सप्ताहन्त

संस्मरण र अनुभूति

‘सेल्फ मेड’ वेदप्रसादजी

वसन्त लोहनी |
फागुन ७, २०७८ शनिबार १०:२८ बजे

त्यति बेला जब म घरको कोठामा टाँगिएको २१ वर्ष उमेरको त्यो फोटोको सहाराले मेरो पिता वेदप्रसाद लोहनीको आकृति देखेर भाव डुङ्गामा बहिरहेको थिएँ, उषाले स्नेहपूर्वक बायाँ कुममा हलका स्पर्श गरिन् । बल्ल आफू उभिएको धरातलको हेक्का भयो- चारबाग स्टेसनको उत्तरपट्टि बाहिर । दायाँ पार्किङको टाङावालतिर फर्किएको ।

उनीतिर हेरेँ अब । भनिन्, ‘कता जाने ?’ मैले फ्याट्ट भनेँ, ‘यही बसौँ अहिले-रेलवेको रिटाइरिङ रुममा । न्वाइध्वाइ गरौँ, केही खाऔँ, अनि हेरौँला । हुन्‍न ?’ यसपछि हामी स्टेसनतर्फ मोडियौँ, समान गुडाएर । मोडिँदा मैले देखे आँखा नझिम्काएर हामीलाई हेरिरहेको टाङावालको अनुहार ग्वाँक फुस्केको चङ्गा घुमे जस्तो घुम्यो । अनि ऊ घोडासँग कुरा गर्दै त्यसको पिठ्युँ सुमसुमाउन थाल्यो ।


इन्डियामा जहाँ गए पनि त्यसै भिड । झन् स्टेसनको त कुरै भएन । छिचोल्नै गाहारो । ब्याग बोकेर भरेङ उक्लँदा माथिबाट हान्‍निएर आएकाले लडाइदेलान् भन्‍ने पनि डर । बल्लतल्ल रिटाइरिङ रुम दिने बाबुकहा पुग्यौँ । रेलवेको दर्जा अनुसारको ड्रेस लगाएको त्यो मान्छे मेचमा बसेर टेबुलमा घोप्टिएको थियो । सायद झप्की लिन खोजेको होला ।

ड्रेस औपचारिक भए पनि लगाउनेदेखि बाँकी सबै तौरतरिका र व्यवहार अनौपचारिक छ यहाँ । हेर्दै हेरेन हामीपट्टि त्यो बाबुले । मैले हिन्दीमा भनेँ, ‘हेर्नुस्, दुई तीन दिनलाई एउटा राम्रो डबल बेड रुम चाहियो ।’ हामी अहिले बनारसबाट आएको भनेर हातमा टिकट लिएर देखाउन चाहेँ । हेर्दै हेरेन हामीलाई । अनुहार नै नहेरेर जवाफ दियो, ‘हुँदैन, २४ घण्टाभन्दा बढी मिल्दैन । अहिले त कोठा नै खाली छैन ।’ मैले अनि अङ्ग्रेजीमा अलि ठटाएरै भनेँ, ‘बडेबाबुलाई भेटाऊ, हामीलाई ।’ त्यसपछि बल्ल अनुहार हेर्‍यो ।

चोर औँलाले देखायो उसको कोठा । भित्र छिर्नु मात्र । त्यो पनि हेर्दैन । नाकको डाँडीमा तल चस्मा झारेर पत्रिकामा हेरिरहेको छ । मैले अङ्ग्रेजीमा भने लखनउ आउनुको कारण र कोठा मागेँ । त्यसपछि हत्केलाले टेबुल घण्टीको टाउकोमा अलि लामै पटक फ्याटफ्याट हिर्कायो । बल्ल त्यही अघि भेटेको मान्छे भित्र छिर्‍यो । टेबुल क्यालेन्डरबाट एक पेज च्वाट्ट तानेर निकाल्यो । के लेख्यो कुन्‍नि, दियो त्यसलाई । इसारा गर्‍यो पछि लाग्‍न । 

