक्छ !’
उसले भन्यो, ‘बम पनि त हुन सक्छ । युद्ध भएको मुलुक हो । यहाँ कसको के भरोसा ?’
‘बिहेको मौसम छ । पटाका पनि हुनसक्छ । युद्ध भएको मुलुकका जनताको ह्याऊ साह्रै बलाहम हुँदैन ।’ मैले आफ्नै अन्दाजमा भनेँ र मोवाइलमा वाईफाई कनेक्ट गरेँ ।
अनि मेसेन्जरका हरिया बत्तीहरूको अरण्यतामा घुसेर केहीबेर बरालिएपछि विस्फोटनको आवाज आएकै टोलको साथीलाई मैले टेक्स्ट पठाएँ, ‘के पड्केको हो, भर्खरै ?’
एकैछिनमा उसको जवाफ आयो, ‘ट्रकको टायर जस्तो छ !’
‘बात खत्तम ! सुत्न जाऊ ।’ मैले पाहुनालाई भनेँ ।
ऊ मनतातो पानी पिएर सुत्न गयो । मलाई निद्रा पुगिसकेको थियो । फ्रेस भएँ । एक गिलास मनतातो पानी घटाघट पिएँ । अनि खोलेँ, आफ्नो उही पुरानो ल्यापटप ।
मैले किबोर्ड ठोकेँ, ‘शान्ति नै चाहन्थेँ । तर युद्धले लल्कारिएँ । मैत्रेय नै बोलाएको । तर आइदिए, पर्शुराम । ढुक्क छ अहिले । सारा असमञ्जसता गायब छन् । अनि सारा थकान दूर । एक गहन अभीप्सा छ जिन्दगी जिउने । तर यता जिन्दगीको ‘ज’ पनि उच्चारण गर्न नपाई जिन्दगी स्वाहा हुन बाध्य छ । जिन्दगी यस्तै हो, अन्त्य हुन्छ । अनि फेरि सुरु हुन्छ । यहाँ हर सुरुवातहरू सकिन्छन् । अनि हर समाप्तिहरू यहाँ फेरि सुरु हुन्छन् । कसलाई के भन्नु ? बस् चुपचाप सास फेरिरहेको छु ।’
रामले आकाशगमन सिद्धि हासिल गरेको कुराले मनमा प्रसन्नता छायो । उनीहरूको ‘प्रथम विश्व शान्ति’को अभूतपूर्व लक्ष्य हासिल हुने कुरामा निश्चिन्त थिएँ, म । अँध्यारो यति घना भएको थियो कि यहाँ प्रकाशको अवशेष पनि बच्ने सम्भावना क्षीण लान्थ्यो । यस्तो बेला सक्नेले चकमक र झुरोको सदुपयोग गर्नु मुनासिव ठहरिन्थ्यो ।
केहीबेर अभिनव ‘बाघखोर प्रज्ञा’ उत्खनन गरेर सुतेँ । अर्को दिन बिहान निकै अबेरसम्म पनि ओछ्यान छाड्न मन लागेन । जाडो बढेको थियो । जाडोको सिरक र गर्मीको चिया, तराईको विशेषता नै हो रे । राजधानीबाट आएको साथी पनि एक किसिमले बिहान अत्यधिक सुत्न रुचाउने खाले नै थियो । तर म उठ्दासम्म त ऊ मर्निंगवाकसमेत भ्याएर फर्किसकेको रहेछ । उसको हातमा एउटा अखबार पनि थियो ।
‘तिमी अझै अखबार पढ्छौ ?’ मैले अलिक व्यंग्यात्मक हिसाबमा सोधेँ ।
ऊ ‘हाहाहा’ गरेर हाँस्यो, अनि भन्यो, ‘लागेको बानी जो हो । अर्कातिर मलाई मोबाइलको स्क्रिनमा धेरैबेर पढ्न गाह्रो पनि लाग्छ ।’
‘खोइ लेऊ त, आज धेरै दिन पछि हेरौँ यो बासी अखबार ।’ मैले उसलाई अनुरोध गरेँ ।
‘आजकै हो । केको बासी नि ?’ अखबार मेरा हातमा थमाउँदै उसले भन्यो ।
‘आजकै भएर त यो वासी भयो नि । छापेकै दस घण्टा भइसक्यो होला ।’ मैले भनेँ र अखबारमा घोत्लिँन थालेँ ।
हेडलाइनले मलाई चकित तुल्यायो ।
समाचारको सार यस्तो थियो -
एयरपोर्टका चारवटा पेट्रोल ट्यांकीमा आगलागी । जनधनको व्यापक क्षति । क्षति विवरण आउन बाँकी । दर्जन दमकलका अलावा मध्यरातमा सेनाको हेलिकप्टरबाट समेत निभाइयो आगो ।
समाचार पढेर मलाई चिटचिट पसिना आयो ।
साथीले मेरो हालत नियाल्दै भन्यो, ‘अब त देख्यौ होला नि बासी अखबारको कमाल ?’
