सप्ताहन्त

पुस्तक समीक्षा

शिक्षा हेर्ने आँखीझ्याल ‘स्कुलभित्र स्कुलबाहिर’

कोही किन मावि शिक्षक छोडेर खरिदार हुन्‍छ ?

कमला भण्डारी पाण्डे |
फागुन ८, २०७७ शनिबार ११:३३ बजे

साहित्यकार र अनुसन्धाताका रूपमा परिचय बनाएको नाम हो, उषा हमाल । १० वर्षको शिक्षण अनुभव, २२ वर्षको निजामती कर्मचारीको अनुभवले खारिएकी उषा हमालको पुस्तक हो, ‘स्कुलभित्र स्कुलबाहिर’ । यो पुस्तक पाँचपोखरी प्रकाशन गृह न्युरोड काठमाडौँले प्रकाशन गरेको हो । २०७६ सालमा पहिलो संस्करणका रूपमा यो प्रकाशित छ । कभर पृष्ठसहित यसमा १७० पृष्ठ छन् । १५० पृष्ठमा विषयवस्तु समावेश गरिएको छ । 

यस पुस्तकमा लेखकका अनुभवसँग जोडिएका शैक्षिक क्षेत्रका समसामयिक मुद्दासम्बन्धी १७ वटा लेख समावेश गरिएको छ । नेपालका शिक्षा योजना र हाम्रो सामाजिक, सांस्कृतिक, आर्थिक यथार्थबीच तादात्म्य हुन नसकेका विषयको उठान र त्यसका विकल्प प्रस्तुत गरिएको छ । यो पुस्तक शिक्षा क्षेत्रमा काम गर्ने कर्मचारी, शैक्षिक योजनाकार, अनुगमनकर्ता, शिक्षक तथा शिक्षासम्बन्धी अध्ययनमा रुचि राख्ने जो कोहीलाई उपयोगी सिद्ध हुने देखिन्‍छ ।


नेपालको शिक्षा पद्धतिको सिद्धान्त र व्यवहारमा रहेका विरोधाभाषलाई यस पुस्तकमा संकलित लेखहरूमा देखाउन खोजिएको छ । यस पुस्तकमा शिक्षा क्षेत्रका विभिन्‍न लेख समावेश गरिएको छ । स्कुलभित्र स्कुलबाहिर, किन गर्छन् शिक्षकहरू राजनीति ? कोही किन मावि शिक्षक छोडेर खरिदार हुन्‍छ ? भूकम्पपछिका स्कुल, किन जाँदैनन् मजदुर बालबालिका स्कुल ? निरक्षर गोमाको माइती, म स्कुल जान्‍नँ बरु बिहे गर्छु, साक्षरता संवाद, हिँड्दै पाइला मेट्दै, एसईई दिएका भाइबहिनीहरू, सबैका लागि शिक्षाका लागि वैकल्पिक समय, पाँचतारे होटल र हिंसारहित शिक्षा, अलमलिएका साक्षरता अभियान, खोइ मेरो छोरा ? मलाई चाहिएको शिशु कक्षा, पाठ्यपुस्तक व्यवस्थापन र मातृभाषामा शिक्षण शीर्षकका लेख समेटिएका छन् । लेखहरूको अन्त्यमा शिक्षासँग सान्दर्भिक विषयवस्तुलाई गीतहरूको माध्यमबाट सरल तरिकाले प्रस्तुत गरिएको छ । यी गीतहरूले पाठकलाई फरक स्वाद दिन सफल छन् ।

बालबालिकालाई स्कुलभित्र ल्याउने प्रयासस्वरूप प्रत्येक वर्ष गरिने विद्यार्थी भर्ना अभियान र यसले समेट्न नसकेका पक्षहरू केलाइएको छ । विद्यालयबाहिर रहेका बालबालिका के कारणले विद्यालय बाहिर छन् भन्‍ने कुराको चुरो पत्ता नलगाई जस्तासुकै राम्रा नारा दिएर भर्ना अभियान सञ्चालन गरे पनि सार्थक परिणाम निस्कन सक्दैन । विद्यालय भर्ना नहुनु, भएर पनि नियमित नहुनुका कारणमा स्कुल समय लामो हुनु, स्कुल वातावरण रुचिपूर्ण नहुनुलाई देखाइएको छ ।

