फुटबल

इंग्लिस प्रिमियर लिगः एनफिल्डमा भान डाइकलाई पन्छाउने लक्ष्यमा लुकाकु

इकागज | भदौ १२, २०७८

काठमाडौँ: शनिबार साँझ इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सी आमनेसामने हुँदैछन् । एनफिल्डमा हुने खेलमा दुवै टिम आ-आफ्ना अपराजित लयलाई कायम राख्‍ने दाउमा हुनेछन् । दुवै टिमले सुरुवाती दुई खेल जितेका छन् । अंक तालिकामा चेल्सी दोस्रो र लिभरपुल तेस्रो स्थानमा छन् । 

दुवै क्लबका केही महत्वपूर्ण खेलाडी टिममा फर्कदैछन् । गत साता बर्नलीलाई हराउँदा अनुपस्थित फाबिन्हो र एन्डी रोबर्टसन लिभरपुलको टिममा हुनेछन् । तर उप-कप्तान जेमस मिल्नरले भने चोटका कारण चेल्सीविरुद्धको खेल गुमाउनेछन् । 

उता चेल्सीका प्रभावशाली मिडफिल्डर एन्गोलो कान्टे पनि उपलब्ध छन् । उनले घुँडाको चोटका कारण पछिल्ला दुई खेल खेल्न पाएका थिएनन् । रक्षक कोर्ट जुमा, रुबेन लोफ्ट्स चिक र क्रिस्टियन पुलिसिच भने एनफिल्डमा हुने खेलमा अनुपस्थित रहनेछन् । जुमा व्यक्तिगत कारण टिममा हुनेछैनन् भने लोफ्ट्स चिक र पुलिसिच कोभिड-१९ संक्रमणमा परेकाले खेलका लागि उपलब्ध छैनन् । 

यस खेलमा मोहम्मद सलाह र रोमेलु लुकाकु आ-आफ्ना टिमका लागि निर्णयक साबित हुने प्रयासमा हुनेछन् । कुनैबेला यी दुई फरवार्ड चेल्सीमा सँगै थिए ।  लुकाकु विश्व स्तरीय स्ट्राइकर भएकोमा शंका छैन । तर उनको लिभरपुलविरुद्धको तथ्यांक भने सन्तोषजनक छैन । उनले लिभरपुलविरुद्धको पछिल्ला सात भिडन्तमा गोल गर्न सकेका छैनन् । उता सलाहले भने लिभरपुलको जर्सीमा चेल्सीविरुद्ध दुई गोल गरेका छन् ।  

नयाँ सिजन सुरुवाती चरणमै रहँदा हुन लागेको यो खेलमा भर्जिल भान डाइक र लुकाकुबीचको भिडन्तमा को विजयी बन्छ भन्नेले पनि खेलको नतिजामा प्रभाव पार्ने देखिन्छ । पारम्परिक सेन्ट्रल फरवार्ड मानिने लुकाकुले चेल्सीका मिडफिल्डरहरूले आफ्ना लागि बढी भन्दा बढी गोलका मौका सिर्जना गरुन भन्न‍े आशा राख्‍नेछन् । 

एनफिल्डमा पछिल्लो पटक यी दुई टिम मार्चमा भिडेका थिए । जसमा चेल्सी १-० ले विजयी बनेको थियो । यस पटक लिभरपुलले बदला लिने हो भने योर्गेन क्लपको टिमले नयाँ कीर्तिमान राख्‍नेछ । जस अनुसार प्रिमियर लिगमा लगातार चार सिजनका सुरुवाती तीन खेल जित्ने पहिलो टिम बन्‍नेछ, लिभरपुल । 

लिभरपुलले पछिल्ला दुई खेलमा गोल खाएको छैन । शनिबार साँझको खेलमा पनि गोल नखाने हो भने, लिभरपुलले २०१३-१४ र २०१८-१९ मा देखाएको लयको पुनरावृत्ति हुनेछ । यसैगरी, डिएगो जोटाले पनि रोब्बी फाउलर, डानियल स्टुरिज र साडियो मानेको नाममा रहेको कीर्तिमान बराबरी गर्नसक्नेछन् । फाउलर, स्टुरिज र मानेको नाममा लिगका सुरुवाती तीन खेलमा गोल गरेको कीर्तिमान छ । चल्सीको पोष्टमा जोटाले गोल गरे, उनी त्यस्तो कीर्तिमान राख्‍ने चौँथो खेलाडी हुनेछन् । 

मोहम्मद सलाहले पनि नयाँ कीर्तिमानको नजिक छन् । उनले प्रिमियर लिगमा ९८ गोल गरिसकेका छन् । अफ्रिकी खलाडीहरुमध्ये प्रिमियर लिगमा सर्वाधिक गोल गर्नेको सूचीमा उनी दोस्रो स्थानमा छन् । पहिलो स्थानमा डिडियर ड्रोग्बाको नाममा छ । आइभरी कोस्टका पूर्व स्ट्राइकरले इंग्लिस लिगमा एक सय चार गोल गरेका छन् ।  

उता चेल्सीका लागि सिजर आज्पिकुएल्टाले ३०० औँ प्रिमियर लिग खेल खेल्दैछन् । शनिबार नै ३२ वर्ष पुगेका आज्पिकुएल्टा भन्दा चेल्सीका तीन पूर्व खेलाडीले मात्र धेरै लिग खेल खेलेका छन् । ती हुन्, जोन टेरी, फ्रान्क लामपार्ड र पिटर चेक । 
   
 

रोनाल्डोको आगमनसँगै म्यानचेस्टर युनाईटेडले प्रिमियर लिग जित्ला ?

इकागज | भदौ १२, २०७८

काठमाडौँ : धेरै अनुमानविपरित क्रिष्टियानो रोनाल्डो अन्ततः म्यानचेस्टर युनाईटेडमा आबद्ध भएका छन् । शु...

रोनाल्डो युभेन्टसका लागि खेल्न चाहँदैनन्: क्लब प्रशिक्षक एलेग्री

इकागज | भदौ ११, २०७८

काठमाडौँ: युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले क्रिस्टियानो रोनाल्डोले क्लब छाड्न चाहेको पुष्टि...

एमबाप्पेका विषयमा कतारी राष्ट्रध्यक्षलाई रियल म्याड्रिड अध्यक्षको फोन

इकागज | भदौ ११, २०७८

काठमाडौँ - रियल म्याड्रिड किलियान एमबाप्पेलाई अनुबन्ध गर्न प्रतिबद्ध देखिएको छ । स्पेनिस क्लबले बिहीब...

पेप ग्वार्डिओलाको योजनाः सिटी छाडेर विश्राम, अनि राष्ट्रिय टिमको जिम्मेवारी

इकागज | भदौ १०, २०७८

काठमाडौँ-म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले क्लब फुटबल छाडेर राष्ट्रिय टिमको जिम्मेवारी लिने आफ्...