‘अखवबर सखवार केही होइन, धेरैबेर सुत्नुको बेफाइदा हो यो ।’ मैले भनेँ र फटाफट कोठामा गएँ ।
अनि चार्जरबाट मोबाइल थुतेँ र भटाभट एयरपोर्ट आगलागीका लाइभ अपडेटहरू नियाल्न थालेँ । नभन्दै एयरपोर्ट आगलागीका हृदयविदारक समाचारले मलाई अरु पसिना छुटाइदिए ।
मैले रामको अघिल्लो करामत सम्झिएँ । ऊ एयरपोर्ट नै जलाउन भनेर लास्ट रिसोर्टबाट बाहिरिएको थियो । सपना यहाँ विपना हुन पुग्यो । अनि विपना भइदियो, सपना । यस्तै हो भने यहाँ एउटा यस्तो दिन पनि आउन बेर छैन जहाँ भैदिने छ सपना र विपना एक । म अहिले नै लगाउँ अड्कल कसरी कि त्यो कस्तो खाले अवस्था हुनेछ ? सपना र विपना एउटै रेखामा पर्दाको स्वाद कस्तो हुनेछ ?
साथी बाघखोर छलफल चौतारीतिर हान्नियो । त्यहाँ थुपारिएका टायरहरूलाई ‘रिसाइकल’ गरेर ऊ आरामदायक कुर्सीटेबुल बनाउन थालेको थियो । साथै कबाडीबाट उठाइएका बियरका बोतल, बाँसलगायत सामग्रीहरूको प्रयोग गरेर ऊ मेरा लागि एउटा स्टुडियो बनाउन पनि ताम्सिएको थियो । एकलट समाचार हेरेर म पनि उसको पछिपछि लागेँ ।
‘समाचार हेरी भ्यायौ ?’ उसले सोध्यो ।
‘एकलट भ्याएँ ।’ मैले भनेँ ।
‘कसरी लागेको रहेछ त एयरपोर्टमा आगो ?’
‘पत्ता लागेको छैन । अनुसन्धान जारी छ ।’
‘तिमीलाई के लाग्छ ?’
‘मलाई त लाग्छ दुनियाँ नै आगोले जलेर नष्ट हुनेछ ।’
‘हैट ! कसरी ?’
‘महत्वपूर्ण भविष्यवाणीहरू त्यस्तै कुरा गर्छन् । दुनियाँमा उम्लिरहेको आततायीले पनि त्यतै इशारा गरिरहेका छन् । मान्छेको यो सारा प्रकृतिदमन, चमचम र रजगज अब स्वाहा हुनेछ । पूरै ग्रह अब एउटा हवनकुण्डमा परिणत हुनेवाला छ !’
‘...।’
‘बोल्ती बन्द ?’
‘के गर्नु त ? गफले च्युरा भिज्दैन, क्यारे । कि चाहियो दही कि चाहियो मासुको झोल ! पानीसँग च्युरा खाने कुरा आएन । कि कसो ?’