त्यसपछि बल्ल उसले अघिकै ठाउँमा आएर दराजबाट रजिस्टर निकालेर सबै विवरण भर्नका लागि टिकट माग्यो । बिल काट्यो २४ घण्टाको । पैसा तिरियो, तोकिएको । त्यसपछि उसले त्यो पुरानो भित्ते दराजबाट साँचो झिक्यो । दराज बन्द गरेर लम्क्यो । लामो कोरिडोरको पुछारमा पुर्यायो र एउटा कोठा खोलिदिएर भित्र हुलिदियो हामीलाई । 

सामान बिसाएर म त्यहाँ राखेको पुरानो चोयाले बुनेको आरामी कुर्सीमा खुट्टा तन्काएर बसे । उषा न्वाइध्वाइतर्फ लागिन् । त्यो आरामी कुर्सीले मनमा ल्यायो कुरा, ब्रिटिस राजको । त्यो बेलाको फारम अझै चालु छन् रेल चलाउन । यत्रो ठूलो उपमहाद्वीपमा ब्रिटिसले यहीँकै मान्छे लिएर तिनीहरूलाई नै ठोक्न लगाएर राज गरेका थिए । अनि म पुगेँ थोमस म्याकाउलीले सन् १८३५ मा निकालेको अद्भुत सोचमा । बा ! क्या आइडिया । भारतमा नै भारतीय बेलायती उत्पादन गरेर शासन गर्ने ।

यस्तो भारतीय बेलायती जसले हुबहु बेलायती मिमिक गर्छ । अर्थात्, नक्कल गर्दछ । बेलायतीले खाएको जस्तो गरेर काटा चम्चा चलाएर खाने, त्यस्तै क्विन्स उच्चारणमा अंग्रेजी बोल्ने, त्यस्तै थ्री पिस सुट लगाएर चेन लट्काएर घडी वेस्ट कोटको पकेटमा झुन्ड्याउने, जिमखाना क्लब जाने, क्रिकेट खेल्ने । सब बेलायती, केवल मान्छे मात्र भारतीय ।

कसरी गर्ने यस्तो उत्पादनभन्दा उनले तर्जुमा गरे त्यस्तो बनाउने साँचोको । त्यो बन्यो शिक्षा । यसरी तयार भयो बाबु क्लास जसलाई ‘ब्राउन साहेब’ भनिन्छ । यसबाट नै एउटा निजामती सेवा तयार भयो । आइसीएस गरेका बाबुहरू हुन्थे उपल्लो तहमा । काठमाडौँमा कुनै बेला बीए लेख्दा ठूलो इज्जत हुन्थ्यो, जति सायद अहिले पिएचडीको पनि छैन । ती उपल्लो तहका बाबुहरूले नामको पछाडि उपाधि सरह लेख्थे, आइसीएस भनेर । मूलतः यो वर्गको ब्रिटिस प्रतिको निष्ठा र मेहनतको प्रतिफल हो, ब्रिटिस राज ।

केही हजार ब्रिटिसले करोडौँ भारतीयमाथि उपनिवेशवादी शासन गर्न सके, त्यो भारतीय बेलायती वर्गको बलमा । यो अहिले उपनिवेशवादपछिको गहिरो सांस्कृतिक अध्ययनको विषय बनेको छ । हाम्रो देशमा पनि मिमिक्रीमा अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयबाट पिएचडी गरेर विज्ञ बनेका विद्वान् छन् । यसरी सोचिरहेका बेला उषा निस्किइन् र म लगत्तै छिरेँ न्वाइध्वाइ गर्न ।

हामी दुबै तयार भयौँ । रेलवेको रेस्टुरेन्टमा खाना खाएपछि निस्क्यौँ डा. जैनकहाँ जान । मैले ठेगाना हेरेँ : ए-२६, मल एभेन्यु, आवास विकास कोलोनी । अनि म्याप पनि । चारबाग रेलवे स्टेसनबाट पूर्वपट्टिको यो ठाउँ त्यति टाठा थिएन । रिक्साबाट सहर हेर्दै जाने निधो भयो । रिक्सावालासँग उसको दुःख-सुखको बात मार्दै, हेर्दै जाँदा मल एभेन्युमा एउटा भिलाले आँखा तान्यो । भव्य रहेछ भनेर सोच्दै थिएँ, रिक्सा नजिकै पुग्यो । कम्पाउन्ड गेटमा लेखिएको नाम थियो- कु. मायवती । कु. भनेको कुमारीको छोटकरी होला, विवाह नगरेकोले । यो नामले सम्झायो भारतीय कलाकार अनुपम खेरले चलाउने एउटा हिन्दी टक सो-कुछ भी हो सकता है (जे पनि हुन सक्छ) । मायावती १९९५ मुख्य मन्त्री बन्‍न सक्नु यस्तै नै हो । निजामती सेवामा छिर्ने चक्करमा रहेकी दलित महिलालाई काशीरामले एकैचोटि उठाएर ल्याइदिए ।

