विश्व

बाइडन–पुटिन वार्ता

पुटिन भन्‍छन् : वासिङ्टनले रुसलाई मानव अधिकारकाे लेक्चर दिन सुहाउन्‍न

इकागज |
असार ३, २०७८ बिहीबार १२:१५ बजे

काठमाडौँ: बुधबार अमेरिकी राष्ट्रपति जो बाइडन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच जेनेभामा भेटवार्ता भयो । जेनेभा सम्मेलन नाम दिइएको उक्त भेटमा दुई नेताले मुख्य गरी साइबर सुरक्षा र हतियार दौड नियन्त्रण गर्ने विषयमा छलफल गरेको रोयटर्सले जनाएको छ । 

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडनले पहिलो पटक रुसी राष्ट्रपतिलाई भेटेका हुन् । भेटमा बाइडनले पुटिनलाई साइबर सुरक्षा सम्बन्धी प्रश्न गरेको बताइएको छ । ‘यदि अमेरिकाले रुसी तेल पाइपलाइनमाथि साइबर आक्रमण गर्‍यो भने के हुन्छ ?’ बाइडनको प्रश्न थियो । यो प्रश्न किन सोधिएको हो भने, अमेरिकी पाइपलाइन रुसी साइबर आक्रमणको सिकार बनेको थियो । 


पुटिनसँगको भेटपछि पत्रकार सम्मेलनमा बोल्दै बाइडनले आफूले पुटिनलाई कुनै  धम्की नदिएको बताए । बरु तीन घण्टा लामो वार्तामा बाइडनले पुटिनसमक्ष अमेरिकी चासोका विषयहरूमा प्रष्ट पारेको बताएका छन् । उनले पुटिनसँग फेस टु फेस छलफलको विकल्प थिएन पनि भनेका छन् ।

दुई राष्ट्रपतिबीचको छलफलले वासिङ्टन डीसी र मस्कोतर्फ राजदूत पठाउने निर्णय पनि गरेको छ । गत मार्चमा मस्कोले आफ्ना राजदूत फिर्ता बोलाएको थियो । अमेरिकी राष्ट्रपति बाइडनले पुटिनलाई हत्यारा भनेपछि रुसले आफ्नो राजदूत फर्काएको थियो । केही समयपछि अमेरिकी राजदूत पनि घर फर्केका थिए । 

बुधबार पुटिनले बाइडनको अभिव्यक्तिप्रति कुुनै गुनासाे नरहेको बताए । यद्यपि दुईबीच धेरै विषयमा मतभेद कायम छ । जस्तै, मानव अधिकार । पुटिनले आफ्ना विरोधी एलेक्सी नाभाल्नीलाई जेल हालेका छन् । जेलमा उनको मृत्य भएमा त्यसको नतिजा राम्रो नहुने सन्देश बाइडनले दिएका छन् । अनि उनले साइबर आक्रमणमा संलग्नलाई पनि कारबाही गर्न आग्रह गरेका छन् ।  

 

दुई राष्ट्रपतिबीचको छलफलले वासिङ्टन डीसी र मस्कोतर्फ राजदूत पठाउने निर्णय पनि गरेको छ । गत मार्चमा मस्कोले आफ्ना राजदूत फिर्ता बोलाएको थियो । अमेरिकी राष्ट्रपति बाइडनले पुटिनलाई हत्यारा भनेपछि रुसले आफ्नो राजदूत फर्काएको थियो । केही समयपछि अमेरिकी राजदूत पनि घर फर्केका थिए । 

नाभाल्नीमाथि अमेरिकी चासोको कुनै अर्थ नरहेको पुटिनले स्पष्ट पारे । बाइडनभन्दा अघि पत्रकार सम्मेलनलाई सम्बोधन गरेका पुटिनले आफूहरूले युक्रेनसँगको सीमामा सैन्य उपस्थिती नबढाएको र अमेरिकी पाइपलाइनमाथि भएको साइबर आक्रमणमा रुसी नागरिकको संलग्नता नरहेको दाबी गरे । 

वासिङ्टनले आफूहरूलाई मानवअधिकारका विषयमा लेक्चर दिन नसुहाउने बताए । अमेरिकी राष्ट्रपतिसँग करिब तीन घण्टाको वार्ता गरेको पुटिनले भने, ‘रुसमा शन्ति व्यवस्था कायम गर्नु मेरो जिम्मेवारी हो । अमेरिकाले पनि ब्लाक लाइभ्स म्याटर जस्ता आन्दोलनका क्रममा बल प्रयोग गरेको छ । कसैले पनि कानुन तोड्नु हुँदैन । आन्दोलनका नाममा शान्ति व्यवस्थामाथि धावा बोलिनु हुन्न । अमेरिकामा केही समय अगाडि यही भयो । हाम्रो भूमिमा यस्तो नहोस् भनेर हामी सतर्क छौँ,’ पुटिनले थपे । 