यसो भनेर ऊ बाँस काट्न थाल्यो । म उसलाई सघाउन थालेँ ।
दुई जना स्वयंसेवक भाइहरू पनि टप्किए ।
‘दाइ, गए राति चोकमा गोली पड्केको थाहा पाउनुभयो ?’ एउटा भाइले मलाई बडा विस्मातको प्रश्न गर्यो ।
‘गोली कि टायर ?’ मैले प्रति प्रश्न गरेँ ।
‘ठेक्कापट्टाको लेनदेन नमिल्दा एउटाले गोली चलाएछ । अर्को ठाउँको ठाउँ !’ उसको जवाफ आयो ।
‘एयरपोर्ट आगलागीको समाचार छाप्ने चक्करमा आफ्नै करेसाको समाचार त छुटिहालेछ । एनी वे, यसमा हामीले केही गर्नुपर्छ ? श्रद्धाञ्जली, समवेदना वा अर्थोक केही ?’ मेरो मुखबाट फुत्कियो ।
केटाहरू गलल हाँसे ।
मेरा कुरामा अतिथिले भने कुनै चासो देखाएन । ऊ काममा घोत्लिरह्यो ।
मैले अगाडि भनेँ, ‘एउटा ठेकेदारले अर्को ठेकेदारलाई गोली हानेर हत्या गर्दा तिमीहरूलाई मजाक सुझिरहेको छ ?’
स्वयंसेवक केटाहरू फेरि एकलट गलल हाँसे । अनि काम सघाउन थाले । केहीबेरमा मैले उनीहरूलाई तातो पानीमा हालेर आफैँले बनाएको ‘एन्टिकोरोना हर्बल चिया’ पेस गरेँ ।
निकैबेर काम गरियो । बेलुका केटाहरूले कुखुराको भाले पकाएर मस्त रक्सी खाए र आआफ्नो घरतिर लागे । त्यति गरेपछि उनीहरू अर्को दिन काम सघाउन आउने कुरा निश्चितप्राय: थियो ।
अतिथिले चार्जरबाट मोबाइल थुत्यो । अनि इन्टरनेटको अरण्य सागरमा डुब्यो । म भनेँ अलिक चाँडै सुतेँ । चार घण्टा सुतेर जाग्नु थियो । अनि रातभर ठोक्नु थियो, किबोर्ड ।
निदाउने बेलामा सदा झैँ अनेक आवाज र दृश्यहरू टप्किन थाले । मैले मनको टेलिस्कोपलाई शिवपुरीको फेदीमा अवस्थित लास्ट रिसोर्टतर्फ लोकेट गरेँ । क्रमश: दृश्यहरू ओइरिन थाले । अनि म त्यहाँ विभिन्न संवाद पनि सुनिरहेको थिएँ ।
प्रिज्मकुटीमा सबैजना भेला भएका थिए । हवनकुण्डमा रंगीन ज्वाला ओकलेर दनदनी पत्थरअग्नि दन्किरहेको थियो । राम, सीता र लिलाराज हवनकुण्ड वरिपरि बसेका थिए । त्यहाँ एउटा चकटी भने खाली थियो ।
लिलाराजले भन्यो, ‘आज तिमीले सिंहदरवार जलाइदिनुपर्छ । त्यहाँ अत्यधिक भूतहरू मडारिन थालेका छन् । अर्कातर्फ त्यो अब अति पुरानो र जर्जर पनि भयो । पुरानो नढाली नयाँ कसरी बनाउँनु ? बरु कतिखेर प्रस्थान गर्छौ ?’
‘शुभ काममा केको देरी ?’ भनेर केटो जुरुक्कै उठ्यो ।
लिलाराजले उसलाई सिंहदरबारको ठेगाना बताइदियो । केटो बिजुली गति र ड्रयागनचालमा प्रिज्मकुटीको ढोकातर्फ हान्नियो ।
बाहिर पुगेर केटाले घड्याप्पै सास रोक्यो । उसको शरीर हावामा तैरिन थाल्यो । अनि ऊ माथिमाथि उड्यो र आकाशमा एकातिर अलप भयो ।
त्यसपछि एकैपल्ट ऊ सिंहदरवारमाथि प्रकट भयो । ऊ तलतल अवतरण गरिरहेको थियो । कार्यालय समय भएको थियो । केटाले अबेर नगरी सिंहदरवार मास्तिरबाट हनुमानले लंका जलाए जसरी आगो बर्साउन थालिहाल्यो । तलबाट मान्छेहरूले नदेख्ने उचाइ तय गरेर ऊ तीव्र गतिमा आगो बर्साइरहेको थियो । हेर्दाहेर्दै चारैतिरबाट सिंहदरबार जल्न थाल्यो । मान्छेहरू भागारेभाग भए । धेरैजसो त भाग्नै नपाई अग्निचपेटामा परिसकेका थिए ।
आगो लगाइसकेर केटो आकाशमा अलप भयो । यता सिंहदरबार भने हुर्हुरी जलेर खरानी !
