विराटनगरमा १ हजार ५८६ मत गन्दा कांग्रेसकाे अग्रता
विराटनगर – विराटनगर महानगरपालिकाका ६ वटा वडामा १ हजार ५८६ मत गन्दा मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै राखेका छन् । कोइरालाले ४३४ मत प्राप्त गरेका छन् भने प्रत्यासी एमालेका सागर थापाले ३१७ मत ल्याएका छन् ।
अहिले विराटनगरको १, २, १६, १७, १८ र १९ को मतगणना जारी छ । मेयरमा स्वतन्त्र उम्मेदवार रहेका उमेश यादवले १०६ मत प्राप्त गरेका हुन् ।
उपमेयरमा भने कांग्रेससँग गठबन्धन गरेको जनता समाजवादीका अमरेन्द्र यादव एमाले उम्मेदवार शिल्पा निरौला कार्कीभन्दा पछि रहेका छन् । कार्कीले ३६५ मत प्राप्त गर्दा यादवले २०६ मत पाएका छन् । उमेयरमै स्वतन्त्र उम्मेदवारी दिएकी नमिता न्यौपानेले ६७ मत ल्याएकी हुन् ।
यसैबीच मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले अहिलेसम्म १ हजार २८२ मतको मात्रै औपचारिक मत परिणाम घोषणा गरेको छ । जसमा मेयरमा कोइराला नै अघि छन् भने उनलाई थापाले पछ्याइरहेको तथ्यांक छ ।
वडा तर्फको मत परिणाम अनुसार १ मा ४०० मत गन्दा कांग्रेसका उम्मेदवारको अग्रता छ । २ मा ३०० मत गनिसक्दा राप्रपाले सवैभन्दा बढि मत ल्याएको छ । राप्रपापछि एमाले र त्यसपछि कांग्रेसका वडाध्यक्षका उम्मेदवार छन् ।
वडा नं. १६, १८ र १९ मा पनि कांग्रेसकै वडाध्यक्षका उम्मेदवारको अग्रता छ । वडा नं. १७ मा भने जसपाका उम्मेदवार अघि देखिएका छन् ।