उनको घर देख्दा हाम्रा नेताहरूको काठमाडौँको विशाल घरहरूको पनि लगत्तै सम्झना भयो । उनी पटक पटक मुख्य मन्त्री हुँदा बुद्धि बेचेर खाने राजनीतिशास्त्रीहरूले मायावतीको ‘सोसल इन्जिनियरिङ’को व्याख्या र प्रशंसा गर्ने गरेका कुरा जुन विस्मृतिमा हराइसकेका थिए, ती अनायास लहर बनेर स्मृतिको गोरेटोमा अटाइनअटाई गरेर आए । यति सोच्दै थिए म, रिक्सा एउटा ठूलो चिहानलाई दायाँ पारेर गुडिरहेको थियो । क्रस चिन्हले भरिभराउ थियो । अनि मनमा आयो नवाबको सहरमा पनि ब्रिटिस आएपछि निकै धर्म परिवर्तन भएको रहेछ ।

सायद गोवाको जस्तो । भारत स्वतन्त्र भएको १४ वर्षपछि मात्र भारतको भएको यो पोर्चुगलको कोलोनी गोवामा क्रिश्चियन एक जना पनि थिएनन् पोर्चुगलले १६ औँ शताब्दीको सुरुमा कोलोनी बनाउने अगाडि । पछि ३५ प्रतिशतभन्दा बढीलाई धर्म परिवर्तन गराएर क्रिश्चियन बनाइयो । रिक्सावालाले चिहानको फन्को लगाएर करिब चिहानको अर्कोपट्टि रोक्यो । डा. जैनको घर त्यही आगाडि एउटा सानो रहेछ । घण्टी बजायौँ । उनी पर्खिरहेका नै रहेछन् । हामी फोन गरेर नै आएका थियौँ ।

घर अति नै साधारण, जति साधारण उनी आफैँ देखिन्थे । इथ्नोबायोलजी इन्स्टिच्युटको डाइरेक्टर थिए । ३० वर्ष बोटानिकल सर्भे अफ इन्डियामा काम गरेका, दुई दर्जन किताब लेखेका डा. जैनको रहनसहन र साधारणपनबाट हामी निकै प्रभावित भइसकेका थियौँ । हामीले बेग्लै चरित्रको अनुभव गर्यौं । उनी निकै बूढो थिए ।

सायद उमेरले हो कि उनको शरीरको मांसपेशी निकै कम भएर होला हड्डीको स्वरूपको प्रधानता थियो । तर एकदम अलर्ट । उषाको र उनको प्रोफेसनल कुराहरू म बुझ्दैनथे । सिक्न चाहने विद्यार्थीले जस्तो ध्यान दिएर सुनिरहे तर सुन्दैमा पनि त्यसको अर्थ हुँदो रहेन छ जसरी अंग्रेजी जानेर पनि अङ्ग्रेजीमा लेखिएको फिजिक्सको किताब नबुझेको जस्तो । हाम्रो पूर्वयोजना उषालाई त्यहाँ पुर्याएर म बुबा पढेको ठाउँमा जाने थियो । एक छिन बसेर डा. जैनको मर्यादा राखेपछि म उठिहाले जान । उषाको छलफल सकिएपछि उनले फोनगर्ने र अनि लिन आउने गरी म हिँडे त्यहाँबाट ।

