विश्व

हामी सबै एउटै जहाजमा यात्रारत छौं : सी चिनफिङ

अजय अलौकिक |
मंसिर ३, २०७७ बुधबार १९:३५ बजे

बेइजिङः विश्‍व स्थिरता, साझा सुरक्षा र नवीन विकासको लागि ब्रिक्स साझेदारी शीर्षकमा १२ औँ ब्रिक्स सम्मेलन मंगलबार आयोजना भएको छ । चीनका राष्ट्रपति सी चिनफिङले सम्मेलनमा भिडियोमार्फत महत्वपूर्ण सम्बोधन गर्दै ब्रिक्स सदस्य राष्ट्रहरूले बहुपक्षीयताको ब्यानरलाई उच्च राख्दै संयुक्त राष्ट्र केन्द्रीत अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय कानूनअन्तर्गत अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा प्रयास गर्न आग्रह गरेका छन् । 

उनले बहुपक्षीयता र एकपक्षीयवादको प्रतिस्पर्धामा जनताको हितमा केन्द्रीत रहेर अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ गर्दै अन्तर्राष्ट्रिय निष्पक्षताको संरक्षण गर्न जोड दिएका छन् । उनले खुलेको चीनको ढोका बन्द नहुने भन्दै विश्‍वव्यापी बजारमा अझै सक्रियतासाथ चीन एकीकृत हुने र विदेशी सहयोगलाई अझ सक्रियतापूर्वक गहन बनाउने पनि बताए । राष्ट्रपति सीले कोभिड-१९ महामारीले ल्याएको ठूलो परिवर्तनमा विश्‍व अर्थतन्त्र गम्भीर ओरालो लागेको भन्दै जनताको हितमा ध्यान दिएर मानव जातिको भाग्य समुदाय धारणाको आधारमा विश्‍वलाई योगदान गर्नुपर्ने पनि औँल्याए । 


हामी सबै एउटै जहाजमा यात्रारत छौँ । ठूलो हावा र उच्च लहर आउँदा हामीले उचित दिशालाई कायम राख्दै एकताबध्द भएर सहयोग गर्नुपर्छ । जसबाट अझ राम्रो उज्ज्वल भविष्यको स्वागत गर्न सकिने छ, सीले भने । आपसमा भएका मतभिन्‍नताहरूलाई हटाएर एकताबध्द हुनुपर्ने र पूर्वाग्रहलाई हटाएर महामारी विरूध्द लड्नुपर्ने भन्दै सबै देशहरूलाई एकजुट भएर संयुक्त प्रयास गर्न जोड दिए । विश्‍व अर्थव्यवस्थाको पुन: स्थापना र विकासका लागि थप अवसर र ठाउँ सिर्जना गर्ने पनि बताए ।

राष्ट्रपति सीले महामारीको प्रतिकारमा पाएको सफलताले वैज्ञानिक तवरबाट रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ भन्‍ने प्रमाणित भएको भन्दै ब्रिक्स मुलुकको खोप अध्ययन केन्द्रको निर्माणलाई अगाडि बढाउन चीनले खोप अध्ययन केन्द्र स्थापना गरिसकेको र सदस्य मुलुकबीच खोपबारे अध्ययन, परीक्षण, उत्पादनलगायतका कार्यलाई अघि बढाउने इच्छा लिएको धारणा व्यक्त गरे ।

राष्ट्रपति सीले ब्रिक्स नवीन औद्योगिक क्रान्ति साझेदारी स्थापनालाई तीव्रता दिन चीन सबै पक्षहरूसँग मिलेर काम गर्न इच्छुक रहेको भन्दै नीति समन्वय, कर्मचारी तालिम र परियोजना विकास जस्ता क्षेत्रमा सहयोग गर्ने पनि बताए । अन्तमा, उनले सन् २०६० सम्ममा कार्बन डाइअक्साइड उत्सर्जनमा तटस्थता प्राप्त गर्ने आफ्नो वचनलाई पनि दोहर्‍याए ।
 
ब्रजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका ब्रिक्स सदस्य राष्ट्रहरू हुन् । यसले विश्‍व जनसंख्याको ४० प्रतिशतभन्दा अधिक भाग र विश्‍व अर्थव्यवस्थाको एक चौथाई भाग ओगटेको छ ।
 


Author

थप समाचार
x