जनताले प्रतिक्रियामा भने, ‘तीस साल दोहोरियो । कुन पापीले फेरि सिंहदरबार जलाएर भष्म तुल्याइदियो ?’
अखबारले लेखे -
उहिले पनि सिंहदरबार जलेकै थियो । तर त्यतिबेलाका प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएका थिए । अहिलेका प्रधानमन्त्रीले त ‘आगो जस्तो संवेदनशील कुराउपर लापवर्बही गर्नु हुँदैन । यो भवितब्य हो । आगो लागेर सिंहदरबार जल्नुमा कसलाई केको दोष ? किन दिने मैले राजीनामा ?’ भनेर अत्यन्तै हल्का टिप्पणी गरेका छन् ।
अस्वस्थताका कारण निवासबाटै मुलुकको शासन चलाइरहेका प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएनन् । यस्तो लाग्थ्यो, उनका सारा नैतिकताहरू तिरोहित हुन पुगेका थिए । अनि उता सडक र सोसल मिडियामा उनको राजीनामा मागेर उनलाई तथानाम भन्नेहरूको भीड, झुन्ड वा कसैका सुन्डमुसुन्डहरूलाई सर्वसत्तावादको भीमकाय ट्यांकरले पेलेरै भए पनि अघि बढ्ने धृष्टतामा प्रधानमन्त्री लागेका थिए ।
एकातिर सफलता वा असफलताको उनलाई कुनै पर्वाह नभएको जस्तो लाग्थ्यो भने अर्कातिर उनका आँखाहरू दृढनिश्चयी देखिन्थे । बारबार उनी अध्यादेश ल्याएर राजनीतिक ‘हात्तीपोलो’ खेलिरहेका थिए । सत्तासीनहरूलाई सत्ता टिकाउनेबाहेक अरू कुनै ध्याउन्न हुँदो हो र ?
यता एयरपोर्ट र सिंहदरबारमा दिनदहाडै आगो लागेर जनधनको निकै ठूलो क्षति भएकोमा पूरै मुलुक शोक र आतंकले आक्रान्त भएको थियो । छिमेकी मुलुकहरू राहत लिएर आइपुगे । अघिल्लो दिनसम्म एकातिर बगिरहेको मुलुकको बतास त्यसदिनदेखि अचानक अर्कैतिर बग्न थालेको थियो ।
उता केटाले आकाशमार्गबाट प्रिज्मकुटीमा अवतरण गर्यो । लिलाराज र सीता हवनकुण्डमा बात मारिरहेका थिए ।
केटो त्यहाँ पुग्नुभन्दा आधा घण्टा पहिले,
लिलाराजले केटीलाई आफ्नो समीपमा बोलायो र भन्यो, ‘मैले तिमीलाई केही जरुरी कुरा सिकाउनु थियो । अब तिमीले रामसँग परागसेचन गर्नुपर्छ !’
केटीले निश्छल भावमा सोधी, ‘परागसेचन भन्नाले ?’
‘परागसेचन भन्नाले प्रजनन !’ लिलाराजले प्रष्ट पार्दै भन्यो, ‘यसलाई रतिक्रिडा पनि भनिन्छ । साथै यसलाई अनेक सभ्य वा असभ्य भाषाहरूमा पनि जानिन्छ । तर मेरो भाषामा यो परमात्माले प्राणी र बनस्पतिलाई प्रदान गरेको शाश्वत र अतिरेकमय ऊर्जा हो । यो सिर्जनाको मूलकृत्य हो । त्यसैले अब तिमीले रामसँग भरपूर परागसेचन गरेर एउटा सन्तान पैदा गर्नुपर्छ । प्रकृतिको वरदानस्वरूप यस महान् प्रार्थनामा तिमीले नग्न भएर रामलाई पनि नग्न तुल्याउँदै उसको शरीरमा आफ्नो शरीरलाई घर्षण गर्नुपर्ने हुन्छ । त्यसपछिका बाँकी कामहरू प्रकृतिका तर्फबाट नै आह्वान गरिनेछन् ।’
केटीले सकारात्मक टाउको हल्लाई ।
लिलाराजले अगाडि भन्यो, ‘आऊ म तिम्रो कामग्रन्थीलाई सक्रिय तुल्याइदिन्छु !’