म अधैर्य थिएँ त्यहाँ पुग्‍न । नदीमा आएको बाढीजस्तो मनभित्र भावहरू बहिरहेका थिए । तर लाटुस रोड र पोलिटेक्निक बाहेक अरू केही थाहा थिएन मलाई । म आफूभित्र तर्न नसकिरहेको बेला आफू चढेको तिन पाङग्रेले लाटुस रोडमा पुगेर कहाँ रोकूँ भनेपछि पो ठाउँको हेक्का भयो । उसको प्रश्नको जवाफ मसँग थिएन ।

सहज भावमा भनेँ- ‘यही रोक’ । साइड लगाएर रोक्यो । पैसा दिए, चेन्ज फिर्ता लिन कुरिन । फटाफट अगाडि बढेँ । सडक त चौडा तर ज्यादै नै भिडभाडको, हाम्रो असन इन्द्रचोकको जस्तो । मैले सोधेँ, एउटा ठूलो पसलेसँग, ‘लाटुस रोड यो होइन ?’ लाटुस रोडमा आएर लाटुस रोड सोध्ने यो कस्तो मान्छे रहेछ भनेको जस्तो गरी हेरेर उसले भन्यो - ‘हो’ । मैले अधैर्य भएर सोधिहालेँ, ‘कहाँ छ पोलिटेक्निक ?’ उसले अलि पर दायाँतर्फ देखाइदियो । उत्तरबाट दक्षिण लामो लाटुस रोडमा म उत्तरतर्फ बायाँ साइडबाट हिँडिरहेको थिए । उत्तरतर्फ अझ अगाडि हिँडेँ, पसलेले देखाएको ठाउँमा दायाँ पुरानो गुम्बजको गेट देखँे । रोड क्रस गरेर त्यसभित्र छिरे ।

एउटा एकदम ठूलो समकोण भएको चोकमा पुगियो, वरिपरि बिल्डिङले घेरिएको । तल्लो तलामा धेरैजसो विभिन्‍न किसिमका वर्कसप थिए जहाँ कोही सिकाइरहेको र मानिस काम गरिरहेका थिए । कसैसँग एक शब्द नबोलेर ध्यानमग्न भएँ । एक एक हेर्न थालेँ । घन्टौँ बितेको थाहा नै भएन । म उनीलाई नै देखिरहेको थिए त्यहाँ काम गरिरहेको- त्यो दुब्लो, पातलो श्याम वर्णको किशोर वेदप्रसाद । आफैँमा हराएर मनमनै प्रश्न र उत्तर गरिरहेको थिएँ । कहाँ बस्थे होलान्‍न् ? के खान्थे ? त्यति बेलाको चलनअनुसार अरूले छोएको भात खानु हुँदैनथ्यो ।

आठ वर्षमा व्रतबन्ध, दस वर्षमा विवाह भएर छोरीको बाबु भइसकेका उनी । त्यति वेला भान्छे बाहुन पनि लिएर जाने चलन थियो । नत्र आफैँ धोती फेरेर चोखो गरेर पकाएर खानुपर्ने । मेरो जेठो बुबा फणीन्द्रप्रसाद, जो सन् १९३४ मा नेपालको पहिलो फिजिसिस्ट बने, पटनामा एमएसी गर्न जाँदा भान्छे बाहुन पनि सँगै लगेको भन्‍ने कुरा सानो छँदा सुनेको थिएँ । यसरी आफैँसँग मनमनै कुरा गरिरहेका वेला मोबाइलको घण्टीले झसङ्ग पार्‍यो । हत्तपत्त उठाएँ । उषाले भनिन्- ‘काम सकियो मेरो’ ।

लगत्तै पुगेँ डा. जैनको घर । उषाको अगाडि करिब दसवटा जति कितापको चाङ राखिएको देखेँ । म जिल्ल परेकाले होला उनले भनिन्- मैले किनेको यी, वहाले लेखेको कितापहरू मध्येबाट । त्यसपछि उनीसँग सम्मानपूर्वक बिदाबादी भएर निस्कँदा मुखमा आइसकेको भए पनि ‘फेरि भेटौँला नि’ भनेर मैले भनिनँ ।