अनि पुटिनले क्यापिटोल हिलमा भएको आन्दोलनका विषयमा पनि कुरा उठाए । त्यस आन्दोलनमा संलग्नलाई गिरफतार गर्नु कति जायज ? भन्ने प्रश्न पनि पुटिनको थियो । तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले निर्वाचन परिणामप्रति असहमति जनाउदै, क्यापिटोल हिलमा आन्दोलन गरेका थिए । जुन हिंसात्मक थियो । त्यस्तो हिंसात्मक आन्दोलनलाई ‘ब्लाक लाइभ्स म्याटर’सँग तुलना गर्न नहुने बाइडनको भनाइ थियो । 

पछिल्ला वर्ष अमेरिका–रुस सम्बन्ध निरन्तर ओरालो लागिरहेको छ । यस्तो हुनुमा केही घटनाले भूमिका खेलेका छन् । सन् २०१४ मा रुसले युक्रेनको क्रिमियालाई आफूमा विलय गरायो र सन् २०१५ मा सिरियाली युद्धमा हस्तक्षेप गर्‍यो । अनि रुसमाथि अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप पनि छ । यी कारणले दुई मुलुकबीचको सम्बन्धमा चिसोपना आएको हो । 

तर दुवै राष्ट्रपति सम्बन्ध सुधार गर्नपर्नेमा एकमत छन् । यस्तोमा साइबर सुरक्षासम्बन्धी वार्तालाई निरन्तरता दिने बताइएको छ । बाइडनले दुवै मुलुकका महत्वपूर्ण पूर्वाधार, संरचना र व्यवस्थामाथि साइबर हमला हुन नहुनेमा आफूले जोड दिएको बताएका छन् । दुई राष्ट्रपतिबीच करिब १६ क्षेत्रमा कुनै पनि पक्षबाट साइबर हमला हुन नहुनेमा जोड दिइएको बताइएको छ । यद्यपि ती क्षेत्र के के हुन्, खुलाइएको छैन । ‘मैले पुटिनलाई भनेको छु, हामीले नियमको पालना गर्नुपर्छ,’ बाइडनले पत्रकार सम्मेलनमा भनेका छन् । योबाहेक अर्को महत्वपूर्ण विषयमा पनि छलफल भयो । त्यो भनेको, दुई मुलकका जेलमा रहेका अमेरिकी तथा रुसी नागरिक । तर ठोस उपलब्धि हासिल भएन । 

दुई मुलुकका राष्ट्रप्रमुखबीचको छलफलमा आणविक हतियारका विषयमा पनि छलफल भयो । उसो त गत फेबु्रअरीमा पनि दुई मुलुकले यस विषयमा छलफल गरेका थिए । जहाँ ‘न्यू स्टार्ट’ नाम गरेको सन्धिलाई अर्को पाँच वर्षका लागि कायम राख्ने निर्णय गरियो । जसको उदेश्य हो, दुवै मुलुकले आणविक हतियारको संख्यालाई सीमित गर्ने । 

रोयटर्सका अनुसार बाइडन र पुटिनले पहिलो चरणको छलफल करिब ९३ मिनेटमा टुङ्ग्याएका थिए । त्यस छलफलमा दुई राष्ट्रपति बाहेक विदेश मन्त्री तथा भाषा अनुवादकको पनि उपस्थिति थियो । पहिलो बसाइपछि केहीबेर विश्राम गरियो र दोस्रो चरणको छलफल सुरु भयो । त्यस छलफल करिब ८३ मिनेट चल्यो । सो छलफलमा राजदूतहरुलाई समेत सामेल गरिएको रोयटर्सले लेखेको छ । 

छलफलले दुई मुलुकबीचको सम्बनध सुधार हुन्छ वा हुँदैन भन्ने विषयमा अहिले नै केही भन्न नसकिने बाइडनको भनाइ थियो । तर सकारात्मक संकेत भने देखिएको उनको भनाइ थियो । ‘अहिले नै विश्वासको वातावरण बनिहाल्छ भन्ने होइन । तर हामीले आ–आफ्ना चासोका विषयबारेमा छलफल गर्‍यौ । तर सम्बन्ध सुधार हुने लक्षण भने देखा परेका छन्,’ बाइडनले पत्रकार सम्मेलनमा भने ।  

रोयटर्सको सहयोगमा 


Author

थप समाचार
x