केटी लिलाराज समीपमा आई । उसले केटीलाई टपक्कै टिपेर काखमा राख्यो । अनि अलिकति निहुरेर आफ्नो ओठ केटीका ओठमा गाडिदियो । उसले केटीलाई अनवरत चुमिरह्यो । केटी बडा उत्तेजित भई र लिलाराजलाई कड्याप्पै समाती । केटीको सासको गति तेज हुँदै गएको थियो । केहीबेर लिलाराजले उसलाई आफ्नो अँगालोमा बाँधिरह्यो । ऊ बडा आनन्दित भई । त्यसपछि लिलाराजले बिस्तारै उसलाई अर्को आसनमा राखिदियो ।
केटीको सास बढेको थियो । उसको अनुहारको आभा पनि अति चहकिलो भएको थियो । ऊ निकै रातोपिरो नजर आइरहेकी थिई । ऊ फक्रेको कमलको फूल जस्ती लागिरहेकी थिई । उसको सास क्रमश: शान्त भयो ।
ठीक त्यसैबेला केटो सिंहदरबार जलाएर फर्किएको थियो । केटो आएर उसको आसनमा बस्यो । केटीले तात्तातो जडीबुटी चिया पेस गरी । विजयसालको लोटाबाट घटघटी पानी पिएर ऊ चियाको चुस्की लिन थाल्यो ।
लिलाराजले सोध्यो, ‘कस्तो रह्यो त आगलागी ?’
केटाले एक शब्दमा भन्यो, ‘मजेदार !’
केटीले ठट्टा अन्दाजमा भनी, ‘अरूलाई मारेर तिमीलाई मजा आइरहेको छ ?’
केटाले केही जवाफ दिएन ।
लिलाराज चाहिँ हल्का हाँस्यो र भन्यो, ‘न यहाँ कोही जन्मिन्छ । न त कोही मर्छ । जीवन शाश्वत छ । मार्नुपर्ने कारण भने अलिक पृथक् छ । दुष्टात्माहरूबाट यो धर्तीलाई जोगाउनु पनि अति जरुरी छ । यो काम आफ्नो फूलबारी गोडे जस्तै हो । अब फूलहरू जोगाउन बगैँचामा झारहरू त उखेल्नै पर्र्यो, क्यारे । तिमी पनि लड्न जाने पो कुरा गर्थ्यौ त ? आज कसरी मन फेरियो ?’
केटीले भनी, ‘म त रामको मन चोरिरहेकी थिएँ ।’
सुनेर केटो जोडसँग हाँस्यो । केटी हल्का मुस्कुराई । लिलाराजका कुराले केटो भने निकै प्रफुल्ल हुन पुगेको थियो ।
लिलाराजले अगाडि भन्यो, ‘राम, तिमी केहीबेर आराम गर । अब तिमीले सन्तान उत्पादन गर्न पनि सिक्नुपर्छ । आज तिमी सीतासँग जीवनको पहिलो परागसेचन गर्दै छौ । मलाई तिम्रो एउटा सन्तान चाहिएको छ । पृथ्वी ग्रहमा जिम्मेवारी अत्यधिक बढेको छ । मैले भविष्यको पनि सोच्न पर्यो । तिम्रो रगतको निरन्तरताले बेलाबेला धर्तीमा उम्लिने आततायीलाई उचित मौका पारेर विनाश गर्नू भन्ने आदेश मलाई प्राप्त छ ।’
रामले सोध्यो, ‘कसको आदेश ?’