बुबा र उषाको सम्बन्ध बाबु छोरीको थियो । उनी बुबालाई असाध्यै माया र सम्मान गर्थिन् । सबैलाई बाँडचुड गर्ने मन, कहिले हिम्मत नहार्ने स्वभाव र कर्मवीर भएर खटिरहन सक्ने बानीबाट अत्यन्त प्रभावित थिइन् । ८८ वर्षको उमेरमा पनि वहाँ क्यान्सरबाट बित्ने ६ महिना पहिलेसम्म पनि घर बनाइरहनुभएको थियो ।

सुपरभिजनका लागि हरेक दिन जानुहुन्थ्यो साइटमा । हाम्रा छोरा र छोरीमा वहाँले पनि जुन संस्कार हालिदिनुभएको छ त्यो जीवनको सर्वाधिक ठूलो कुरो ठानेका छौँ हामीले । तिनीहरूको इमान र चरित्र अकबरी सुन जस्तै छ । त्यसैले हामी सधैँ ढुक्क छौँ । यो वास्तविकता आत्मसात् गरेकी उषाले तीन पाङग्रेमा बस्ने बित्तिकै भनिहालिन्- ‘यसबाट मुक्त भइयो अब जाऊ उतै ।’ मैले सोधेँ- ‘कता’ । अलि लामो स्वरमा भनिन्- ‘मैले हेर्नु परेन बुबा पढेको ठाउँ आनन्दसँग अब’ । फेरि आयौँ त्यही ठाउँमा । घण्टौँ बितायौँ बन्द नहुन्जलसम्म ।

मनभरि बुबाको कुरा लिएर त्यहाँबाट अभिप्रायरहित भएर उत्तरतर्फ अझ अगाडि हिँड्दा वरिपरि चारैतिर पुरानो घरको लहरले घेरिएको पाँचमुखे फराकिलो सर्कलमा पुगियो । त्यसलाई कैसरबाग भनिँदो रहेछ । यो पुरानो लखनउ भनेर प्रस्ट चिनिन्थ्यो । चेतन मनबाट यादको भुल्को फेरि बाहिर आयो । मलाई लाग्यो सायद उनको डेरा यतैतिर थियो होला । बाक्लो आबादी थियो त्यहाँ ।

पुरानो घरका बार्दलीहरू घर निर्माण सामग्रीबाट बनेका जालीहरूले ढाकिएका थिए । अझै नवाबकालीन मुसलमानको पर्दा सिस्टमको सम्झनालाई ब्युँताइरहेको जस्तो लाग्यो मलाई । अगाडि देब्रेतिर लाग्दा एउटा नपत्याउने खालको पुरानो पब्लिक लाइब्रेरी रहेछ । सुनेँ, त्यहाँ जस्तो पुरानो कागजातको पनि रिकर्ड पाइन्छ । हान्‍निएर भित्र छिरेँ उनको पढाइको रेकर्ड पाइन्छ कि भनेर । तर लाइब्रेरियन भेटिएन ।

अझ अगाडि देब्रेतिर एक्लै ठिङ्ग उभिएको भातखन्डेको सङ्गीत पाठशालाको भवनले मलाई उनले हार्मोनियम बजाएर भजन गाएको दृश्यलाई अगाडि ल्याइदियो । गजबको प्रतिभा भएको मान्छे ! म्युजिक सिकेको होइन । तर गीत सुन्‍नेबित्तिकै हार्मोनियममा त्यो ट्युन बजाइहाल्न सक्ने । त्यति बेला वस्ताद बोलाएर घरमा सङ्गीत सुन्‍ने चलन । सायद त्यसैको प्रभावले होला । सन् ४० को दशकमा कलकत्ता गएर आफैले गीत गाएर रिकर्ड गराएर ल्याएको त्यो ‘हिज मास्टर्स स्वाइस’को कुकुरले सुनेको लोगो भएको ७८ आरपीएमको रेकर्ड मैले पछिसम्म पनि घरमा देखेको थिएँ ।

उनीमा रागरागिनीको राम्रो ज्ञान थियो जुन मैले सुनेको थिएँ वस्तादहरूसँग कुरा गरेको । पछिसम्म म देख्थेँ वस्ताद रामप्रसाद राय पान चपाउँदै आएर घण्टौँ राग सुनाउने गरेको । त्यस्तै गणेश भण्डारी शनिबार बिहान हाम्रो ज्ञानेश्वरको घर आएको । तबलामा साथ दिन उनले सितार बजाउँदा । र, यो सितारवादन लामो समय नरोकिएर जाँदा दुबै जना पसिनाले लतपत भएको । यसबारे पछि कुरा गरौँला ।