भर्ना अभियानले फरक समस्या भएका बालबालिकालाई फरक किसिमले सम्बोधन गर्नसके मात्र उपलब्धिमूलक हुने यसका लागि छोटो स्कुल समय र स्कुलको शैक्षणिक र भौतिक पक्षमा सुधार गर्न सुझाइएको छ । यसका साथै स्कुलको आँगन शीर्षक गीत निकै मार्मिक छ अहिलेसम्म स्कुलको आँगन टेक्या छैन, अक्षरको अनुहार मैले देख्या छैन ।

किन गर्छन् शिक्षकहरू राजनीति ?
शिक्षकमा देखिएको राजनीतिक मोह र पार्टी राजनीतिप्रतिको झुकावलाई यस लेखमा देखाउन खोजिएको छ । शिक्षामा राजनीतिक प्रभाव सम्बन्धमा नेपाल र अजरबैजानको तुलना गरिएको छ । नेपालमा जस्तो अजरबैजानमा स्कुल समयमा शिक्षकहरू पार्टी राजनीतिमा संलग्न हुने गरेको नपाइएको देखाइएको छ । हाम्रो देशमा कुनै पार्टीका नेताहरूले शिक्षकहरूलाई भन्‍न सकेनन् कि ‘तिमीहरू आफ्नो पदीय जिम्मेवारी वहन गर । पढाउन छोडेर हाम्रो झण्डामुनि आबद्ध हुनु पर्दैन । आफ्नो पेसागत हक, हित, सरुवा, बढुवाका लागि हाम्रो झोला बोकिरहनु पर्दैन’ भनी आशंका व्यक्त गरिएको छ । राजनीतिक नेतृत्वले चाहने हो भने यो समस्याको सहज निकास निस्कन सक्ने धारणा व्यक्त गरिएको छ ।

कोही किन मावि शिक्षक छोडेर खरिदार हुन्‍छ ?
सरकारी उच्च ओहदामा बसेर जतिसुकै राम्रा काम गरे पनि उसको सम्मान केवल औपचारिकतामा सीमित हुन्‍छ भने शिक्षकले आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गरेको छ भने उसले पाउने बाहिरी सम्मान जीवनपर्यन्त रहन्‍छ भने आत्मसम्मान र सन्तुष्टि पनि अत्यधिक हुन्‍छ ।

यो कुरा नबुझेर मावि शिक्षकको पद छोडेर खरिदारको हुन पुगेको देख्दा अचम्म लागेको देखाइएको छ । अबका शिक्षकले विद्यार्थीलाई अनुशासनमा राख्ने नाममा गुरु परम्पराको जस्तो हातमा छडी बोकेर होइन, पाठयोजना र शैक्षिक सामग्री बोकेर कक्षाकोठामा जानुपर्ने र व्यक्तिगत विभिन्‍नताका आधारमा उनीहरूमा सिकाइप्रति रुचि जगाउनु र ज्ञानको स्रोत म मात्र हुँ भन्‍ने सोच त्यागी विद्यार्थीलाई सहजीकरण गर्नसके शिक्षकजति मर्यादित पेसा कुनै नभएको देखाइएको छ ।

भूकम्पपछिका स्कुल
नेपालमा २०७२ सालमा आएको भूकम्प र त्यसले शिक्षा क्षेत्रमा पुर्‍याएको क्षति, विद्यालय सञ्चालनमा भएको कठिनाइ, भूकम्प शिक्षाका नाम दिइएको अल्पज्ञान, भूकम्पको जोखिममा छौँ भन्‍ने थाहा हुँदाहुँदै हाम्रो तयारीलगायतका पक्ष यसमा समेटिएका छन् । विपद् जोखिम न्यूनीकरणका उपाय, विपद्पश्चात् मनोसामाजिक परामर्शमा भएको अलमल र तत्कालीन राहतका कार्यमा विद्यार्थी सहभागिताको चित्रण गरिएको छ । धेरै किसिमका जोखिममा रहेको मुलुकले यससम्बन्धी अध्ययन अनुसन्धानमा विशेष जोड दिनुका साथै सञ्चारका माध्यमबाट सधैँभरि सचेतनामूलक सन्देश प्रवाह गर्नुपर्ने कुरा निकै मननयोग्य छ ।