मैले उसलाई आश्वस्त तुल्याएँ, ‘तिम्रो रगतमा अन्तर्घुलित यो रहस्यको उजागर म उचित काल आएपछि मात्रै गर्नेछु । यसमा तिमीले धैर्य गरेकै राम्रो । कथाको माग हो यो ।’ रामले सकारात्मक भाव व्यक्त गर्र्यो । अनि छेवैको म्याट्रेसमा पल्टियो । मैले सीतालाई पनि ऊसँग गएर पल्टिन निर्देशन दिएँ ।
अनि मैले भनेँ, ‘मैले अघि भनेजस्तै तिमी अब रामको सुतिरहेको काम ऊर्जालाई जगाइदेऊ ।’
सीता पनि गएर ऊसँग पल्टिई । केहीछिनमा उसले रामका सारा लुगाहरू खोलिदिई । अनि आफ्ना पनि । त्यसपछि ऊ रामको शरीरमाथि चढेर घर्षण पैदा गर्न थाली ।
केटी लिलाराज समीपमा आई । उसले केटीलाई टपक्कै टिपेर काखमा राख्यो । अनि अलिकति निहुरेर आफ्नो ओठ केटीका ओठमा गाडिदियो । उसले केटीलाई अनवरत चुमिरह्यो । केटी बडा उत्तेजित भई र लिलाराजलाई कड्याप्पै समाती ।
राम उत्तेजित भयो । केटी पनि उत्तेजित भएकी थिई । उनीहरूको घर्षणले प्रिज्मकुटीमा भयानक बिजुली चम्किए जस्तै लाग्यो ।
अब क्रमश: केटो निकै सक्रिय हुन थाल्यो । एकै झट्कामा उसले केटीलाई तल पार्र्यो र मास्तिर उक्लियो । अब त्यहाँ प्रकृति सक्रिय हुन थालेको थियो । अर्थात्, सब आफसेआफ । राम र सीताबीचको त्यो कृत्य त्यहाँ प्राकृतिक रूपले अघि बढिरहेको थियो ।
बिजुली झन् चम्कियो । यस्तो पनि आभास भयो कि त्यहाँ एकसाथ कैयौँ कमलपुष्पहरू फक्रिएका हुन् र पुतलीहरू फूलको रस चुस्न भुर्रभुर्र उडिरहेका हुन् । अनि वारिपरि प्वाँख उचालेर मयूरहरू पनि नाचिरहेका हुन् ।
लिलाराजको अतिरेकले सीमा नाघेको थियो । आँखा बन्द गरेर ऊ लगातार समाधिमा थियो । रतिक्रिडा सकेर केटाकेटीले स्नान गरे र खाजा खाए । केटा र केटीको अपूर्व मिलनसँगै एक्काइसदिने अति मानसिक सिद्धि अनुष्ठानको समापन गरियो ।
समापन मन्त्रहरू पढेर लिलाराजले भन्यो, ‘ल अब अबेर नगरी हामी सबैले यो रिसोर्ट छाडिहाल्नु पर्छ । के थाहा, कतिबेला टप्किने हुन् यहाँ सुरक्षाकर्मीहरू ?’
अनि उनीहरू आआफ्ना ब्याकप्याक काँधमा भिरेर सामान्य पारामा रिसोर्टबाट बाहिरिए र सार्वजनिक यातायात चढेर सहरको भीडमा मिसिए । यता म झल्याँस्स हुन पुगेँ । मन अति प्रमोदमय थियो ।
ओहो कस्तो राम्रो सपना ? जागेर केहीबेर केटा र केटीको रतिक्रिडा सम्झिँदै आनन्दित भइरहेँ । तर स्वप्नदोष भएको थाहा पाएर मैले तत्काल स्नान गरेँ । उज्यालो भइसकेको थियो ।
पल्लो कोठामा बास बसेको अतिथि चुरोट किन्न पसल गएको थियो । अघिल्लो रातको मेरै सल्लाहबमोजिम केहीबेरमा नै ऊ दूध र अखबारसमेत लिएर आयो । चिया बसाएर उसले ल्याएको अखबार हेर्न थालेँ ।
हेडलाइनले मलाई चकित तुल्यायो ।
शीर्षक थियो, ‘सिंहदरबारमा आगलागी । मृतकको संख्या आठ सय चालिस । सयौँ घाइते । स्थिति भयावह ।’
मेरो दिमाग खराब भयो ।
मैले साथीलाई भनेँ, ‘सिंहदरबारमा आगो लागेछ नि ?’
उसले भन्यो, ‘हो र ?’