लखनउ यात्राको १७ वर्षपछि यो लेख्न बस्दा मैले उनले पढेको किताब अनायास पल्टाएँ । एउटा कितापको भित्री खाली पेजमा उनकै हस्ताक्षरमा लेखेको देखेँ, ‘पहिलो वर्ष, सिभिल इन्जिनियरिङ स्कुल, लखनउ ।’ मिति सन् १९३८ को छ । फोटो यसै साथ छ । त्यसपछि म झसङ्ग भए । २००५ को लखनउ यात्रामा भावविभोर भएर घुमेको त्यो पोलिटेक्निकलाई त इन्जिनियरिङ स्कुल भनिँदैन थियो । यो के हो ? यसपछि यस विषयमा सोधपुछ, अध्ययन, अनुसन्धान गरेपछि थाहा लाग्यो कि त्यो मैले भ्रमण गरेको पलिटेक्निक उनले पढेको इन्स्टिच्युट नै होइन रहेछ । आफ्नो छोरा भनेर माया गरेको बच्चा आफ्नो छोरो नभएको थाहा लागेको अवस्थामा जुन भावनात्मक झट्का लाग्छ करिब त्यस्तै अवस्थाको नजिक आइपुगेको छु म अहिले ।

कुरो रहेछ यस्तो । लखनउको नामुद मानिने लखनउ पोलिटक्निक सन् १९२२ मा सुरु हुँदा ‘सिभिल इन्जिनियरिङ स्कुल’को नामबाट भएको रहेछ । त्यसपछि त्यहाँ अरू विषयमा पनि पढाइ हुन थाल्यो । तर जुन वेला वेदप्रसाद त्यहाँ पढ्थे त्यति वेला फेरि सिभिल इन्जिनियरिङ मात्रको पढाइ हुन्थ्यो । अहिले फेरि मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङ गरी चार विषयमा डिप्लोमा स्तरको पढाइ चालु छ ।

२१ वर्ष पछि त्यहाँ सन् १९५९ मा नेपालबाट भरत शर्मा कोलम्बो प्लानको छात्रवृत्ति पाएर पढ्न गएका थिए । उनले त्यसपछि क्वालालम्पुर र वरौदामा आर्किटेक्चर पढेर विश्वप्रसिद्ध हार्वर्ड विश्वविद्यालयबाट ल्यान्ड स्केपिङमा एमएस गरेका छन् । उनको व्यावसायिक काममा नारायणहिटी, नागार्जुन र पशुपतिको ल्यान्डक्केपिङ पनि पर्दछन् । उनीसँग लामो कुरा भयो वेदप्रसाद लोहनीको इन्जिनियरिङ क्षमता बारेमा । पछिका शृङ्खलामा यथोचित प्रस्तुत गरौँला ।

उनको ठहर छ, ‘वेदप्रसादजी इन्जिनियरिङमा सेल्फ मेड हुन् ।’ मैले सोधेँ, ‘कसरी ? उनले भनेँ, ‘आजको दिन होइन, त्यो बेलाको कल्पना गर्नुहोस् राणाकालीन युग । सिमेन्ट ढलान नै नआएको वेला-न ज्ञान थियो सिमेन्ट, गिट्टी र बालुवा मिक्स गर्ने । न डन्डी बङ्ग्याउने, न फर्मा हाल्ने । सन १९४३ मा ‘सरस्वती सदन’को परिकल्पना गर्न सक्नु, त्यो पनि त्यत्रो क्यान्टिलिभरको । र, सन् १९५३ तिर रञ्जना सिनेमा हलको त्यो डोमको निर्माण सोच्न सक्नु लखनउ पोलिटेक्निकको पढाइले मात्र गिदीमा हाल्न सक्तैन । त्यो क्षमता र आँट उनको व्यावसायिक स्वआर्जन हो ।’
क्रमशः

वेदप्रसादबारे वसन्तका लेख


Author

थप समाचार
x