किन जाँदैनन् मजदुर बालबालिका स्कुल ?
मजदुर बालबालिका किन विद्यालय जाँदैनन्को एउटै जवाफ गरिबीलाई दिने गरिए पनि यो सतही जवाफ भएको र मजदुर बालबालिका विद्यालय नजानुका कारण उनीहरू अनुकूल विद्यालय समय नहुनु र विद्यालयको भौतिक अवस्थाका साथै शैक्षिक कार्यक्रम पनि जिम्मेवार रहेको देखाइएको छ । अन्तिममा प्रस्तुत गरिएको गीतले छात्रा शिक्षामा जोड दिइएको छ ।

आफै मजदुरी गरी जीविकोपार्जन गर्नुपर्ने बालबालिका स्कुल जान नसक्नुको मुख्य कारण स्कुलका लागि समय दिन नसक्नु हो भनिएको छ । लामो स्कुल समय मात्र शैक्षिक गुणस्तर वृद्धिको सूचक हैन भन्‍ने कुरालाई अजरबैजानको उदाहरणले पुष्टि गरिएको छ । बाल मजदुरका लागि समय मिलाएर सिफ्टसमेत दिएर स्कुल सञ्चालन गर्नुपर्ने धारणा लेखकको रहेको छ ।

निरक्षर गोमाको माइती
यस लेखका माध्यमबाट हाम्रो साक्षरता अभियान र यसले समेट्न नसकेका पक्षहरू उजागर गरिएको छ । निरक्षरको संख्यात्मक कटौतीमा मात्र ध्यान नदिई उनीहरूको जीवनस्तर उकास्न मद्दत गर्ने, उनीहरूका आवश्यकतालाई सम्बोधन गर्ने कार्यक्रम चाहिएको उल्लेख गरिएको छ । निरक्षर भएका कारण भोग्नुपर्ने कठिनाई र अपमानित हुनुपर्ने पीडालाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । यस लेखको अन्त्यमा प्रस्तुत गीतले निरक्षरलाई साक्षर हुन अभिप्रेरित गर्ने देखिन्‍छ ।

म स्कुल जान्‍नँ बरु बिहे गर्छु 
बालबालिका किन विद्यालय जाँदैनन् भन्‍ने कुरालाई साहित्यिक कलेवर दिएर सपना नामकी बालिकाले भोगेको यथार्थलाई उजागर गरिएको छ । विद्यालयको शिक्षण सिकाइ वातावरणका कारण पनि कतिपय बालबालिकाले विद्यालय छोडेका छन् । त्यसतर्फ ध्यान नदिई विद्यार्थीले सिक्न नसकेकामा यातना दिने कार्य तथा सिकाइ सुनिश्चितताबिना कक्षा चढाउने र उनीहरूको सिकाइ स्तरअनुरूप सहयोग गर्ने परिपाटीको विकास नभएसम्म सपनाजस्ता बालिकाले म स्कुल जान्‍नँ बरु बिहे गर्छु भन्‍न विवश हुने देखाइएको छ । निकै मार्मिक गीतका माध्यमबाट चेलीबेटी बेचबिखनको समस्यालाई समेत उजागर गरिएको छ ।

साक्षरता संवाद
साक्षरता अभियानमा शिक्षकको भूमिकालाई उजागर गर्न प्रअ र शिक्षकबीच भएको संवादलाई जीवन्त ढंगले प्रस्तुत गरिएको छ । साक्षरता अभियानलाई केवल शिक्षा मन्त्रालय र अनौपचारिक शिक्षा केन्द्रको मात्र जिम्मेवारी नभई सबै तह र तप्कामा रहेका साक्षर व्यक्तिको दायित्व हो भन्‍ने देखाउन खोजिएको छ ।

हिँड्दै पाइला मेट्दै
साक्षरता अभियानको नालीबेली यसमा प्रस्तुत गरिएको छ । भूगोल, संस्कृति, भाषा, धर्म सबैमा बहुल समाज तर एउटै ढाँचाको शिक्षण पद्धति र निरक्षरका समस्यासँग जोडेर साक्षरता कार्यक्रमलाई लैजान नसक्दासम्म यस्ता कार्यक्रम सफल नहुने तथा संख्यात्मक कटौती मात्र साक्षरता हैन । यसको दिगोपन र प्रभावसमेतलाई ध्यान दिनुपर्ने बताइएको छ ।

एसईई दिएका भाइबहिनीहरू
एसईई दिएर बसेका भाइबहिनीहरूको मनोदशालाई चित्रण गर्दै उनीहरूले लिनुपर्ने भावी गन्तव्यका सम्बन्धमा अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन सबैले सकारात्मक परामर्श दिनुपर्ने कुरा प्रस्ट पार्न खोजिएको छ । समयमा सही निर्णय लिन सकिएन भने पछुताउनुपर्ने सन्देश दिनुका साथै विषय छनोट, शिक्षालय छनोटमा सावधानी अपनाउन सुझाइएको छ ।

सबैका लागि शिक्षाका लागि वैकल्पिक समय
शिक्षा योजना तयार गर्दा विचार पुर्‍याउनुपर्ने पक्ष हाम्रो सामाजिक धरातल हो । विविधतापूर्ण सामाजिक संरचना रहेको हाम्रो मुलुकमा शिक्षा योजनाले भने विविधतालाई आत्मसात् गर्न नसकेको देखाइएको छ । बालबालिकाका आवश्यकतालाई शिक्षा प्रणालीले समेट्न नसकेका कारण बालबालिका विद्यालयबाहिर छन् भन्‍ने लेखकको तर्क छ । शिक्षण सिकाइ रुचिकर नहुनु, विद्यालय समय लामो हुनु, अभिभावकको आर्थिक अवस्था कमजोर हुनुजस्ता पक्ष जिम्मेवार छन् । तर, हामी अभिभावकको चेतना स्तरलाई कारक ठानेका छौँ । भोको पेटका अगाडि कानुनसमेत निष्प्रभावी हुने इंगित गर्दै लामो विद्यालय समयलाई पनि एउटा महत्‍वपूर्ण पक्ष मानिएको छ ।

पाँचतारे होटल र हिंसारहित शिक्षा
ठूला होटलहरूमा गरिने गोष्ठीको घटनाको जीवन्तता देखाउँदै बालबालिकाका नाममा गरिने यस्ता कार्यक्रम पनि कतै हिंसाकै रूप त होइनन् भनी प्रश्न उठाइएको छ । हिंसारहित शिक्षासम्बन्धी बहस प्रत्येक विद्यालयमा हुनुपर्दछ न कि पाँचतारे होटलमा प्रश्न गम्भीर छ । विद्यालयमा बालबालिका शिक्षकबाट, साथीबाट प्रताडित भइरहनु मात्र हिंसा नभएर त्यसका नाममा हुने रकमको दुरुपयोग पनि हिंसा हो भन्‍ने कुरालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

अलमलिएका साक्षरता अभियान
पढ्नेको आवश्यकता र इच्छाशक्ति नबुझिकन उही केन्द्रीकृत विषयवस्तु र ढाँचाको एकोहोरो रटानले साक्षरता अभियान सफल नहुने कुरालाई विभिन्‍न स्थानका भिन्‍न आवश्यकताको उदाहरण दिएर प्रस्ट्याउने प्रयास गरिएको छ । बहुविविधतायुक्त समाजका मानिसका आवश्यकता समेट्ने ढाँचा र उनीहरूलाई साक्षरताको महŒव बुझाई मागका आधारमा कक्षा चलाउनुपर्छ भन्‍ने देखाउन खोजिएको छ  ।

खोइ मेरो छोरा ?
नेपालमा भएको १० वर्षे द्वन्द्वको घाउ सम्झाउने यो लेख मार्मिक छ । विद्यालय पढ्न गएको छोरो बाटैबाट बेपत्ता भएको पीडामा छट्पटिएको बाबुको मनोदशा यसमा चित्रण गरिएको छ । छोराको खबर पाउने आशामा पत्रिका पढ्न लगाउने ती बाबुको छोराको खबर कहिले आउने हो होइन कसैको जवाफ छैन । द्वन्द्वपीडितको पीडालाई यस लेखमा देखाउन खोजिएको छ ।

मलाई चाहिएको शिशु कक्षा    
आफूले शिशु कक्षा पढ्दाको भोगाइलाई देखाएर शिशु कक्षा कस्तो हुनुपर्दछ भन्‍ने यस लेखमा देखाउन खोजिएको छ । रमणीय वातावरणमा उनीहरूलाई पढेको अनुभवै नभई कुनै शारीरिक र मानसिक सजायबिना सिक्न पाउने बालबालिकाको हक हो । अहिलेका शिशु कक्षा र मन्टेसोरीको जस्तो शिक्षा त्यो समयमा नभए तापनि शिक्षक र अभिभावकको प्रेरणाले आफूले पढाइ सकेको लेखकको भनाइ छ ।

पाठ्यपुस्तक व्यवस्थापन 
पाठ्यपुस्तकको अभावमा भएको विद्यार्थी आन्दोलन त्यसको तत्कालीन समाधान विद्यालय विद्या गर्ने सरकारी निर्णय समुदायमा हस्तान्तरण गरिएका भनिएका विद्यालयले समेत विद्या दिने निर्णय लिन नसक्ने अवस्थालाई देखाइएको छ । विद्यालयमा समयमा पाठ्यपुस्तक नपुग्‍न एउटा समस्या र पाठ्यपुस्तकको अभावमा पठनपाठन अवरुद्ध हुनु अर्को समस्यालाई उजागर गर्न खोजिएको छ । शिक्षकका लागि पाठ्यक्रम र विद्यार्थीका लागि पाठ्यपुस्तक हो भन्‍ने धारणा भने आउन सकेको छैन ।

मातृभाषामा शिक्षण
मातृभाषाको शिक्षण, मातृभाषामा शिक्षण, मातृभाषाका माध्यमबाट शिक्षण यी तीन भिन्‍न प्रक्रियामध्ये विद्यमान् अभ्यासले मातृभाषाको शिक्षणमा जोड दिएको छ भन्‍ने देखाउन खोजिएको छ । बालबालिकालाई मातृभाषाप्रति रुचि जगाउनका लागि मातृभाषाका माध्यमबाट शिक्षण गरिनुपर्दछ भन्‍ने लेखकको धारणा रहेको छ । यस लेखमा मातृभाषाका माध्यमबाट शिक्षण गर्ने तरिकासमेत प्रस्तुत गरिएको छ ।

‘यो अक्षरबाट शब्द हुँदै वाक्य निर्माणतर्फ क्रमशः केटाकेटीलाई उन्मुख बनाउँदै लाने विधि हो । यसबाट केटाकेटी सबै भाषामा जानकार हुन्‍छन् भन्‍ने होइन । कम से कम उनीहरूमा कक्षामा पढ्ने विविध जातजातिका साथीका फरक मातृभाषा छन् र ती भाषाका फरक लिपि छन्, खुद मेरो पनि मातृभाषा छ र यस भाषाको पनि फरक लिपि छ भन्‍ने बोध गर्छन् । सबै केटाकेटी भाषाप्रति रुचिकर हुन सक्दैनन् तर जसले रुचि लिन्‍छन् । उनीहरू भविष्यका भाषा वैज्ञानिक हुन सक्लान् जसले रुचि लिँदैनन् उनीहरूले पनि केही न केही सिकिरहेका हुन्‍छन्’ भनिएको छ ।

समालोचनात्मक विश्लेषण
शिक्षा क्षेत्रका समसामयिक मुद्दाहरूमा यो पुस्तक केन्द्रित छ । प्राडा विद्यानाथ कोइरालाले भन्‍नु भएजस्तै पुस्तक चतुर्मुखी छ । यस पुस्तकले शिक्षाका योजनाकार कार्यान्वयनकर्ता र शिक्षा क्षेत्रको हरेक जिम्मेवारीमा रहेर काम गर्ने जो कोहीलाई कुनै न कुनै सन्देश दिन खोजेको छ । ‘हामी स्कुल नगएका बालबालिकाका समस्याभित्र पस्यौँ भने ती बालबालिका शिक्षाप्रति चेतना नभएका अभिभावकका छोराछोरी होइनन् भन्‍नेतर्फ सोच्‍न बाध्य हुनुपर्नेछ । रिक्सा र ठेला मजदुरका छोराछोरी पनि सरकारी स्कुलभन्दा निजी स्कुलमा पढिरहेका पाइन्‍छन् ।’

आवश्यकताको पहिचान नगरी तय भएका हाम्रा योजना कार्यक्रम शिक्षा पद्धतिका कारण पनि बालबालिका विद्यालयबाहिर छन् कि भनी योजनाकारले सोच्नुपर्नेतर्फ लेखकले इंगित गरेकी छन् । विद्यालयबाहिर रहेका बालबालिका बाल मजदुर हुन् भन्‍ने लेखकको तर्क हुँदाहुँदै पनि मजदुरी गरेर जीविकोपार्जन गर्ने बालबालिकाका लागि अवसर लागतको कतै उल्लेख पाइँदैन ।

लेखक स्वयंले यस पुस्तकलाई आफ्नो लामो अवधिको शिक्षासँग जोडिएका अनुभवहरूको प्रतिविम्बन मानेकी हुँदा यस पुस्तकमा कुनै अनुसन्धानबाट पुष्टि भएका विचारभन्दा भोगाइसँग जोडिएका कुरा छन् । विविधतायुक्त हाम्रो मुलुकमा एकै किसिमको ढाँचाको शिक्षा पद्धति र लामो विद्यालय समयप्रति लेखकको गम्भीर ध्यानाकर्षण भएको छ ।

तर, देशका सबै नागरिकलाई समान गुणस्तरको शिक्षाको व्यवस्था गर्ने उपायतर्फ भने पुस्तक मौन छ । यस पुस्तकमा समेटिएका कतिपय लेख एउटै विषयवस्तुमा केन्द्रित भएको पाइन्‍छ । यी लेखहरूलाई एकीकृत गरी पुस्तकमा आउन सकेको भए सुनमा सुगन्ध हुने थियो । उदाहरणका लागि निरक्षर गोमाको माइती, साक्षरता संवाद, हिँड्दै पाइला मेट्दै, सबैका लागि शिक्षाका लागि वैकल्पिक समय शीर्षकका लेखलाई लिन सकिन्‍छ ।

सबैलाई शिक्षा दिने सवालमा विदेशका अनुभव समेटिएको छ । अजरबैजानको विद्यालय समय, विद्यार्थी मूल्यांकन र उदार कक्षोन्‍नति नीतिको प्रसंग उठाइएको छ र हामी नीतिमै चुकेका छौँ भन्‍ने तर्क गरिएको छ । तर, हाम्रोमा पनि वैकल्पिक विद्यालय, निरन्तर विद्यार्थी मूल्यांकन र उदार कक्षोन्‍नति नीति नभएका होइनन् ।

हाम्रो समस्या नीतिको सही रूपमा कार्यान्वयनमा पो हो कि ? मातृभाषा शिक्षण शीर्षकको लेखमा हाम्रो अभ्यास र यसका विविध तरिका मातृभाषाको माध्यमबाट शिक्षण प्रक्रिया र यसका तरिका र विकल्पको राम्रो चित्रण गरिएको छ । तर पनि यसको कार्यान्वयनका लागि शिक्षक तयारी र क्षमता विकासको पाटो मौन छ । शिक्षक छनोट र क्षमता विकासमा मातृभाषाको माध्यमबाट शिक्षणलाई जोड्न सके मात्र मातृभाषामा शिक्षण कार्यान्वयन सहज हुन सक्दछ ।

पाठ्यपुस्तकको अभावमा विद्यालय बन्द हुनुपर्ने स्थिति र समुदायमा हस्तान्तरण गरिएका विद्यालयको स्वशासनको अवस्थालाई पुस्तक अभावमा विद्यार्थी आन्दोलन चर्कंदासम्म पनि उचित निर्णय लिन नसकेको देखाई राम्रो विश्लेषण गरिएको भए तापनि शिक्षकका लागि पाठ्यक्रम र विद्यार्थीका लागि पाठ्यपुस्तक हो भन्‍ने धारणा भने आउन सकेको छैन । 

लेखकको साहित्यिक शिल्प यस पुस्तकमा भरपूर पाइन्‍छ । संवाद, गीत, कविता, कथालाई भरपूर स्थान दिइएको यो पुस्तक निकै रोचक लाग्छ । कतिपय सन्दर्भका गीतहरूले पाठकलाई भावुक पनि बनाउँछन् । शिक्षा क्षेत्रका गहन विषयवस्तुको उठान, सरल भाषाशैलीको प्रयोग, छरितो आकारका लेख, सानो आकारको पुस्तकले शिक्षा क्षेत्रमा सरोकार राख्‍ने जो कोहीको ध्यान खिच्‍न सक्ने खालको छ ।

विविध विधाको सम्मिश्रण रहेको यो पुस्तकले लेखकका भोगाइलाई अभिव्यक्त गर्न निकै सफल देखिन्‍छ । उठान भएका विषयवस्तुमा थप अध्ययन-अनुसन्धान गरी प्राप्त नतिजालाई मध्यनजर गर्दै शैक्षिक योजना निर्माण, कार्यान्वयन, अनुगमन-मूल्यांकनका हरेक पक्षमा सुधार गर्न सकिएमा अपेक्षित नतिजा निकाल्न सकिने देखिन्‍छ । (उपसचिव, भाषा आयोग)

 

अन्य पुस्तक समीक्षा


Author

थप समाचार
x