‘अखबार ल्याउने तिमी । अनि थाहा नपाएजस्तो गर्ने पनि तिमी नै ?’ मैले कटाक्ष पोखेँ ।
उसले प्रतिकटाक्ष पोख्यो, ‘तिमीलाई थाहा छैन ? अखबार किन्छु म । पढ्न हतार हुन्छ अरूलाई ।’
मलाई चूप लाग्नुको अर्को विकल्प तत्कालका लागि सुझेन । दूधको कडा चिया खाएर हामी बाघखोर छलफल चौतारी निर्माण कार्यमा जुट्यौँ । तर मेरो मनमा भने हुर्हुरी जल्दै गरेको सिंहदरबार आइरहेको थियो । काममा मेरा हात लागेनन् ।
अनि मैले मोबाइल खोलेँ र ‘लाइभ अपडेट’भित्र घुसेँ ।
वारुणयन्त्रहरूले आगो नियन्त्रणमा लिइसकेका थिए । आगो निभाउन सेनाको हेलिकप्टरको पनि मद्दत लिइएको थियो । मृतकको संख्या बढेर एक हजार नाघेको थियो । कार्यालयमा काम गरिरहेका केही मन्त्री र कैयौँ उच्चपदस्थ अधिकारी तथा सर्वसाधारणको समेत आगोको चपेटामा परेर मृत्यु भइसकेको थियो । सारा मुलुक शोकमा डुबेको थियो । सुरक्षा ब्यवस्था तीव्र पारिएको थियो । एयरपोर्ट र सिंहदरबारमा एकै प्रकृतिको आगो लागेको प्रारम्भिक अनुमान थियो । साथै शिवपुरी फेदीको एउटा रहस्यमय रिसोर्टमा पनि केही सुरक्षाकर्मीलाई आगोले जलाएर हत्या गरिएको अनुसन्धान रिपोर्ट आइसकेको थियो ।
यी सबै अति घातक र आतंककारी गतिविधि गर्ने कुनै गिरोह वा आतंककारी संगठन हुन सक्ने प्रारम्भिक खुफिया रिपोर्ट पनि सार्वजनिक भयो । केही बेरमा प्राप्त भएको एउटा सनसनीखेज खुलासाले त मलगायत त्यो समाचार हेर्ने सबैलाई आश्चर्यको ज्वालामुखीभित्र हुत्याइदियो ।
एयरपोर्ट र सिंहदरबार आसपासका सीसीटीभी फुटेजका अनुसार एउटा रहस्यमय व्यक्तिले आकाशमा उडेर आगो लगाएको थियो । अनेक सवालहरू उठिरहेका थिए । एउटा मान्छेले कसरी आकाशमा उडीउडी त्यत्रो भयंकर आगलागी गराउन सक्छ ? को हो ऊ ? अनि चाहन्छ के ?
मेरो दिमाग अझै खराब भइरहेको थियो । फेरि एकपटक सपना परिणत हुनपुगेको थियो विपनामा । घटना हुनुपूर्व नै दृश्यहरू जस्ताको त्यस्तै सपनामा आउन थाल्नु आश्चर्य हो कि जिन्दगीको नियमित आकस्मिकता ? अथवा सपनामा जे आयो त्यही घटना यथार्थमा पनि घट्न पुग्नुलाई कसरी लिने ? के हो यो ? किन हुन्छ यस्तो ? के यो नै प्रकृतिका तर्फबाट मान्छेले पाएको अमूल्य प्रज्ञा हो ?
आर्तनादले भरिएका समाचारले रक्तसञ्चार तीव्र भएपछि मैले मोबाइलको स्विच अफ गरिदिएँ । अनि आँखा बन्द गरेर आफैंलाई प्रश्न गरेँ, के घना अन्धकारमा यहाँ आगोको केवल एक बीजले पुरै दुनियाँ जलाएर नष्ट गरिदिन सक्छ ? केवल एक बीजले ?
बाघखोर प्रज्ञाबारे लिलाराज खतिवडाको ६ लेख
- टार्जनको सहर यात्रा : बाघखोर प्रज्ञा- ६
- टार्जनको स्वप्न उडान : बाघखोर प्रज्ञा- ५
- 'डेजा भू’ : बाघखोर प्रज्ञा- ४
- कथा ‘रिलोड’ हुन्छ : बाघखोर प्रज्ञा- ३
- नियति : बाघखोर प्रज्ञा- २
- गर्जन : बाघखोर प्रज्ञा- १
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया